दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


१६ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 7 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

आज दिनभर प्रचण्ड र बाबुरामविरुद्ध युद्ध अपराधको मुद्दा चलाउन माग गरिएको निवेदन दरपिठ, महोत्तरीमा फिल्मी शैलीमा बैंक लुटपाट, मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल, प्रधानन्यायाधीशमा सिफारिस भएका कार्कीविरुद्ध उजुरी आह्वान, उच्च अंकले घट्यो सेयर बजार, सन्दीप लामिछाने दक्षिण अफ्रिका नजाने, टिमलाई दिए शुभकामना लगायतका समाचारले प्रमुख स्थान पाए ।

प्रचण्ड र बाबुरामविरुद्ध युद्ध अपराधको मुद्दा चलाउन माग गरिएको निवेदन दरपिठ

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन माओवादीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा चलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग गर्दै परेको रिट निवेदनलाई सर्वोच्च अदालत प्रशासनले दरपिठ गरिदिएको छ ।

गत शुक्रबार प्रधानमन्त्री प्रचण्ड, डा भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा चलाएर कानूनी कारबाहीको दायरामा ल्याउन माग गर्दै लेलिन विष्टसमेतले दिएको रिट निवेदनलाई मंगलबार रजिस्ट्रार नारायणप्रसाद पन्थीको आदेशमा दरपिठ गरिदिएको हो ।

‘द्वन्द्वकालको घटनालाई नियमित अदालतभन्दा पनि सङ्क्रमणकालीन न्याय संयन्त्रले नै सम्बोधन गर्नु उपयुक्त हुने साथै यी नै घटनाको समग्र विषयलाई समेटेर सत्य निरूपण तथा मेलमिलाप आयोग नेपालमा उजुरी दिएको भनी निवेदक मध्येका लेनिन विष्टले निवेदनमा आफ्नो ब्यहोरा उल्लेख गरेको देखिएकोले प्रस्तुत विषयमा सत्य निरूपण तथा मेलमिलाप आयोगबाट सङ्क्रमणकालीन न्याय पद्धतिअनुसार निरूपण हुने नै हुँदा यस अदालतको असाधारण अधिकार क्षेत्र अन्तर्गत प्रस्तुत निवेदन लिई आएको देखिदा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम १८ बमोजिम दर्ता गर्न मिलेन । मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १२८ तथा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम १८ बमोजिम दरपिठ गरी दिइएको छ । कानून बमोजिम गर्नु,’ रजिस्ट्रार नारायणप्रसाद पन्थीको आदेशमा उल्लेख गरिएको छ ।

आफूहरूलाई बाल्यावस्थामा युद्धमा प्रयोग गरेको भन्दै प्रचण्ड र भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा चलाइनुपर्ने जिकिर गर्दै विष्टसहितले शुक्रबार रिट निवेदन दिएका थिए । आफूहरूलाई बाल सेनाको दर्जाबाट बञ्चित गर्ने किसिमका कार्य नगर्नु भनी विपक्षीहरूका नाममा परमादेशको आदेश जारी गर्न पनि उनीहरूले माग गरेका थिए ।

प्रधानमन्त्री प्रचण्ड, डा भट्टराईसमेतलाई विपक्षी बनाई दिएको रिट निवेदनमा भनिएको थियो, ‘सशस्त्र द्वन्द्वमा बाल सेना भर्ती गर्नु गराउनु हुन्न भन्ने तथ्य ढाँटी हामी जस्तालाई बाल सैन्यको रूपमा भर्ती गरी हाम्रो सुन्दर भविष्य बरबाद गर्ने र युद्ध अपराधको भागीदार भई अन्तर्राष्ट्रिय मानवीय कानूनको उल्लङ्घन गर्ने विपक्षीद्वय पुष्पकमल दाहाल र डा. बाबुराम भट्टराईमाथि प्रचलित अन्तर्राष्ट्रिय कानुन बमोजिम कानूनको दायरामा ल्याउन राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा आवश्यक पर्ने कार्य गर्नु र घरेलु रूपमा कानूनको दायरमा ल्याउन संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्सँग समन्वय गरी संयुक्त राष्ट्र संघीय आयोग (उदाहरणका लागि रुवान्डा वा युगोस्लाभियामा स्थापित आयोग स्थापित गरी कानूनी कार्यबाहीको प्रक्रिया अघि बढाउनु र सो को प्रगति विवरण सम्मानित सर्वोच्च अदालतलाई नियमित रूपमा पेश गर्नु भनी परमादेशको आदेश जारी गरी पाउँ ।’

रातो किताबमा भएका कतिपय योजना वक्तव्यमा छुटेका छन् : अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमा व्यवस्था भएका कतिपय योजना वक्तव्यमा छुटेको बताएका छन् ।

मंगलबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले सांसदहरूले आफ्नो क्षेत्रमा बजेट परेन भनेर गुनासो गरिरहेको बताउँदै रातो किताबमा भएका पनि कतिपय विषय वक्तव्यमा छुटेको प्रस्ट्याएका छन् ।

उनले जानी जानी वक्तव्यमा नभनिएको नभई रातो किताबमा भएका कतिपय योजना वक्तव्यमा छुटेको बताएका हुन् ।

गमगढी नाम्चे लालमा सडक त्यसमा ५० करोड राखिएको र ती मध्ये धेरै बजेटको वक्तव्यमा नाम लिन नसकिएको उनले बताए ।

महोत्तरीमा फिल्मी शैलीमा बैंक लुटपाट

महोत्तरीस्थित एनएमबी बैंकको शाखामा फिल्मी शैलीमा लुटपाट भएको छ ।

मंगलबार मध्याह्न १२ बजेतिर महोत्तरी गाउँपालिका २ मा रहेको एनएमबी बैंकको शाखामा हातहतियारसहित आएका लुटेराको समूहले लुटपाट गरेको हो ।

नकाब लगाएर आएका ४ जना हतियारधारीको समूहले काउन्टरमा प्रवेश गरी लुटपाट गरेका हुन् ।

बैंकबाट ३५ लाख रुपैयाँ लुटिएको प्रारम्भीक अनुमान छ । लुटेराको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रधानमन्त्रीको भारत भ्रमण द्विपक्षीय हित र चासोमा केन्द्रित रहन्छ : परराष्ट्रमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को बुधबारदेखि सुरु हुन लागेको भारत भ्रमणका क्रममा द्विपक्षीय हित र चासोका बारेमा महत्वपूर्ण छलफल हुने भएको छ ।

परराष्ट्र मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री एनपी साउदले भ्रमणका क्रममा द्विपक्षीय हित र चासोका बारेमा प्रधानमन्त्रीस्तरमा छलफल हुने जानकारी दिए ।

उनले भ्रमणका क्रममा विद्युत् व्यापार, प्रसारण लाइन निर्माण, एकीकृत जाँच चौकीको उद्घाटनलगायत कार्यसूची तय भए पनि थप केही विषयमा छलफल जारी रहेको बताए । परराष्ट्रमन्त्री साउदले नेपालको ऊर्जा तथा जलविद्युतको क्षेत्रमा भारतीय लगानीको प्रवर्द्धन गर्ने, व्यापार तथा पारवहन एवं हवाई मार्गका बारेमा महत्वपूर्ण विचार विमर्श हुने उल्लेख गरे ।

दीर्घकालीन रूपमा बिजुलीको व्यापार गर्न सकियोस् भन्ने बारेमा प्रधानमन्त्रीको भ्रमणका क्रममा छलफल हुने र एउटा निष्कर्ष निस्कने परराष्ट्रमन्त्रीले विश्वास व्यक्त गरे ।

यस्तै महाकाली नदीमा नेपाल र भारत जोड्ने मोटरेबल पुल तथा केही झोलुङ्गे पुल निर्माणका बारेमा पनि सहमति हुनेछ । नेपाल र भारतका बीचमा रहेको व्यापार घाटालाई कम गर्ने तथा कृषि उपजलाई विना अवरोध भारतीय बजारमा प्रवेश गराउने विषयमा पनि महत्वपूर्ण सहमति गर्ने तयारी छ ।

उच्च राजनीतिक तहमा विश्वासको वातावरण तयार पार्दै सीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्ने सवालमा भारत भ्रमण फलदायी हुने विश्वास लिइएको उनको भनाइ छ । उद्योगी व्यवसायीका बीचमा रहेका समस्या समाधानका लागि प्रधानमन्त्रीको उपस्थितिमा अन्तरक्रिया एवं छलफल गर्ने कार्यक्रम तय भएको छ ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल बुधबार दिउँसो भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ । भ्रमण दलमा मन्त्रिगण, नेपाल सरकारका उच्च सरकारी अधिकारी, सञ्चारकर्मीलगायतको सहभागिता हुने बताइएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले उनका भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल गर्ने । भारतीय राष्ट्रपति र उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीले नेपाली राजदूतावासमा नेपाली समुदायसँग छलफल गर्नेछन् । प्रधानमन्त्री दाहालले सोमबार मात्रै प्रतिनिधिसभामा भारत भ्रमणको बारेमा जानकारी गराइसकेका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले भारत भ्रमणका बारेमा छलफल गरेको छ ।

महिला अधिकारका लागि लड्ने पार्टी एमाले : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टीले मात्र महिला अधिकारका लागि लड्ने जिकिर गरेका छन् ।

राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आज अखिल नेपाल महिला सङ्घले आयोजना गरेको ‘महिला अधिकार कार्यान्वयनमा अवसर र चुनौती’ विषयक राष्ट्रिय भेला तथा प्रशिक्षणमा उनले आफ्नो पार्टीले नै संसदमा महिलाको ३३ प्रतिशत सहभागिता गराउने ऐतिहासिक निर्णय गरेको दाबी गरे ।

राष्ट्रपति र उपराष्ट्रपतिमा पनि एक जना महिला हुनुपर्ने बताउँदै अध्यक्ष ओलीले यसपटक महिलालाई अवसर नदिएको तर्क गरे । उनले स्थानीय तहमा पनि गठबन्धनले साझा उम्मेदवार उठाउँदा दुई वटै पुरुष उठाएर महिला अधिकारमा हनन भएको टिप्पणी गरे । समाजमा महिला र पुरुषमा समान अधिकार र समान हैसियत प्रदान गर्नुपर्ने उनको धारणा छ ।

अध्यक्ष ओलीले मानिस मरिसकेपछि कसैले सम्झनुको अर्थ नहुने भन्दै आफ्नो सालिक नबनाउनसमेत आग्रह गरे । “मरिसकेपछि किन सम्झिरहनु । बेकारमा सम्झिँदा मैले थाहा पाउने पनि होइन, त्यस कारण मेरो सालिक बनाउनु पर्दै, मूर्ति बनाउनुपर्दैन, स्मृति दिवस मनाएर खर्च गर्नुपर्दैन, मेरो धारणा त्यो हो ।”

अखिल नेपाल महिला सङ्घका उपाध्यक्ष मेनुका पोखरेलले महिला अधिकार पक्षमा अझै आन्दोलन गर्नुपर्ने बताइन् ।

मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भोलि बुधबारदेखि हुने छिमेकी मुलुक भारतको औपचारिक भ्रमणका सम्बन्धमा मन्त्रिपरिषदमा छलफल भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल भएको सरकारका प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उनले भनिन्, “मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीको भोलिदेखि हुने भारत भ्रमणको तयारीलगायतका विषयमा सामान्य छलफल भएको छ ।” भारत भ्रमणको सरकारी प्रतिनिधिमण्डलको टुङ्गो लागिसकेको पनि सञ्चारमन्त्री शर्माले बताइन् ।

भारतको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल वायुसेवा निगमको जहाजमार्फत भोलि त्यसतर्फ प्रस्तान गर्ने कार्यक्रम रहेको छ ।

मन्त्रिपरिषद् बैठकमा बजेटका सम्बन्धमा पनि छलफल भएको छ । प्रधानमन्त्रीको भारत भ्रमणपछि मात्रै बजेटसम्बन्धी छलफल गर्ने विषयमा पनि कुराकानी भएको सञ्चारमन्त्री शर्माले बताइन् । अर्थमन्त्री डा. रामशरण महतले सङ्घीय संसद्को दुवै सदनमा सोमबार आव २०८०/८१ को वार्षिक बजेट प्रस्तुत गरेका थिए ।

बजेटमाथि संसद्का दुवै सदनमा छलफल भई पारित हुनेछ । त्यसैगरी मन्त्रिपरिषद् बैठकमा नागरिकता विधेयकका विषयमा पनि सामान्य छलफल भएको छ । यद्यपि, नागरिकताको विषय अघिल्लो मन्त्रिपरिषद् बैठकले निर्णय गरेर स्वीकृतिका लागि राष्ट्रपति कार्यालयमा पठाइसकेको छ ।

“आजको बैठकमा नागरिकताको विषय पनि प्रवेश भएको छ । नागरिकताको विषयमा राष्ट्रपतिले संविधानको व्यवस्थाअनुसार पारित गर्नुहुन्छ भन्ने हाम्रो विश्वास छ”, सञ्चारमन्त्री शर्माले भनिन् ।

प्रधानन्यायाधीशमा सिफारिस भएका कार्कीविरुद्ध उजुरी आह्वान

संसदीय सुनुवाइ समितिको आज बसेको बैठकले प्रधानन्यायाधीशमा सिफारिस भएका कामु प्रधान न्यायाधीश हरिकृष्ण कार्कीविरूद्ध उजुरी दिन आह्वान गरेको छ ।

समितिका ज्येष्ठ सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपतिशमशेर राणाको अध्यक्षमा आज सिंहदरबारमा बसेको बैठकले उजुरी दिन आह्वान गर्ने निर्णय गरेको हो । उजुरी दर्ता वा इमेलबाट पनि पठाउन सकिने जनाइएको छ । कायममुकायम प्रधान न्यायाधीश कार्कीविरुद्ध उजुरीका लागि १० दिनको समय दिइएको छ ।

गत वैशाख २५ गते संवैधानिक परिषदले उहाँलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । प्रधानन्यायाधीशको पद करिब १५ महिनादेखि रिक्त छ । बैठकमा सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको पनि उपस्थिति थियो ।

बैठकले सुनुवाइ समिति कार्यविधिसमेत पारित गरेको छ ।

भारतको नक्सामा कपिलवस्तु र लुम्बिनी राखेको विषय सरकारको नोटिसमा छ : ऊर्जामन्त्री बस्नेत

ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले भारतीय संसद भवनमा राखेको भारतको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनी राखेको विषय नेपाल सरकारको नोटिसमा रहेको जानकारी दिएका छन् ।

मंगलबार बसेको संसदको पूर्वाधार समितिको बैठकमा मन्त्री बस्नेतले भारतको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनी पनि राखिएको विषयबारे बुझ्न बाँकी रहेको जानकारी दिए । तर, सरकारले नोटिस भने गरिसकेको उनको भनाइ छ ।

बैठकमा समिति सदस्यले राखेको प्रश्नको जवाफमा मन्त्री बस्नेतले सो बताएका हुन् । समिति सदस्यहरुले भारतको नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु, विराटनगर राखिएको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै यसबारे स्पष्ट पार्न अनुरोध गरेका छन् ।

बालेन शाहको प्रश्न : वडा अध्यक्षकै काम गर्न किन सांसद बन्नु हुन्छ ?

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सांसदहरू माथि व्यंग्य हानेका छन् ।

आर्थिक बर्ष २०८०-८१ को बजेटमार्फत सांसद विकास कोष ब्युँताएर प्रत्येक सांसदलाई ५ करोडको दिइने निर्णयलाई लिएर मेयर शाहले व्यंग्य हानेका हुन ।

‘सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरू वडा अध्यक्षको लेबलमा आउनु भयो,’ मेयर शाहले प्रश्न गरेका छन्, ‘वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरु?

सन्दीप लामिछाने दक्षिण अफ्रिका नजाने, टिमलाई दिए शुभकामना

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने आईसीसी एकदिवसीय विश्वकप छनौट प्रतियोगिताको तयारीका लागि दक्षिण अफ्रिका नजाने भएका छन् ।

बलात्कारसम्बन्धी मुद्दा टुंगो नलागेकाकारण उनी दक्षिण अफ्रिका जान नपाउने भएका हुन् । आफू दक्षिण अफ्रिका जान नपाउने भएसँगै उनले टिमलाई शुभकामना दिएका छन् ।

सामाजिक सञ्जालमा पोस्ट गर्दै पूर्वकप्तान लामिछानेले टिमलाई शुभकामना दिएका हुन् । उनले फेसबुकमा आफूलाई टिमप्रति पूर्ण विश्वास रहेको भन्दै टिमले विश्वसामु खेल क्षमताको प्रदर्शन गरेको उल्लेख गरेका छन् । उनले फेरि पनि टिमले आफ्नो क्षमतामा विश्वास गर्नुपर्ने जनाएका छन् । उनले दक्षिण अफ्रिका यात्राका लागि टिमलाई शुभकामना पनि दिएका छन् ।

दक्षिण अफ्रिकामा नेपालले स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग मैत्रिपूर्ण खेल खेल्ने कार्यक्रम छ । त्यसपछि नेपाली टिम विश्वकप छनौट खेल्न जिम्बाब्वे प्रस्थान गर्नेछ ।

विदेशबाट ल्याएका एक लाखमाथिका मोबाइलमा दश हजार कर लाग्ने

विदेशबाट ल्याइएका आइफोन र एक लाख माथिका मोबाइल फोनमा दश हजार कर लाग्ने भएको छ । अन्य स्मार्टफोनमा रू तीन हजार र स्मार्टफोन बाहेकका अन्य मोबाइलमा दुई सय कर लाग्ने व्यवस्था सरकारले ल्याएको छ ।

विसं २०८० जेठ १५ गतेसम्म प्रयोगमा रहेका तर नेपाल दूरसञ्चार प्राधिकरणले कार्यान्वयनमा ल्याएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमइस) प्रणालीमा दर्ता नभएका मोबाइल फोन सम्बन्धित प्रयोगकर्ताले फोनसेटको आईएमईआई नम्बरसमेत उल्लेख गरी एकमुष्ट महसुलबापत यस्तो कर बुझाउनुपर्नेछ ।

‘आइफोन र एक लाखभन्दा बढी मूल्यका लागि प्रतिसेट दश हजार, अन्य स्मार्टफोनका लागि तीन हजार र स्मार्ट मोबाइल फोनसेट बाहेकका अन्य साधारण मोबाइल फोनसेटका लागि प्रति फोनसेट दुई सय कर लाग्नेछ’, आर्थिक विधेयक २०८० मा भनिएको छ ।

तर श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई छ महिनाभन्दा बढी अवधि विदेशमा बसेर फर्केका नागरिकले सोको प्रमाण पेस गरेमा त्यस्ता व्यक्तिले प्रयोग गरेमा एक थान मोबाइल फोन दूरसञ्चार प्राधिकरणले निःशुल्क दर्ता हुनेछ ।

त्यस्तै, सरकारले वैदेशिक रोजगारीमा जानेलाई एक प्रतिशत सेवा शुल्क लगाएको छ । ‘वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजतप्राप्त व्यक्तिले वैदेशिक रोजगारीमा जाने व्यक्तिबाट असुल गरेको रकमबाट एक प्रतिशतका दरले वैदेशिक रोजगार सेवा शुल्क दाखिल गर्नुपर्नेछ’, आर्थिक विधेयकमा भनिएको छ ।

त्यस्तो रकम वैदेशिक रोजगारमा जाने व्यक्तिको हितमा खर्च गरिने आर्थिक विधेयकमा उल्लेख छ । यस्तो सेवा शुल्क वैदेशिक रोजगार व्यवसायीले हरेक महिनाको २५ गतेभित्र राजस्व खातामा जम्मा गरी सोको विवरण सम्बन्धित राजस्व कार्यालयमा पठाइ सक्नुपर्नेछ ।

यस्तो शुल्क दाखिल नगरेमा १५ प्रतिशतका दरले ब्याज लगाई असुल गरिने आर्थिक विधेयकमा उल्लेख छ ।

उच्च अंकले घट्यो सेयर बजार

मंगलबार सेयर बजार उच्च अंकले घटेको छ । ५३.१६ अंकले ओरालो लागेर नेप्से परिसूचक १८८८.६१ विन्दुमा झरेको छ ।

७० लाख ७४ हजार २५५ कित्ता किनबेच हुँदा कुल २ अर्ब ३४ करोड १७ लाख ७७ हजार ८४४ रुपैयाँको कारोबार भएको छ । ९ कम्पनीको मूल्य बढ्दा २०७ कम्पनीको घट्यो भने ३ कम्पनीको स्थीर रहेको छ ।

सर्वाधिक शिवम् सिमेन्टको २१ करोड २४ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, ग्लोबल आइएमई बैंकको प्रोमोटर सेयरको १० करोड ११ लाख, नेपाल लाइफको ८ करोड ४ लाख, चिलिमे हाइड्रोपावरको ७ करोड ४ लाख र निफ्राको ५ करोड ९७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

स्वेत गंगा हाइड्रोपावर र सिटिजन्स म्युचुअल १ को सेयर मूल्य सर्वाधिक घटेको छ । यसका साथै, सामुदायिक लघुवित्त, सयपत्री हाइड्रोपावर, आदर्श लघुवित्त लगायतका अन्य कम्पनीको सेयर मूल्य घटेको छ ।

प्रकाशित मिति : १६ जेठ २०८०, मंगलबार  ९ : ०० बजे

कालीगण्डकीमा भिटामिन ‘डी’ को खोपसहित दुईदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न 

स्याङ्जा– कालीगण्डकी गाउँपालिका स्याङ्जामा गाउँपालिका र गाउँसेवा परिवार कालीगण्डकी गाउँपालिका

लण्डन म्याराथन दौड : नेपालका कुशल दीक्षित छनोट

काठमाडौँ– विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालकातर्फबाट ललितपुर पाटनका

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौँ– नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु भएको छ

केबल परिवर्तनका लागि काठमाडौँका केही ठाउँमा विद्युत् अवरुद्ध

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा आज विद्युत सेवा अवरुद्ध भएको छ

बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड

काठमाडौँ– सांस्कृतिक महत्वको बूढानीलकण्ठ क्षेत्रलाई विश्वसम्पदा  सूचीमा समावेशको प्रयास गर्न