विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१३ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

आज आश्विन १३ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर ३० २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

क्याथे प्यासिफिकले एयरबससँग ३२ वटा विमान किन्ने
हङकङको हवाई सेवा प्रदायक कम्पनी क्याथे प्यासिफिकले विमान निर्माता कम्पनी एयरबसबाट ३२ वटा ए३२० निओ विमान खरिद गर्ने भएको छ ।

क्याथे प्यासिफिकले चीन र एसियाली क्षेत्रमा सेवा विस्तारका लागि थप विमान खरिद गर्न लागेको हो । विमान खरिद गर्न भएको व्यावसायिक कारोबारको वास्तविक विवरण सार्वजनिक गरिएको छैन तर ती विमानको हालको बजार मूल्यका आधारमा तीन अर्ब २० करोडदेखि चार अर्ब १० करोड अमेरिकी डलरसम्ममा सम्झौता भएको अनुमान गरिएको छ ।

एयरबसले आफ्ना सिङ्गल–आइल ए३२० विमान इन्धन खपतका आधारमा बोइङ कम्पनीका विमानभन्दा उत्कृष्ट रहेको दाबी गर्दै आएको छ । बोइङका ७३७ म्याक्स जहाजभन्दा ए३२० विमान कम इन्धन खपत गर्ने एयरबसको दाबी छ ।

क्याथे प्यासेफिक विश्वका अग्रणी एयरलाईन्समध्येको एक हो । यो कम्पनीले सन् २०१७ मा नै एयरबससँग त्यस्ता विमान खरिद गर्ने बताएको थियो ।

सोही वर्ष एयरबसलाई आपूर्तिका निम्ति दिइएको अर्डरमध्ये १३ वटा विमान क्याथेले प्राप्त गरीसकेको तथा थप १० विमान आगामी सन् २०२९ सम्ममा उपलव्ध हुने अपेक्षा गरिएको एयरबसले जनाएको छ ।

अस्ट्रेलियामा ह्वेल माछाले डुङ्गालाई ठक्कर दिँदा एक जनाको मृत्यु
अस्ट्रेलियाको सिड्नीमा ह्वेल माछाले डुङ्गालाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । घटनामा अन्य एक जना गम्भीर घाइते भएका छन् ।

न्यू साउथ वेल्स प्रहरीका अनुसार सिड्नीको दक्षिणमा रहेको बोटनी बेमा आपत्कालीन सेवाका अधिकारीहरूले समुद्री तटमा ढलेका एक जना ६१ वर्षीय वृद्धलाई उद्धारको प्रयास गर्दा उनी मृत भेटिएका जनाएका छन् । मृतक ती वृद्ध ढलेको स्थानभन्दा केही पर अर्का एक जनालाई गम्भीर अवस्थामा उद्धार गरी स्थानीय अस्पताल भर्ना गरिएको छ ।

मानवरहित डुङ्गा बोटनी बेमा बारम्बार घुमिरहेको देखेपछि दुर्घटनाको आशङ्कामा आपत्कालीन सेवाका अधिकारी घटनास्थलमा पुगेका थिए । अज्ञानवश पीडितहरू धेरै ह्वेल भएका स्थानमा डुङ्गा लिएर पुग्दा यो दुर्घटना भएको उनीहरूले बताएका छन् । सुरक्षा अधिकारीहरूले दुर्घटनाको अनुसन्धान थालेका न्यू साउथ वेल्सका प्रहरी अधिकृत सिओभान मुनरोले बताएका छन् ।

अमेरिका–भारत सैन्य अभ्यास अलास्कामा सुरु
अमेरिकी र भारतीय सेनाको संयुक्त युद्ध अभ्यास अमेरिकाको अलास्कामा सुरु भएको छ ।

दुई देशबीच जारी युद्ध अभ्यासअन्तर्गत यो संयुक्त रणनीतिक अभ्यास हो । दुवै देशका सेनाले शुक्रबार अलास्कामा अभ्यास गरेका भारतीय सेनाका अधिकारीहरूले बताएका छन् ।

अभ्यासमा सहभागी हुन भारतीय सेनाको टुकडी हालै अलास्का पुगेको हो । सैन्य अधिकारीहरूले यसबाट उत्कृष्ट अभ्यास र अनुभवको आदानप्रदान, एकअर्काबाट सिक्न सहज हुने, अन्तरसञ्चालन क्षमता अभिवृद्धि र दुई देशका सेनाबीचको सम्बन्धलाई सुदृढ बनाउने बताएका छन् ।

संयुक्त युद्ध अभ्यास यही असोज २१ गतेसम्म सञ्चालन हुनेछ । अभ्यासको अलास्का संस्करणमा भारतीय सेनाका तीन सय ५० जवान सम्मिलित छन् ।

एक लाख आदिवासी आर्मेनियाली पलायन

अर्मेनियाका अनुसार नागोर्नो–काराबाख क्षेत्रबाट एक लाखभन्दा बढी आदिवासी आर्मेनियाली पलायन भएका छन् । गत साता उक्त क्षेत्रमा अजरबैजानले कब्जा जमाएपछि आदिवासी आर्मेनियाली आफ्नो बहुलता भएको स्थानबाट अधिकांश पलायन भएका काराबाख क्षेत्रका पूर्वअभियन्ताहरूले बताएका छन् ।

अजरबैजानले उक्त क्षेत्रलाई पुनः एकीकरण गर्न र त्यहाँका बासिन्दालाई समान व्यवहार गर्न चाहेको बताएको छ तर अर्मेनियाली प्रवक्ताले त्यो भनाइ केवल ‘झूट’ भएको टिप्पणी गरेका छन् ।

अर्मेनियाका प्रधानमन्त्रीका प्रवक्ता नाजेली बग्दासर्यानले नागोर्नो–काराबाखको अनुमानित एक लाख २० हजार जनसङ्ख्यामध्ये एक लाख चार सय १७ जना पलायन भएका बताएका छन् । शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकाय युएनएचसीआरले पनि एक लाख आदिवासी आर्मेनियाली पलायन भएका जनाउँदै उनीहरूलाई तत्काल मानवीय सहायता आवश्यक परेको बताएको छ ।

नागोर्नो–काराबाख क्षेत्रको धरातलीय यथार्थबारे जानकारी लिन तथा त्यहाँको वस्तुस्थिति मूल्याङ्कन गर्न राष्ट्रसङ्घीय टोली आइतबारसम्ममा त्यहाँ पुग्ने बताइएको छ ।

आर्मेनियाका पूर्वपृथकतावादी नेता आर्टक बेग्लरियानले नागोर्नो–काराबाखका बासिन्दाको अन्तिम समूह शनिबार आर्मेनियातर्फ लागेको बताएका छन् । “अधिकांशमा केही सय व्यक्तिमात्र बाँकी छन्, तीमध्ये अधिकांश अधिकारी आपतकालीन सेवाका कर्मचारी र स्वयंसेवक हुन्,” उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

अजरबैजानी सैन्य कारबाहीका क्रममा मारिएका बाहेक सोमबार नागोर्नो–काराबाखमा इन्धन डिपोमा भएको भीषण विस्फोटमा कम्तीमा एक सय ७० जनाको मृत्यु भएको थियो । अर्मेनियालीहरूद्वारा स्टेपानाकर्ट भनेर चिनिने खानकेन्डी नजिकै विस्फोटको कारण अझै स्पष्ट भइसकेको छैन ।

गत बिहीबार अजरवैजानले नागोर्नो काराबाख क्षेत्र आफ्नो अधिनमा आएको बताएसँगै स्वघोषित स्तन्त्रताको तीन दशक लामो रक्तपातपूर्ण द्वन्द्व अन्त्यसँगै अब त्यसको अस्तित्वसमेत समाप्त भएको घोषणा भएको थियो ।

नागोर्नो–काराबाखका स्वतन्त्रता पक्षधर आर्मिनियाली नेता सम्वेल शाहरामन्यानले सन् २०२४ को जनवरी १ देखि यसको अस्तित्व समाप्त हुने घोषणा गरेका थिए । नयाँ वर्षको पहिलो दिनदेखि सबै राज्य संस्था विघटन गर्ने आदेशमा हस्ताक्षर गर्दै उक्त घोषणा गरेका उनले जनताको सुरक्षाका खातिर त्यो अप्रिय निर्णय गर्नुपरेको स्पष्ट गरेका थिए ।

अजरबैजानको भूभागको रूपमा अन्तरराष्ट्रिय मान्यता दिइएको नागोर्नो–काराबाख विगत तीन दशकदेखि आदिवासी आर्मेनियालीहरूद्वारा नियन्त्रित थियो । सन् १९८८ मा आर्मेनिया र अजरबैजानबीच सुरु भएको द्वन्द्वको मुख्य जड तत्कालीन सोभियत सङ्घ टुक्रिएपछि भएको युद्धमा आफूले जितेको भूभाग आफ्नै नियन्त्रणमा हुनुपर्ने आर्मेनियाको अडान थियोे ।

दिल्लीस्थित अफगानी दूतावास बन्द हुँदै

नयाँदिल्लीमा रहेको अफगान दूतावास आजदेखि बन्द हुने भएको छ । भारत सरकारको असहयोगका कारण दूतावास बन्द गर्नुपरेको दूतावासका एक जना सञ्चार अधिकृतले बताएका छन् ।

सन् २०२१ को अगष्टमा तालिबानले सत्ता कब्जा गर्नुअघि अफगान सरकारको प्रतिनिधित्व गरेका अधिकांश कूटनीतिक कर्मचारी स्वदेश फर्किएको महिनौँ भएको छभने रिक्तस्थानमा नयाँ नियुक्ति गरिएको छैन ।

भारतले अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिएको छैन । त्यहाँ तालिबान सरकार सत्तामा फर्किएपछि भारत सरकारले आफ्नो कूटनीतिक उपस्थिति निलम्बन गरेको छ । जुन २०२२ मा नयाँ दिल्लीले अफगानिस्तानको राजधानीमा भारतीय मानवीय सहायता समन्वय गर्न एउटा प्राविधिक टोलीमात्र परिचालन गरेको छ ।

यही असोज ८ गते भारतीय विदेश मन्त्रालयलाई एक पत्र पठाउँदै अफगानिस्तानको राजदूतावासले भारत सरकारबाट कूटनीतिक व्यवहार र संरचनागत सहयोगको अभावमा यही सेप्टम्बर ३० देखि दूतावास बन्द हुने जानकारी दिइएको छ ।

गत जुनमा भारतका लागि अफगान राजदूत फरीद मामुन्दजाई नयाँ सत्तासँग आफ्नो कुनै राजनीतिक सम्बन्ध नभएको बताउँदै भारतबाट बेलायततर्फ प्रस्थान गरेका थिए ।

अफगान दूतावासले शिक्षा, कन्सुलर सेवा, मानवीय सहायता र अफगान व्यापारीहरूलाई व्यापार– वाणिज्यका मुद्दामा मद्दत गर्न नसकेको, भारतका विभिन्न विश्वविद्यालयमा उच्च शिक्षा अध्ययनको प्रतीक्षा गरिरहेका अफगान विद्यार्थीलाई सहयोग गर्न नपाएकोलगायत भारत सरकारका सम्बन्धित निकायको प्रशासनिक एवं कूटनीतिक असहयोगका कारण दूतावास बन्द गर्न बाध्य भएको भारतीय विदेशमन्त्रालयलाई लेखेको पत्रमा उल्लेख छ । उक्त पत्र नयाँदिल्ली र काबुलस्थित सञ्चारमाध्यमलाई पनि उपलव्ध गराइएको छ ।

अफगानिस्तानमा शासन परिवर्तनपछि भारतले विद्यार्थी भिसा जारी गर्न बन्द गरेपछि भारतका शैक्षिक संस्थाहरूमा भर्ना भएकाहरूलाई नयाँदिल्ली फर्कन असम्भव बनाएको थियो । यससम्बन्धमा भारतीय विदेश मन्त्रालयले जवाफ दिन अस्वीकार गरेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  ७ : ५९ बजे

प्रधानमन्त्रीले राष्ट्रपतिलाई भने- संविधान संशोधनका लागि कार्यदल बनाउँदैछु

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार अपरान्ह राष्ट्रपति रामचन्द्र पौडललाई

एघार विद्यार्थीलाई पत्रकारिता छात्रवृत्ति

काठमाडौं – सूचना तथा प्रसारण विभागले पत्रकारितामा अध्ययनरत ११ विद्यार्थीलाई

रोल्पामा सुन्तला बोकेको पिकअप पल्टिँदा चालकको मृत्यु, तीनजना घाइते

रोल्पा- रोल्पाको माडी गाउँपालिका-१ भितावाङदेखि सुन्तला बोकेर दाङको तुल्सीपुरतर्फ जाँदै

पाँच महिनामा भित्रियो ६ खर्ब रेमिट्यान्स, ११ प्रतिशतले बढ्यो विदेशी मुद्रा सञ्चिति

काठमाडौं– चालु आर्थिक वर्षको पाँच महिनामा विप्रेषण आप्रवाह ४.४ प्रतिशतले

कानुनमन्त्री, मुख्यसचिव र कानुनसचिव लिएर शीतल निवासमा प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति रामचन्द्र पौडलसँग संवादका लागि