विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१४ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

आज मंसिर १४, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार नोभेम्बर ३०, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

दुबईमा आजदेखि राष्ट्रसङ्घीय जलवायु सम्मेलन सुरु

संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन दुबईमा आजदेखि सुरु भएको छ । तेलको धनी आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) को गहन परीक्षाबीच राष्ट्रहरूले विश्वव्यापी तापक्रममा कारवाही अगाडि बढाउन जीवाश्म इन्धनलाई चरणबद्ध रूपमा अन्त्य गर्न आग्रह गरेका छन् । उत्सर्जन अझै बढिरहेको र यो वर्ष मानव इतिहासमा सबैभन्दा बढी गर्मी हुने सम्भावनाका बीच खाडीको भड्किलो सहरमा दुई साता लामो जलवायु सम्मेलन एउटा निर्णायक क्षणमा हुन गइरहेको छ । संयुक्त अधिराज्यका राजा चार्ल्स तृतीय, विश्वका नेता, कार्यकर्ता र पैरवीकर्ताहरूसहित ९७ हजारभन्दा बढी मानिसले उक्त सम्मेलनमा भाग लिइरहेका छन् । यसलाई आफ्नै प्रकारको सबैभन्दा ठूलो जलवायु सम्मेलनका रूपमा लिइएको छ ।

संयुक्त राष्ट्रसङ्घ र आयोजक युएईले कोप २८ भनिने उक्त सम्मेलन सन् २०१५ मा पेरिसमा भएको सम्मेलनपछिको सबैभन्दा महत्वपूर्ण हुने बताएका छन् । सन् २०१५ को पेरिस सम्मेलनमा राष्ट्रहरू पूर्वऔद्योगिक युगदेखि विश्वव्यापी तापक्रमलाई दुई डिग्री सेल्सियसभन्दा कममा सीमित गर्न र प्राथमिकतामा एक दशमलव पाँच डिग्री सेल्सियसको सुरक्षित सीमामा सीमित गर्न सहमत भएका थिए । ती लक्ष्य हासिल गर्ने मार्गमा विश्व अग्रसर नरहेको वैज्ञानिकहरूले बताएका छन् । उनीहरूका अनुसार जलवायु परिवर्तनको सबैभन्दा विनाशकारी असरहरूलाई रोक्नका लागि उत्सर्जनमा तीव्रता ल्याउनु पर्नेछ र गहिरो कटौती गर्नुपर्नेछ । शिखर सम्मेलनको पूर्वसन्ध्यामा राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सम्मेलनको लक्ष्य जीवाश्म इन्धनलाई पूर्ण तरिकाले ‘चरणबद्ध रूपमा अन्त्य’ गर्ने रहेको बताए ।

धेरै मुलुक र वैज्ञानिकहरूले समर्थन गरेको उक्त विवादित प्रस्तावले विगतमा भएका वार्ताहरूलाई अवरोध पुर्‍याएको थियो । “म चरणबद्ध तरिकाले उचित समयसीमाका साथ जीवाश्म इन्धन अन्त्य गर्नुपर्छ भन्ने पक्षमा छु”, दुबई उडान भर्नुअघि उनले एएफपीलाई भने । सम्मेलनमा विश्वव्यापी तापक्रमलाई रोक्नका लागि विश्वको सीमित प्रगतिको जाँच गरिने छ र यसका लागि सम्मेलनमा आधिकारिक प्रतिक्रिया आवश्यक हुनेछ । राष्ट्रसङ्घका जलवायु प्रमुख साइमन स्टिलले बुधबार भने, “अहिले हामीले सानो पाइला चालिरहेका छौँ, हामीलाई जहाँ हुनुपर्ने थियो त्यहाँ पुग्नका लागि हामीले ठूलो छलाङ र कदम चाल्नुपर्छ ।”

शुक्रबार र शनिबार करिब एक सय ४० राष्ट्राध्यक्ष र सरकार प्रमुखहरूबाट विश्वभरमा विनाशकारी बाढी, जङ्गलमा डढेलो र आँधीहुरीको एक वर्षपछि आफ्ना महत्वकांक्षा व्यक्त गर्ने अपेक्षा गरिएको छ । फ्लुका कारण पोप फ्रान्सिसले अन्तिम समयमा सम्मेलन रद्द गर्नुपरेको छ । बिहीबार राष्ट्रहरूले जलवायु–संवेदनशील मुलकुहरूलाई क्षतिपूर्ति दिनका लागि ‘नोक्सान र क्षति’ कोषको सुरुआतलाई औपचारिक अनुमोदन गर्ने अपेक्षा गरिएको छ । उक्त कोषले कसरी काम गर्नेछ भन्नेबारे एक वर्षको कडा वार्ताहरूपछि अनुमोदन गरिने अपेक्षा गरिएको हो ।

यद्यपि उक्त कोषमा पैसा हाल्न बाँकी छ । कोषमा पैसाको प्रवाह सुरु हुन सकोस् भनेर धनी मुलुकहरूलाई कोषमा योगदान गर्न आग्रह गरिएको छ । यूएई स्वयंलाई ऐतिहासिक उत्सर्जनका लागि सबैभन्दा बढी जिम्मेवार समृद्ध विकसित मुलुकहरू र विश्वव्यापी तापक्रममा कम योगदान दिने तर सबैभन्दा खराब परिणाम भोगिरहेको बाँकी विश्वबीच सेतुका रूपमा हेरिएको छ ।

यद्यपि सम्मेलनको आयोजना गर्न दिने निर्णयले आलोचना बढेका छन् । विशेषगरी यूएईको तेल कम्पनी एडीएनओसीका प्रमुख सुल्तान अल जाबेरलाई कोप२८ को अध्यक्षका रूपमा सम्मेलन सञ्चालन गर्न नियुक्त गरिएपछि यस्तो आलोचना बढेको हो । स्वच्छ ऊर्जा कम्पनीका अध्यक्षसमेत रहेका ५० वर्षीय जाबेरले आफ्नो रेकर्डको बचाउ गर्दै युरोपेली र अमेरिकी सांसदहरूको दबाबको प्रतिरोध गरेका छन् ।

जाबेरमाथि सरकारहरूसँगको बैठकहरूमा जीवाश्म इन्धन सम्झौताहरूलाई अगाडि बढाउन अध्यक्ष पदको प्रयोग गरेको आरोप लगाइएपछि कोप२८ को पूर्वसन्ध्यामा स्वार्थको आशङ्कलाई बल पुर्‍याएको थियो । ती आरोपलाई उनले दृढतापूर्वक अस्वीकार गरेका छन् । महासचिव गुटेरेसका अनुसार यदि जाबेर ठोस जलवायु समर्थक रेकर्ड भएको गैरसरकारी सङ्गठनको सदस्य थिए भने उनी जीवाश्म इन्धनलाई चरणबद्ध तरिकाले अन्त्य गर्नुपर्ने आवश्यकता छ भनेर तेल उद्योगलाई बताउने राम्रो स्थितिमा थिए । नोभेम्बर ३० देखि डिसेम्बर १२ का बीच राष्ट्रहरूले धेरै जटिल मुद्दाहरूको सामना गर्नेछन् ।

विशेषज्ञहरूका अनुसार भूराजनीतिक तनाव र विश्वास निर्माण गर्न ठूलो चुनौती हुनसक्छ । इजरायली राष्ट्रपति इसाक हर्जोग र प्यालेस्टाइनी प्राधिकरणका नेता महमुद अब्बासबीच शुक्रबार भेट हुनसक्छ । उनीहरूबीच केही मिनेट कुराकानी हुने बताइएको छ । सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेन दुवै उपस्थित हुने छैनन् । यी दुवै मुलुक विश्वका सबैभन्दा ठूला उत्सर्जक हुन् ।

यद्यपि वासिङ्टन र बेइजिङले यसै महिना जलवायुमाथि एउटा दुर्लभ साझा टिप्पणी गरेर कोप२० मा आशावादलाई बढाएका छन् । ग्लोबल सोलार काउन्सिलकी कार्यकारी सोनिया डनलपले कोप२८ को आयोजकहरूले प्रस्ताव गरेअनुसार सन् २०३० सम्ममा एक सयभन्दा धेरै मुलुक नवीकरणीय ऊर्जालाई तीन गुणा बनाउन सहमत हुने अपेक्षा गरिएको बताइन् ।

जीवाश्म इन्धनको भविष्यमाथि साझा धारणा बनाउन धेरै चुनौतीपूर्ण हुनेछ । तेलमाथि निर्भर भएका, बढ्दो समुद्रमुनि डुब्ने खतरा भएका वा भूराजनीतिक प्रतिद्वन्द्वितामा फसेका मुलुक भए पनि करिब दुई सय मुलुकले कुनै पनि सम्झौतासम्म पुग्नका लागि कोप२८ मा सर्वसम्मतिले निर्णय लिइने प्रक्रियालाई पार गर्नुपर्ने हुन्छ ।

अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिन्जरको निधन

अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिन्जरको निधन भएको छ । बुधबार १०० वर्षको उमेरमा कनेक्टिकटमा किसिन्जरको निधन भएको हो ।

सन् १९२३ मा जर्मनीमा जन्मेका किसिन्जरले सन् १९६९ देखि १९७५ सम्म अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकार र सन् १९७३ देखि १९७७ सम्म विदेशमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

शीतयुद्धका बेला अमेरिकी विदेश नीति र कूटनीतिक क्षेत्रमा उनको भूमिका निकै महत्वपूर्ण मानिन्छ । साम्यवादी चीनसँग अमेरिकाको सम्बन्ध स्थापना गर्न पनि किसिन्जरको भूमिका महत्त्वपूर्ण मानिन्छ । भियतनाम युद्व अन्त्य गर्न पेरिस शान्ति सम्झौतामा हस्ताक्षर गरेबापत उनले सन् १९७३ मा नोबेल शान्ति पुरस्कार पनि प्राप्त गरेका थिए ।

जर्मनीको यहूदी परिवारमा जन्मेका किसिन्जर हिटलरले यहूदी विरोधी दमन सुरु गरेपछि सन् १९३८ मा शरणार्थीका रूपमा अमेरिका पुगेका थिए ।

चीनको कारखाना गतिविधि लगातार दोस्रो महिना सङ्कुचित

चीनमा नोभेम्बर महिनामा कारखाना गतिविधिमा सङ्कुचन आएको आधिकारिक तथ्याङ्कले बिहीबार बताएको छ । चीनमा कारखाना गतिविधिमा सङ्कुचन आएको यो लगातार दोस्रो महिना हो । यसबाट सरकारमाथि सङ्कटग्रस्त अर्थतन्त्रका लागि अझ बढी सहयोग प्रदान गर्नुपर्ने दबाब बढेको छ ।

राष्ट्रिय तथ्याङ्क ब्युरोका अनुसार कारखाना उत्पादनको प्रमुख मापक उत्पादन खरिद प्रबन्धकहरूको सूचकाङ्क घटेर ४९ दशमलव चारमा आएको छ । यो आँकडा अक्टोबरदेखि कम हुँदै गएको थियो र ब्लुमबर्गको सर्वेक्षणमा ४९ दशमलव आठको पूर्वानुमानभन्दा पनि कमजोर थियो ।

चीनले करिब तीन वर्षपछि सन् २०२२ डिसेम्बरमा उसको कठोर शून्य–कोभिड प्रतिबन्धलाई हटाउन सुरु गरेपछि अर्थतन्त्रले फेरि सुधारतिर आउने अवसर पाएको छ । तर, कमजोर उपभोक्ता तथा व्यावसायिक विश्वास, लगातारको आवास सङ्कट, कीर्तिमानी युवा बेरोजगारी र विश्वव्यापी मन्दीका कारण उक्त सुधारमा अवरोध भएको छ ।

यसले चिनियाँ वस्तुहरूको मागलाई असर गरिरहेको छ । विश्वको दोस्रो सबैभन्दा ठूलो अर्थतन्त्र भएको चीनका लागि एउटा कठिन वर्षपछि हालका साताहरूमा केही परिवर्तन आएको छ ।

तेस्रो त्रैमासिकमा आर्थिक वृद्धि दर अपेक्षित चार दशमलव नौ प्रतिशतभन्दा बढी हुने अनुमान गरिएको छ । यद्यपि अहिले पनि करिब पाँच प्रतिशतको आफ्नो घोषित वार्षिक लक्ष्य हासिल गर्नका लागि बेइजिङले कठिन सङ्घर्षको सामना गरिरहेको छ ।

गौतम अडानी विश्वको २० औं धनीको सूचीमा फर्किए

भारतका प्रसिद्ध उद्योगपति एवम् अडानी समूहका अध्यक्ष गौतम अडानीको सम्पत्तिमा बुधबार अचानक उछाल आएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनी फेरि विश्वका २० धनी व्यक्तिको सूचीमा फर्किएका छन् ।

गौतम अडानीको सम्पत्ति बढ्नुको कारण विगत केही दिनमा उनको कम्पनीको शेयरमा भएको वृद्धि हो । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार गौतम अडानीको कुल सम्पत्ति ६६.७ बिलियन डलर पुगेको छ । जसका कारण गौतम अडानी अहिले १९ औं विश्वका धनीको स्थानमा आएका छन् ।

नोभेम्बर २८ मा अदानी समूहको शेयरको समग्र मार्केट क्याप १.०४ लाख करोड रुपैयाँले बढेर ११.२९ लाख करोड रुपैयाँ पुगेको छ । जुन अप्रिल ११, २०२२ पछि एक दिनमा सबैभन्दा ठूलो उछाल हो ।

हमास–इजरायलबीचको युद्धविराम थप एक दिन लम्बियो

हमास र इजरायलबीच कायम युद्धविराम एक दिन लम्बिएको छ ।

जारी युद्धविरामको मध्यस्थ गरिररहेको खाडी मुलुक कतारले शुक्रबारसम्म युद्धविराम लम्ब्याइएको पुष्टि गरेको हो ।

कतारको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्यालेस्टाइन र इजरायली पक्ष गाजा पट्टीमा मानवीय युद्धविरामलाई थप दिनका लागि समान अघिल्ला सर्तहरूमा विस्तार गर्न सम्झौतामा पुगिएको जनाएको हो ।

कजाखस्तानको छात्रवासमा आगलागी हुँदा १३ को मृत्यु

कजाखस्तानको सबैभन्दा ठूलो सहर अल्माटीमा बिहीबार बिहानै एक छात्रवासमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको सहरको आपत्कालीन स्थिति विभागले जनाएको छ ।

“आगो निभाउने क्रममा प्रारम्भमा १३ जनाको मृत्यु भएको थाहा भएको छ, उनीहरूको सनाखत हुन बाँकी छ”, विभागले एक विज्ञप्तिमा भनेको छ, “कार्बन मोनोअक्साइड विषाक्तताका कारण उनीहरूको मृत्यु भएको हो ।”

पूर्वराजधानीको बीचमा रहेको आदी सारिपोभ स्ट्रिटमा स्थानीय समयअनुसार साढे पाँच बजे आगो लागेको सूचना प्राप्त भएको थियो । अग्निशमनकर्मीहरू तीन तले आवासीय भवनमा लागेको आगो निभाउन सात मिनेटपछि पुगेका थिए ।

आगलागी हुँदा उक्त छात्रावासमा ७२ जना रहेको र ५९ जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको विभागले बताएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार  ८ : ३६ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य