नवरात्रको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ सम्पन्न गरिँदै « Khabarhub

नवरात्रको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ सम्पन्न गरिँदै


३० आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– आज शारदीय नवरात्रको छैटौँ दिन । मधेसको महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा आज दशहारा (बडादसैँ)पर्वको जारी नवरात्रमा ‘बेलनौत’ विधि सम्पन्न गरिँदै छ । 

नवरात्रको छैटौँ दिन अर्थात् षष्ठी तिथिमा यो विधि सम्पन्न गर्ने मैथिल परम्परा रहेको राजकीय संस्कृत माध्यमिक विद्यालय (गुरुकुल) मटिहानीका कर्मकाण्ड विषयका शिक्षक शोभाकान्त झाले बताए ।

उनका अनुसार पर्वका अवसरमा माटो मुछेर बनाइएका देवी दुर्गाका प्रतिमाका आँखा उघार्ने प्रयोजनका लागि मिथिला क्षेत्रमा ‘बेलनौत’ विधि गरिने चलन छ ।    

मिथिला क्षेत्रमा दशहारा पर्वमा माटो मुछेर बनाइएका देवी प्रतिमाका आँखा सप्तमीका दिन खोल्न (उघार्न) बेल (फल) को भेट्नो प्रयोग गरिने परम्परा छ ।

यसका लागि एक दिनअघि षष्ठी तिथिका दिन मध्याह्नपछि देवी प्रतिमास्थलबाट बाजागाजासाथ बस्ती नजिकको बेलको रुखमा चढेर एउटा बेल फललाई रातो रुमालले बाँध्ने विधिलाई मिथिलामा ‘बेलनौत’ भनिन्छ । ‘बेलनौत’ को शाब्दिक अर्थ बेललाई निम्ता दिनु हो । आज षष्ठीका दिन यही विधि उल्लासमय वातावरणमा सम्पन्न हुँदैछन् ।  
     
‘नवरात्रको छैठौँ दिन वैदिक मन्त्रोच्चारणसहित निम्ता गरेर बाँधिएको बेलको फल भेट्नुसहित सप्तमीका दिन टिपेर सोही फलको भेट्नुले प्रतिमाको आँखा कोट्याएर उघार्ने मैथिल परम्परा हो । देवी प्रतिमाको आँखा उघार्न शास्त्रले पवित्र मानेको बेल फलको भेट्नो प्रयोग गर्ने परम्पराअनुसार सो प्रयोजनका लागि बेलको फललाई निम्ता गर्ने भाव यो विधि गरिन्छ’, गुरुकुलका शिक्षक झाले भने ।

सप्तमीका दिन एक दिनअघि निम्ता गरिएको बेलको फल भेट्नोसहित टिपेर ल्याई पुरोहित ब्राह्मणले भेट्नोले खोस्रेर प्रतिमाको आँखा उघारी दिएपछि देवी पूर्ण सजिव बन्ने विश्वास गरिन्छ । त्यसपछिमात्र देवी प्रतिमा सर्वसाधारणको दर्शनका लागि खुला गरिन्छ । सप्तमीका दिन बिहान एक दिनअघि निम्ता गरिएको बेल टिप्न पनि बाजागाजासाथ पुग्ने चलन छ । बेल टिप्ने यो विधिलाई ‘बेलतोडी’ भनिन्छ ।  

दशहारा पर्वका अवसरमा मिथिला क्षेत्रका बस्तीबस्तीमा देवी प्रतिमा बनाइएका छन् । ‘बेलनौत’ विधि सम्पन्न गर्न आज बिहानैदेखि यसक्षेत्रमा चहलपहल बढेको छ । ‘बेलनौत’ मा सरिक हुन बिहानैदेखि घरको काम भ्याएर आमनरनारी तयारीमा जुटेका छन् ।

पर्व विशेषमा माटो मुछेर बनाइएका प्रतिमाबाहेक अघिदेखि नै काठ वा धातुका देवी प्रतिमाका लागि आँखा उघार्न आवश्यक नभएकाले त्यस्ता प्रतिमास्थलमा ‘बेलनौत’ विधि आवश्यक नरहेको मिथिला संस्कृति परम्पराका ज्ञाता बताउँछन् । 

यद्यपि यस्ता मन्दिरमा पनि निम्ता गरिएको बेल टिपेर ल्याई देवी प्रतिमा नजिक राख्ने चलन छ । पर्व विशेषमा बनाइएका देवी प्रतिमा विजया दशमीका दिन धार्मिक महत्वका नदी वा गहिरो तलाउमा विसर्जन गरिने परम्परा रहेको छ । यसलाई मिथिलामा मूर्ति भसाउने भनिन्छ ।

प्रकाशित मिति : ३० आश्विन २०८३, शुक्रबार  ९ : ४६ बजे

ए‍क सय १९ सशस्त्र प्रहरी जवान दीक्षित

नारायणगढ – चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर

नवरात्रको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ सम्पन्न गरिँदै

महोत्तरी– आज शारदीय नवरात्रको छैटौँ दिन । मधेसको महोत्तरीसहित प्राचीन