दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


१७ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 7 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

आज दिनभरमा नयाँ दिल्लीमा प्रधानमन्त्री प्रचण्डलाई भारतीय विदेश मामिला राज्यमन्त्री मिनाक्षीले गरिन् स्वागत, राष्ट्रपति पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण, पूर्वसुरक्षाकर्मी संगठनद्वारा रेशम चौधरीलाई माफी दिने कदमको निन्दा, एमालेले बोलायो सचिवालय बैठक, अब सरकारको ध्यान बजेट कार्यान्वयनमा केन्द्रित हुने, नागरिकता विधेयक खारेजीको माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन  लगायतले प्रमुख स्थान पाए ।

नयाँ दिल्लीमा प्रधानमन्त्री प्रचण्डलाई भारतीय विदेश मामिला राज्यमन्त्री मिनाक्षीले गरिन् स्वागत

भारतको चार दिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँ दिल्ली पुगेका छन् ।

नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल बुधबार अपराह्न अवतरण गरेका प्रधानमन्त्री प्रचण्डलाई भारतकी विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छन् ।

भारत भ्रमणका क्रममा बिहीबार समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । यससँगै प्रधानमन्त्री प्रचण्डले अरु उच्चस्तरीय भेटवार्ता पनि गर्नेछन् ।

बिहीबार दिल्ली भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा प्रधानमन्त्री प्रचण्डले भेटवार्ता गर्ने कार्यतालिका छ भने सोही क्रममा दुई देशबीच केही समझदारी र सम्झौतामा हस्ताक्षर हुनेछ ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशसचिव विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ ।

चार दिने भ्रमणका क्रममा आज दिउँसो नयाँ दिल्ली पुगेका प्रचण्डलाई उनीहरूले प्रचण्ड बसेको होटेल मयुर्या पुगेर भेट गरेका हुन् । यस्तै प्रचण्डको सम्मानमा नेपाली दूतावासमा स्वागत कार्यक्रमको आयोजना गरिएको छ । सो अवसरमा प्रधानमन्त्री दाहालले भारतमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने भएका छन् । आज अन्तराष्ट्रिय विमानस्थलमा विदेश राज्यमन्त्री मिनाक्षी लेखीले प्रचण्डलाई स्वागत गरेकी हुन् ।

आजै साँझ भारतका लागि नेपाली राजदूत डा शंकर शर्माले प्रधानमन्त्रीको सम्मानमा रात्रिभोजको आयोजना पनि गरेका छन् ।

बिहीबार प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन् । दुई प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन हुनेछ । भोलि नै मोदीले प्रचण्ड र उनको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन् ।

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई

उपप्रधानमन्त्री एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चारदिने भारत भ्रमणका लागि बुधबार त्यसतर्फ प्रस्थान गरेका उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री खड्काले सम्हाल्ने गरी कार्यवाहक तोकिएको हो ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले खड्कालाई कार्यवाहक प्रधानमन्त्री तोकेका हुन् ।

नागरिकता विधेयक राष्ट्रपति पौडेलद्वारा प्रमाणीकरण
राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन्।

मन्त्रिपरिषद्को बैठकको आग्रहअनुसार संविधानको धारा ६१ र ६६ बमोजिम राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा जाने दिनमै राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका हुन्। आजै बिहान प्रधानमन्त्री प्रचण्ड शीतल निवास पुगेका थिए ।

अघिल्लो संसदले दुई पटकसम्म पारित गरेको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि राष्ट्रपति कार्यालयमै थन्किएको थियो।

संघीय संसदले साउन २०७९ मै नागरिकता विधेयक पास गरेको थियो । तर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी २९ साउनमा सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाइदिएकी थिइन् । फेरि संसदले कुनै पनि बुँदा संशोधन नगरी पास गर्न पठाए पछि यो विधेयक होल्डमा राखिएको थियो।

राष्ट्रपतिद्वारा पाँच देशका लागि गैरआवासीय राजदूत नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच देशका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम उनीहरूलाई ती पाँच देशका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेललाई फिजी, ब्राजिलका राजदूत निर्मलराज काफ्लेलाई अर्जेन्टिना, रुसी महासङ्घका राजदूत मिलनराज तुलाधरलाई बेलारुस, डेनमार्कका प्रा डा. रामस्वार्थ रायलाई नर्वे र पाकिस्तानका राजदूत तापस अधिकारीलाई टर्कीका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पूर्वसुरक्षाकर्मी संगठनद्वारा रेशम चौधरीलाई माफी दिने कदमको निन्दा
टिकापुर घटनामा संलग्न भई जन्मकैदको सजाय सुनाइएका रेशम चौधरीलाई माफी दिने कदमको पूर्वसुरक्षाकर्मीको हकहितका लागि स्थापित संघ संस्थाहरुले निन्दा गरेका छन् ।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनले प्रेस विज्ञप्ति जारी गर्दै रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संगठनका अध्यक्ष विनोद पाण्डेले जारी गरेको विज्ञप्तिमा सरकारको उक्त निर्णय र उक्त निर्णय सदर गर्ने राष्ट्रपतिको कदमको निन्दा गरिएको छ ।

कैलालीको टिकापुरमा २०७२ भदौ ७ मा भएको झडपमा परी एक नाबालक र प्रहरीसहित ९ जनाको मृत्यु भएको घटनाका मुख्य अभियुक्त चौधरीलाई जिल्ला, उच्च तथा सर्वोच्च अदालतले जन्मकैदको फैसला सुनाएपनि राजनीतिक स्वार्थ र दाउपेचलाई केन्द्रमा राखी, शक्तिको दुरुपयोग गरी कानूनी राज्यको धज्जी उडाउँदै विधिको शासन व्यवस्थालाई कमजोर बनाउने कदमको निन्दा गरिएको उल्लेख छ ।

त्यसैगरी, विज्ञप्तिमा सबै हिंसाका घटनालाई सत्ता र राजनीतिसँग जोड्ने र अवराधीलाई उन्मुक्ति दिने किसिमका घटनाक्रमले राज्य व्यवस्थाको शक्ति पृथकीकरणको सिद्धान्तलाई समेत चुनौति दिएको उल्लेख गरिएको छ ।

त्यस्तै, विज्ञप्तिमा सरकारले यस निर्णयलाई तत्काल फिर्ता लिँदै चौधरीलाई पक्राउ गर्न माग गरिएको छ । मागको सुनाुवाई नभएको खण्डमा आन्दोलन गर्ने चेतावनी पनि संगठनले दिएको छ ।

त्यसैगरी, पूर्वसुरक्षाकर्मी परिषद् नेपालले पनि चौधरीलाई माफी दिने कदमको निन्दा गरेको छ । परिषद्का अध्यक्ष कोमलबहादुर राउतले जारी गरेको विज्ञप्तिमा चौधरीलाई माफी दिँदा कानूनी राज्यको उपहास भएको उल्लेख गरिएको छ ।

यस प्रकारको कदमले समग्र सुरक्षाकर्मीहरुको मनोबलमा आँच आउने भन्दै राजनीतिक आन्दोलनका नाममा सुरक्षाकर्मीहरु निशानामा पर्नसक्ने सम्भावनाको साथै सुरक्षाकर्मीहरु जिम्मेवारीपूर्वक भूमिका बहन गर्न असमर्थ हुने जनाइएको छ । विज्ञप्तिमा तत्काल लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरिएको छ ।

‘अखण्ड भारत’को नक्सा स्वीकार्य छैन : रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भारतले हालै उद्घाटन गरेको नयाँ संसद् भवनमा ‘अखण्ड भारत’को नाममा राखिएको नक्साप्रति ध्यानाकर्षण गरेको छ।

रास्वपाले एक विज्ञप्ति जारी गर्दै नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतासँग प्रतिकुल हुने कुनै पनि कदम स्वीकार्य नहुने बताएको हो।

त्यस्तै, रास्वपाले प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा यो विषय उठान गरी जनतासमक्ष यसको सत्यतथ्य सार्वजनिक गर्न पनि माग गरेको छ।

लेखा समितिमा १२१ उजुरी विचाराधीन अवस्थामा
संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिका हालसम्म १२१ वटा उजुरी विचाराधीन अवस्थामा रहेको देखिएको छ । विसं २०७६ वैशाख ३ गतेयता दर्ता भएका यी उजुरीहरू लेखा समितिमा छानबिन र छलफल हुन नसकेका हुन् ।

लेखा समितिको आजको बैठकमा समितिका सचिव एकराम गिरीले नयाँ सदस्य आएपछि थप एउटासहित हालसम्म १२१ उजुरी फछर्यौट हुन बाँकी रहेको जानकारी गराए। नयाँ संसद् आएपछि गठन भएको लेखा समितिमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको शेयर स्वामित्व विवादसम्बन्धी उजुरी परेको छ । समितिको सभापतित्व गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सार्वजनिक लेखा समिति अविछिन्न उत्तराधिकारीवाला संस्थाका रुपमा रहने भएकाले नयाँ सदस्य नियुक्त हुनुभन्दा अघिका उजुरीबारे पनि छलफल र छानबिन गरिनुपर्ने बताए ।

समिति सदस्यहरू राजन केसी, अमरेशकुमार सिंह, रामकृष्ण यादव, गोकुलप्रसाद बाँस्कोटा, रामकृष्ण यादव, योगेशकुमार भट्टराई, विक्रम पाण्डे, जनार्दन शर्मालगायतले समितिमा परेका सबै उजुरीलाई छलफल र छानबिन गर्नुभन्दा महत्वपूर्ण विषयमाथिका उजुरीलाई पहिले समितिमा ल्याइनुपर्ने धारणा राखे ।

समिति सञ्चालन कार्यविधिमाथिको छलफल पनि समितिको आजको बैठकमा चलेको थियो । त्यस्तै, समिति सभापति चयन छिट्टै टुङ्ग्याउने विषय पनि समितिमा उठेको छ ।

एमालेले बोलायो सचिवालय बैठक
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पार्टी सचिवालय बैठक बोलाएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले यही १९ जेठ शुक्रबार बिहान साढे ११ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्नेगरी सचिवालय बैठक आह्वान गरेका हुन् ।

बैठकमा पार्टीको आन्तरिक तथा राजनीतिक एवं समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।

पशुपतिको जलहरी प्रकरणमा एमालेप्रति भ्रम छर्न खोजियो : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिको जलहरी प्रकरणमा एमालेप्रति भ्रम छर्न खोजिएको बताएका छन् ।

बुधबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले पशुपतिको जलहरी प्रकरणमा सत्यकुरालाई छोप्न असत्यको भ्रम छर्न खोजिएको बताएका हुन् ।

अहिले बोक्न नसक्ने गरि आफ्नो सुन लगाएको फोटो बनाएर आफूमाथि भ्रम सिर्जना गरिएको उनले बताए । ओलीले आफूले सानो हुँदा ३(४ दिन मात्रै सुन लगाएको र त्यसपछि सुन नै नलगाएको जिकिर गरे ।

सभ्यताको सुरु भएको यस धर्तीमा जे बोलेपनि हुने प्रवृत्ति मौलाउदै गएको उनको भनाइ छ ।

नागरिकता विधेयक खारेजीको माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन
राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

बुधबार काठमाडौंको बानेश्वरमा प्रदर्शन गर्दै युवा संघले नागरिकता विधेयक खारेज गर्न माग गरेका छन् । प्रदर्शनका क्रममा उनीहरुले राष्ट्रपतिको राजीनामा माग गर्दै पुत्ला दहन गरेका छन् ।

उनीहरूले देश बेच्न पाइदैन, नागरिकता विधेयक खारेज गर, विदेशी दलालहरू होसियार लगायतका नारावाजी गरेका थिए ।

त्यस्तै युवा संघले नेपाली भूमि समेटिएको नक्सा भारतीय संसद्‌मा राखेको भन्दै चर्का नारावाजी गरेका थिए ।

‘अब सरकारको ध्यान बजेट कार्यान्वयनमा केन्द्रित हुन्छ’

 अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारको अबको ध्यान बजेट कार्यान्वयनमा केन्द्रित  हुने जानकारी दिएका छन्। उनले भने, ‘पुँजीगत बजेट केही घटे पनि त्यसको कार्यान्वयनमा सधैँ समस्या छ र यसलाई समाधान गर्नका उच्च प्राथमिकता दिएको छु । ‘

नेपाल आर्थिक पत्रकार समाजले आज आयोजना गरेको बजेटपछिको छलफल कार्यक्रममा उनले पुँजीगत खर्चलाई प्रभावकारी बनाउनका लागि बुँदागत रुपमै घोषणा गरेको र यसको कार्यान्वयन हुने विश्वास व्यक्त गरे । पुँजीगत खर्चको कार्यान्वयन राम्रो भयो भने वैदेशिक सहयोग पनि बढ्ने र यसले गर्दा स्रोतमा केही सहज हुने अर्थमन्त्री डा महतको भनाइ थियो ।

उनले कर निर्धारणमा आफूले अर्थतन्त्र तथा निजी लगानीलाई केन्द्रमा राखेर गरेको जनाउँदै राजस्वका कुनै पनि दरको हेरफेर कुनै पनि स्वार्थ प्रेरित नभएको प्रस्ट पारे । विद्युतीय गाडीमा भएको हेरफेरले उपभोक्तालाई निरुत्साहित नगर्ने उनको भनाइ थियो ।

त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा शिवराज अधिकारीले नेपाली अर्थतन्त्र पोलिसी ट्रयापमा परेको बताए । यो बजेट घाटाका कारणले गर्दा आन्तरिक ऋण बढ्दै जाने र यसले गर्दा फेरि मौद्रिक बजारमा असर गर्ने अधिकारीको भनाइ छ ।

अहिले नै दुई सय ७१ अर्ब बजेट घाटा पुगिसकेको उल्लेख गर्दै उनले यसको असर आन्तरिक ऋणमा देखिएको र जति धेरै घाटा बढ्छ त्यति ऋण विस्तार हुने उल्लेख गरे ।

पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले २०६३ सालपछिको शासकीय अभ्यासका कारणले गर्दा अर्थतन्त्र पोलिसी ट्रयापमा परेको र त्यसको असर अहिले झन् बढ्दै गएको उल्लेख गरे । उत्पादनभन्दा पनि वितरणमुखी कार्यक्रममा प्रतिस्पर्धा भएकाले यस्तो अवस्था आएको उनको भनाइ थियो ।

ऋण लिनका लागि ऋण लिनुपर्ने, विकास निर्माणका लागि बजेट घटाउँदै जानुपर्ने, साधारण खर्चको दायित्व बढ्दै जाने अवस्था अहिले रहेको र सुधार जतिसुकै भने पनि आगामी वर्षको बजेट यही अवधारणामा आएको उनको टिप्पणी थियो ।

कोशी प्रदेशको नाममा पुनर्विचार गर्न १४ कांग्रेस सभापतिको आह्वान
कोशी प्रदेश नामांकनको विरोधमा आन्दोलन चर्किरहेका बेला यस प्रदेशका १४ जिल्ला सभापतिहरुले नाममा पुनर्विचार गर्न आह्वान गरेका छन् ।

प्रदेशसभा बैठक बसेसँगै विराटनगर क्षेत्र दैनिकजसो तनावग्रस्त बनिरहेका बेला कोशी प्रदेशका १४ जिल्लाका कांग्रेस सभापतिहरुले बुधबार संयुक्त रुपमा विज्ञप्ति जारी गरेर नामांकनमा पुनर्विचार गर्न आह्वान गरेका हुन् ।

उनीहरु प्रदेशसभाबाट पारित भएको कोशी प्रदेशको नाममा पुनर्विचार गर्न आह्वान गरेका हुन् । ‘कोशी नाम सम्बन्धमा पुनर्विचार गर्न पार्टी नेतृत्व तथा प्रदेशसभासँग विशेष आग्रह गर्दछौँ,’ जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

प्रदेशसभाबाट गत फागुन १७ गते कोशी नाम पारित भएसँगै उक्त प्रदेश क्षेत्र आन्दोलित भएको हो ।

कोशी प्रदेशकी स्वास्थ्यमन्त्रीद्वारा राजीनामा
जसपाबाट कोशी प्रदेशको स्वास्थ्य मन्त्री बनेकी निर्मला तावा लिम्बूले राजीनामा दिएकी छन् ।

विराटनगरमा पत्रकार सम्मेलन गरी उनले राजीनामा घोषणा गरेकी हुन् । जसपाको प्रदेश समितिको बैठकले वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

सोही बैठकले मन्त्री लिम्बूलाई सरकारबाट फिर्ता आउन आग्रह गरेको थियो । पार्टीको निर्णयलाई आफूले मान्ने भन्दै उनले राजीनामा दिएकी हुन् ।

विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचार गर्न मन्त्रालयको निर्देशन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विपन्न, असहाय, बेवारिसे बिरामीको लागि निःशुल्क उपचार अनिवार्यरूपमा उपलब्ध गराउन निर्देशन दिएको छ । अनुगमनका क्रममा मापदण्डको पालना नभएको, पार्किङ शुल्क उठाउने गरेको, कार्यरत जनशक्तिलाई न्यूनतम पारिश्रमिक उपलब्ध नगराएको भन्ने गुनासो प्राप्त भएको भन्दै मन्त्रालयले स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ को पालना गर्न ताकेताको परिपत्र गरेको छ ।

मन्त्रालयले आज सबै सरकारी, निजी, सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजलाई कूल शय्याको दश प्रतिशत विपन्न, असहाय, बेवारिसे बिरामीको लागि छुट्याएर उपचार सेवा उपलब्ध गराउन ताकेता गरेको हो । ‘स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ दफा ७० ९घ० मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीको लागि कूल शय्याको दश प्रतिशत शय्या छुट्याइ निःशुल्क उपचार अनिवार्यरूपमा गराउनुपर्छ’, मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

यस्तै, बिरामीले संस्थाबाट सेवा प्राप्त गर्न लाग्ने शुल्क, प्रक्रिया तथा अवधिसमेत खुलाएको बिरामी बडापत्र अस्पतालको अग्रभागमा देखिनेगरी राख्न निर्देशन दिइएको छ । मन्त्रालयले पटक(पटक स्वास्थ्य संस्था सञ्चालन मापदण्डको कडाइका साथ पालना गर्न चेतावनीसहित निर्देशन दिँदै आएको छ ।

प्रकाशित मिति : १७ जेठ २०८०, बुधबार  ८ : ५९ बजे

भ्रष्टाचारको फाइल खोल्ने र दोषीलाई नछाड्ने गठबन्धनको बाचा 

काठमाडौं– पाँच दलीय गठबन्धनले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ

चक्रवातका कारण ७०० जना अलपत्र 

सिड्नी– अस्ट्रेलियाको सुदूर उत्तरी क्षेत्रमा मंगलबार आएको उष्णकटिबन्धीय चक्रवातका कारण

कुमारी बैंकले सुरु गर्‍यो रिकरिङ्ग निक्षेप गोल क्याल्कुलेटर ! 

काठमाडौं– कुमारी बैंक लिमिटेडले, नवीनतम डिजिटल उपकरण, रिकरिङ्ग निक्षेप क्याल्कुलेटर

पाँच दलीय गठबन्धनको न्यूनतम कार्यक्रम सार्वजनिक 

काठमाडौं– पाँच दलीय गठबन्धनको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ

पर्यटक बढाउन पोखराका होटेलमा छुट अफर

गण्डकी– होटल सङ्घ पोखरा नेपालले यही चैत २९ देखि आगामी