बैतडीबाट तीन वर्षमा दुईसय महिला र बालबालिका हराए | Khabarhub Khabarhub

बैतडीबाट तीन वर्षमा दुईसय महिला र बालबालिका हराए


१५ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारतसँग सीमा जोडिएको बैतडी जिल्लाबाट पछिल्लो समय महिला तथा बालबालिका हराउने क्रम बढ्दै गएको छ । यहाँको गएको तीन वर्षको तथ्याङ्क हेर्दा हरेक वर्ष हराउने महिला तथा बालबालिकाकोे सङ्ख्या बढ्दै गएको हो ।

पछिल्लो तीन वर्षमा यहाँबाट दुई सयभन्दा बढी महिला तथा बालबालिका हराएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार आर्थिक वर्ष २०७७/७८ देखि आर्थिक वर्ष २०७९/८० सम्म यहाँ दुईसय ४३ महिला तथा बालबालिका हराएका छन् ।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुुसार आर्थिक वर्ष २०७७/७८ मा ६०, आव २०७८/७९ मा ७८ र गत आव २०७९/८० मा एकसय पाँचजना हराएका छन् । हराउनेमा सबैभन्दा बढी महिला रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हराएकामध्ये केही फेला पर्ने गरेका भए पनि आधाजसो अझै सम्कर्पविहीन रहेको प्रवक्ता जोशीले बताए । गत आर्थिक वर्षमा एक सय पाँच जनाको खोजीका लागि प्रहरीमा निवेदन आएकोमा ५५ जना फेला परेका छन् । उक्त वर्ष ७२ महिला, २१ बालिका, १० बालक र दुई ज्येष्ठ नागरिक हराएका थिए । हराएकामध्ये ३३ महिला, १२ बालिका, नौ बालक र एक ज्येष्ठ नागरिक फेला परेका हुन् ।

यस्तै आर्थिक वर्ष २०७८/७९ मा ४० महिला, २६ बालिका र १२ बालक हराएका थिए । तीमध्ये २३ महिला, १६ बालिका र छ बालक मात्रै फेला परेका छन् । दुई वर्षको अवधिमा हराएकामध्ये एकसय जना फेला परेका छन् भने ८३ जना अझै हराइरहेका प्रहरी निरीक्षक जोशीले बताए । यसका साथै आव २०७७र७८ मा हराएका ६० जनामध्ये ३९ मात्रै फेला परेका र अरु सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।

आफन्तहरूले खोजीकार्यका लागि भन्दै प्रहरीमा दिएको निवेदनका आधारमा हराएका महिला तथा बालबालिकाको सङ्ख्या एकीन गर्ने गरिएको प्रहरी प्रवक्ता जोशीले बताए । “हराएको बेला प्रहरीलाई खोजीका लागि निवेदन दिए पनि हराएको मान्छे फेला परेपछि प्रहरीलाई जानकारी दिँदैनन्”, उनले भने , “हराएकाको अझै पनि जिल्लास्थित माहतहतका प्रहरी चौकी तथा छिमेकी जिल्लामा हुलिया एवं तस्बिरसहित पत्राचार गरी खोजी भइरहेको छ ।”

हराउने महिला तथा बालबालिकामध्ये केही प्रहरीको सक्रियतामा भेटिन्छन् भने केही आफन्तकै पहलमा भेटिने गरेका छन् । धेरैजसो भागेर भारत जाने र उतै काम गर्ने भएकाले उनीहरू फेला नपर्ने अवस्था रहेको प्रहरीको भनाइ छ ।

घरेलु हिंसा, उमेर नपुग्दै प्रेम गर्ने र भागी विवाह गर्ने लगायतका कारणले महिला हराउने गरेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए । श्रीमान् वैदेशिक रोजगारीमा गएका कारण श्रीमती परपुरुषसँग लागेर भागेको घटना पनि हुने गरेका छन् ।

उनले भने, “मोबाइल र सामाजिक सञ्जालको दुरूपयोगले पनि पछिल्लो समय यस्ता घटना बाहिर आइरहेका छन् । उमेर नपुगी बिहे गर्ने र घरपरिवारलाई जानकारी नै नदिने कारणले महिला बढी हराएका घटना देखिएका हुन् ।”

भागी बिहे गरेको धेरै वर्षसम्म पनि घरपरिवारको सम्पर्कमा समेत नआउने गरेका छन् । सीमा नाकामा पनि प्रहरीले शङ्कास्पद व्यक्तिलाई सोधपुछ गर्ने गरेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ८ : ४२ बजे

अवैध लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं- काठमाडौं र बाँकेबाट अवैध लागूऔषधसहित  चार जना पक्राउ परेका

फोक्सोका बिरामीलाई सामाजिक सञ्जालमार्फत पाँच लाख सहयोग 

वालिङ– उपचारका लागि आर्थिक अभाव भएपछि फोक्सोका बिरामीलाई झन्डै पाँच

रविको नाममा अड्कियो हलो

काठमाडौं- सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय छानबिन समिति गठन

मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व संकलन

भद्रपुर– मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको दश महिनामा

सहकारी ठगी प्रकरण : माइतीघरमा नेविसंघको प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं– सहकारी ठगी प्रकरण र झापाको गिरीबन्धु टि-स्टेटमा भएको भनिएको नीतिगत