तिहारको झिलिमिलीमा चम्किएको परनिर्भरता | Khabarhub Khabarhub

तिहारको झिलिमिलीमा चम्किएको परनिर्भरता

यस वर्षमात्रै ३५ करोडको झिलिमिली बत्ती आयात


१६ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालीहरूको दोस्रो ठूलो चाड तिहारलाई फूल र झिलिमिली बत्तीले विशेष बनाउँछ । विद्युत पहुँच बढ्दा र उपभोग प्रवृत्ति बदलिँदै गर्दा अचेल नेपालीहरूले तिहारका बेला घर सजाउन विद्युतीय झिलिमिली बत्ती टाँग्छन् ।

तिहारका बेला घरदेखि मठमन्दिर र बाटाघाटासमेत यस्तै विद्युतीय बत्ती बालेर झिलिमिली बनाइएको हुन्छ । माटोबाट बनाइएको पालामा समेत बिजुलीबाट बल्ने झिलिमिली बत्ती जडान गर्न थालिएको छ ।

केही दशक अघिसम्म आम नेपालीहरूले तिहारमा माटाका दियोमा घ्युतेल राखेर कपासको बत्ती बाली घर झिलिमिली पार्थे । अझ, घरमा भएका पशुपक्षी समेतलाई केराको सुप्लो या दियोमा बत्ती बालेर अर्पण गर्ने चलन पहाडी क्षेत्रमा थियो ।

तर, अहिले भने धेरै ठाउँमा तिहारका बेला दीपदानी (दियो) भन्दा विद्युतीय बत्ती नै प्रयोग गर्ने गरिन्छ । तिहारमा बालिने यस्तो झिलिमिली बत्ती अरू बेला भने खासै प्रयोग गरिँदैन ।

वर्षमा एकपटक मात्रै प्रयोग हुने यस्तो झिलिमिली बत्ती नेपालमै बन्छ त ? अहँ ! बन्दैन । नेपालको तिहार झिलिमिली पार्न अन्य देशमै आश्रित हुनपर्छ । तिहार नजिकिँदै गर्दा यस वर्ष पनि दशैँ अघिदेखि नै झिलिमिली बत्ती आयात सुरु भइसकेको थियो ।

नेपालमा आयात हुने झिलिमिली बत्तीको धेरै हिस्सा उत्तरी छिमेकी मुलुक चीनबाट ल्याउने गरिएको छ । झिलिमिली बत्ती सबैभन्दा धेरै चीनबाट नै आयात हुन्छ ।

चीनबाट हुने आयातका हकमा असोज तेस्रो साता परेको अविरल वर्षाले प्रमुख दुई नाका तातोपानी र केरुङतर्फ सवारी आवागमन प्रभावित भएपछि केही घटेको छ । बाटोघाटो दुरुस्त नभएकैले अहिले बजारमा झिलिमिली बत्ती पर्याप्त मात्रामा भित्रिनसकेको छैन ।

भारतको बाटो हुँदै जहाजबाट चाहिँ केही परिमाणमा झिलिमिली बत्ती आयात भएको छ । अन्य सामान भने नाकामै अड्किएको नेपाल विद्युतीय व्यवसायी महासङ्घका अध्यक्ष रेशमप्रसाद देवकोटाले जानकारी दिए । यसपटक झिलिमिली बत्तीको माग पनि अन्य वर्षभन्दा कम हुने उनी बताउँछन् ।

सङ्घले दिएको जानकारीअनुसार अहिलेसम्म करिब ३० करोड रुपैयाँ हाराहारीमा झिलिमिली बत्ती आयात भएको छ । तिहारमा सबैभन्दा बढी एलईडी डिस्को लाइट, नेट झालर, एलईडी लाइट एलईडी फ्रेम लाइट दियो र स्ट्रप लाइटजस्ता बत्तीहरू बढी खरिदबिक्री हुने गर्छ ।

‘यसपटक त्यति धेरै माग आएको छैन, झिलिमिली बत्तीको व्यापार नयाँ घर निर्माणसँग जोडिएको हुन्छ, यो पटक निर्माण व्यवसाय लगभग ठप्प नै छ । भएका केही निर्माण कार्यको भुक्तानी पनि व्यवसायीले पाउन सकेका छैनन् । यस्तो समयमा व्यापार बढ्ला भन्ने आश नै छैन,’ उनले भने ।

बजारमा माग पनि एकदमै न्यून भएका कारण यसपटक झिलिमिली बत्तीको आयातमा पनि कमी आउने उनी बताउँछन् । देवकोटा भन्छन्, ‘यसपटक पनि त्यत्ति उत्साहपूर्ण व्यापार हुँदैन । पोहोरको पनि ४० प्रतिशत झिलिमिली बत्ती बाँकी रहेकाले यसपटक आयात भएको बत्ती धेरै बिक्री हुँदैन कि भन्ने आशङ्का छ ।’

एकपटक किनेका सामग्रीहरू तीन/चार वर्षसम्म चल्ने र अहिले बजारमा नयाँ डिजाइन केही नआएका कारण पनि यसको माग बढ्न नसकेको उनको भनाइ छ । तर, शतप्रतिशत झिलिमिली बत्ती विदेशबाट नै आयात गर्नुपर्ने बाध्यता रहेको उनी बताउँछन् ।

नेपालमा इलेक्ट्रिकल इन्जिनियरिङ पढाइ हुने र दक्ष जनशक्ति भए पनि नेपालमा अहिलेसम्म झिलिमिली बत्ती बनाउने एउटा पनि उद्योग छैनन् । नेपालमा यस्ता बत्तीहरू उत्पादन गर्नै नसकिने त होइन, तर यसमा लगानी गर्न युवाहरू अघि सरेका छैनन् ।

अर्कातर्फ छिमेकी मुलुकमा ठूलो परिमाणमा उत्पादन हुने हुनाले आयातीत झिलिमिली बत्तीको मूल्यसँग नेपाली उत्पादनले प्रतिष्पर्धा गर्न नसक्ने व्यवसायीहरू बताउँछन् ।

अध्यक्ष देवकोटा भन्छन्, ‘त्यही सामान नेपालमा उत्पादन गर्ने हो अहिलेको भन्दा दोब्बर नै महँगो पर्न जान्छ, त्यसकारण पनि स्वदेशमै उत्पादन गर्नतर्फ चासो नरहेको हुनसक्छ ।’

व्यवसायीहरूका अनुसार, सरकारले विशेष प्राथमिकता र सहुलियत दिएर ठूलो परिमाणमा उत्पादन गर्नेगरी प्रोत्साहन दिए झिलिमिली बत्ती उत्पादन गर्ने उद्योग नेपालमै खोल्न सकिन्छ ।

कुन वर्ष कति आयात ?

यस वर्ष अहिलेसम्म ३० करोड रुपैयाँ हाराहारी मूल्य बराबरका झिलिमिली बत्ती आयात भइसकेको छ । गत वर्षमा नेपालमा तिहार छेकामा करिब ४५ करोड रुपैयाँ बराबरको यस्तो बत्ती आयात भएको थियो ।

२०७९ सालको तिहारमा पनि ४० करोड रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात भएको थियो । २०७८ सालमा भने कोरोनाको समय भएका कारण झिलिमिली बत्ती आयात केही घटेको थियो ।

कोरोना महामारी फैलनुअघि वार्षिक ६० देखि ७० करोड रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात हुने गरेको थियो । कोरोना फैलिएपछि २०७७ सालमा भने १८ करोड रुपैयाँको मात्रै झिलिमिली बत्ती आयात भएको थियो ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  ११ : ४२ बजे

पर्यटक भित्र्याउन तीन सय वर्ष पुरानो मौलिक शहरको प्रवर्द्धन

बागलुङ– अहिलेको बागलुङ बजार दुई सय ८४ वर्षभन्दा पुरानो हो

रोजगारीको प्रलोभनमा नपर्न नेपाली दूतावास बैंककको आग्रह

बैंकक– नेपाली दूतावास बैंककले आकर्षक रोजगारीको प्रलोभनमा परी कम्बोडिया, लाओस,

चन्द्रागिरिका पानी, तेल तथा डेरी उद्योगमा अनुगमन

काठमाडौं– संयुक्त बजार अनुगमन टोलीले चन्द्रागिरि नगरपालिकाभित्र सञ्चालित खाद्यान्न र

इजरायली क्याबिनेटबाट युद्ध विराम स्वीकृत

तेल अभिभ – इजरायली क्याबिनेट गाजामा युद्ध विराम गर्ने प्रस्ताव

तराईमा हुस्सु, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल