राजनीति

‘जनता बाढीमा डुब्दा कांग्रेसका मन्त्रीले फोन नै उठाएनन्‌’ : भण्डारी

By खबरहब

October 01, 2024

काठमाडौं – नेपाली कांग्रेसका सांसद्‌ शंकर भण्डारीले प्राकृतिक विपद्को समयमा पार्टीका तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरू, सांसद्‌ तथा पार्टीका नेताहरूले फोन नउठाएको भन्दै आपत्ति जनाएका छन् ।

मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकमा उनले लगातारको वर्षापछि गएको बाढीपहिरो र डुबानले नागरिक समस्या पर्दा उद्धार तथा राहतका लागि सांसद्‌ र नेताहरूले गरेको फोन कांग्रेसकै मन्त्रीहरूले नउठाएको भन्दै आपत्ति जनाएका हुन् ।

‘नेपाली कांग्रेसका तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूले सांसद्‌ तथा पार्टीका नेता एवम् जिल्ला सभापतिहरूको समेत फोन नउठाएको, सुझाव तथा माग नसुनेको भन्ने जस्ता गुनासाहरू सबैतिरबाट आएका छन्,’ भण्डारीले भने, ‘माननीय मन्त्रीहरू पार्टीप्रति जवाफदेही हुने संस्कारको विकास हुनुपर्दछ । मन्त्रीहरूले आफ्नो कार्यशैलीमा तत्काल सुधार गरी सांसद्‌ तथा पार्टीका नेताहरूको राय सल्लाहबमोजिम काम गर्न सुझाव दिन चाहन्छु ।’

सांसद्‌ भण्डारीले सम्भावित प्राकृतिक विपद् तथा जोखिमको पूर्वसूचना प्राप्त भएको अवस्थामा जोखिम तथा क्षति न्यूनीकरणका लागि यथेष्ट समय उपलब्ध हुँदा पनि सरकारको तर्फबाट गरिएका तयारी अत्यन्त फितलो तथा अपर्याप्त देखिएको बताए । ‘विपद् व्यवस्थापनमा समन्वय र जवाफदेहितामा गम्भीर अभाव देखियो,’ उनले भने ।

भण्डारीले ललितपुरको नख्खु खोला किनारको टहरोमाथि उद्धारको याचना लामो समय गर्दा उद्धार हुन नसकेको घटनाले विश्वव्यापी चर्चा पाएको भन्दै उक्त घटनाले नेपालको राज्य संयन्त्र कमजोर र गैरजिम्मेवार रहेको सन्देश विश्वभर फैलिएको दाबी पनि गरे ।

उनले विपद्को समयमा सरकारले संघीय राजधानी काठमाडौंमै जनधनको सुरक्षा गर्न नसकेको भन्दै सरकारको आलोचना गरे । ‘काठमाडौं उपत्यकामा नै केही गर्न नसक्ने सरकारले अन्यत्र जनधनको कसरी रक्षा गर्न सक्ला भन्ने संशय उत्पन्न भएको छ,’ सांसद्‌ भण्डारीले भने, ‘यसले नेपालको साख नराम्रोसँग घटाएको छ ।’

भण्डारीले विपद्को समयमा प्रधानमन्त्री केपी शर्मा ओलीबाट सोमबार व्यक्त अभिव्यक्तिहरू समय सुहाउदो नदेखिएको भन्दै कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाको ध्यानाकर्षण गराए ।

उनले कांग्रेसले पाएका मन्त्रालयमा कर्मचारीको व्यवस्थापनमा पर्याप्त विवेक पुर्‍याउन नसक्दा एकथरीले सधैँ लाभ लिने र अर्काथरी तिरस्कृत हुन पुगेको गुनासाहरू आएको पनि बताए । ‘कर्मचारीलाई अत्यन्त न्यायिक एवम् विवेकपूर्ण ढंगबाट व्यवस्थापन गर्न सुझाव प्रदान गरेको छु,’ भण्डारीले बैठकपछि भने ।

नेता भण्डारीले बैठकमा नेपालका कम्युनिस्टहरूले पटक–पटक कांग्रेसलाई झुक्याउँदै आएको भन्दै विगतमा नेकपा (माओवादी केन्द्र)ले सत्ता हस्तान्तरण नगरेर झुक्याएको स्मरण गराए । ‘भविष्यमा पनि नेकपा (एमाले)ले सजिलैसँग नेपाली कांग्रेसलाई सत्ता सुम्पन्छ भन्न सकिँदैन,’ उनले भने, ‘त्यसतर्फ पनि हामी सचेत रहनु पर्ने हुन्छ भन्ने सुझाव दिएको छु ।’