साहित्य

कविता संग्रह ‘एक्लो पृथ्वी एक्लो मान्छे’ विमोचन

By खबरहब

October 01, 2024

काठमाडौं – कवि दीप दर्पणको पहिलो कविता संग्रह ‘एक्लो पृथ्वी एक्लो मान्छे’ विमोचन भएको छ । मंगलबार काठमाडौँमा एक कार्यक्रमबीच ५२ वटा कविता समेटिएको संग्रह सार्वजनिक गरिएको हो ।

कवि श्रवण मुकारुङ, समालोचक राजकुमार बानियाँ, कवि ज्योति जंगल र लेखक दीप दर्पणले सामूहिक रुपमा कविता संग्रहको विमोचन गरेका हुन् ।

कविता संग्रहमा निम्न मध्यम वर्गीय नेपालीले भोगेका यथार्थपरक विषयवस्तुलाई कलात्मक ढंगले प्रस्तुत गरिएको वक्ताहरूले बताएका छन्‌ । विमोचन कार्यक्रममा बोल्दै कवि तथा गीतकार श्रवण मुकारुङले कविता संग्रहले समाजको यथार्थतालाई मार्मिक ढंगले प्रस्तुत गरिएको बताए ।

समालोचक राजकुमार बानियाँले आफू कविताको भोको रहेको चर्चा गर्दै आफूले अध्ययन गर्न चाहेको कविताहरुमध्ये दीप दर्पणको कविता संग्रह पनि परको बताए । उनले कविताले चित्रण गरेको विषयको गहिराईले पाठकको मन जित्ने बताए । कवि ज्योति जंगलले संग्रहका हरेक कविताले कुनै न कुनै कथानक बोकेको चर्चा गर्दै कविले निम्न वर्गीय मर्मलाई चित्रण गरेको बताए ।

रोल्पा स्थायी घर भएका दीप सानैदेखि कविता लेखनमा रुचि राख्दथे । साहित्यमा विशेष रुचि रहेका उनले फुटकर कविताहरु संचारमाध्यममार्फत पाठकसामू ल्याइरहने गरे पनि संग्रह नै ल्याएको भने पहिलो पटक हो । पहिलो संग्रहले आफूलाई उत्साहित बनाएको बताउँदै यसबाट आउने प्रतिक्रिया र सल्लाह सुझाव अनुसार दोस्रो संग्रह पनि ल्याउने उनले बताए ।

कवि रिमा केसी, महेश छितिज, सुरज राणा र राधिका अधिकारीले कविता संग्रहबाट छानिएका कविता वाचन गरेका थिए । कार्यक्रम संचालन कवि प्रज्वल अधिकारीले गरेका थिए । प्रकाशक सांग्रिला बुक्स रहेको छ ।