यी महिलालाई सलाम ! जो देशमै इलम गर्छन् | Khabarhub Khabarhub

यी महिलालाई सलाम ! जो देशमै इलम गर्छन्

महिला उद्यमीको सुझाव : आर्थिक मन्दीमा स्वदेशी उत्पादन प्रयोग गरौं



काठमाडौं – पढेलेखेका ‘ब्रेन’ वाला मानिस धमाधम युरोप अमेरिकातिर पलायन भइरहेका छन्। उनीहरु भन्छन्- नेपालमा बसेर के गर्नु ? काम गर्ने वातावरण नै छैन। रोजगारी नै पाइँदैन। सरकारमा बस्ने सबै चोर छन्। देशको विकास नै हुन सकेन।

धनुषाकी सरितादेवी मण्डल, सिराहाकी रामपरी महरा र अनि नेपालगञ्जकी अञ्जनी चौधरी त्यस्ता होनहार नागरिक हुन् जसले उच्च शिक्षा पढ्न नपाए पनि स्वदेशमै इलम गरेर अरुलाई रोजगारीसमेत दिएका छन्।

त्यसैगरी काभ्रेकी एकल महिला निर्मला लामाले आमा, बहिनी र छोराको लालन पालन स्वदेशमै उद्योगभन्दा चलाएर धानेकी छिन्। अरुलाईसमेत रोजगारी दिएकी छिन्।

नेपालमा केही गर्ने अवसर छैन भन्नेलाई भुइँतहका यी संघर्षशील महिलाले ठाडो चुनौती दिएका छन्। त्यत्तिमात्र होइन देशभित्रै केही गरेर देखाउने प्रेरणा पनि दिएका छन्।

शुक्रबारदेखि काठमाडौंमा सुरु भएको सातौं ‘अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला’मा हामीले केही त्यस्ता उदाहरणीय पात्रलाई भेट्यौं। उनीहरुका संघर्ष र सफलताका कथा सुन्यौं। अनि समाज र राज्यसँग उनीहरुको अपेक्षा के रहेछ भन्ने पनि बुझ्यौं।

देशभरका महिला उद्यमीहरुको सहभागिता रहेको मेलामा साना र मझौलादेखि विदेशसम्म सामान निर्यात गर्नेहरु महिला उद्यमीहरु सहभागी छन्। मेला मंगलबारसम्म चल्ने छ।

सन् २०१६ देखि सुरु गरिएको महिला उद्यमी मेलाको यो सातौं संस्करण हो। मेलामा १०२ वटा स्टल छन्।

विश्वमा यतिबेला आर्थिक मन्दी चलिरहेको छ। त्यसमाथि नेपालजस्तो विकाशोन्मुख राष्ट्रमा त मन्दीले झनै असर गरेको छ। यही मन्दीकै बेलामा महिला उद्यमीहरुले आफ्नो उत्पादनको बजार विस्तारका लागि मेलाको आयोजना गरेका हुन्।

मेलामा सहभागी महिला व्यवसायीहरु देशलाई आर्थिक मन्दीबाट राहत दिने जिम्मेवारी हरेक नेपालीको रहेको बताउँछन्। आर्थिक संकटकालको अवस्थामा नेपाली पैसा विदेशमा पठाउन नहुनेमा उनीहरुको जोड छ।

घरपरिवार, समाजसँग संघर्ष गरेर व्यवसाय गर्ने हिम्मत जुटाएका केही महिला उद्यमीहरुले खबरहबसँग आफ्ना कथा यसरी सुनाए–

बजार बढ्ने बित्तिकै व्यवसाय बढ्छ
सरितादेवी मण्डल (४०), धनुषा

घरमा श्रीमान र दुई छोरा छन्। ९ कक्षामा पढ्दै गर्दा १६ वर्षको उमेरमै विवाह भयो। बिहे गरेपछि श्रीमानले एसएलसीसम्म पढाए। बच्चा भयो, पढाइ छुट्यो। श्रीमान मिथिला आर्ट गर्नुहुन्थ्यो। श्रीमानकै काममा हात बढाएँ।

बिहे अगाडि मिथिला आर्ट थाहा थिएन। तर घरका भित्तामा चरा, हात्ती, फूलहरुको चित्र बनाउथेँ। घरै बसेर मैले पनि सिकेँ। २१ वर्षदेखि यही व्यवसाय गर्दैछु। आफ्नो सीप र व्यवसायसँग निकै सन्तुष्ट छु।

श्रीमान–श्रीमती दुवैजनाले मिथिला आर्ट मात्रै गरेर पुगेन, परिवार पनि चलाउनुपर्यो। त्यसकारण क्राप्टको सामानमा पनि आर्ट गरेर बेच्न थालियो। त्यसले व्यवसाय बढाउन थाल्यो। १५ जना कामदार राखेर कम्पनी चलाउँदा पनि माग अनुसारको सामान उत्पादन गर्न सकिएन। ठिमीमा १० जना कामदार थिए तर माग धान्न गाह्रो भयो।

यो आर्ट पिचवुड र नेपाली पेपरमा तयार गरिन्छ। घरमा प्रयोग हुने सबै प्रकारका सजावटका सामानमा पेन्टिङ गरिन्छ। मिथिला सभ्यतामा विशेष गरी माछाको डिजाइन शुभ मानिन्छ। त्यही भएर माछामा ऐना जडान गरिएको हुन्छ।

लकडाउनपछि व्यापारमा मन्दी आयो। मन्दीले घाटा हुँदै गएपछि कामदार पनि हटाउनु पर्यो। अहिले व्यवसाय धेरै धरासयी छ। अहिले दुईजना मात्र कर्मचारी छन्, उनीहरुलाई नै काम दिन मुस्किल परिरहेको छ। तर, बजारको सुधार हुन्छ भन्ने आशा छ। बजार बढ्ने बित्तिकै व्यवसाय बढ्छ।

उद्यमी भएपछि महिलामा आत्मविश्वास बढ्छ। श्रीमानले कमाएको छ, पुगेकै छ भनेर महिलाले घरमा खाली बस्नु हुँदैन। पाँच सय रुपैयाँका लागि श्रीमानका अगाडि हात फैलाएर बस्नु हुँदैन। जुनसुकै सीप सिकेर हुन्छ, महिला सक्षम बन्नुपर्छ।

मिहेनतको कमाइ स्वर्गजस्तै हुनेरहेछ

रामपरी महरा (४०) सिराहा

 मेरा चार छोराछोरी छन्। पढ्न पाइनँ तर नाम लेख्न जानेकी छु। भूमिहीन भएकाले उद्यम गरेर खाने कुनै बाटो थिएन। आश्मा नेपाल भन्ने संस्थाबाट लुगा धुने पाउडर अर्थात सरफ बनाउने तालिम लिएँ। साथै चुरा बनाउन पनि सिकें।

श्रीमान मलेसियामा छन्। समयमा पैसा आउँदैन। पैसा नहुँदा कतिपटक भोकभोकैसमेत बस्नुपर्यो। आफ्नो काम गरेर खाने जग्गा जमिन छैन। काम गर्न जाउँ, पढेको छैन। खानै नपाएर मरिन्छ जस्तो लागेको थियो। तर, आश्मा नेपालले जीवन नै परिवर्तन गरिदियो।

पहिले आफ्नो नाम भन्न पनि सक्दिनथेँ, अहिले सामान बेचिरहेकी छु। सिक्यो भने जे पनि गर्न सकिने रहेछ। मेरो जिन्दगी यत्ति परिवर्तन होला भनेर सोचेकै थिइनँ।

 

सरफ र लाहा चुरा बनाएर बेच्छु। महिनाको २० हजार कमाएकी छु। त्यसैले बच्चा पढाएकी छु। उनीहरुलाई माछामासु, फलफूल र दूध खुवाएकी छु।

मधेसमा बच्चामा कुपोषण थियो। पैसाको अभावमा बच्चाले प्रोटिनयुक्त खाना खान पाएका थिएनन्। महिला उद्यमी बनेपछि कुपोषणमा सुधार आएको छ।

म पनि कमाउँछु भन्ने कुराले गर्व लाग्छ। हातमा पैसा देखेर आफै दङ्ग पर्छु। मिहिनेतको कमाइ स्वर्ग हुनेरहेछ। खुसीले कहिलेकाँही मलाई निन्द्रा पनि लाग्दैन।

म काठमाडौं पहिलोपटक आएकी हुँ। यो मेलामा पहिलोपटक सहभागी भएकी हुँ। यहाँ समान बेच्न सजिलो हुन्छ भनेर आएकी छु। पहिले हामीलाई घरबाट निस्कन गाह्रो थियो। आफै पैसा कमाउँदा हिम्मत बढ्दो रहेछ।

‘उपहार हस्तकला’ मा मेहनत

अञ्जनी चौधरी (४५) नेपालगञ्ज

थाकलको पात, मकैको चोया र लसुनको पातबाट सजावटको सामग्री बनाएको मेलामा देखेँ। खेर जाने वस्तुबाट पनि राम्रा सामान बनाउन सकिने रहेछ भनेर दङ्गै परेँ। अनि मेलाबाट ती सबै सामान किनेर घर लगेँ। त्यसको एक–एक पत्र निकालेर हेरेँ। केही काम युट्युबबाट पनि सिकेँ।
अनि, जंगली घाँस, केराको थाम काटेर, सुकाएर ब्याग, झोलाहरु बनाउन थालेँ।

सुरुमा कसैले पत्याएन। म आफैँलाई पनि यो काम गरेर पैसा कमाउन सकिन्छ भन्ने थिएन। तर, पहिलोपटक १३ हजारको सामान बिक्यो। त्यत्रो सामान बिक्छ भनेर सोचेकै थिइनँ। त्यो नै मेरो पहिलो कमाइ थियो।

पहिले गृहिणी थिएँ। जागिर पाउने गरी पढ्न सकिएन। बिहान बेलुका घरको काम गर्यो, दिनभर यत्तिकै बस्नुपर्थ्यो। केही गर्न सकिँदैन भन्ने लाग्थ्यो। त्यही समयलाई सदुपयोग गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो।

घरमा पैसा कमाउने श्रीमान मात्रै थिए। पढेलेखेका महिलासँग बिहे गर्ने पुरुषलाई घरव्यवहार चलाउन सजिलो हुन्छ, उनीहरुका श्रीमतीले जागिर गर्छन्, पैसा कमाउँछन्। तर, मलाई पैसा कमाएर श्रीमानलाई सघाउन पाए कस्तो हुन्थ्यो होला भन्ने लाग्थ्यो।

अहिले ‘उपहार हस्तकला’ भनेर महिला उद्यमीमा दर्ता गरेको छु। ५/६ जनाले काम गरिरहेका छन्। पहिले दर्ता नगरी धेरै वर्ष काम गरियो। पहिले–पहिले जंगलमा आफैँ गइन्थ्यो। अहिले गाईभैंसी चराउन जानेहरुसँग सम्पर्क गर्छौं, उनीहरुले पनि पैसा कमाउन् भनेर।

एककिलो थाकलको पातको पाँच सय रुपैयाँ दिन्छु। उनीहरु धेरै खुसी छन्। ५० केजीसम्म किनिदिएकी छु। मसँग पाँच सयदेखि २५ सयसम्मका सामान छन्। यसबाट बनेका सामानहरु दुई वर्षसम्म टिक्छ। घाँसघुसबाट बनाएको सामान पनि धेरै महङगो ? भन्छन्। त्यस्तो सुन्दा नरमाइलो पनि लाग्छ। यसको कच्चा पदार्थको मूल्यभन्दा परिश्रम धेरै लाग्छ।

सजावटको सामान भनेको सौख हो तर आर्थिक मन्दीले सौखको सामान किन्न सकिरहेका छैनन्। व्यापारलाई असर गरिरहेको छ। तर, सजावटका सामान किन्दा हाम्रो आफ्नै देशका सामानलाई जोड दिउँ भन्न चाहन्छु।

विदेशी कपडा लगाएर राष्ट्रवादको कुरा नगरौं

निर्मला लामा (३०), काभ्रेपलाञ्चोक

म एकल महिला हुँ। विचार, व्यवहार नमिलेपछि श्रीमानसँग केही वर्ष अगाडि छुट्टिएँ। १० वर्षको छोरा, आमा र एक बहिनीको जिम्मेवारी मेरै काँधमा छ। १२ कक्षासम्म अध्ययन गरेकी छु। व्यवस्थापन अध्ययन गरेकाले सानो भए पनि आफ्नै काम गर्नुपर्छ भन्ने सोच विद्यार्थीदेखि नै आएको थियो।

ढाकाको कपडा बुन्ने इच्छा थियो। इच्छाले पनि होला, तीन दिनमै काम सिकेँ। यस क्षेत्रमा राम्रो आम्दानी गर्न सकिन्छ भनेर फूपूले सल्लाह दिनुभएको हो। ढाकाको उत्पादन ९ वर्ष अगाडि तालिम लिएकी हुँ। त्यसपछि फर्केर अरुको काम गर्नुपरेको छैन।

ढाका नेपाली उत्पादन हो। पूरा १० घण्टा काम गर्दा एउटा सानो गलबन्दी तयार गर्न सकिन्छ। हामी साडी, कोट, चौबन्दी चोलो, ढाकाको सल र ब्याग बनाउँछौं। यो अलिकति महङगो हुन्छ, त्यसैले किन्नलाई गाह्रो मान्नुहुन्छ। मिहिनेत अनुसारको फल नपाउदाँ कहिलेकाँही विदेश जाउँ-जाउँ हुन्छ।

पूरै हातले तान लगाएर बनाउनुपर्छ। हातमा ठेलासमेत आउछ। सिम्पल बुट्टा छ भने दिनमा एकदेखि डेढ मिटरसम्म बुन्न सकिन्छ। बुट्टा धेरै हाल्ने हो भने २० देखि ३० इन्चसम्म बुन्न सकिन्छ।

मानिसहरुले ढाका मन पराउँछन्, तर पैसा बढी भयो भन्ने गुनासो छ। यत्तिका वर्ष भयो तर कमाइ सन्तोषजनक छैन। नेपाली उत्पादनको बजार सानो छ। बजार ठूलो बनाइदिए, हामी यत्तिको सीप भएको मान्छेले विदेश जानुपर्दैनथ्यो।

मिहेनत अनुसारको ज्याला भएन भने पनि कामदार भाग्छन्। उनीहरुले पनि विकल्प खोज्छन्। जति धेरै पिस बनायो, त्यति नै पैसा हुन्छ। कहिलेकाहीँ सामान होल्ड भएर कम मूल्यमा पनि सामान बेच्नुपर्ने हुन्छ।

जुन मेसिनबाट ढाका बुनिँदैछ, त्यो हटाउनुपर्छ। नेपालीले नेपाली उत्पादन लगाउनुपर्छ। तर, नेपालीलाई नेपाली उत्पादन लगाउन लाज लाग्छ। विदेशी ब्राण्डमा गर्व गर्ने नेपालीले यो देशमा योगदान गर्न सक्दैनन्। विदेशी उत्पादन प्रयोग गरेर राष्ट्रवादको कुरा गर्छन्। नेपालीहरुले हाम्रो उत्पादन प्रयोग नगर्दा महिला विदेशिन बाध्य भएका छन्।

विदेशमा महिलाको अवस्था कहालिलाग्दो छ। महिलालाई प्रोत्साहन गरी आफ्नै देशमा आत्मनिर्भर हुने वातावरण सरकारले बनाइदिनुपर्छ। आज ढाका महङगो हुनुको कारण सामान थोरै बिक्ने भएर हो। सबै नेपालीले ढाका प्रयोग गर्ने हो भने यसको मूल्य घट्छ।

महिला उद्यमीलाई प्रोत्साहन र सहयोगको खाँचो छ

दर्शना श्रेष्ठ, संयोजक, महिला उद्यमी महासंघ नेपाल (एफवीन)

यतिबेला आर्थिक संकटको मारमा सबैभन्दा धेरै महिला उद्यमीहरु परिरहेको महिला उद्यमी महासंघ नेपाल (एफवीन) संयोजक दर्शना श्रेष्ठ बताउँछिन्। श्रेष्ठ भन्छिन्, ‘उद्यमीका रुपमा महिलाहरु पहिलो चरणमा छन्। यतिबेला उनीहरुसँग हाते सीपमार्फत उत्पादन भएका वस्तु छन्। यसको बजारीकरण गर्न समस्या छ। महिलाहरु सीप भएर पनि व्यवसायिक रुपमा जान नसकेको अवस्थामा छन्।’

काठमाडौंमा आयोजित यो मेलाले आफ्नो उत्पादन बेच्न मात्रै नभई बजारीकरण कसरी र कहाँ गर्ने भन्ने जस्ता कुराहरु पनि सिकाउने श्रेष्ठले खबरहबलाई बताइन्।

महिलालाई उद्यमी बनाउन जटिल हुने श्रेष्ठ सुनाउँछिन्। उनी भन्छिन्, ‘स्टार्टअप गर्न गाह्रो छ, समाजमा महिलामाथिको दृष्टिकोण साँघुरो हुँदा उनीहरु घरबाट निस्कन डराएका छन्।’

जतिसुकै चुनौती आए पनि संघर्षबाट पछाडि नहट्न उनी सबै महिलालाई प्रोत्साहन गर्छिन्। भन्छिन्, ‘सरकारले सहुलियत दिने र बजारीकरणका लागि सहयोग गर्दिनुपर्छ।’

मेलाले महिला उद्यमीलाई बजारको पहुँच पुर्‍याउने  र नेटवर्क बनाउनमा मद्दत गर्ने उनले बताइन्। श्रेष्ठका अनुसार महिला उद्यमी महासंघमा हाल ५३ सय महिला उद्यमीहरु सदस्य छन्।

 

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ९ : ०५ बजे

एनसीबी कन्फरेन्समा भाग लिएर फर्किए प्रहरी महानिरीक्ष कुँवर

इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा वैशाख ११ देखि १३ सम्म

अहिलेको अवस्थामा वर्तमान सरकारको विकल्प छैन : देव गुरुङ

काठमाडौं- नेकपा माओवादी केन्द्र का महासचिव देव गुरुङले अहिलेको अवस्थामा

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई २२८ रनको लक्ष्य दिएको

श्रमिकलाई लक्षित गर्दै सरकारले ल्यायो ‘श्रमाधान कार्यक्रम’

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमाधान कार्यक्रम सार्वजनिक

उपनिर्वाचनले एमालेको लोकप्रियता प्रमाणित गर्‍यो : प्रदीप ज्ञवाली

बैतडी– नेकपा एमालेका उप महासचिव तथा स्कुल विभाग प्रमुख प्रदिप