प्रचण्ड सरकारमा खटपट, नयाँ गठबन्धनको कसरतमा कांग्रेस र एमाले | Khabarhub Khabarhub

प्रचण्ड सरकारमा खटपट, नयाँ गठबन्धनको कसरतमा कांग्रेस र एमाले


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


26.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाका ठूला दुई दल नेपाली कांग्रेस र नेकपा एमालेका नेतृत्वबीच शनिबार भक्तपुरको बालकोटमा भएको भेटले राजनीति ‘नयाँ कोर्ष’ तिर जान लागेको आशंका भइरहेको थियो । तर, प्रधानमन्त्रीसमेत रहेका संघीय संसदको तेस्रो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने कांग्रेस–एमाले नेतृत्वले गोप्य रुपमा शनिबारअगावै भेटेर छलफल गरिसकेको सुइँको पाइसकेका थिए ।

प्रधानमन्त्री प्रचण्डलाई उक्त सुइँको चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्षसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले खुफिया एजेन्सीबाट प्राप्त सूचनाका आधारमा दिएका थिए ।

गोप्यरुपमा भएको अघिल्लो भेटको सूचना गृहमन्त्री लामिछानेमार्फत् प्रधानमन्त्री प्रचण्डसम्म पुगिसकेको जानकारी पाएकै कारण कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार असार १५ को अवसर देखाएर खुल्लारुपमै भेटवार्ता गरे ।

ओली र देउवाहरुबीच आइतबार बेलुकीसमेत फेरि गोप्य रुपमा भेटवार्ता भएको स्रोतले बताएको छ । तर, देउवा–ओलीको सचिवालयले पछिल्लो भेटवार्ताको स्थान र भएको छलफलका बारेमा केही खुलाएका छैनन् ।

कांग्रेस–एमाले मिलेर सरकार चलाउन मोडालिटी तय गर्नेबारे शीर्ष नेताहरुका बीचमा छलफल अगाडि बढेसँगै प्रचण्ड नेतृत्वको वर्तमान सरकार धरापमा परेको छ ।

कांग्रेस–एमाले मिल्ने सुइँको पाएपछि प्रधानमन्त्री प्रचण्ड आइतबारदेखि तारन्तार एमाले अध्यक्ष ओलीसँग भेट गरिरहेका छन् । सोमबार बिहानमात्रै उनले पूर्वप्रधानमन्त्री ओलीलाई सरकारी निवास बालुवाटार बोलाएर छलफल गरेका छन् । यसअघि आइतबार पनि दुईजनाबीच बालुवाटारमै भेटवार्ता भएको थियो । पछि गृहमन्त्री लामिछानेलाई सँगै राखेर प्रचण्ड–ओलीले छलफल गरेका थिए ।

स्रोतका अनुसार कांग्रेस–एमाले प्रतिनिधिसभाको बाँकी रहेको कार्यकालको आधा–आधा समय सरकारको नेतृत्व गर्ने गरी सरकार गठनको गृहकार्यमा लागेका छन् । वर्तमान सरकार ढालेर गठन हुने नयाँ सरकारको पहिलो नेतृत्व एमाले अध्यक्ष ओलीले र चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति देउवाले गर्ने स्रोतको दाबी छ ।

स्रोतले कांग्रेस–एमालेबीच सरकार सञ्चालनको मोडालिटीको खाका नै बनिसकेको समेत दाबी गरेको छ । तर, कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्मा भने सरकार गठन नै गर्ने तहमा देउवा–ओलीबीच छलफल नभएको बताउँछन् । ‘अनुमान लगाएका हुन् । तर, त्यो तहमा छलफल भएको होइन,’ उनले खबरहबसँग भने ।

विश्वकर्माले संक्रमणकालीन न्यायसाग सम्बन्धित विधेयक, बीआरआईलगायतका विषयमा साझा धारणा बनाउन दुई नेताहरुबीच शनिबारको भेट भएको प्रतिक्रया दिए । ‘ओलीजी सरकारका कामकाबाही प्रति असन्तुष्ट हुनुहुन्छ । हामी प्रतिपक्षको असन्तुष्टि रहने नै भयो,’ उनले भने, ‘संक्रमणकालीन न्यासँग सम्बन्धित विधेयक, बीआरआई लगायतका विषयमा साझा धारणा बनाउन उहाँहरु बस्नु भएको हो ।’

प्रचार विभाग प्रमुख विश्वकर्माले कांग्रेस–एमालेबीचको सत्ता समीकरणलाई भने नकारेनन् । ‘सहकार्य गर्न सक्ने सम्भावनाका बारेमा पनि छलफल भएको हो,’ उनले भने। ‘तर, सरकार बनाउनेलगायतका विषयमा जसरी चर्चा भइरहेको छ, त्यो ढंगको छलफल भइसकेको छैन ।’

शनिबार बालकोटमा भेट हुनुअघि असार ७ गते राति कांग्रेस नेता विनोद चौधरी र एमाले अध्यक्ष ओलीबीच बालकोटमा भेट भएको थियो । ‘केपी शर्मा ओली’ को नाममा रहेको फेसबुक पेजमार्फत उनीहरुबीचमा भेटघाट भएको खुलेको थियो । पेजबाट सार्वजनिक गरिएको भिडिओमा कांग्रेस नेता चौधरी एमाले अध्यक्ष ओलीसँगै पलेटी कसेर बसेका देखिन्थे ।

त्यसको एक सातापछि शनिबार दिउँसो २ बजे कांग्रेस सभापति देउवा पत्नी आरजुलाई लिएर बालकोट पुगे । उनी बालकोटमा शनिबार अपरान्ह ५ बजेसम्म बसेका थिए ।

भेटघाटमा भएको छलफलबारे दुवै नेताहरुले सार्वजनिक रुपमा केही खुलाइसकेका छैनन्, उनीहरुको सचिवालयले पनि तीन घण्टा लामो संवादको विषय गोप्य राखेको छ ।

यद्यपि, यो भेटले नेपालको राजनीतिलाई फेरि एक पटक तरंगित बनाइदिएको छ । तथापि, बालकोटले शनिबारको भेटलाई नियमित श्रृंखला र पारिवारिक भनेको छ । ‘राजनीतिमा अरु कथा बनाउने गरी उहाँहरुका बीचमा छलफल अथवा भेटघाट भएको हुँदै होइन । यो नियमित र विशुद्ध पारिवारिक भेटघाट हो,’ बालकोटबाट ओलीका प्रेस सल्लाहकार रामशरण बजगाईंले खबरहबसँग भने ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ११ : २० बजे

३६ वर्षदेखि खुसी पर्खिएका नेदरल्यान्ड्स समर्थक

फ्रान्स र नेदरल्यान्ड्स युरोकप फुटबल प्रतियोगिताको क्वाटरफाइनमा प्रवेश गरिसकेका छन्।

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, महामन्त्री ढकालको प्रतिवेदनमा छलफल हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज

कालीगण्डकी करिडोर अवरुद्ध

बागलुङ– अविरल वर्षाका कारण बागलुङको ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा

कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक

एकीकृत समाजवादीको महाधिवेशनमा आज समूह नेताको प्रस्तुति

काठमाडौँ– नेकपा एकीकृत समाजवादीको महाधिवेशन आज पनि जारी रहने छ