मङ्गलबारसम्म बन्न सक्छ काङ्ग्रेस-एमाले गठबन्धन सरकार | Khabarhub Khabarhub

मङ्गलबारसम्म बन्न सक्छ काङ्ग्रेस-एमाले गठबन्धन सरकार

ओली प्रधानमन्त्री हुन सक्छन्



काठमाडौं- नेपाली कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार बन्ने पक्कापक्की भएको छ। मङ्गलबार बन्ने भनिएको नयाँ सरकारको प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओली हुने बताइएको छ ।

नयाँ सरकारमा कांग्रेस र एमाले मात्रै सहभागी हुने नेताहरूले बताएका छन् ।

हाल प्रतिनिधि सभामा कांग्रेसको ८८ सिट छ । एमाले ७८ सहित दोस्रो ठूलो दलका रूपमा छ । शीर्ष यी दुवै सङ्ख्या जोड्दा १६६ अर्थात् सुविधाजनक बहुमत पुग्छ ।

संविधानअनुसार नयाँ सरकार गठन गठनका लागि बहुमत अर्थात् १३८ जना सदस्य आवश्यक पर्छ।

दुई ठूला दलबीच सहमति भएपछि कम्फर्टेबल सरकार बन्ने भएकाले यसको अभ्यास सुरु गरिएको कांग्रेस नेताहरूको भनाइ छ।

मङ्गलबार बिहान प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएपछि नयाँ सरकारको औपचारिक प्रक्रिया सुरु हुनेछ ।

जसका लागि अध्यक्ष ओलीले सोमबार नै बिहानै प्रचण्डलाई भेटेर जानकारी गराइसकेको ओलीको सचिवालयले जनाएको छ ।

आज दिउँसो पनि कांग्रेस एमालेका दोस्रो तहका नेताहरूबीच विभिन्न चरणमा छलफल भएको छ । यस्तै एमालेले अहिले उपउपलब्ध सचिवालय सदस्यको बैठक बालकोटमा बसेको छ।

यता काङ्ग्रेस नेताहरूले पनि विभिन्न चरणमा छलफल गरेका छन्। काङ्ग्रेस सभापति शेरबहादुर देउवा भने बूढानीलकण्ठमै छन्। उनलाई सन्चो नभएका कारण नेताहरू अनौपचारिक छलफलमा छन् ।

मन्त्रालय भागबन्डा नटुङ्गिए पनि ओली प्रधानमन्त्री हुँदा कांग्रेसले ११ मन्त्रालय र एमालेले १० वटा मन्त्रालय लिनेबारे छलफल भएको छ।

यसबारे कांग्रेसका एक शीर्ष नेताले भने, ‘दुई ठूला दल मिलेपछि अरुलाई ल्याउने नल्याउने छलफल भएको छैन। दुई ठूला दलमा सहमति भएपछि सबै कुरा टुंगिएर जान्छ। अरुलाई किन जोडिराख्नुपर्यो र?’

यी दलहरूले नयाँ सरकार गठनका लागि भागबन्डा लगाइसकेका छन्। तर यसको औपचारिक निर्णय सार्वजनिक भएको छैन।

कांग्रेसका एक नेताले खबरहबलाई भने ,’छिट्टै नयाँ खबर सुन्न पाइन्छ । हामीले त प्रतिपक्षमा बस्ने वाचा गरिसकेका थियौँ । तर देशको आवश्यकता नै कांग्रेस-एमाले मिल्नुपर्छ भन्ने भएपछि सरकार बनाउने बाटो रोजेका हौँ।’

सरकारको नयाँ अभ्यासका लागि काङ्ग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पटकपटक छलफल भइरहेको थियो ।

जेठ मसान्तबाट नै नेताबीच पटकपटक छलफल भए पनि बजेट आएपछि बाक्लो उठबस अघि बढेको हो ।

कांग्रेसका एक शीर्ष नेताका अनुसार, संविधान जारी भएको आठ वर्ष बितिसक्दा पनि देशमा जटिलता र कठिनाइहरू उस्तै रहेकाले संविधानको समीक्षा गरेर परिमार्जन गर्न दुई दलहबीच मिल्ने बाटो रोजिएको हो ।

यस्तै वर्तमान निर्वाचन प्रणाली सुधार नगरे ०८४ मा पनि कुनै दलको बहुमत नआएर अस्थिरता हुने भएकाले कांग्रेससँग मिल्नुपरेको एमाले नेताहरूको भनाइ छ।

कांग्रेसका शीर्ष नेता पनि देउवाले आज बसेको पदाधिकारी बैठकमा सरकार परिवर्तनको संकेत दिएको बताएका छन्।

उनले खबरहबलाई भने, ‘दुई ठूला पार्टीहरूबीच बीच मिलन भए देशलाई जोखिमबाट जोगाउन सकिन्छ । संविधान र निर्वाचन प्रणाली सुधार गर्न सजिलो हुन्छ। संविधानका नराम्रा पक्षहरूलाई हटाएर राम्रालाई मात्रै अपनत्व गराउन जनताले ठूला पार्टीहरू मिल्नुपर्छ भन्नुभएको हो ।’

यता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठकमा गठबन्धन लिसो जस्तै टाँसिएकाले कसैले पनि टुटाउन र फुटाउन नसक्ने दाबी गरेका थिए।

ती मन्त्रीका अनुसार दाहालमा त्यो कन्फिडेन्ट भने देखिएको थिएन । गठबन्धनमा ओली र प्रचण्डबीच बजेट प्रस्तुत भएदेखि नै मनमुटाव सुरु भएको स्रोतको दाबी छ।

ओलीले आफूसँग सल्लाह नगरी प्रधानमन्त्रीले एकलौटी बजेट ल्याएकोमा असन्तुष्टि जनाउँदै आएका थिए। त्यसकारण उनले माओवादीको बजेट हो या सरकारले बजेट ल्याएको छुट्याउनै नसकिएको बताएका थिए।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने दिन २०८० फागुन ३० गते नै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले कांग्रेस-एमालेले टाउको जोडे प्रधानमन्त्रीको हालत के होला भनेर प्रश्न गरेका थिए ।

उनले भनेका थिए,’धोका खानेहरू कांग्रेस र एमाले मिले भने भोलि तपाईंको के हालत होला प्रधानमन्त्रीज्यू यो पनि कुरा ख्याल गर्नुहोस् ।’

त्यसपछि खबरहबसँगको कुराकानीमा पनि लेखकले एमाले-माओवादी सरकार ढाल्नु नपर्ने समय आएपछि आफैँ ढल्ने बताएका थिए।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ११ : ०५ बजे

महामन्त्री ढकाललाई कारबाही गर्ने रास्वपाको तयारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई सामान्य कारबाही

मापदण्ड विपरीत तेल उत्पादन गर्ने कम्पनीलाई जरिवाना

काठमाडौं – काठमाडाैं महानगरपालिकाले मापदण्ड विपरीत तेल उत्पादन गर्ने चारवटा

काठेपुल तर्ने क्रममा बाढीले बगाउँदा एकजनाको मृत्यु

सुदूरपश्चिम – कैलालीको गौरीगङ्गा नगरपालिका–११ स्थित कटेनी नदीको बाढीमा बगेर

एकीकृत समाजवादीको महाधिवेशनमा प्रस्तुत सबै दस्तावेज अनुमोदन

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)को दशौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिएका

एमालेले समर्थन फिर्ता लिएपछि प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको