बाढीपहिरोको विपदमा के गर्दैछन् लाखौँ सदस्य भएका दल ? | Khabarhub Khabarhub

बाढीपहिरोको विपदमा के गर्दैछन् लाखौँ सदस्य भएका दल ?

सडकमा देखिएनन् पार्टीका नेता–कार्यकर्ता


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजनीतिक स्वार्थअनुसार हजारौँको संख्यामा कार्यकर्ता सडकमा उतार्दै आएका दलहरू बाढी–पहिरोको विपदमा राहत तथा उद्धार अभियान चलाउने औपचारिक निर्णय गरेर मौन बसेका छन् ।

संघीय राजधानी जोड्ने अधिकांश राजमार्गमा हजारौँ यात्रु भोकै–तिर्खै अलपत्र परेका बेला दलहरूले उनीहरूसम्म आपतकालीन राहत पुर्‍याउने प्रयाससमेत गरेका छैनन् । न त पार्टीका कार्यकर्ताहरू स्वयंसेवकका रुपमा सडकमा देखिएका छन् ।

बाढी–पहिरोले अवरुद्ध सडक खुलाउन सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी संघर्षरत रहँदा १०औँ लाख सदस्य रहेको दाबी गर्ने नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र विपद्का बेला राहत तथा उद्धार कार्यमा चुकेका छन् ।

असोज ११ र १२ गते परेको अविरल वर्षापछि विभिन्न जिल्लामा गएको बाढी–पहिरोमा परेर अहिलेसम्म २१७ जनाको मृत्यु भइसकेको छ भने २८ जना बेपत्ता भएका छन् । नेपाल प्रहरीका अनुसार १४३ जना घाइते भएका छन् भने ४ हजार ३३० भन्दा बढीको उद्धार गरिएको छ ।

प्रहरीले अविरल वर्षाका कारण विभिन्न स्थानहरूमा बाढी तथा पहिरोले गर्दा सडक अवरुद्ध रहेको र प्रहरी परिचालन भई बाटो खुलाउने प्रयास भइरहेको हुँदा लामो यात्रामा निस्कनुभन्दा पहिला नजिक वा सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरिरहेको छ ।

सत्तामा रहेका र प्रतिपक्षमा रहेका दलहरूका देशभर विद्यार्थी, युवादेखि विभिन्न जनवर्गीय संगठनहरू छन् । तर, उनीहरूले बाढी–पहिरोले जनधनको ठूलो क्षति पुर्‍याएकाे तीन दिन भइसक्दा पनि अवरुद्ध सडक खुलाउन भ्रातृ संगठनहरूलाई परिचालन गरिसकेका छैनन् ।

यद्यपि, सत्ता साझेदार दल नेपाली कांगेस र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले भने पार्टी पंक्तिलाई राहत तथा उद्धारमा खटाउने र पुनर्निर्माणमा केन्द्रित गर्ने निर्णय गरेका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा आइतबार बेलुका बसेको माओवादी केन्द्रको केन्द्रीय पदाधिकारी बैठकले पार्टी पंक्तिलाई राहत पुनर्निर्माणमा केन्द्रित गर्ने निर्णय गरेको छ ।

माओवादी पदाधिकारी बैठकले पार्टी सदस्य र निर्वाचित जनप्रतिनिधिहरूबाट राहत कोषमा आर्थिक जम्मा गर्ने र पार्टी पंक्तिलाई राहत पुनर्निर्माणमा केन्द्रित गर्ने निर्णय गरेको हो । बैठकले दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माणका लागि आवाज उठाउने लगायतका निर्णय पनि गरेको छ ।

यस्तै सत्ता साझेदार कांग्रेस कार्यसम्पादन समिति बैठकले पनि पार्टीको ‘१०० दिने विशेष अभियान’ को पूर्वनिर्धारित कार्यक्रम कोजाग्रत पुर्णिमासम्म स्थगित गर्दै कार्यक्रमका लागि खटिएका केन्द्रीय प्रतिनिधिहरूलाई आफू खटिएको जिल्लामा उद्धार र राहतको कार्यमा आवश्यक समन्वय गर्न/गराउन निर्देशन दिएको छ ।

कांग्रेसले तीनै तहका जनप्रतिनिधि तथा चुनावमा पार्टीका तर्फबाट उम्मेदवार बनेका नेताहरू र भ्रातृ तथा शुभेच्छुक संस्थाका सबै तहका नेता–कार्यकर्ताहरूलाई पनि उद्धार र राहतमा समर्पित ढंगले क्रियाशील हुन भनेको छ ।

यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार नै स्थानीय पार्टी पङ्क्तिलाई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन निर्देशन दिएका थिए ।

लगातारको वर्षापछि आएको बाढी–पहिरोले जनजीवन प्रभावित भएपछि उनले शनिबार प्रेस विज्ञप्तिमार्फत् स्थानीय पार्टी पङ्क्तिलाई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन निर्देशन दिएका हुन् ।

‘स्थानीय पार्टी पङ्क्तिलाई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन पार्टीका तर्फबाट निर्देश गरिन्छ,’ सभापति देउवाले भनेका थिए, ‘पार्टीका साथीहरूलाई व्यवस्थित ढंगले प्रभावकारी रुपमा कार्य गर्न आग्रह गर्दै यो विपत्तिको सामना संयम र एकतापूर्व गर्न स्थानीय सबै दिदीबहिनी–दाजुभाइमा अपील गर्दछु ।’

प्रतिपक्षमा रहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गत वर्ष नै उद्धार र राहतमा खट्ने गरि द्रुत कार्यटोली ( र्‍यापिड एक्सस टीम, आरएटी) गठन गरेको थियो । तर, पुराना दलहरूका भ्रातृ संठनहरू जस्तै उसको ‘द्रुत कार्यटोली’ पनि राहत तथा उद्धारमा कतै देखा परेको छैन ।

रास्वपाले आइतबार केन्द्रीय समितिको बैठक बोलाएर सरकार प्राकृतिक विपत्तिको तयारीमा चुकेको निष्कर्ष भने निकाल्यो । चमतीस्थित पार्टी कार्यालयमा बैठकले सरकार रास्वपा सभापति रवि लामिछानेलाई आरोप लगाउन केन्द्रित हुँदा विपत्तिको सामना गर्न चुकेको दाबी गर्‍याे ।

पार्टी प्रवक्ता मनिस झाले सरकार, गठबन्धन, गठबन्धन आबद्ध दल र राजनीतिक कार्यकर्ताले रास्वपा, सभापति लामिछाने र सहकारीबाहेक अरू केही नसोच्दा समस्या आएको आरोप लगाए ।

यस्तै सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले विपदबारे छलफल गर्न सोमबारसम्म पनि पार्टीको औपचारिक बैठक बोलाएको छैन । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली मुलुकबाहिर रहेका कारण एमालेले औपचारिक रुपमा पार्टीको बैठक बोलाउन ढिलाइ गरेको अनुमान गरिएको छ ।

यद्यपि, एमाले महासचिव शंकर पोखरेलले आइतबार प्रेस विज्ञप्तिमार्फत् पार्टीका विभिन्न तहका कमिटीहरूलाई निर्धारित कार्यक्रम स्थगन गरी खोज, उद्धार र राहतका काममा सक्रियतापूर्वक लाग्न निर्देशन दिएका थिए ।

‘यो विपद्को घडीमा बाढी, पहिरो र डुबानबाट  प्रभावित भएका प्रदेश, जिल्ला र मातहतका पार्टी कमिटीहरूले निर्धारित कार्यक्रम स्थगन गरी खोज, उद्धार र राहतका काममा सक्रियतापूर्वक लाग्न निर्देशित गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ७ : ३० बजे

सरकारी राहत कोषमा एमालेले ५० लाख रुपैयाँ जम्मा गर्ने

काठमाडौं- नेकपा (एमाले) शनिबारको बाढीपहिरो पीडितलाई राहतका लागि सरकारी कोषमा

खाद्य सुरक्षामा साना किसानको भूमिका महत्वपूर्ण : कृषिमन्त्री

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले जलवायु परिवर्तनले नेपालको

बीपी राजमार्गको नेपालथोकमा अस्थायी ट्रयाक खोल्न थालियो

काठमाडौं- बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नेपालथोकमा शनिबार आएको रोशी खोलाको बाढीले

झ्याप्ले खोलामा ट्याक्टर चालकका त्रासदीपूर्ण ४० घण्टा

काठमाडौं – भारतको बरौनीबाट हवाई इन्धन लोड गरेर आएका ट्याङ्कर

बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनको टावर ढल्यो

काठमाडौं– बर्दघाट–सर्दी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर ढलेको