तस्बिर : एएफपी

अन्तर्राष्ट्रिय

इरानमा बाढीका कारण १५ जनाको मृत्यु

By खबरहब

October 01, 2024

एजेन्सी– इरानको दक्षिणी सहरमा आएको आकस्मिक बाढीले छ जनाको मृत्यु भएको प्रारम्भिक तथ्याङ्कलाई अपडेट गर्दै कुल १५ जनाको मृत्यु भएको राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

‘हलिल नदीमा आएको बाढीका कारण बेपत्ता हुनेमध्ये अन्तिम शव जिरोफ्टमा फेला परेपछि कुल १५ जनालाई मृत घोषित गरिएको छ’, आधिकारिक इर्ना समाचार समितिले बतायो । त्यससँगै खोजी र उद्धार अभियान समाप्त भएको इर्नाले जनाएको छ । 

सोमबारको बाढीमा परी मृत्यु भएका लगभग सबै इस्लामिक गणतन्त्रमा बसोबास गर्ने अफगान नागरिक रहेको इरानको आइएसएनए समाचार समितिले जनाएको छ ।

जिरोफ्ट सामान्य रूपमा सुख्खा दक्षिणी प्रान्त केरमानमा अवस्थित एउटा सहर हो । इरानले विगत एक दशकमा बारम्बार विनाशकारी बाढीको सामना गर्दै आएको छ । 

सन् २०२२ मा इरानको दक्षिणी क्षेत्रमा आएको भारी वर्षाले कम्तीमा ८० जनाको ज्यान लिएको थियो र करिब २० करोड डलरको क्षति भएको अनुमान गरिएको थियो ।