यो तिहारमा १५ लाख सयपत्री माला भारतीय बजारकै भर | Khabarhub Khabarhub

यो तिहारमा १५ लाख सयपत्री माला भारतीय बजारकै भर

बाढीपहिरोले पुष्पखेतीमा १५ करोडको क्षति



नेपालमा अत्यधिक फूल खपत हुने मौसम (तिहार र छठ) मा भारतबाट ठूलो मात्रामा फूल माला आउने गर्छन् । कृत्रिम प्लास्टिकका फूलहरू पनि भित्रिने गरेका छन् । केही वर्ष यता स्थानीय सरकारहरूले अथवा स्थानीय व्यवसायीहरूले समेत प्लास्टिकजन्य फूलको व्यापारमा प्रतिबन्ध लगाएपछि स्वदेशी पुष्प व्यवसायीहरू निकै उत्साहित पनि देखिन्छन् । यसमा ठूलो लगानी पनि छ तर लगानीका सन्दर्भमा त्यसबाट आउने प्रतिफल र बजारीकरणका सन्दर्भमा अनि नेपालमा उत्पादन भइराखेका फूलहरूलाई प्रवर्द्धन गर्ने सन्दर्भमा सरकार राज्यका विभिन्न निकायहरू अनुदार बन्दाखेरि पुष्प व्यवसायीहरू आफ्नै पीडाबाट गुज्रिराखेका छन् । वर्षौँदेखिको पीडा बिर्साउने एउटा मौसम (तिहारको मौसम)मा फूल धेरै खपत हुन्छ । विदेशबाट आएका फूलहरूसँग प्रतिस्पर्धा गर्न सक्ने सम्भावना पनि हुन्छ । तर पनि नेपालमा पुष्प व्यवसाय किन अपेक्षाकृत ढङ्गबाट फस्टाउन सकिराखेको छैन ? लगानी सुरक्षित भयो भन्ने अनुभूति व्यवसायीले किन गर्न सकिराखेका छैनन् ? नेपालमै व्यवसायीले झन्डै १० अर्ब लगानी गरेको पुष्प व्यवसायका सन्दर्भमा सरकारको दृष्टिकोण, सुविधा, अनुदानका सम्बन्धमा राज्य किन अनुदार बन्दै गएको छ ? ४४ हजार मानिसले रोजगारी पाइरहेको यो व्यवसाय कुन अवस्थामा छ ?  यी नै विषयमा फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष दिलीप बादेसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश : 

हिन्दु बाहुल्य मुलुक जहाँ मठमन्दिर धेरै छन् फूलको व्यापार व्यवसाय अथवा खपत त वर्षैभरि हुन्छ नै तर अहिले दीपावली र छठ यो बेला बढी खपत हुन्छ । अहिले हाम्रो उत्पादनलाई सतप्रतिशत बजारमा पुर्‍याउन सक्छौँ ? 

तिहार भन्ने बित्तिकै अब हामी फूलैफूलको पर्वको रूपमा पनि चिन्छौँ । हुन त वर्षैभरि विभिन्न सभा समारोह पर्वमा फूल चाहिन्छ । तर तिहारको ३ दिन विशेष मात्रामा फूल प्रयोग हुने गर्छ । यो सेरोफेरोमा एउटा सयपत्री मखमली र गोदावरीको विशेष महत्त्व छ ।

यी ती नै फूलको ४६ लाख जति माला यस वर्ष हामीलाई चाहिने देखिन्छ । मखमली र गोदावरीको ५/६ लाख माला चाहिँ नेपालमा नै उत्पादन हुन्छ । र त्यसमा हामी आत्मनिर्भर छौँ । मखमली त नेपाल बाहिरका देशबाट दिदीबहिनीले माग गर्नु हुन्छ । सयपत्रीको फूलमा हामी आत्मनिर्भर हुँदै गइरहेका छौँ । यस वर्षको वर्षा र बाढी पहिरोले गर्दा ३० प्रतिशत जति अपुग हुने देखिन्छ ।  १० देखि १५ लाख माला अपुग देखिन्छ । त्यसैले सयपत्रीमा यो वर्ष आत्मनिर्भर हुन सकेका छैनौँ । त्यसतर्फ चाहिँ अघि बढिरहेका छौँ ।

अहिले यो वर्षको हिसाबबाट हामी ३०–४० प्रतिशतको हाराहारीमा हाम्रो उत्पादन ह्रास भयो, त्यो कसरी परिपूर्ण हुन्छ ?

मोटामोटी ३० प्रतिशत जति क्षति पुगेको अवस्था छ । प्लास्टिकजन्य फूलको विक्री हाम्रै अगुवाइमा प्रतिबन्धित भएको छ । हामीले प्लास्टिक जन्य फूलहरू प्रयोग गर्नु हुँदैन । त्यसको सट्टामा नेपाली कृषकले उत्पादन गरेका फूल प्रयोग गर्नुपर्छ भन्छौँ ।

नेपाल सरकारले गत वर्षदेखि सयपत्री माला आयातमा रोक लगाएको छ । आधिकारिक  र कानुनी रूपमा माला भित्रिने अवस्था छैन । तर त्यति हुँदाहुँदै पनि सीमावर्ती  छेउका बासिन्दाले नेपालको अवस्था देखेर यति बेला फूलको माग धेरै छ भनेर चोरी निकासी गरेर पठाउने र ल्याउने गर्छन् ।

हाम्रो खुला सीमाना भएको ठाउँमा अघोषित रूपमा हुने कारोबार तस्करी त रोक्न सक्ने स्थिति त छैन । व्यावसायिक हिसाबबाट अब चाहिँ नेपालमा मेरो उत्पादनको बजार सुनिश्चित भयो, म अझ अन्तर्राष्ट्रिय बजारसम्म जान पाउने भए भनेर व्यवसायीहरू कतिको लगानी बढाइराख्या छन् कतिको उत्साहित भइराख्या छन् अथवा हाम्रो उत्पादनले कत्तिको न्यायोचित बजार पाइरहेको छ ?

फ्लोरिकल्चर एसोसिएसन नेपाल दर्ता हुँदा अथवा स्थापना हुँदाखेरि १ डेढ करोडको मात्र लगानी र ४०/५० जना मात्रै व्यवसायी भएको अवस्थामा अहिले आउँदा ८ अर्बको लगानी भइरहेको छ । १२ सय व्यवसायीहरू दर्ता नै भइसकेका र त्यति नै बराबरको  व्यवसायीहरू दर्ता नगरी काम गरिरहेको अवस्था हेर्दा त पुष्पखेतीमा लाग्नेहरू उत्साहित भएर लागेका छन् । वर्षैभरि नेपाली किसानले गरेको सयपत्रीले बजार पाएको छ । तर नेपाल सरकारले उत्साहित गर्न थप केही नीतिहरू ल्याउनु आवश्यक छ ।

पहिला नेपालबाट गुलाफका फूलहरू उत्पादन गरेर विदेश खाडी मुलुकहरूमा निर्यात पनि हुने गर्दथ्यो । तर विभिन्न प्राविधिक कारणले त्यो बन्द भएको छ । फूल निर्यातको सम्भावना भएकोले सरकारी इच्छाशक्ति भएमा निर्यात हुनसक्छ । खुला सीमाबाट आएका फूलहरूलाई नियमन गर्ने काम पनि भइरहेको छ । तर पनि खुला बोर्डरका कारण जुन चोरी निकासी गरेर प्लास्टिकका माला अन्य बोटबिरुवाहरू आइरहेका छन् , त्यसलाई कडाइ गरेर रोक्दा यहाँको उत्पादनले बजार पाउँछ ।

नेपालको आन्तरिक वार्षिक पुष्प व्यवसायको बजार कहाँ पुग्यो ?

गत आर्थिक वर्षको एसोसिएसनले तथ्याङ्क निकाल्दाखेरि ३ अर्ब ७० करोडको हाराहारीमा कारोबार भएको अवस्था छ । यो फैलँदो क्रममै रहेको छ । र अहिले गत आर्थिक वर्षमा व्यावसायिक रूपमा पुष्प खेती हुने जिल्ला ५२ वटा जिल्ला पनि पुगेको हामीले तथ्यांक निकालेका छौँ ।

यसमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा ५० हजारभन्दा बढी मान्छेहरू रोजगारीमा संलग्न भएको अवस्था छ । लगभग ९ अर्बको लगानी भइसकेको निजी क्षेत्रको तर्फबाट देखिन्छ । यसरी हेर्दाखेरि तथ्याङ्कगत रूपमा पनि यो राम्रो संकेत हो । नेपाल सरकारको केही नीति जुन हामीले पुष्प प्रवर्द्धन नीति भनेर २०६९ सालमा चाहिँ पास पनि गर्‍यौ तर त्यो ०७५ सालसम्म सक्रिय रह्यो  । त्यसपछि त्यो निष्क्रिय रहेका कारण कार्यान्वयनमा आएन । तर निजीक्षेत्रको आफ्नै प्रयासले हरेक वर्ष १० देखि १५ प्रतिशत वृद्धिदर रहेको छ ।

बाढीपहिरो लगायतका विपत्तिबाट करोडौँ क्षति बेहोरेका व्यवसायीले के पाउँछन् त राज्यबाट ?

सयपत्रीको कुरामा मात्र ८५ लाख बराबरको क्षति पुगेको छ ।  समग्रमा १५ करोड जतिको व्यवसायीलाई क्षति पुगेको छ । काठमाडौंका खोला वरिपरिमा रहेका धेरै पुष्प फार्महरू, नर्सरीहरू पुरै बगाएर लगेको अवस्था छ । त्यहाँ करोडौँको चाहिँ बोट बिरुवाहरूमा क्षति पुगेको छ ।

हाम्रा सेटअपहरू भत्किएका छन् । पहिरोको कारण हाम्रा जुन भौतिक संरचनाहरू छन् तिनीहरूलाई क्षति पुगेको छ । नीतिगत कुरामा पुष्प क्षेत्रमा बीमाको विषय पनि समेटेका छौँ । बीमा गर्ने नीति लागेको भए सबै व्यवसायीहरूमा जति क्षति भएको थियो, त्यसमा राहत पाउँथे ।

गत वर्ष हामीले सरकारसँग मिलेर त्यही विषयमा आयातको विषयमा कुरा गर्दाखेरि जम्मा ५ लाख भन्दा पनि कम मालाको आवश्यकता रहेको हामीले सूचना दिएका थियौँ । तर नेपाल सरकारको सम्बन्धित निकायबाट चाहिँ अब ३० लाख बढी मालाको स्वीकृति गएको देखिएको छ । त्यसबारे सूचना चुहिएको विषयले ठूलो विवाद भयो ।

गत वर्ष आवश्यकता भन्दा बढी माला बाहिरबाट आयो । महानगरसँग पनि गत वर्ष ढिला भयो । उहाँहरूले ४ वटा ठाउँमा तोकिदिनुभयो । त्यहाँ टाढाका मान्छेले सहजै सामान जान पाएनन् । त्यसकारण कृषकहरूको माला फाल्नुपर्ने भयो । भारतबाट आएको माला साइकलमा घरघरमा लगेर बेचेको कारण भारतीय मालाको बजारीकरण भयो । स्वदेशी माला फाल्नुपर्ने अवस्था आयो ।

तर यस वर्ष महानगरसँग पनि समयमा नै छलफल भएको छ र धेरै मलहरूले कृषकलाई फूल बेच्ने थलो उपलब्ध गराएका छन् । महानगरले असनतिर किसानलाई माला बेच्ने ठाउँ दियो  भने बाटोमा हिँड्ने मान्छेले पनि लिन सक्ने अवस्था रहन्छ ।

फूल निर्यातमा हाम्रो अवस्था के छ ?

कम मात्रामा निर्यात गर्छौँ । गत वर्ष आयात २७ करोडको भएको छ भने निर्यात १ करोड २०-२५ लाखको मात्रै निर्यात भएको छ ।

यो वर्ष मालाको मूल्य बढ्ने हो ?

मालाको मूल्य भनेको माग र पूर्तिको आधारमा हुने गर्छ । यस वर्ष ८० देखि ८५ रुपैयाँ होलसेल मूल्य पर्छ । मालाको क्वालिटी अनुसार हाम्रा बिक्रेताहरूले १०० देखि १५० वा २०० रुपैयाँसम्म बेच्न सक्छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  ८ : १९ बजे

तिहारका लागि बेच्न राखिएका फूलमाला (तस्बिरहरु)  

काठमाडौं– तिहार पर्वलाई लक्षित गरेर काठमाडौंको मासाङ गल्लीमा स्थानीय फूलमाला

कुश्मिसेरा–राङ्खानी सडक निर्माणमा चरम लापरवाही

गलकोट– दुई वर्षमा कालोपत्र सक्नेगरी ठेक्का सम्झौता भएको कुश्मिसेरा–राङ्खानी सडक

‘तिहारमा रंग र चिल्लोबाट बचौं’

काठमाडौं – तिहार भन्ने बित्तिक्कै सेललगायत फिनी, अनरसा, खुर्मा विभिन्न

सवारी दुर्घटनामा एक जनाको मृत्यु, एकको अवस्था गम्भीर

त्रिशूली– लिखु गाउँपालिका–६ छहरेमा मिनिट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको

रौतहटमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

रौतहट– रौतहटमा पश्चिम उत्तरी भेग फतुवा-विजयपुरमा जंगली हात्तीको आक्रमणमा एक