नेपालमा अत्यधिक फूल खपत हुने मौसम (तिहार र छठ) मा भारतबाट ठूलो मात्रामा फूल माला आउने गर्छन् । कृत्रिम प्लास्टिकका फूलहरू पनि भित्रिने गरेका छन् । केही वर्ष यता स्थानीय सरकारहरूले अथवा स्थानीय व्यवसायीहरूले समेत प्लास्टिकजन्य फूलको व्यापारमा प्रतिबन्ध लगाएपछि स्वदेशी पुष्प व्यवसायीहरू निकै उत्साहित पनि देखिन्छन् । यसमा ठूलो लगानी पनि छ तर लगानीका सन्दर्भमा त्यसबाट आउने प्रतिफल र बजारीकरणका सन्दर्भमा अनि नेपालमा उत्पादन भइराखेका फूलहरूलाई प्रवर्द्धन गर्ने सन्दर्भमा सरकार राज्यका विभिन्न निकायहरू अनुदार बन्दाखेरि पुष्प व्यवसायीहरू आफ्नै पीडाबाट गुज्रिराखेका छन् । वर्षौँदेखिको पीडा बिर्साउने एउटा मौसम (तिहारको मौसम)मा फूल धेरै खपत हुन्छ । विदेशबाट आएका फूलहरूसँग प्रतिस्पर्धा गर्न सक्ने सम्भावना पनि हुन्छ । तर पनि नेपालमा पुष्प व्यवसाय किन अपेक्षाकृत ढङ्गबाट फस्टाउन सकिराखेको छैन ? लगानी सुरक्षित भयो भन्ने अनुभूति व्यवसायीले किन गर्न सकिराखेका छैनन् ? नेपालमै व्यवसायीले झन्डै १० अर्ब लगानी गरेको पुष्प व्यवसायका सन्दर्भमा सरकारको दृष्टिकोण, सुविधा, अनुदानका सम्बन्धमा राज्य किन अनुदार बन्दै गएको छ ? ४४ हजार मानिसले रोजगारी पाइरहेको यो व्यवसाय कुन अवस्थामा छ ? यी नै विषयमा फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष दिलीप बादेसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :
हिन्दु बाहुल्य मुलुक जहाँ मठमन्दिर धेरै छन् फूलको व्यापार व्यवसाय अथवा खपत त वर्षैभरि हुन्छ नै तर अहिले दीपावली र छठ यो बेला बढी खपत हुन्छ । अहिले हाम्रो उत्पादनलाई सतप्रतिशत बजारमा पुर्याउन सक्छौँ ?
तिहार भन्ने बित्तिकै अब हामी फूलैफूलको पर्वको रूपमा पनि चिन्छौँ । हुन त वर्षैभरि विभिन्न सभा समारोह पर्वमा फूल चाहिन्छ । तर तिहारको ३ दिन विशेष मात्रामा फूल प्रयोग हुने गर्छ । यो सेरोफेरोमा एउटा सयपत्री मखमली र गोदावरीको विशेष महत्त्व छ ।
यी ती नै फूलको ४६ लाख जति माला यस वर्ष हामीलाई चाहिने देखिन्छ । मखमली र गोदावरीको ५/६ लाख माला चाहिँ नेपालमा नै उत्पादन हुन्छ । र त्यसमा हामी आत्मनिर्भर छौँ । मखमली त नेपाल बाहिरका देशबाट दिदीबहिनीले माग गर्नु हुन्छ । सयपत्रीको फूलमा हामी आत्मनिर्भर हुँदै गइरहेका छौँ । यस वर्षको वर्षा र बाढी पहिरोले गर्दा ३० प्रतिशत जति अपुग हुने देखिन्छ । १० देखि १५ लाख माला अपुग देखिन्छ । त्यसैले सयपत्रीमा यो वर्ष आत्मनिर्भर हुन सकेका छैनौँ । त्यसतर्फ चाहिँ अघि बढिरहेका छौँ ।
अहिले यो वर्षको हिसाबबाट हामी ३०–४० प्रतिशतको हाराहारीमा हाम्रो उत्पादन ह्रास भयो, त्यो कसरी परिपूर्ण हुन्छ ?
मोटामोटी ३० प्रतिशत जति क्षति पुगेको अवस्था छ । प्लास्टिकजन्य फूलको विक्री हाम्रै अगुवाइमा प्रतिबन्धित भएको छ । हामीले प्लास्टिक जन्य फूलहरू प्रयोग गर्नु हुँदैन । त्यसको सट्टामा नेपाली कृषकले उत्पादन गरेका फूल प्रयोग गर्नुपर्छ भन्छौँ ।
नेपाल सरकारले गत वर्षदेखि सयपत्री माला आयातमा रोक लगाएको छ । आधिकारिक र कानुनी रूपमा माला भित्रिने अवस्था छैन । तर त्यति हुँदाहुँदै पनि सीमावर्ती छेउका बासिन्दाले नेपालको अवस्था देखेर यति बेला फूलको माग धेरै छ भनेर चोरी निकासी गरेर पठाउने र ल्याउने गर्छन् ।
हाम्रो खुला सीमाना भएको ठाउँमा अघोषित रूपमा हुने कारोबार तस्करी त रोक्न सक्ने स्थिति त छैन । व्यावसायिक हिसाबबाट अब चाहिँ नेपालमा मेरो उत्पादनको बजार सुनिश्चित भयो, म अझ अन्तर्राष्ट्रिय बजारसम्म जान पाउने भए भनेर व्यवसायीहरू कतिको लगानी बढाइराख्या छन् कतिको उत्साहित भइराख्या छन् अथवा हाम्रो उत्पादनले कत्तिको न्यायोचित बजार पाइरहेको छ ?
फ्लोरिकल्चर एसोसिएसन नेपाल दर्ता हुँदा अथवा स्थापना हुँदाखेरि १ डेढ करोडको मात्र लगानी र ४०/५० जना मात्रै व्यवसायी भएको अवस्थामा अहिले आउँदा ८ अर्बको लगानी भइरहेको छ । १२ सय व्यवसायीहरू दर्ता नै भइसकेका र त्यति नै बराबरको व्यवसायीहरू दर्ता नगरी काम गरिरहेको अवस्था हेर्दा त पुष्पखेतीमा लाग्नेहरू उत्साहित भएर लागेका छन् । वर्षैभरि नेपाली किसानले गरेको सयपत्रीले बजार पाएको छ । तर नेपाल सरकारले उत्साहित गर्न थप केही नीतिहरू ल्याउनु आवश्यक छ ।
पहिला नेपालबाट गुलाफका फूलहरू उत्पादन गरेर विदेश खाडी मुलुकहरूमा निर्यात पनि हुने गर्दथ्यो । तर विभिन्न प्राविधिक कारणले त्यो बन्द भएको छ । फूल निर्यातको सम्भावना भएकोले सरकारी इच्छाशक्ति भएमा निर्यात हुनसक्छ । खुला सीमाबाट आएका फूलहरूलाई नियमन गर्ने काम पनि भइरहेको छ । तर पनि खुला बोर्डरका कारण जुन चोरी निकासी गरेर प्लास्टिकका माला अन्य बोटबिरुवाहरू आइरहेका छन् , त्यसलाई कडाइ गरेर रोक्दा यहाँको उत्पादनले बजार पाउँछ ।
नेपालको आन्तरिक वार्षिक पुष्प व्यवसायको बजार कहाँ पुग्यो ?
गत आर्थिक वर्षको एसोसिएसनले तथ्याङ्क निकाल्दाखेरि ३ अर्ब ७० करोडको हाराहारीमा कारोबार भएको अवस्था छ । यो फैलँदो क्रममै रहेको छ । र अहिले गत आर्थिक वर्षमा व्यावसायिक रूपमा पुष्प खेती हुने जिल्ला ५२ वटा जिल्ला पनि पुगेको हामीले तथ्यांक निकालेका छौँ ।
यसमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा ५० हजारभन्दा बढी मान्छेहरू रोजगारीमा संलग्न भएको अवस्था छ । लगभग ९ अर्बको लगानी भइसकेको निजी क्षेत्रको तर्फबाट देखिन्छ । यसरी हेर्दाखेरि तथ्याङ्कगत रूपमा पनि यो राम्रो संकेत हो । नेपाल सरकारको केही नीति जुन हामीले पुष्प प्रवर्द्धन नीति भनेर २०६९ सालमा चाहिँ पास पनि गर्यौ तर त्यो ०७५ सालसम्म सक्रिय रह्यो । त्यसपछि त्यो निष्क्रिय रहेका कारण कार्यान्वयनमा आएन । तर निजीक्षेत्रको आफ्नै प्रयासले हरेक वर्ष १० देखि १५ प्रतिशत वृद्धिदर रहेको छ ।
बाढीपहिरो लगायतका विपत्तिबाट करोडौँ क्षति बेहोरेका व्यवसायीले के पाउँछन् त राज्यबाट ?
सयपत्रीको कुरामा मात्र ८५ लाख बराबरको क्षति पुगेको छ । समग्रमा १५ करोड जतिको व्यवसायीलाई क्षति पुगेको छ । काठमाडौंका खोला वरिपरिमा रहेका धेरै पुष्प फार्महरू, नर्सरीहरू पुरै बगाएर लगेको अवस्था छ । त्यहाँ करोडौँको चाहिँ बोट बिरुवाहरूमा क्षति पुगेको छ ।
हाम्रा सेटअपहरू भत्किएका छन् । पहिरोको कारण हाम्रा जुन भौतिक संरचनाहरू छन् तिनीहरूलाई क्षति पुगेको छ । नीतिगत कुरामा पुष्प क्षेत्रमा बीमाको विषय पनि समेटेका छौँ । बीमा गर्ने नीति लागेको भए सबै व्यवसायीहरूमा जति क्षति भएको थियो, त्यसमा राहत पाउँथे ।
गत वर्ष हामीले सरकारसँग मिलेर त्यही विषयमा आयातको विषयमा कुरा गर्दाखेरि जम्मा ५ लाख भन्दा पनि कम मालाको आवश्यकता रहेको हामीले सूचना दिएका थियौँ । तर नेपाल सरकारको सम्बन्धित निकायबाट चाहिँ अब ३० लाख बढी मालाको स्वीकृति गएको देखिएको छ । त्यसबारे सूचना चुहिएको विषयले ठूलो विवाद भयो ।
गत वर्ष आवश्यकता भन्दा बढी माला बाहिरबाट आयो । महानगरसँग पनि गत वर्ष ढिला भयो । उहाँहरूले ४ वटा ठाउँमा तोकिदिनुभयो । त्यहाँ टाढाका मान्छेले सहजै सामान जान पाएनन् । त्यसकारण कृषकहरूको माला फाल्नुपर्ने भयो । भारतबाट आएको माला साइकलमा घरघरमा लगेर बेचेको कारण भारतीय मालाको बजारीकरण भयो । स्वदेशी माला फाल्नुपर्ने अवस्था आयो ।
तर यस वर्ष महानगरसँग पनि समयमा नै छलफल भएको छ र धेरै मलहरूले कृषकलाई फूल बेच्ने थलो उपलब्ध गराएका छन् । महानगरले असनतिर किसानलाई माला बेच्ने ठाउँ दियो भने बाटोमा हिँड्ने मान्छेले पनि लिन सक्ने अवस्था रहन्छ ।
फूल निर्यातमा हाम्रो अवस्था के छ ?
कम मात्रामा निर्यात गर्छौँ । गत वर्ष आयात २७ करोडको भएको छ भने निर्यात १ करोड २०-२५ लाखको मात्रै निर्यात भएको छ ।
यो वर्ष मालाको मूल्य बढ्ने हो ?
मालाको मूल्य भनेको माग र पूर्तिको आधारमा हुने गर्छ । यस वर्ष ८० देखि ८५ रुपैयाँ होलसेल मूल्य पर्छ । मालाको क्वालिटी अनुसार हाम्रा बिक्रेताहरूले १०० देखि १५० वा २०० रुपैयाँसम्म बेच्न सक्छन् ।
प्रतिक्रिया