कम्युनिस्टसँग मेलमिलाप बीपीमाथिको अपमान | Khabarhub Khabarhub

कम्युनिस्टसँग मेलमिलाप बीपीमाथिको अपमान


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

बीपी कोइराला समकालीन आधुनिक नेपाली राजनीतिमा अहिलेसम्म सबै भन्दा उचाइको नेता हो। उहाँ बराबरको उचाइको नेता धर्तीमा अर्को अहिलेसम्म जन्मिएको छैन। उहाँले प्रधानमन्त्री भएका कारणले, २००७ सालको क्रान्तिको नायक भएका कारणले, साहित्य सिर्जना गरेका कारणले र लामो समयसम्म कांग्रेसको नेतृत्व गरेका कारणले मात्र त्यो उचाइ प्राप्त गर्नु भएको हैन। उहाँ नेपाली प्रजातान्त्रिक आन्दोलनको नेतृत्व लिएका कारणले मात्र पनि यो उचाइमा पुग्नुभएको हैन। बीपी देश र राष्ट्रियताको संवेदनशीलता र गहिराई बुझेको नेता हो। राजसंस्थाबाट उहाँले जतिप्रताडना अरूले पाएन।

वि.सं. २०१५ सालको निर्वाचनमा दुई तिहाइ सिटका साथ निर्वाचन जितेर संसदमा नेपालकै पहिलो जननिर्वाचित प्रधानमन्त्री हुने अवसर पाउनुभएको मान्छे हो बीपी। प्रधानमन्त्री बनेर १८ महिना मात्रै काम गर्ने मौका पाउँदा पनि उहाँले स्वदेश विदेशमा निकै लोकप्रियता हासिल गर्नुभएको थियो।

छोटो समयमा असंलग्न आन्दोलन र विश्व समाजवादी आन्दोलनमा सहभागिताका साथै संयुक्त राष्ट्र संघको महासभामा बीपीले गरेको गरेको सम्बोधनले विश्व राजनीतिमा उहाँलाई परिचित गरायो। नेपाली राजनीतिमा पनि उहाँ सफल प्रधानमन्त्रीका रूपमा चिनिनुभयो।

वि.सं. २०१५ सालको निर्वाचनमा दुई तिहाइ सिटका साथ प्रधानमन्त्री बनेर १८ महिना मात्रै काम गर्ने मौका पाउँदा बीपीले स्वदेश विदेशमा निकै लोकप्रियता हासिल गर्नुभएको थियो।

त्यस्तो प्रधानमन्त्रीलाई अनायास राजा महेन्द्रको महत्वाकांक्षाले प्रजातन्त्रको गला रेटेर प्रजातन्त्रको अन्त्य गर्ने काम भयो। बीपी कोइराला लगायतका नेतालाई जेलमा थुनियो र आठ वर्ष कठोर कारावासमा बस्नुभयो। त्यसपछि अर्को आठ वर्ष उहाँ भारतमा निर्वासनमा बस्नु भयो। यसक्रममा बीपीले दुनियाँको राजनीतिलाई नजिकबाट नियालेर बुझ्ने, अध्ययन गर्ने मौका पाउनुभयो। भारतीय सत्ताप्रतिको नेपाललाई हेर्ने दृष्टिकोणलाई पनि गहिरोसँग बुझ्नुभयो।

त्यसबेला भारतको महत्वाकांक्षा उग्र थियो। इन्दिरा गान्धीकै नेतृत्वमा सिक्किम भारतमा विलय भइसकेको थियो। पाकिस्तानबाट टुक्रिएर बङ्गलादेश बनिसकेको थियो। स्वतन्त्र देश तिब्बत चीनमा मिलिसकेको थियो। यी सबै पृष्ठभूमिमा साना राष्ट्रहरूको स्वतन्त्रता जोखिममा छ र त्यो अवस्थामा नेपालको राष्ट्रियता पनि जोखिममा नै छ भन्ने कुरालाई बीपीले गहिरोरूपमा बुझ्नुभयो।

विभिन्न बुद्धिजीहरूले बीपीलाई केवल आफ्नो स्वार्थमा प्रयोग गर्न खोजे । उहाँका भाइ गिरिजाप्रसाद कोइराला स्वयंले माओवादीसँग दिल्लीमा १२ बुँदे गर्नु पनि बीपीको राष्ट्रिय एकता र मेलमिलापकै नीति हो भन्नुभएको थियो। योभन्दा घुमाउरो अपव्याख्या र बीपीप्रतिको अपमान अरु केही हुन सक्दैन। अहिले सिङ्गो कांग्रेसले बीपीको अपमान गरेको छ। बीपीको विचारलाई ख्याल गरेको छैन। बीपीको विचार भन्दा धेरै टाढा छ कांग्रेस।

अहिले सिङ्गो कांग्रेसले बीपीको अपमान गरेको छ। बीपीको विचारलाई ख्याल गरेको छैन। कांग्रेस बीपीको विचार भन्दा धेरै टाढा छ ।

बीपीको विदेश नीति

बीपी कोइरालाको विदेश नीति स्पष्ट थियो तर आरोप लगाउनेहरूले पश्चिमतर्फ ढल्किएको भन्ने गर्छन्। २०१७ साल पुस १ गतेको घटना हुनुको प्रमुख कारण पनि बीपीको विदेश नीतिकै परिणाम हो भन्नेहरु पनि छन्।

युवा अवस्थामै बीपी प्रधानमन्त्री हुँदा जीवन सम्पूर्ण क्रान्ति र पार्टी सङ्गठन निर्माणमा बितेको थियो। त्योबेलामा पनि नेपाललाई दक्षिण एसियाको स्वतन्त्र देश भनेर धेरैले चिनिसकेका थिएनन्। भारतले धेरैपछिसम्म इजरायललाई मान्यता दिएको थिएन तर, बीपीका पालामा २०१६ सालमै नेपालले इजरायललाई मान्यता दियो। त्यो बेलाको विश्व परिस्थितिमा इजरायललाई मान्यता दिने काम आफैंमा ठूलो निर्णय हो। तर, एउटा सानो देशले त्यति ठूलो निर्णय गरेको कतिपय देशलाई मन परेन।

विश्व समाजवादी आन्दोलनसँग जोडिएर सानो, भर्खर उदय हुँदै गरेको नेपाल राष्ट्रलाई विश्वमा चिनाउने कार्यमा बीपीको अद्वीतीय भूमिका र योगदान छ। अहिले पनि भारतमा इजरायल र हमासको युद्धका बीचमा भएको सत्ता पक्ष र प्रतिपक्षको द्वन्द्व यथावत् नै छ। हाम्रो सरकारको त परराष्ट्र निकाय निकम्मा जस्तै बनेको छ। कहिले समर्थन, कहिले विरोध।

विश्व समाजवादी आन्दोलनसँग जोडिएर सानो, भर्खर उदय हुँदै गरेको नेपाल राष्ट्रलाई विश्वमा चिनाउने कार्यमा बीपीको अद्वीतीय भूमिका र योगदान छ।

आलोचना बिनाको मान्छे त कोही पनि हुँदैन। बीपी आलोचना भन्दा माथि हैनन्। भगवानको आलोचना हुन्छ, व्यक्तिको नहुने होइन। गणेशमानजी, किसुनजी र गिरिजाप्रसाद कोइरालालाई ब्रह्मा, विष्णु र महेश्वरको प्रतीक भनेजस्तो व्याख्या र लेख्ने काम हुन्थ्यो। जस्तो- बीपीलाई महामानव भनेर उपमा दिइयो। किनभने, उहाँको नेपाली राजनीति र साहित्यमा भएको योगदान सम्झन लायक छ। प्रधानमन्त्रीका रूपमा खेलेको भूमिका २००७ सालको जनक्रान्तिको नायकत्व अनि नेपाली राजनीतिलाई गहिरोसँग बुझेको एउटा राजनेताको हिसाबले उहाँ महामानव नै हो।

मेलमिलाप कम्युनिस्टसँग होइन, राजासँग

बीपी भर्खर उदाउँदै गरेका थिए, धेरै लामो राजनीतिक जीवन जान सकेन। एमाले नेता मदन भण्डारीले ०४६ सालको राजनीतिक परिवर्तनपछि नेपालमा तपाईंले मान्ने सबै भन्दा ठूलो नेता को हो भनेर सोध्दा बीपीकै नाम लिएका थिए। तर, बीपी कोइरालाको राष्ट्रिय एकता तथा मेलमिलापको नीतिको अन्तर्य कम्युनिष्टसँगको एकता र सहकार्य होइन।

बीपीले प्रधानमन्त्रीका रूपमा खेलेको भूमिका, २००७ सालको जनक्रान्तिको नायकत्व अनि नेपाली राजनीतिलाई गहिरोसँग बुझेको हिसाबले उहाँ महामानव नै हो।

अहिलेका वामपन्थी नेता र माओवादी कांग्रेसको गला रेटेर, टाउको काटेर, आम नागरिकको नरसंहार गरेर जनक्रान्तिका नाममा आए र आज सत्तामा छन्। माओवाद त कहाँ छ, थाहा छैन तर उनीहरू पनि सुन्दरीजलको संग्रहालय गए भने बीपीको कोट सुमसुम्याउँछन्। सबैले बीपीको नाम लिन्छन्। हिजो बीपीले राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर नेपाल आउँदा भारतीय विस्तारवादी र गद्दार भन्ने नेपालका वामपन्थीहरूले अहिलेसम्म बीपीलाई हेर्ने दृष्टिकोण करेक्सन गर्यौं भनेका छैनन्।

बीपीले त्यसबेलामा कम्युनिस्टहरु प्रजातन्त्रवादी हुँदैनन् र राष्ट्रवादी पनि हुँदैनन् भनेका थिए। किनभने, मार्क्सवादको अन्तर्य भनेको अन्तर्राष्ट्रियतावाद हो। उनीहरू राष्ट्रियतामा विश्वास गर्दैनन्। त्यसैले बीपी कम्युनिस्टलाई राष्ट्रवादी मान्नुहुँदैनथ्यो। कम्युनिस्ट प्रजातन्त्रवादी पनि हुँदैनन् र कम्युनिस्ट पार्टीको सर्वसत्तावादी शासन स्थापित गर्न चाहन्छन् भन्ने् बीपीको मान्यता थियो। यिनीहरु प्रजातन्त्रवादी पनि हैनन् र राष्ट्रवादी पनि हैनन् भने यिनीहरुसँग मिलेर किन क्रान्ति गर्ने ? बरु देशमा १० वर्ष ढिलो प्रजातन्त्र आओस्, कांग्रेसले आफ्नै बुँतामा प्रजातन्त्रिक शक्तिलाई सङ्गठित गर्दै आफ्नै नेतृत्वमा क्रान्ति गर्नुपर्छ भनेर बीपीले कहिल्यै पनि कम्युनिस्टहरुसँग सहकार्य गरेनन्।

राष्ट्रिय एकता तथा मेलमिलापको नीतिको प्रस्ताव भनेको राजाले सत्ता कब्जा गरेर बसेका छन्, पञ्चायतको शासनको नेतृत्व राजाले गरेका छन्, देश सङ्कटमा छ, देश नै रहेन भने हामीले किन प्रजातन्त्रका लागि आन्दोलन कोसँग गर्ने ? त्यस कारण पहिले देश जोगाउनुपर्छ भन्ने बीपीको लाइन थियो।

कम्युनिस्ट प्रजातन्त्रवादी पनि हुँदैनन् र कम्युनिस्ट पार्टीको सर्वसत्तावादी शासन स्थापित गर्न चाहन्छन् भन्ने् बीपीको मान्यता थियो।

अन्तर्राष्ट्रिय स्थितिमा साना राष्ट्रहरूको स्वतन्त्रता जोखिममा पर्दै छ, त्यस कारणले त्यो अवस्थामा राजासँग मेलमिलाप हुनसक्छ भनेर गरिएको मेलमिलापको प्रस्ताव राजासँगको थियो। तर, त्यो मेलमिलापलाई राजसंस्थाले अनदेखागर्यो। राजा वीरेन्द्रले त्यसलाई सुनेनन्। आज त्यसैको परिणाम बीपी कोइरालाले राखेको राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई सम्मान नगर्दा अन्तर्यमा राजसंस्था नै रहेन। तथापि राजसंस्था नेपाली जनताले मत हालेर फालियो कि विदेशीको षड्यन्त्रमा लागेर हामीले फाल्यौँ, त्यो आफ्नै ठाउँमा छ।

०४६ सालमा कांग्रेसले वामपन्थी मोर्चासँग सात दलीय मोर्चा गठन गर्न कांग्रेसका नेता स्वयम् लाग्नुभयो। कांग्रेसले बीपीको विचार त्यहीँबाट छोड्दै गयो। ०६२/६३ मा त कांग्रेसले हुने–नहुने सबै ग-यो। त्यसैले कांग्रेसको जीवनमा अहिले बीपी, गणेशमान, कृष्णप्रसाद भट्टराई कोही पनि छैनन्।

कांग्रेसको भित्तामा गिरिजाप्रसाद कोइराला, सुशील कोइरालाको फोटो मात्र देखिन्छ। कांग्रेसको विधान, साहित्य कतै बीपी पाइँदैनन्। कांग्रेसले सोमबार ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै गर्दा कांग्रेससँग बीपीलाई सम्झने नैतिक धरातल छ त ? प्रश्न यहाँनेर छ।

(नेपाली कांग्रेसका नेता लोकेश ढकालसँग रेडियो क्यान्डिडका लागि कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश)

 

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  १० : ०१ बजे

प्रहरी भ्यानबाट भागेका कैदी खतरनाक ग्याङमा आबद्ध

फ्रान्स – प्रहरी भ्यानबाट भागेर चर्चामा आएका फ्रान्सका एक कैदी

दोलखामा बोलेरो दुर्घटना हुँदा १४ जना घाइते, ९ जनाको अवस्था गम्भीर

दोलखा– दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर १ पवटीमा मलामी बोकेको

अर्थतन्त्रको बिग्रँदो स्वास्थ्य र आर्थिक प्रजातन्त्र

म अर्थशास्त्री होइन । अर्थतन्त्रको सञ्चालक पनि होइन । मसँग

संसदको गतिरोधबारे प्रधानमन्त्री र सभामुखबीच छलफल

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेबीच भेटवार्ता

थाइल्यान्डमा उठेको मानव अधिकारको प्रश्न

राजसंस्थाको अपमान गरेको आरोपमा जेल चलान भएकी एक महिला लामो