काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संस्कार, संस्कृति र पहिचानसहितको व्यावहारिक सीपमूलक शिक्षा आजको आवश्यकता भएको बताएका छन् ।
शनिबार बागलुङको पञ्चकोटमा आयोजित अनन्तश्री ब्रह्माण्डीय महायज्ञ २०८० लाई सम्बोधन गर्दै उनले देशका विभिन्न स्थानमा सञ्चालित गुरुकुल वेदविद्याश्रमबाट संस्कार र संस्कृति प्रवाह भएको समेत बताए ।
गुरूकुल वेदविद्याश्रमबाट उत्पादित जनशक्ति धर्मसंस्कार संस्कृतिको संरक्षण संवर्द्धन आफ्नो देशका तीर्थस्थल आदिको महिमा र गरिमालाई आमजनसमुदायमा बुझाउन तल्लीन रहेको उनले बताए । उनले भौतिक विकासको दौडमा रहेको वर्तमान विश्वले जबसम्म आध्यात्मिक चेतनाको विकास गर्न नसकेसम्म समाजले शान्तिको श्वास फेर्न नसक्ने धारणा राखे ।
प्रधानमन्त्री प्रचण्डले गौतम बुद्धको देश नेपाल शान्तिको लागि सम्पूर्ण विश्वको आकर्षणको केन्द्र बन्नुपर्नेमा पैसाका लागि विदेशिनुपर्ने अवस्था परिवर्तन गर्नुपर्ने जिकिर गरे ।
प्रतिक्रिया