कालीबहादुर जोगाउने प्रचण्ड-केपीको त्यो दोहोरी ! | Khabarhub Khabarhub

कालीबहादुर जोगाउने प्रचण्ड-केपीको त्यो दोहोरी !

खामको गिरफ्तारी ‘सेटिङ’मा कि गृहमन्त्रीको पहलमा ?


२० चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भनिन्छ, झगडा गर्दा पछि मिल्ने बाटो राखेर गर्नुपर्छ । तर, आजभन्दा तीन–चार वर्षअघि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले कालीबहादुर खामको समर्थनमा होडबाजी नै गरे । खामलाई जोगाउन प्रतिस्पर्धा गरेका तिनै नेताहरुवीच गठबन्धन बनेका बेला अहिले कालीबहादुर समातिएका छन् ।

प्रचण्डले त्यसबेला रामहरि श्रेष्ठको हत्या प्रकरणमा मुछिएर भूमिगत बनेका कालीबहादुर खामको साह्रो–गाह्रोमा आफूले साथ दिइरहेको बताएका थिए । केपी ओली पनि के कम, उनले त झनै हत्या अभियोगमा फरार रहेका कालीबहादुरलाई बालुवाटारमै बोलाएर गलैंचामा टेकाएका थिए ।

फरार रहेका भनिएका माओवादीका पूर्वकमाण्डर खामलाई कसले बढी साथ दिने भन्नेमा केपी ओली र पुष्पकमल दाहालबीच भनाभन र प्रतिस्पर्धा नै चलेको थियो।

जनयुद्धमा प्रचण्डलाई साथ दिएका लडाकू र तिनका छोराछोरीलाई प्रचण्डले बेवास्ता गरेको ओलीको आरोप थियो । उनले सार्वजनिक कार्यक्रममा भाषण गर्दै यसो भनेका थिए-

‘लड्ने बेलामा, ज्यान दिने बेलामा योद्धा चाहियो, अरुका छोराछोरी चाहियो । आफ्ना छोराछोरी विदेशमा राखेर पढाउने, ‘तर मार्ने’ बेलामा मेरा त छोराछोरी छन् के गर्ने ! अरुका छोराछोरीको पनि ज्यान हो । अरुका छोराछोरीका पनि हात खुट्टा हुन् । अरुका छोराछोरीका पनि टाउका हुन् । अरुका छोराछोरीका पनि ज्यान हुन् । त्योचाहिँ काठको बनाएको हो ? भाँचे पनि हुन्छ ? फुटाए पनि हुन्छ ? जे गरे पनि हुन्छ ? अरुका छोराछोरी के खेलाउने पुतली हुन् ? तिनको हालत के छ ? देश बनाउन भनेर जसलाई होमियो, तिनलाई हेर्नुपर्छ कि पर्दैन ?’

कालीबहादुर खाम (विविध)

केपी ओलीले पूर्वलडाकूको पक्षमा बोल्नुका साथै तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलको पहलमा कालीबहादुर खामलाई बालुवाटारमा बोलाएर भेटेपछि प्रचण्ड आक्रोशित बने । त्यस लगत्तै प्रचण्डले फरार रहेका कालीबहादुर निर्दोष रहेको र उनलाई आफूले संरक्षण गरिरहेको खुलासा गरे ।

जबकि अहिले प्रचण्ड आफैं प्रधानमन्त्री रहेका बेला कालीबहादुर खाम समातिएका छन् ।

यो पनि-
१५ वर्षपछि ब्युँतियो रामहरि हत्या प्रकरण, माओवादी कमाण्डर कालीबहादुर पक्राउ

तीन वर्ष पहिले प्रचण्डले सार्वजनिक कार्यक्रममा कालीबहादुरको बचाउ गरेका थिए । उनले केपी ओली प्रवृत्तिसँग उदार नबन्ने प्रतिवद्धता पनि जनाएका थिए । प्रचण्डले त्यसबेला गरेको भाषणको एउटा अंश यस्तो थियो–

अब हामी केपी प्रवृत्तिप्रति उदार भएर उनको प्रवृत्तिलाई अगाडि बढ्न दिने त्यस्तो खालको भूल गर्ने छैनौं । म तपाईहरुका अगाडि प्रतिवद्धता र संकल्प व्यक्त गर्न चाहन्छु ।

सरकारलाई मैले पटक–पटक यी घाइते अपाङ्गको उपचार हुनुपर्‍यो भनें । पहिला खाईपाई आएको मासिक भत्ता पनि खोसिदिएछ यो सरकारले त झन् । अब त्यो गृह प्रशासन पनि सप्पै केपीले जे भन्यो त्यही मान्ने छ । मैले धेरैचोटि भन्दा काँहि कतै टेरपुच्छर लाइएन, उल्टो मासिक भत्ता खोसियो । घाइतेको उपचार गर्ने कुरालाई पूरै बेवास्ता गरियो ।

अहिले पार्टी विभाजन गरेपछि र आफू अल्पमतमा परेपछि मैले कहिलेकाहिँ सुन्छु क्या, ती घाइते अपाङ्गलाई हेर्नुपर्दैन प्रचण्डले ? भन्ने क्या यही केपी । फट्याइँ गर्न पनि कति सकेको क्या ! जालझेल गर्न पनि कस्तो दिमाग हो !

अहिले कालीबहादुर खाम खोई… अरे ? ती कालीबहादुर खाम आफैंले केही गरेको त हैन । उनको मुद्दा ठीक ढंगले हल होस् भनेर १०/११ वर्षदेखि म लागेको छु । उनलाई गाह्रो–साह्रो परेको मैले हेर्न लगातार बल गरेको छु ।

अहिले त ‘कालीबहादुर, तपाईंलाई प्रचण्डले हेर्दैनन्’ केपीले भन्नु योभन्दा लाजमर्दो अरु के हुन्छ ? प्रचण्डले जनमुक्ति सेना नहेर्ने रे, केपीले…लाजै !

त्यसैले जनयुद्धका कमाण्डर साथीहरु, ओलीको कुरामा गम्भीर नहुनुहोला । कमरेडहरु, तपाईंहरुको योगदानको इतिहासमा स्वर्णिम अक्षरले नाम लेख्ने काम भएको छ । त्यसलाई कसैले कालो नपोतौं ।’

माओवादीका पूर्वलडाकू कमाण्डरका साथमा कालीबहादुर (फाइल फोटो)

माओवादीमा तरंग

यसैवीच, जनमुक्ति सेनाका कमाण्डर समातिएपछि माओवादी कार्यकर्ताहरु तरंगित बनेका छन् ।

उनको गिरफ्तारी लगत्तै अखिल क्रान्तिकारीका नेता केशव रावलले सामाजिक सञ्जालमा यस्तो लेखेका छन्–

‘जनयुद्धका चर्चित कमान्डर, जनमुक्ति सेनाका पूर्वडिभिजन कमान्डर कालीबहादुर खाम ‘विविध’ दाइ र म सँगै थियौं । म चाबहिलतिर लागें, दाइ टोखातिर छुट्टिएको ३० मिनेटपछि दाइलाई पक्राउ गरेको थाहा पाएँ । रामहरि हत्या प्रकरणमा पूर्वाग्रहपूर्वक दाइलाई मुद्दा दर्ता भएको थियो, त्यसमा कुनै भुमिका नभएकाले अदालतले साधारण तारेखमा छोड्ने विश्वास छ ।’

प्रधानमन्त्री प्रचण्डले सार्वजनिकरुपमै रामहरि हत्या प्रकरणमा कालीबहादुर आफैंले केही गरेको होइन भन्दै उनको मुद्दा ठीक ढंगले हल होस् भनेर आफू लागिरहेको र उनलाई गाह्रो–साह्रो पर्दा हेरिरहेको बताएको अवस्थामा खामको यो गिरफ्तारी ‘सेटिङ’का आधारमा भएको हो या गृहमन्त्री रवि लामिछानेको विशेष पहलमा गरिएको हो भन्ने तथ्य भने अझैसम्म रहस्यमै छ ।

किनभने, विगतमा ओली र प्रचण्ड दुबैले कालीबहादुर खामलाई जोगाउन होडबाजी गरेकै हुन् ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ७ : ०६ बजे

राष्ट्र सङ्घलाई सबल बनाउन नेपालको पूर्ण सहयोग : उपप्रधानमन्त्री यादव

काठमाडौं– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले राष्ट्रसङ्घ सबल

श्रम नै जीवन र पूजा हो : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले श्रमलाई नै जीवन

टेम्पो चालक विष्णुको आत्मगौरव– ‘सन्तानलाई संस्कार दिएँ, उनीहरूले सन्तोष दिए’

पतिको देहावसानपछि एक छोरा र एक छोरीको जिम्मेवारी सम्हालेकी विष्णु

इलाममा पराजित रास्वपाका मिलनले साग पसल खोल्ने

काठमाडौं– इलाम–२ मा भएको उपनिर्वाचनमा पराजित भएका राष्ट्रिय स्वतन्त्र पार्टी

भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभाल र रुसी समकक्षीबीच भेटवार्ता

काठमाडौं– भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र रुसका राष्ट्रिय