बनबास जानुअघि बन मास्ने होड | Khabarhub Khabarhub

बनबास जानुअघि बन मास्ने होड

क्रान्तिको नाममा धतुरो रोपेका प्रचण्ड



महाकवि लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, लेखनाथ पौड्याल, कीर्तिनिधि विष्टलाई बाल्यकालमा ट्यूसन पढाउने गुरुको नाम थियो- डा. क्षितिशचन्द्र बर्मा। भारतबाट आएका यिनी अंग्रेजीका प्रकाण्ड विद्वान थिए। विद्यार्थीलाई आफ्नै घरमा ट्यूसन पढाउँथे। ट्यूसन फि सक्नेले तोकिएको बुझाउँथ्यो, नसक्नेले पनि न्यूनतम २५ पैसा बुझाउनु पर्ने अनिवार्य शर्त थियो। यो शर्तमा अयोग्य विद्यार्थी उनका लागि किमार्थ योग्य हुँदैनथ्यो। देवकोटा त्यस्ता अपवाद विद्यार्थी थिए, जो सँग २५ पैसा जोहो गर्ने औकात थिएन। गुरुको कठोर नियमका कारण साथीसँग पढ्न बञ्चित उनी कोठा बाहिर बस्थे र अरुलाई पढाएको सुनेर ज्ञानको तुष्टि मेट्थे। पढ्ने उत्कृट अभिलाषा लिएर आएको ‘बाहुनको छोरा’को यस्तो अवस्था डा. क्षितिशचन्द्रकी आमालाई सह्य भएन। उनले बाहुनलाई त्यसो नगर्न छोरालाई बारबार सम्झाइन। आफ्नो संकल्पमा अडिग उनले देवकोटालाई पढाउनुको सट्टा सधैं उभिने गरेको ठाउँमा रहन समेत बन्देज लगाए।

गुरुकी आमा यो दृश्यले थप द्रवित भइन। एउटा उपाय सुझाउँदै उनले देवकोटालाई टिका लगाएर ५ रुपियाँ दक्षिणा दिइन र भनिन्- ‘मैले दिएको पैसाले ट्यूसन फि तिर्नू। भविष्यमा गएर ज्ञानी मानिस बन्नू’ देवकोटाले आफू पनि गुरुजस्तै बन्न चाहेको संकल्प सुनाएर दक्षिणामा पाएको सम्पूर्ण पैसा ट्यूसन पढाइमा खर्चिए। बर्मा यस्ता दृढसंकल्पी र एकाग्रताको उत्कर्ष नमूना थिए, ट्यूसन पढाउँदा पढाउँदै ९० सालको विनासकारी भूकम्प जाँदा समेत उनले पत्तो पाएनन रे ! भूइँचालो गएपछि ज्यान जोगाउन भागेका विद्यार्थी फर्किदा धुलोले पुरिएका तर ध्यानबाट नडगमगाएका गुरु देखेर चकित भए।

यतिबेला यो देशमा शिक्षाका पसले तर्क, वितर्कमा छन्। तीन घण्टा थुनेर लिइएको परीक्षाका आधारमा विद्यार्थीलाई निकम्मा र स्वनामधन्य प्रमाणित गर्ने प्रतिस्पर्धा चलिरहेको छ। अल्पमतले बहुमतमाथि राज गरेको राजनीतिक परिदृश्य झैं एसईईमा असफल विद्यार्थीहरुको पल्ला भारी भएपछि त्यो अंक पनि मजाकको विषय बनिरहेको छ।

यतिबेला यो देशमा शिक्षाका पसलेहरु तर्क, वितर्कमा छन्। तीन घण्टा थुनेर लिइएको परीक्षाका आधारमा विद्यार्थीलाई निकम्मा र स्वनामधन्य प्रमाणित गर्ने प्रतिस्पर्धा चलिरहेको छ। अल्पमतले बहुमतमाथि राज गरेको राजनीतिक परिदृश्य झैं एसईईमा असफल विद्यार्थीहरुको पल्ला भारी भएपछि त्यो अंक पनि मजाकको विषय बनिरहेको छ। धेरै पास हुँदा के हुन्छ, नहुँदा के हुन्छ ? त्यसको उत्तर छैन। आफ्नो जुत्ताको तुना कस्न ढंग नपु-याउने विद्यार्थीले जति डिजिटको नम्बर ल्याए पनि के अर्थ रहन्छ र ?

जे भएपनि विद्यार्थी असरल्ल असफल छन्। तर शिक्षकहरु पानीमाथिको ओभानो भएर प्राप्त सेवा सुविधा भोग गरिरहेका छन्। विदेशमा विद्यार्थी नभएर शिक्षक असफल हुन्छन्। त्यसैले त्यहाँको शैक्षिक पद्दति साँच्चै गर्विलो छ। त्यसो त राजनीतिको गतिलो पिलर भनेकै शिक्षक हो। त्यो माखेसाङ्लो तलदेखि माथिसम्म जेलिएको छ। उनीहरुको निष्ठा कक्षाकोठा नभएर राजनीतिक दलका मुख्यालय हुने गरेका छन्। सिकाउने संस्कार नपाएका विद्यार्थी स्वतः रोबर्ट शिक्षाबाट आभूषित हुने नै भए।

सन्तानले बाघलाई ‘टाइगर’ भन्दा छातीको आयतन फुलाउने अभिभावक र सुँगा रटानलाई आधुनिक शिक्षाको फसल मान्ने बज्रस्वाँठ शिक्षासेवीको फ्यूजनले शिक्षा आत्मघाती गोल बन्दै गएको छ। फेल हुन नपर्ने शैक्षिक पद्दतिको तोरीलाउरे व्याख्या र अतिवादी विरोधले समाजलाई रनभूल्लमा पारेको छ। देशभर घरलौरी जस्तो संख्यामा खुलेका शिक्षालय र स्वास्थ्यलय नामका पसलले धोखाघडीको व्यापार गरिरहेका छन्।

सन्तानले बाघलाई ‘टाइगर’ भन्दा छातीको आयतन फुलाउने अभिभावक र सुँगा रटानलाई आधुनिक शिक्षाको फसल मान्ने बज्रस्वाँठ शिक्षासेवीको फ्यूजनले शिक्षा आत्मघाती गोल बन्दै गएको छ।

सरकारी संयन्त्र विष निकालिएको गोमन साप भएर ताउरमाउर त गर्छ तर आफैंले बजाएको बिनमा नाच्नु उसको नियति बन्दै आएको छ। काँचुली फेरिए पनि सर्प उही छ। सर्प नचाउने सपेराहरु उही छन्। सबैलाई सबै कुरा थाहा छ। यति हुँदाहुँदै पनि विडम्बना न क्षितिशचन्द्रजस्ता गुँड गुरुको उदय हुने छाँट छ, न लक्ष्मीप्रसादजस्ता चिनी चेलाको भविष्य सुनिश्चित छ। बरु सबै पेशाभित्र पसेका चटकेहरुको चटक दिन हप्ता, हप्ता महिना, महिना वर्ष र वर्ष शताब्दी बनेर घर्किदैछ। मान्छेले लादेको दोषको भारीले समय नामको घोडा लाचार बनेर घण्टाघरमा पेण्डुलम भएर हल्लिरहेको छ। आखिर भाले नबासेर पेण्डुलम कहाँ रोकिँदो रहेछ र ?

डाक्टरहरु कलपूर्जा सफा गरेजस्तै गरी मानव शरीरको शल्यक्रिया गर्छन्। विभिन्न रोगको नाममा उब्जिएका ट्यूमर काटेर मिल्काउँछन्। मस्तिष्क, मुटु, फोक्सो, मृगौलाका जटिल उपचार गर्छन्। खै, तिनीहरुले मानिसभित्रको लोभ, इष्र्या, रिस, प्रतिशोध चाहिँ किन मिल्काउन नसकेका होलान ? ती वस्तु हुन्छन् चाहिँ कहाँ ? नेपालमा अब बेथितिको उपचार शल्यक्रियाबाट खोज्नुपर्ने अवस्था आएको छ।

मलेसियाको कायापलट गर्ने महाथिर मोहमद, सिंगापुर बनाउने लिक्वान, विहारलाई दोहोरो अंकको आर्थिक विकासमा पु-याउने नितिशकुमार आएर हाम्रा मुखियालाई प्रवचन दिए पनि केही फरक पर्दैन। यस्ता व्यक्तित्वसँग बसेर एकाधवटा कुम जोडेर फोटो खिच्नेभन्दा दोस्रो कर्म उनीहरुले जानेकै छैनन। हामी पछि परेको नजानेर, नबुझेर, नदेखेर नभई नियत नै खोटो भएर हो। नेपालमा नेताको भिजन नभएर सत्ता र शक्तिको सिजन बिक्छ। अझ विश्वबाट काम नलाग्ने भनी मिल्काइएको माओ डक्टिन भित्तामा पु-याइँदा पनि अझै टालाटुली बटुलीका शैलीमा तानतुन पारेर राजनीतिक भोटो सिउने प्रयास गरिन्छ।

विकास बादले नभई इच्छाशक्तिले हुन्छ भन्ने नर्सरी बालकले बुझेको सत्य हजुरबा पुस्ताको मथिंगलमा पसेको छैन्। जीवनको पूर्वाद्धलाई उपेक्षा गरियो भने उत्तरार्द्धमा पुगेर बुझेको सत्य काम लाग्दैन्। भूपि शेरचनको कविताले अरुलाई मिठास दियो। तर जीवनको उत्तरार्द्धमा उनले निष्कर्ष निकाले- आफूलाई दुईवटा ‘क’ ले बिगारे। जसको अर्थ थियो- कविता र कम्युनिस्ट। जीवनभर नास्तिकवादमा कलम चलाउने लक्ष्मीप्रसाद देवकोटाले ब्रम्हनालमा पुगेपछि भने- ‘आखिर श्रीकृष्ण रहेछ एक।’ विश्व राजनीतिमा निरंकुशताको सजीव पात्र संझिइने हिटलर कालिदासको साकुन्तल महाकाव्यका प्रशंसक मात्र भएनन, आर्य संस्कृतिको प्रतिरक्षा गरे। त्यसैले राजनीतिका नाममा मनमा एकथोक, बोलाई अर्को र गराई तेस्रो खाले संस्कृति नत्यागेसम्म हाम्रा लागि राजनीति सेवा हैन, धोकाको अर्को नाम हुने निश्चित छ।

कुनै एक सैनिक युद्धमा थियो। घरबाट श्रीमतीको चिट्ठी आयो। चिट्ठीमा लेखिएको थियो-‘यस गाउँमा सभ्य र स्वस्थ मानिस नहुँदा खेतमा मैले नै हलो जोत्नु परेको छ।’ चलाख सैनिकले जवाफ पठायो- ‘खेतमा हलो नचलाउनु , त्यहाँ विष्फोटक पदार्थ गाडिएको छ।’ उसको पत्र सेन्सर भयो। अब के थियो र, आधुनिक औजारसहितको सैनिक टोली त्यस बाँझो खेतमा पुगेर चारैतिर खन्यो। यस कुराको जानकारी श्रीमतीले श्रीमानलाई गराइन। अर्को पत्रमा सैनिकले लेख्यो- ‘अब सबै खेतमा मजाले गहुँ छर्नू।’

क्रान्तिका नाममा जिन्दगीभर बन्दुक र बारुदको धतुरो रोपेका प्रचण्डले सात दशकको घेरोमा पुगेपछि देखाउने गरेको चलाखी सिपाहीको चलाखीभन्दा माथि देखिएन।

क्रान्तिका नाममा जिन्दगीभर बन्दुक र बारुदको धतुरो रोपेका प्रचण्डले सात दशकको घेरोमा पुगेपछि देखाउने गरेको चलाखी सिपाहीको चलाखीभन्दा माथि देखिएन। चिताएको सबै पाउने लोभमा कुटो, कोदालो र हलो मिल्काएर वर्षौंसम्म प्रचण्डले रोपेको धतुरोको माली बनेका कार्यकर्ताका लागि आफ्नै नेताको कार्यशैली यतिबेला निल्नु न ओकल्नु भएको छ। सर्वहारा हैन, सर्वआहारा अनि दाँती मिलेका घर भएका धनाढ्यहरु यो पार्टीको चुल्हो चौकोमा पुगेपछि रगत र पानीको भेद अन्त्य भएको छ। धनयुद्धको राप र तापमा टिक्न नसकेर जनयुद्धका महिषीहरुको हातमा पश्चाताप शिवाय अरु केही हात लागेन। माओवादी नेतृत्वले जब शहरी नूनसँग बढी सम्झौता गर्न थाल्यो, उ भित्रको रातो रङ खरानी बन्दै गयो।

माओत्सेतुङ व्यक्तिगत हैसियतमा अत्यन्त खर्च कम गर्थे। पुरानो कोट र खुइलिएको कमिज नफाटुन्जेल लगाउँथे। १९५८ तिर चिया र मासु महँगो ठानेर खानै छोडिदिए। तर पत्नी बटुल्ने र सन्तान जन्माउनेमा यिनी लापर्वाह थिए। ४८ वर्षको उमेरमा २३ वर्ष कान्छी ज्वांगसँग चौथो घरजम गरे। उनको विलासी व्यवहार सम्झिनेहरु अहिले पनि नाक खुम्च्याउँछन्।

आफ्नो परस्त्री प्रतिको रुचिमा सुशीलाको गुनासो रहने गरेको स्वयं बीपीले उल्लेख गरेका छन्। अरु त अरु हरेक किर्तनमा लागेकी श्रीमतीको व्यवहारबाट जीवनको उत्तरार्द्धमा देशको मन्त्री भइसकेका लक्ष्मीप्रसाद देवकोटा आजित थिए। त्यसबेलाका धर्मगुरु कविप्रसाद गौतममाथि धर्मको आडमा समाज भाँडेको आरोप थियो। धर्म आवरणमा उनी महिलालाई जुठो ख्वाउने, खुट्टा ढोगाउने, खुट्टा धुन लगाएर पानी ख्वाउनेजस्ता काम गर्थे। एकातिर रोगी देवकोटा उपचार खर्च नपाएर थलिएका थिए भने अर्कातिर देवकोटा पत्नी मनदेवीमा यस्तो धार्मिक भूत चढेको थियो कि उनी लोग्नेको आँखा छलेर दहीको कतारोभित्र चाँदीको मोहोर लुकाएर गुरु पोस्ने गर्थिन्।

समाजमा अपराध बढेपछि गेरुवस्त्रधारीको व्यापार पनि स्वतः बढ्छ। समय फेरियो, पात्र फेरियो तर शैली र प्रवृत्ति अहिले पनि उस्तै छ। जताततै कर्मवादीभन्दा भाग्यवादीको उपस्थिति सघन बन्दै गएको छ।

समाजमा अपराध बढेपछि गेरुवस्त्रधारीको व्यापार पनि स्वतः बढ्छ। समय फेरियो, पात्र फेरियो तर शैली र प्रवृत्ति अहिले पनि उस्तै छ। जताततै कर्मवादीभन्दा भाग्यवादीको उपस्थिति सघन बन्दै गएको छ।

प्रचण्डजस्ता राजनीतिका महारथी कुम्भमेलामा हराएको बालकजस्तै जो अगाडि देखापर्छ उसकै हात समाउने अवस्थामा पुग्नुको परिणाम पनि यही नै हो। बुद्ध, एरिस्टोटल प्लेटो कसैको बाद थिएन, समूह थिएन, झण्डा थिएन। तर विचारका लागि सधैं सधैं बाँचेका छन्। पूज्य छन।

धृतराष्ट्रले दुर्योधनको दुर्गुण, अहंकार र स्वार्थबारे पूर्ण जानकारी राख्दा राख्दै पनि मोह त्याग्न नसक्दा महाभारतको युद्ध भई सुखद सपना दुखद घटनामा अवसान भयो। महाभारत सकिए पनि आखिर आँसुको कथा सकिएन्। पाण्डवहरु जितेर पनि हारे। राजनीतिमा नैतिक बल गुमेपछि नेताको अवस्था भनेको रोबर्ट मान्छेको बचाई मात्र हो।

सर्वहाराको शासन, गरिबको सत्ता, जनवाद यी सबै पण्डित र धामीका मन्त्रजस्तै हुन्। गुजुल्टिएको चाउचाउ सिधा होला तर यी शब्दको अर्थ बुझन कठिन छ।

हरेक शास्त्र हुने र नहुने बीचको लडाइँमा केन्द्रित छ। हुनेले नहुनेलाई थोरै मात्र मन फुकाएर दिने हो भने समस्याको गाँठो आफैं फुक्छ। तर यही रसायन नमिलेकै कारण महाभारतका श्रृंखला कहिल्यै सकिएनन्। यदि संसारमा सर्वहाराको राज्य हुन्छ भने नेपालका कम्युनिष्टले आदर्श नेता परिवर्तन गरी दिगम्बर रुपधारी महादेवलाई स्थापित गर्नुपर्छ।

सर्वहाराको शासन, गरिबको सत्ता, जनवाद यी सबै पण्डित र धामीका मन्त्रजस्तै हुन्। गुजुल्टिएको चाउचाउ सिधा होला तर यी शब्दको अर्थ बुझन कठिन छ।

फगत : खरानी र बाघको छालामा रमाएका महादेवजस्ता विन्दास पात्र शायदै राजनीतिमा पाइएलान। सधैंका मस्तराम महादेवको परिवार पार्वतीको भरोसामा चलेको थियो। उनीहरुको परिवारभित्रको अन्र्तद्वन्द्व कुनै पनि भौतिकवादी, माक्र्सवादी चिन्तनभन्दा लाखौं गुना बढी चाखलाग्दो थियो। पिताको घाँटीमा बेरिएको सर्पबाट मुसो बचाउन गणेशले गर्नुपर्ने भगीरथ प्रयास, अनि कुमारको मयूरबाट सर्प बचाउन पिता महादेवलाई पर्ने धौधौ थोरै सास्तीपूर्ण थियो होला र ?
आत्मरक्षाको द्वन्द्वमा फसेको परिवारको डुंगा पार्वतीको बुद्धिमतापूर्ण व्यवहार र महानताका कारण चलेको थियो। सम्भवतः राजनीतिमा पनि यस्तै त्राण दिने व्यक्तित्वको खाँचो छ। आँपको बोटमा महत्वपूर्ण आँपै हो तर आँप फल्न हाँगाविंगा जरा सब चाहिएजस्तै राजनीतिका अंगलाई ध्वस्त पारेर निर्माणको भाषण गर्नु भनेको बनबास जानुअघि बन मास्नुजस्तै हो।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  १० : ०२ बजे

कोपा अमेरिका फाइनल : घाइते मेसी मैदानबाट बाहिरिए

काठमाडौं – कोपा अमेरिको फाइनल भिडन्तमा अर्जेन्टिनाका कप्तान लियोनल मेसी

मनकामना केबुलकार आजदेखि ५० दिन बन्द

चितवन– मनकामना केबुलकार आजदेखि ५० दिनका लागि बन्द भएको छ

पाथीभरा, जहाँ पानी नपरी चट्याङ पर्छ

काठमाडौं- ताप्लेजुङस्थित पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङ

कोपा अमेरिका फाइनल : पहिलो हाफ गोलरहित बराबरीमा सकियो

काठमाडौं – कोपा अमेरिको फाइनल भिडन्तको पहिलो हाफ गोलरहित बराबरीमा

इन्द्रावतीको बाढीले मेलम्चीको भोताङ सडक बगायो

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको इन्द्रावती खोलामा गएराति आएको बाढीले मेलम्ची भोताङ सडक