झापामा हात्तीको त्रास, बाटोघाटोमा हिँड्दा हात्तीले मार्ला कि भन्ने डर « Khabarhub

झापामा हात्तीको त्रास, बाटोघाटोमा हिँड्दा हात्तीले मार्ला कि भन्ने डर


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

झापा– मेचीनगर वडा नं १२ की ५२ वर्षीया भीममाया राई दुई दिनअघि बेलुकी ९ः३० बजेतिर पसलबाट घर फर्किंदै गर्दा बाटोमा हात्तीको आक्रमणमा परेर घाइते भइन्।

विर्तामोडको बी एण्ड सी अस्पतालमा उपचार सम्भव नभएपछि उनको सिलगुढीस्थित अस्पतालमा उपचार भइरहेको छ । 

‘पसलबाट घर आउँदै गर्दा कालीझोडाबाट निस्किएको हात्तीले एक्कासि आक्रमण गर्यो’, घाइते भीममायाका पति डिल्ली राईले भने,  ‘साँझ बिहानको बेला बाटोघाटोमा हिँड्दा हात्तीले मार्ला कि भन्ने डर भइसक्यो ।’ 

जिल्लाको मेचीनगर, अर्जुनधारा, बुद्धशान्तिलगायत पालिकाका धेरैजसो वडामा वर्षायाममा बाढीसँगै हात्ती आक्रमणको त्रास बढेको छ । सर्प र चट्याङको डर त छँदैछ । दिनभरि खेतमा काम गर्ने किसान हात्तीको डरले रातभरि आराम गर्न पाउँदैनन् । साँझ परेपछि गाउँ पस्ने हात्तीलाई धपाउन उनीहरु अनिँदै बस्नुपर्ने अवस्था छ । 

असारको पहिलो साता दिउँसो १ बजेतिर मेचीनगर–९ मागुरमाडी गाउँमा पसेका दुईवटा हात्तीले टंकप्रसाद श्रेष्ठको १० कठ्ठा खेतमा लगाइएको मकैबाली नष्ट गर्‍यो । 

‘हात्तीले पहिल्यैदेखि राति दुःख दिँदै आएका थिए, अचेल  दिउँसै दुःख दिन थालेपछी थप समस्या भएको छ’, श्रेष्ठले भने, ‘मानो रोपेर मुरी उब्जाउने बेला हात्तीको समस्या भयो । गाईबस्तु भए पो खेद्नु, हात्तीले टेर्दैनन् !’

डिभिजन वन कार्यालयका प्रमुख मेघराज राईले चालु आर्थिक वर्षको असार १५ गतेसम्ममा हात्तीको आक्रमणबाट छजनाको मृत्यु भएको र १३ जना घाइते भएका बताए । सोही अवधिमा चारवटा हात्तीसमेत मरेका उनले जानकारी दिए । 

यहाँका किसान हात्ती मात्र होइन, वर्षायाममा बाढी र चट्याङको त्रासदीबाट पनि गुज्रिरहेका छन् । नदीमा पर्याप्त तटबन्धन नहुनु, भारी वर्षा हुनासाथ बाढी र डुबानको समस्या आउने मनसुनजन्य विपद्ले बर्सेनि यहाँ मानवीय तथा भौतिक क्षति हुने गरेको छ । 

मेची, निन्दा, विरिङ, कनकाई, कमल, रतुवा र मावा नदीले बर्सेनि ठूलो मात्रामा उर्वर खेतीयोग्य जग्गा कटान गरेर बगर बनाइरहेको छ । यसको रोकथामका लागि भने ठोस प्रयास हुन सकेको छैन। 

गत असार ३ गते परेको चट्याङले मेचीनगर–३ भावना टोलका योगेन्द्र भट्टराईको गोठमा बाँधेका एक हल राँगा मरे । बर्खामा खेत जोत्न हुर्काएका हल राँगा नै मरेपछि भट्टराई दुःखमा परेका छन् । 

वर्षौँदेखि हुर्काएका एक हल राँगा मरेको पीडा त छँदैछ खेत जोत्न एक हल राँगा किन्नु पर्ने र त्यसका लागि रु डेढलाख ऋण काड्नुपर्ने अवस्थाले उनलाई थप समस्यामा पारेको छ । 

यस्तै यही असार १२ गते बिहान गौरीगञ्ज र कमल गाउँपालिकामा परेको छुट्टाछुट्टै चट्याङ लागेर खेतमा काम गरिरहेका दुईजनाको मृत्यु र एक घाइते भए । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णबहादुर चन्दका अनुसार गौरीगञ्ज–३ ठेकीटोलमा धानको बीउ उखेल्ने काम गरिरहेका गौरादह–८ का ४२ वर्षीय विकास गिरी र कमल–२ समयगढका ४६ वर्षीय राजन खड्काको चट्याङ लागेर मृत्यु भएको हो । 

वर्षायाममा सर्पदंशको समस्यासमेत त्यस्तै छ । असार ११ गते बेलुका ५ः३० बजेतिर कचनकबल–३ की १२ वर्षीया मनिषा राजबंशीलाई आफ्नै घरको सोफा बसिरहेका बेला विषालु सर्पले डस्यो । उपचारका लागि लैजाँदै गर्दा उनको मृत्यु भयो ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ५ : २६ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार