नेपालमा किन घट्यो स्तनपान गराउने आमाको संख्या ? | Khabarhub Khabarhub

नेपालमा किन घट्यो स्तनपान गराउने आमाको संख्या ?

कामकाजी आमाको कार्यकक्षमा छैनन् स्तनपान कक्ष


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

सन् १९९२ बाट मनाउन सुरु गरिएको यो विश्व स्तनपान सप्ताह कार्यक्रम विश्व स्वास्थ्य संगठन र युनिसेफको अगुवाइमा अगस्त १ देखि ७ तारिखसम्म विश्वभर मनाउने गरिन्छ। जीवनको पहिलो ६ महिनाको लागि पूर्ण स्तनपानलाई बढवा दिने लक्ष्यसहित ल्याइएको यो साताव्यापी उत्सवको उद्देश्य नयाँ आमाबुबाको बिच जागरूकता पैदा र संसारभरमा शिशु स्वास्थ्यमा सुधार गर्नु हो।

यो वर्ष ‘क्लोजिङ द ग्याप ब्रेष्टफिडिङ सपोर्ट टु अल अर्थात् खाडललाई पुर्नका लागि सबैलाई स्तनपान सम्बन्धी सेवाको सहायता गर्ने’ भन्ने नाराका साथ मनाइदैछ।

स्तनपान के हो ?
सामान्यतया शिशुलाई आफ्नै आमाको दूध चुसाउनु नै स्तनपान हो। नवजात शिशुको आधारभूत अधिकारका रूपमा लिइने स्तनपानलाई सुरुवाती या प्रारम्भिक अनि पूर्ण गरी दुई भागमा वर्गीकरण गर्न सकिन्छ।

प्रारम्भिक स्तनपान
शिशु जन्मेको एक घण्टाभित्र आमाको दूध खुवाउन सुरु गर्नु नै प्रारम्भिक स्तनपान हो। यसले शिशुले दूध चुस्ने क्षमता प्राप्त गर्नुका साथै शिशुको शरीरमा ग्लुकोजको कमी हुनबाट बचाउँछ। साथै बच्चा जन्मेदेखि केही दिनसम्म आउने पहेँलो प्रकारको बिगौती दूधमा रोगसँग लड्नसक्ने क्षमता धेरै हुने भएकोले बच्चालाई रोग लाग्नबाट समेत बचाउने हुँदा यसलाई शिशुको पहिलो प्राकृतिक खोप पनि भनिन्छ।

पूर्ण स्तनपान
शिशु जन्मेदेखि ६ महिनासम्म आमाको दूध मात्र खुवाउनु नै पूर्ण स्तनपान हो। शिशुको लागि आवश्यक पर्ने पानी, मिनिरल, ग्लुकोज तथा अन्य भिटामिन र रोग प्रतिरक्षात्मक तत्त्व समेत आमाको दूधमा नै प्राप्त हुने भएकोले अन्य कुनै पनि किसिमको थप खाना खुवाउनु आवश्यक हुँदैन।

नेपालमा स्तनपानको अवस्था
नेपालमा स्तनपान गराउने आमाको संख्या घट्दो क्रममा रहेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको पोषण शाखाका प्रमुख लिलाविक्रम थापाले बताए।

उनका अनुसार आमाले स्तनपान गराउँदा सौन्दर्यतामा बाधा आउँने, आमा कमजोर हुने लगायतका गलत सोचले यो दर घटिरहेको हो भने अर्को कामकाजी आमाको कार्यक्षेत्रमा बच्चाका लागि उपयुक्त वातावरण नहुने भएकाले पनि स्तनापान गराउने आमाको संख्या घटेको पाइएको छ।

नेपालको स्वास्थ्य सर्वेक्षण, २०२२ का अनुसार शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउनेको संख्या ५५ प्रतिशत रहेको छ।
यस्तै, शिशु जन्मेदेखि दुई वर्षसम्म स्तनपानलाई निरन्तरता दिनेको संख्या ९४ प्रतिशत छ। पूर्ण स्तनपानको अवस्था सबैभन्दा बढी कर्णाली र सुदूरपश्चिममा ७४ प्रतिशत छ भने सबैभन्दा कम लुम्बिनीमा ३६ प्रतिशत रहेको छ। पूर्ण स्तनपानको दर माध्यमिक तहभन्दा बढी शिक्षा लिएका आमामा कम देखिएको छ। न्यून आय भएका ६४ प्रतिशतमा र उच्च आय भएका ४४ प्रतिशतले पूर्ण स्तनपान गराउने गरेको देखिन्छ।

उक्त सर्वेक्षणले नेपालमा बोतलपान गराएका शिशुको संख्या बागमती प्रदेशमा सबैभन्दा बढी ४३ प्रतिशत र कर्णालीमा सबैभन्दा कम ११ प्रतिशत रहेको देखाएको छ। नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार नेपालमा ५ वर्षमुनिका २५ प्रतिशत बालबालिकामा पुड्कोपन, ८ प्रतिशतमा ख्याउटेपन, १९ प्रतिशतमा कम तौल र ८३ प्रतिशतमा रक्तअल्पता पाइएको छ। संसारभरमा हुने बाल मृत्युदरको ४५ प्रतिशत कारक कुपोषण रहेको छ। सबै प्रकारको कुपोषण न्युनीकरणमा स्तनपानको महत्वपूर्ण भूमिका हुने विज्ञ बताउँछन्।

कार्यालयमा स्तनपानकक्षको कानुनी यवस्था
२०४९ मा आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण ऐन बनेको छ। त्यो ऐनमा प्रष्ट पारिएको छ कि स्तनपानलाई संरक्षण र संवद्र्धन र सहयोग गर्ने विभिन्न सवाल समेटिएका छन्। जसमा कामकाजी आमाका लागि कार्यकक्षमै स्तनपान कक्षको व्यवस्था हुनुपर्छ भनेर तोकिएको छ।

सबै कार्यालयमा लागु गर्नका लागि हामीले पहल गरेको २÷३ वर्ष भयो धेरै भएको छैन। अहिले त्रिभुवन विमानस्थल लगायत देशका विभिन्न विमानस्थल, सिंहदरबार भित्र र त्यस्तै ठाउँहरुमा धेरै लागु भएको अवस्था छ। अन्य ठाउँमा केही मात्रामा स्तनपान कक्ष हाम्रो मापदण्ड अनुसार भइरहेका पनि छन् तर जुन रुपमा हुनुपर्ने त्यति हुन सकेको अवस्था छैन।

अनिवार्य स्तनपान गराउन सरकारी पहल
यो ऐनका बारेमा हामीले परिपत्र गरेका छौं। तर दक्षिण एशियाली मुलुकहरुको तुलनामा हाम्रा कामकाजी आमा सबै काममा आउन सक्ने अवस्थाका छैनन्। मोटरसाइकल वा स्कुटीमा ल्याउनुपर्ने हुन्छ। त्यो सानो बच्चालाई सधैं मोटरसाइकलमा ल्याउँदा बिरामी हुने वा अन्य दुर्घटनाको डर हुने सम्भावना पनि त्यत्तिकै हुने भएकाले त्यति सुरक्षित नभएको थापाको भनाइ छ।

‘उसो त युएन लगायतका अफिसमा नेपालमै पनि आफ्नो कारमा बच्चा हेर्ने मान्छेसहित ल्याएर पनि आएका देखिन्छन्। तर हाम्रा सबै कामकाजी आमाको त्यो अवस्था छैन तर कुनै पनि बच्चा आमाको स्तनपानबाट बञ्चित नहुन भन्नको लागि घरमै दूध निचोरेर राख्ने विषयमा अभ्यास गराइरहेका छौं’, थापाले भने।

वैकल्पिक दूधको प्रयोग तथा नियन्त्रण
‘वैकल्पिक दूध खुवाउनै हुँदैन त्यसलाई निषेध नै गर्नुपर्छ भन्ने छैन। १० देखि १५ प्रतिशत आमामा दूध नआउने समस्या हुनसक्छ। त्यस्तो अवस्थामा पनि आमाले प्रयास गर्न छोड्नुहुँदैन’, पोषण शाखा प्रमुख थापा भन्छन्, ‘समयमै उचित परामर्श लिनुपर्छ। अहिले शल्यक्रिया (सिएस) गरेर गरेर बच्चा जन्माउने प्रवृत्ति एकदमै बढेको छ। सिएस गरेरपछि आमालाई दुखाई हुन्छ खुवाउनु हुँदैन भन्ने स्वास्थ्यकर्मी तथा धेरै परिवारमा जुन सोचाई छ त्यो नै गलत हो।’

बच्चा जन्मिने बित्तिकै आमाको छातिमा टाँसेर जतिसक्दो छिटो दूध खान पाउनुपर्ने त्यो अवसरबाट बच्चा बञ्चित हुन्छ। सिएस गरेको आमाले पनि स्तनपान गराउन सक्छिन् भनेर भारत लगायत विभिन्न देशमा गरिएका अध्ययनले पनि प्रष्ट पारिसकेको छ।
‘परोपकार प्रसूति गृहमा सिएस गरेका आमालाई पनि स्तनपान गराउन लगाइन्छ। कति अस्पतालले सिएस गरेपछि कम्तिमा ७२ घण्टा आमा र बच्चालाई छुट्याएर राख्नुपर्छ भन्ने नीति नै बनाएका छन्। यौ एकदमै गलत हो’, थापाले भने।

स्तनपान सप्ताहको उद्देश्य र प्रभावकारिता
सन् १९९२ देखि विश्वभर स्तनपान सप्ताह मनाउन सुरु गरिएको हो। विभिन्न माध्यमबाट आमा, परिवार, गाउँ समाज लगायत विभिन्न समुदायमा स्तनपान कति महत्वपूर्ण छ भनेर जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्ष स्तनपान सप्ताह नेपाल लगायत विश्वभरी नै मनाउने गरिन्छ।

तर अझै पनि स्तनपानले बच्चालाई मात्रै होइन आमाको स्वास्थ्यमा पनि फाइदा गरिरहेको हुन्छ भनेर बुझाउन नसकिएको थापा बताउँछन्। जन्मने बित्तिकै शिशुले दूध चुस्न पाउँदा आत्मियताको अनुभूति हुने, रोग प्रतिरोधात्मक क्षमता बढ्ने, शारीरिक र मानसिक विकासमा सहयोग गर्छ। यस्तै विभिन्न रोग लाग्नबाट बचाउनुका साथै आमालाई पनि सुत्केरी भइसकेपछि अत्यधिक रक्तश्राव हुनबाट जोगाउँछ। अब विद्यालय तहदेखि नै यो विषयलाई पाठ्यक्रममा समावेश गरेर चेतना फैलाउने रणनीति लिएको पोषण शाखा प्रमुख थापाको भनाइ छ।

स्तनपान नगरेका बच्चामा देखिने स्वास्थ्य समस्या
जन्मिने बित्तिकै र ६ महिनासम्म आमाको दूध मात्रै खाएका बच्चाको रोगसँग लड्ने क्षमता अन्य बच्चाको भन्दा धेरै रहेको पाइएको विश्व स्वास्थ्य संगठनले गरेको अध्ययनले देखाएको थियो।

आमाको दूध नखाएका बच्चा ५ वर्ष नपुग्दै कुपोषित हुने र पछि गएर मोटोपना हुने सम्भावना धेरै हुने गरेको पाइएको छ। वैकल्पिक दूधमा ग्लुकोजको मात्रा बढी हुने भएकाले पछि गएर मधुमेह, उच्च रक्तचाप जस्ता नसर्ने रोग लाग्ने जोखिम धेरै देखिएको छ।

त्यसैले जन्मिनैबित्तिकै शिशुलाई आमाको दूध खुवाउन आवश्यक छ। थोरै आयो बच्चालाई पुग्दैन भनेर अन्य वैकल्पिक दूध सकेसम्म नखुवाउनु राम्रो हुन्छ। जसले गर्दा आमा बच्चा र घरपरिवार सबैलाई फाइदा हुन्छ।
(परिवार कल्याण महाशाखा अन्तर्गत पोषण शाखाका प्रमुख लिलाविक्रम थापासँगको कुराकानीमा आधारित)

 

 

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ९ : ५४ बजे

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं – काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । बिहीबार

चिया बगानको जग्गा ३३ वर्षपछि सरकारको स्वामित्वमा

झापा – मेचीनगर नगरपालिका–५ स्थित नकलबन्दा टी इस्टेटले ३३ वर्षअघि

माछापुच्छ्रे छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

गण्डकी – कास्कीको माछापुच्छ्रे गाउँपालिकामा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर अन्तर्राष्ट्रिय उडान गर्ने ११ एयरलाइन्सले

इजरायलका प्रधानमन्त्री नेतान्याहूविरुद्ध पक्राउ पुर्जी जारी

द हेग – अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसीसी)ले इजरायलका प्रधानमन्त्री बेन्जामिन