राष्ट्रपतिबाट आममाफी पाएका सुवासको अपराध श्रृंखला, जेलबाट छुटेर लिए अर्को ज्यान | Khabarhub Khabarhub

राष्ट्रपतिबाट आममाफी पाएका सुवासको अपराध श्रृंखला, जेलबाट छुटेर लिए अर्को ज्यान


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


24.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  राष्ट्रपतिबाट आममाफी पाएर छुटेका मोरङका एक युवकले अर्को गम्भीर अपराध गरेका छन् ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट २०७६ फागुन ७ गतेको प्रजातन्त्र दिवसमा आममाफी पाएर छुटेका उर्लाबारी नगरपालिका-५ का ३५ वर्षीय सुवास तामाङले एकपछि अर्को अपराधको श्रृंखलालाई निरन्तरता दिँदै गम्भीर अपराध दोहोर्‍याएका हुन् ।

मदिरा पिएर आफ्नै साथीलाई हत्या गरेपछि कर्तव्य ज्यान मुद्दामा १० वर्षका लागि जेल परेका उनी २०७६ फागुनमा राष्ट्रपतिबाट आममाफी पाएर छुटेका थिए । सरकारले आममाफीका लागि योग्य ठानेर जेलबाट छाडिएका उनले यही मंगलबार अर्को जघन्य अपराध गर्दै एक युककको ज्यान लिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार तामाङले लाट्ठी र खुकुरी प्रहार गरेर उर्लाबारी नगरपालिका-४ का २१ वर्षीय कुशल दाहालको ज्यान लिएर भागेका थिए ।

अरु साथीहरूलाई पनि लिएर तामाङले दाहाललाई सुरुमा यातना दिएर त्यसपछि खुकुरी प्रहार गरी हत्या गरेको खुलेको छ ।

दाहाल र उर्लाबारी-४ निवासी ३१ वर्षीय सञ्जय आचार्यलाई मंगलबार साँझ ६ बजेको समयमा उनले उर्लाबारी-५ स्थित उद्योग वाणिज्य संघको कार्यालयनजिकैको आफ्नो घरमा लगेका थिए।

 

थियो चोरीको आरोप

जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीका अनुसार पुरानो रिसइबीबिना नै दाहालको हत्या भएको छ । मंगलबार दिउँसो तामाङले दाहाललाई मोबाइल चोरेको आरोप लगाएका थिए।

‘दुईजनाबीचमा पुरानो झगडा-रिसिइबी केही देखिएन । मोबाइल चोरिएको विषयमा तामाङले दाहाललाई बोलाएर छलफल गर्ने भनेका रहेछन्’, कार्कीले भने, ‘छलफलका लागि भनेर दाहाललाई आफ्नो घरमा लगेका तामाङले त्यहीँ सुरुमा यातना दिएर त्यसपछि छुरा हानेको स्वीकारेका छन् ।’

प्रहरीले अनुसन्धानका क्रममा उर्लाबारी-५ का २५ वर्षीय करण लिम्बु, उर्लाबारी-६ का ३० वर्षीय रिजन आलेमगर र उर्लाबारी-७ का २८ वर्षीय आङसुहाङ देवानले ती दुई युवालाई तामाङको घरसम्म पुर्‍याउन सघाएको खुलेको जनाएको छ । हत्याका क्रममा उनीहरूले सघाएको नसघाएको खुलिनसकेको एसपी कार्कीले बताए ।

‘मोबाइल चोरिएको विषय आएपछि ती युवाहरूले दाहाल र आचार्यलाई तामाङको घरसम्म पुर्‍याउन सघाएको देखिएको छ । उनीहरूले दुवै युवालाई लैजान स्कुटर दिएको पाइएको छ’, मोरङ प्रहरीका एक अधिकारीले भने, ‘प्रारम्भिक अनुसन्धानका क्रममा दाहालको हत्यामा हत्यामा लिम्बु, आलेमगर र देवानको संलग्नता देखिएको छैन । उनीहरूले तामाङको घरसम्म पुर्‍याउन भने सघाएका खुलेको छ ।’

घटनापछि यी तीनैजना युवाहरू भने फरार छन् । दाहालको हत्यापछि तामाङ पनि फरार भएका थिए । उनलाई प्रहरीले बुधबार दिउँसो मोरङकै सुन्दरहरैंचा नगरपालिका-४ दुलारी बजारबाट पक्राउ गरिसकेको छ ।

तामाङ को१ख ६४७१ नम्बरको सार्वजनिक बसमा सवार भएर धरानतिर भागिरहेको अवस्थामा पक्राउ परेका एसपी नवराज कार्कीले बताए ।

तामाङलाई ट्राफिक प्रहरी पोस्ट गछियाका असई किशोर निरौला नेतृत्वको टोलीले पक्राउ गरेको थियो ।

यस्तो छ अपराध श्रृंखला

सुवासले यसअघि पनि एकजनाको हत्यासहित आधा दर्जन बढी अपराधका घटना गराइसकेका थिए । उनी सुरुमा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएर कैद भुक्तान गर्न जेल गएका व्यक्ति हुन् । तर २०७६ फागुन ७ गते राष्ट्रपतिबाट सजाय माफी मिनाहा पाएर सुवास कारागारबाट छुटेका थिए ।

जेलमा आचरण सुध्रिएको निष्कर्षसहित माफी दिइएका तामाङले बाहिर निस्केपछि झन् अपराधको श्रृंखला नै चलाए ।

मोरङ प्रहरीका अनुसार उनले २०७१ असोज ८ गते राति उर्लाबारी नगरपालिका-२ का नवीन राईको ढुंगाले हानेर ज्यान लिएका थिए । मादक पदार्थले मातेका सुवासले साथी नवीनलाई आपसी विवादमा ढुंगाले हानेर हत्या गरेपछि पक्राउ परेका थिए ।

सुवासले ढुंगाले हानेपछि गम्भीर बनेका नवीन साविकको उर्लाबारी-२ स्थित उर्लाबारी-मधुमल्ला सडकखण्डमा घाइते अवस्थामा भेटिएका थिए । तर उनलाई उपचारका लागि लाँदा लाँदै बाटैमा ज्यान गयो ।

एउटा संयोग कस्तो भएको छ भने तामाङले राईको हत्या गर्दा हालका मोरङ प्रहरी प्रमुख एवम् एसपी नवराज कार्की इलाका प्रहरी कार्यालय उर्लाबारीका इञ्चार्ज थिए। सुवासले उनै इन्सपेक्टर कार्कीको नेतृत्वमा प्रहरीले पक्राउ गरेको थियो । त्यसबेला तामाङसहित साइँला भनिने २३ वर्षीय रमेश राजधामीलाई पनि २०७७ सालमा कर्तव्य ज्यान मुद्दा चलाइएको थियो ।

मोरङका तत्कालीन जिल्ला न्यायाधीश ऋषिराम निरौलाको इजलासले २०७१ माघ २७ गते तामाङविरुद्ध सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो। यो मुद्दामा राजधामीले सफाइ पाएका थिए।

यस मुद्दामा उच्च अदालत विराटनगरका तत्कालीन न्यायाधीश कुमारप्रसाद पोखरेल र शिवराज अधिकारीको संयुक्त इजलासले २०७३ भदौ २९ गते तामाङलाई १० वर्ष कैद सजाय सुनायो । त्यसबेला उच्चले जिल्लाको फैसला उल्ट्याएको थियो ।

त्यसपछि यो मुद्दा सर्वोच्चमा पुग्दा २०७५ जेठ १० गते उच्चकै फैसलालाई सदर गर्दै सजाय १० वर्ष कायम गर्‍यो । जिल्ला अदालत मोरङले सर्वस्वसहित जन्मकैदको सजाय सुनाइएका तामाङको आचारणमा सुधार आएको कारागार व्यवस्थापन विभागको प्रतिवेदनअनुसार राष्ट्रपतिबाट आममाफी मिलेको थियो ।

जेल पनि सरेको सर्‍यै

जेलमा हुँदा पनि उनले कारागार सरेको सर्‍यै गर्नु परेको थियो । सुरुमा मोरङ कारागारमा थुनिएका उनलाई २०७४ कात्तिक १२ गते केन्द्रीय कारागार जगन्नाथदेवल पठाइयो । त्यहाँबाट एक वर्ष नहुँदै उनलाई २०७५ असार १५ गते भीमफेदी कारागार लगियो ।

भीमफेदी कारागरामै हुँदै उनले २०७६ साल फागुन ७ गते प्रजातन्त्र दिवस आममाफी पाएर रिहा भए।

फेरि अपराध श्रृंखला

सरकारले आचरण सुध्रेको निष्कर्षसहित आममाफी दिएर छुटेका उनले त्यसपछि उनी अपराधकर्मलाई रोकेनन् । उनीविरुद्ध त्यसपछि ज्यान मार्ने उद्योग, लागूऔषध र अभद्र व्यवहारको मुद्दा चल्यो ।

उनीविरुद्ध २०७७ सालमा ज्यान मार्ने उद्योगको मुद्दा चल्यो । त्यस मुद्दामा उनी साढे २ वर्ष जेल बसे । २०७७ भदौ ८ गते दोषी ठहर भएपछि उनी २ वर्ष ६ महिनासम्म मोरङ कारागारमा बसे ।

त्यससँगै उनले लागूऔषध ऐनअन्तर्गत पनि मुद्दा खेपे । ब्राउन सुगर बरामद भएपछि मु्द्दा चल्दा उनलाई मोरङ अदालतले १ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दियो । तर अन्तिम फैसलाका क्रममा तामाङलाई मोरङ अदालतले २०७७ कात्तिक ७ गते ३ महिना कैद सजाय सुनायो ।

लागुऔषध मुद्दामा दोषी ठहर भएका तामाङ जेलमै थिए । उनी ज्यान मार्ने उद्योग मुद्दामा जेलमा सजाय काटिरहेका थिए । ती दुई अपराधमा जेलबाट छुटेलगत्तै उनीविरुद्ध २०८० असोज २४ गते अभद्र व्यवहार मुद्दा चल्यो ।

त्यसबेला धरौटी तिर्न नसकेर मोरङ कारागारमा चलान भए। तर भोलिपल्ट धरौटी रकम जुटाएपछि उनी रिहा भए । उनी त्यसबेला १ लाख धरौटी बुझाएर रिहा भएका थिए । पछिल्लो पटक रिहा भएको ८ महिना नबित्दै उनले अर्का युवकको ज्यान लिएका छन्, त्यो पनि आफ्नै घरमा ।

मंगलबार उक्त घटना हुनुभन्दा अघिल्लो दिन दाहालको छिमेकी सञ्जय आचार्यसँग झगडा भएको खुलेको छ । झगडका क्रममा आचार्यले दाहाललाई धम्क्याएको खुलेपछि प्रहरीले त्यसबारे पनि अनुसन्धान गरिरहेको छ ।

तामाङले लाठी र छुरा हानेपछि गम्भीर घाइते भएका दाहालको झापास्थित बीएन्डसी अस्पतालमा उपचारका क्रममा मंगलबार राति नै ज्यान गएको थियो । तामाङले दोस्रो हत्या गरिएका युवक स्थानीय गोपाल दाहालका एक पुत्र हुन् ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  १ : ०९ बजे

थिमीको कुभिण्डे जात्रा सम्पन्न

भक्तपुर – दसैँको अवसरमा मध्यपुरथिमिस्थित बालकुमारीमा मनाइने प्रसिद्ध कुभिण्डेजात्रा सम्पन्न

बाबर आजमलाई टेस्ट टिम बाहिर राख्न सिफारिस

कामाडौँ – पाकिस्तानका पूर्व कप्तान बाबर आजमको लगातारको खराब प्रदर्शनपछि

लरेन्स विश्नोई समूहले लियो बाबा सिद्दिकीको हत्याको जिम्मा

काठमाडौं– भारतीय राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी)का नेता बाबा सिद्दिकीको हत्याको

तनहुँ र नवलपुरमा उनन्तीस खानेपानी योजना सम्पन्न

तनहुँ – आर्थिक वर्ष २०८०-८१ मा तनहुँ र नवलपुरमा २९

बाढीबाट सबैभन्दा पुरानो चन्द्रनहरमा लाखौँको क्षति

राजविराज – हालैको बाढीबाट मुलुकको सबैभन्दा पुरानो चन्द्रनहरमा लाखौँको क्षति