स्थानीय जातका गाई पाल्ने चलन हराउँदै « Khabarhub

स्थानीय जातका गाई पाल्ने चलन हराउँदै


१७ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– धवलागिरि गाउँपालिका–७ को ताकम गाउँमा स्थानीय गाई पाल्ने चलन हराउँदै गएको छ । तीन सय ५० घर रहेको धवलागिरि–७ ताकम गाउँमा अहिले दुई घरमा मात्र गाईपालन गरिएको छ ।

धवलागिरि–७ काफलडाँडाका नेत्रप्रसाद पुनले गाई पाल्न छोडेको १५ वर्ष भयो । ‘थोरै दूध दिने १० वटा गाई पाल्नुभन्दा धेरै दूध दिने एउटै भैँसी पाल्दा सजिलो हुन्छ’, उनले भने, ‘करिब तीन दशक गाई पालेर लेकबेंसी गरेको सम्झँदै खनजोत गर्ने मिनिटेलर हलो भित्रिएपछि गोरुको पनि महत्व घट्यो । गाई पाल्ने चलन हरायो ।’ 

पूजाआजा र धार्मिक कार्यमा आवश्यक पर्ने दूध तथा गहुँतका लागि गाईका मालिकलाई पहिले नै भन्नुपर्ने स्थानीय ओमबहादुर घिमिरेले बताए।

‘हिजोआज धार्मिक कार्यका लागि आवश्यक पर्ने गाईको दूध र गहुँत नपाइने अवस्था आएको छ’, उनले भने, ‘गाई देखिन छाडे, गोरु पनि भेटिँदैनन् ।’ 

पहाडका गाउँघरमा स्थानीय जातका गाई भेट्टाउन मुस्किल पर्न थालेको छ । धार्मिक, सांस्कृतिक, जैविक र पर्यावरणीय महत्व बोकेका स्थानीय जातका गाईगोरु दुर्लभ हुन थालेका छन् । उत्पादनको लागत घटाउन र आम्दानी बढाउन उन्नत जातका व्यावसायिक पशुपालन उपयुक्त मानिन थालेपछी उन्नत जात र व्यावसायिकताले स्थानीय रैथाने जातका गाई गौशाला र मन्दिरमा सीमित हुन थालेका छन् ।

बढी दूध दिने उन्नत र वर्णशंकर जातका गाई र भैँसी पाल्ने तथा खेतबारी खनजोतका लागि ट्याक्टर र मिनिटेलर हलोको बढ्दो प्रयोगसँगै स्थानीय जातका गाई र गोरु पाल्ने चलन हराएको धवलागिरि–७ का इन्द्रलाल पौडेलले बताए।

जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार जिल्लामा हाल २० हजारको सङ्ख्यामा गाई पालिएका छन् । फरकफरक जातका गाईपालन गरिएको भन्दै सबैको अलगअलग गणना र तत्थ्यांक भने नरहेको केन्द्रका नायब पशु सेवा प्राविधिक गणेश रिजालले बताए। 

‘मिनिटेलर र ट्याक्टर भित्रिएपछि स्थानीय जातका गाईको सङ्ख्या घटेको छ’, उनले भने, ‘सरकारले पनि बढी दूध दिने गाईभैँसीमा जोड दिएकाले वर्णशंकर र उन्नत जातका गाई पाल्नेको सङ्ख्या बढ्ने र स्थानीय जातका घटेको देखिन्छ ।’

कृषि तथा पशुपक्षी विकास मन्त्रालयको अभिलेख अनुसार नेपालमा आठ प्रजातिका गाई छन् । म्याग्दीसहितका जिल्लामा पालिने गाईका जातलाई पहाडी भनिन्छ । पहाडी गाईहरू भूटान, सिक्किम र दार्जिलिङबाट नेपालमा भित्रिएका हुन्  । 

दुई सयदेखि तीन सय किलोग्रामसम्म तौल हुने पहाडी गाईको रङ कालो, रातो, फुस्रो र टाटेपाटे हुन्छ । एक वेतमा एक सय ५० देखि दुईसय लिटरसम्म दूध दिन्छन् । पहाडी गाईको दूध पोषिलो र स्वास्थ्यकर मानिन्छ । याक, नाक र चौरी, लुलु, होलिस्टेन फ्रिजन, ब्रोन स्विस र शाही वाल नेपालमा पालिने गाईका अन्य जात रहेका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

मानिस र गाईको दूधमा पाइने क्यारोटिन तत्व आँखा र मष्तिष्कका लागि महत्वपूर्ण मानिएको जिल्ला आयर्वेद स्वास्थ्य केन्द्रका कविराज निरीक्षक प्रेमप्रसाद गौतमले बताए। 

‘गाईको दूध सेवन गर्दा स्वास्थ्यलाई धेरै किसिमको फाइदा गर्ने र रोग लाग्नबाट बचाउने विभिन्न वैज्ञानिक अध्ययनबाट पहिचान भएको तथ्य हो’, उनले भने, ‘गाईबाट प्राप्त हुने पञ्चतत्व दूध, दही, घ्यू, गोबर र गहुँतको धार्मिक महत्वसँगै आयुर्वेद र चिकित्साशास्त्रमा समेत उपयोगी मान्ने गरिएको छ ।’ 

नेपालको संविधानको धारा ९ (३) मा गाईलाई राष्ट्रिय जनावरका रुपमा उल्लेख गरिएको छ । कानुनले नेपालमा गोवध गर्न प्रतिबन्ध लगाएको छ । गाईलाई समाजमा संरक्षणको दृष्टिले हेर्ने गरिएकाले पनि गाईको धार्मिक एवं सांस्कृतिक महत्व रहेको बेनी नगरपालिका–१ स्थित श्रीलक्ष्मीहरि मन्दिरका महन्थ हिमालय बाबाले बताए। 

‘गाईलाई धर्म र संस्कृतिसँग मात्र जोडेर बुझ्नु हुदैन’, उनले भने, ‘जैविक विशेषता बोकेका वैदिक गाईको नष्ल नेपालको जैविक सम्पत्ती हो । यसलाई बचाउन राज्य र समाजले विशेष ध्यान दिनुपर्छ ।’ स्थानीय गाईको गोबर, गहुँत खेतीबारीमा मात्र होइन औषधिय कार्यमा पनि उपयोग हुने उनले उल्लेख गरे।

हिन्दू धर्मावलम्बीहरुका लागि गाई जन्मदेखि मृत्युसम्म आवश्यक जनावरका रुपमा मानिन्छ । हिन्दू धर्मावलम्बीले लक्ष्मीका रूपमा गाईलाई पूजा गर्छन् । 

गाईको सेवाबाट ऋषि, महर्षी, राजर्षीहरुले शक्ति र सौभाग्य प्राप्त गरेको प्रसङ्गहरु पुराणमा उल्लेख गरिएका छन् । गाईको गोबरले घर लिपपोत गरेमा विभिन्न किटाणु नष्ट गर्ने शक्ति हुने भएकाले प्रयोग गर्ने गरिएको हो । 

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  २ : ०८ बजे

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले