‘पूर्ण बहादुरको सारङ्गी’बाट परिचय फेर्दै कबड्डीका हिट ‘बिके’ | Khabarhub Khabarhub

‘पूर्ण बहादुरको सारङ्गी’बाट परिचय फेर्दै कबड्डीका हिट ‘बिके’


१७ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : 6 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बिहीबारदेखि हलमा लागेको चलचित्र पूर्ण बहादुरको सारङ्गीले दर्शक रुवाइरहेको छ । हलमा पुगेर यो चलचित्र हेर्ने दर्शक नरोएको कमै छ ।

खास गरी पूर्ण बहादुर गन्धर्भको भूमिकाका देखिएका विजय बरालको अभिनयले बालबालिका, किशोर र युवादेखि वृद्धवृद्धासम्मलाई यो चलचित्रले रुवाएको छ । बाबुले एउटा छोराका लागि गरेको संघर्षमा आधारित यो चलचित्रले रुवाउँदैन मात्रै एउटा मिठो सन्देश दिएको छ ।

अहिले यस चलचित्रका मुख्य पात्राहरू विजय बराल र प्रकाश सपूतको अभिनयको चर्चा भइरहेको छ। यसै चलचित्रका मुख्य अभिनेता विजय बराललाई करिब ६ महिनाअघि प्रस्तावसहितको फोन आयो । एउटा कलाकारलाई अभिनय प्रस्तावको फोन आउनु सामान्य कुरा थियो तर त्यो दिनको फोन सामान्यभन्दा केही फरक थियो ।

चलचित्रका सहायक भूमिकाहरूमा भ्याइनभ्याइ गरी व्यस्त विजयका लागि त्यो फोनमा आएको प्रस्ताव फरक थियो । उनलाई कुनै सहायकमा नभई शीर्षक भूमिकाको प्रस्ताव गरिएको थियो । चलचित्रको नाम थियो– पूर्ण बहादुरको सारङ्गी ।

उक्त प्रस्तावले विजय सुरुमा त अन्योलमा परे । केही दोधारको अवस्था भयो उनलाई । झण्डै दुई सातासम्म उनले प्रस्तावमाथि कुनै ठोस निर्णय गरेनन् । आफैँलाई मन्थन गरे, आफूभित्रको अभिनेतालाई प्रश्न गरे ।

‘चलचित्रको प्रस्ताव आएको दिन म ठ्याक्कै अन्योलमा परेँ । किनकी साइड रोलकै लागि मात्र रोजाइमा पर्ने मलाई यस्तो प्रस्ताव बिरलै हुने गर्छ । दुई सातासम्म कुनै निर्णय गरिन’, उनले सम्झना गर्दै भने, ‘यो प्रस्तावले एक किसिमको ऊर्जा पनि दियो । एउटा समय पनि भयो, अनुभव पनि भयो । अब अनुभवले पनि यस्ता भूमिका गर्नसक्छु भन्ने आँट जुटाएँ । त्यो बेलाको अवस्था एकदम शून्य थियो के गर्ने भनेर । खुशीसहितको शून्यता ।’

यति भन्दैगर्दा उनी आफ्नो कलाकार बन्ने सपना बुनिएका स्कूले जीवन र सोही सपना पछ्याउँदै काठमाडौँ आएको समयस्मृतिमा पुगे । विजयका अनुसार काठमाडौँ छिर्दा उनीसँग अभिनयबारे केही भ्रममिश्रित सपना थिए । काठमाडौं आउँदा उनलाई लाग्थ्यो उनी त्यो बेलाका चर्चित हाँस्य कलाकारभन्दा उम्दा बनेर निस्किनेछु, कडा बन्नेछु ।

सर्लाहीको लालबन्दीका विजय आफ्नो स्कूले जीवनमा त्यो बेलाका चर्चित नेताहरूको आवाजको नक्कलहरू गर्थे । कक्षा आठमा उनले पहिलोपटक आफ्नो क्षमता सार्वजनिकरुपमा पस्के ।

त्यतिबेला उनले आवाजहरूको नक्कलसँगै आफ्नै गाउँठाउँका चर्चित हास्य कलाकार नारद खतिवडाको हास्यरस मिश्रित ‘ढोका खोल न पोस्टेकी आमा ढोका खोल न हो’ बोलको गीतमा हाँस्यप्रधान नृत्य समेत गरेका थिए । चर्चित नेताको आवाजको नक्कल र साथमा हास्यप्रधान नृत्य हेरेपछि शिक्षक र साथीभाइले उनको धेरै प्रशंसा गरे ।

‘मेरो नाच (आवाजको नक्कल देखेर साथीहरूले ओहो ! राम्रो गरिस् भनेर हौस्याए । त्यही चिजलाई मैले अभिनय ठानें किनकी गाउँतिर यसैलाई अभिनय मानिन्थ्यो । साथीहरूको तारिफले मलाई अभिनयतर्फ थप आकर्षित बनाइदियो । मलाई ती तारिफहरूले मैले गर्न सक्नेरहेछु भन्ने आत्मविश्वास बढायो’, उनले पुराना दिनहरू ताजा गर्दै सुनाए ।

जब उनी रङ्गमञ्चतर्फ मोडिए तब उनले आफ्नो पहिलोको सोचलाई निक्कै कमजोर भएको पाए । उनलाई अभिनय एउटा पोखरी होइन महासागर रहेछ भन्ने लाग्यो ।

‘जब क्यारिकेचर गर्न छोडेर रङ्गमञ्चमा गएँ, अभिनयको चिन्तन र प्रक्रिया नै फरक देखें । त्यसपछि मैले राम्रो कलाकार बन्ने सोचेँ ’, केही गम्भीर हुँदै उनले भने । उनी आफ्नो चेत खुलेको कुरालाई यसरी व्याख्या गर्छन् ।

‘पहिले म हरेक चिजलाई सामान्य सोच्थेँ, मैले जत्तिको कसले गर्न सक्छ र ठान्थेँ । तर जब अभिनयको आयतनमा छिरेँ तब अभिनय अर्कै चिन्तनको विषय रहेछ, आध्यात्मिक रहेछ भन्ने थाहा पाएँ । सोच र गहिराइमा पुगेर गर्दा फरक चिज निस्कने विषय भएको बुझेँ, ’ उनले भने ।

भारतमा ४५ दिनको अभिनय कार्यशाला पुगेपछि आफ्नो कला चेत खुलेको उनी बताउछन् । त्यो कार्यशाला उनीका लागि जीवनको कोशेढुङ्गा हुनपुग्यो । त्यहाँ भारतको राम्रा नाटक निर्देशकमा पर्ने एमके रैनाबाट उनी प्रशिक्षित भए।

‘ओहो म त अभिनयलाई सामान्य हिसाबले लिइराखेको थिएँ । यहाँ त हरेक दिन यो कुरा नि पढाइरहेको छ, सबै दृष्टिकोणबाट अभिनयलाई देखाइरहिएको छ पढाइरहिएको छ । समाजको दृष्टिकोणबाट पनि हेरिरहिएको छ । सबै प्रकारबाट दृष्टिगोचर गर्दा त अर्कै चिज रहेछ अभिनय । त्यहाँबाट बल्ल मेरो चेत खुल्यो’, उनले भने ।

बीचमा उनीको कलाकार हुने सपना हल्लिएजस्तो पनि भयो । उनीको बुवा बैंकको जागिरे । कुनै दिन बैंकमा जागिर खानुपर्छ भनेर विजयले व्यवस्थापन पढिराख्नु भएको थियो । यद्यपि बुबाले भने उनलाई यही बन्नुपर्छ भन्नुभएको थिएन ।

बुवाले केही नभन्नुभएको भए पनि हजुरबुबाले भने सहज जीवनयापनका लागि घरको जेठो नातिले बाबुलेझैँ बैंकको जागिर खानुपर्छ भनेर हौस्याइरहन्थे । हजुरबुबा विजयलाई भन्थे–‘जागिर गर है जागिर गर, पछि गाह्रो हुन्छ । बाले यसरी पालेका छन् । तैले पनि पाल्नुपर्छ, जे भए पनि घरको जेठो नाति होस् ।’

उनले व्यवस्थापन सङ्कायको पढाइलाई निरन्तरता दिँदै अभिनय अघि बढाउन रङ्गमञ्चमा सक्रिय भएर निरन्तरता दिए। यो समयमा कयौँ नाटक गरिसक्दा पनि विजयका बुवाले छोरा कलाकार बनेको थाहा पाएका थिएनन् । उनले पहिलो चलचित्रका रुपमा ‘छड्के’ गरे पनि बुवाले थाहा पाएनन् तर ‘कबड्डी’ चलचित्र गरेपछि भने थाहा पाए । उनी छोराको कामबाट खुशी भए ।

अभिनयमा लागेपछि विजयले घरबाट आफ्नो खर्च मगाउनु परेको छैन । ‘बुबालाई लामो समयसँग म कलाकारितामा लागेको छु भन्ने थाहै थिएन । नाटक गरिरहँदा खास उनले थाहा पाउनुभएन । पहिलो चलचित्र छड्के मा अभिनय गर्दा पनि उनलाई म कलाकार बनेको पत्तो भएन । उनले कबड्डी गरेपछि मात्र म कलाकार बनेको थाहा पाउनुभयो’, बरालले भने ।

‘कबड्डी’ पछि उनी त्यसका तीन श्रृङ्खलासहित दर्जनौं चलचित्रमा अभिनेता बनिसक्नुभएको छ भने आजको मितिमा उनी नेपाली सिने जगतको चिरपरिचित अनुहार बनिसकेका छन् । उनले अधिकांश सहायक भूमिका नै गरे ।

सबैभन्दा बढी चर्चा उनले ‘कबड्डी’ चलचित्रको श्रृङ्खलाबाट बटुले । उनी उक्त चलचित्रको ‘बिके’ पात्रबाट नेपाली दर्शकमाझ परिचित छन् ।

‘कबड्डी’ शृङ्खलाको जबरजस्त सफलताका कारण हास्यप्रधान भूमिकामा व्यस्त भइहेका विजयलाई ‘पूर्ण बहादुरको सारंगी’ ले गम्भीर भूमिकामा पनि उत्तिकै दक्ष अभिनेताको परिचय पाउने अवसर दिएको छ ।

यो चलचित्रमा उनी एकल बाबुको पात्र भूमिकामा देखिँदैछन् । उनी पुनः ‘पूर्ण बहादुरको सारङ्गी’कै प्रसङ्गमा फर्किए । सहायक भूमिका उनलाई सजिलो लाग्छ । तर यो चलचित्रको भूमिका फरक र गम्भीर छ । शीर्षक भूमिका नै भएकाले चलचित्रको सम्पूर्ण भार उनीमाथि नै छ । यसका लागि धेरै मिहेनत परेको सुनाउनुहुन्छ ।

चलचित्रको ‘पूर्ण बहादुर गन्धर्व’ पात्र बन्न झण्डै १० दिन तयारी गरे । यो १० दिनमा उनले गन्धर्वको हाउभाउ, अनुहारको भाव र बोल्ने शैली अध्ययन गरे । उनले सारङ्गी बजाउन, हातको हर्कत र सारङ्गी बजाउने शैली पनि सिके । पर्दामा ‘पूर्ण बहादुर गन्धर्व’ नै हो भन्ना लागि आफूले यस्तो गरेको उनको भनाइ छ ।

‘हामीजस्ता दोस्रो रोजाइका कलाकारकाका लागि यो आयतनको भूमिका बिरलै प्राप्त हुन्छ । यसलाई म जतिसक्दो उत्कृष्ट बनाउन चाहन्थे । त्यसैले मैले यसका लागि पर्दामा जत्तिसक्दो आफूलाई गन्धर्वका रुपमा स्वीकार्य गराउने गरी मिहेनत गरेको छु । पोस्टर, ट्रेलरबाट मैले राम्रो प्रतिक्रिया पाएको छु’, उनले भने ।

आज उनी स्वयम् आफू कसैको छोरा त छन्, त्यससँगै आफू पनि एक सन्तानको बुवा बनिसकेका छन् । यसको अनुभवलाई पनि उनले पर्दामा प्रयोग गरेका छन् । अनुभव पनि अभिनयका लागि एकदमै महत्वपूर्ण हुने उनी बताउँछन् । ‘यसले पात्रको मनोदशा, अवस्था बुझ्न धेरै सजिलो पर्छ’, उनले भने ।

उनी आफू बुवा हुनु वा छोरा हुनुको वर्तमान अनुभवलाई यसरी व्यक्त गर्छन् । ‘अहिले म बुवाको भाव बुझ्छु । एक समय मेरो बुबा मेरा लागि हिरो हुनुहुन्थ्यो । अहिले पनि हिरो नै हो । कहिले कहिले कुनै परिस्थितिमा केही भन्दा तनाव दिनुभयो कि जस्तो नि लाग्थ्यो । अहिले मेरो छोरो भयो । उसले मेरो छात्तीमा ढुक्ढुकाउँदै बाबा–बाबा भन्छ र आफ्नी आमालाई देखाउँछ । उसका लागि म आज हिरो जस्तै भएको छु । म पुग्ने बित्तिकै मेरो बाबा आयो भनेर पुलकित हुने गर्छ । मेरो बुबाको सवालमा पनि त्यही नै थियो’, उनले भने ।

आज बुबाको सबै भावना उनलाई महशुस हुन्छ । उनी भन्छन्– ‘बुवा बुवा नै हुने रहेछन्, जसले आफ्ना भावनाहरू व्यक्त गर्दैन तर उसको भित्र केही न केही हुन्छ–हुन्छ । बरालका अनुसार छोराको लागि बाबुले सपना देखेको हुन्छन् र छोराले पनि बाबुका लागि सपना देख्नुपर्छ ।’

उनका बुवा घुमघाममा रुचि राख्छन् । त्यसैले विजय धेरै कुरा पूरा गर्न नसके पनि घुम्ने कुरालाई आफैँ बुझ्दै पूरा गर्ने प्रयास गर्न लागिरहेका छन् ।

बुवालाई आजकल गहिरिएर बुझ्न थालेदेखि विजयले बुवाहरूले सन्तानसँग आफ्ना व्यक्तिगत रहर मुख खोलेर भनिनहाल्ने गरेको थाहापाउनु भएको छ । ‘मैले केही समय उनीका रहरहरू सोध्दा उनले यस्तो जवाफ दिनुभयो, तँलाई हामीले बच्चामा सोद्थ्यौं र ?’, विजयले आफ्ना बाबुले भनेको कुरा सम्झिए ।

‘उनीको जवाफले बुवाहरू चाहिँ आफ्नो सन्तानले नसोधी केही दिओस् भन्ने चाहाना राख्नुहुँदो रहेछ, भलै उनीहरू त्यसका लागि आफैँ सक्षम हुनुहोस् । बाबुहरूले कहिले पनि म दुःखी छु भन्नु हुँदैन तर अपेक्षा चाहीँ भइराख्ने रहेछ’, विजयले भने, ‘यो कुरा हामीले बुझ्ने हो भने बडा गज्जब हुने रहेछ । नबुझ्दा दुःख मान्नुहुँदो रहेछ । तर दुःख लागेको कुरा पनि व्यक्त नगर्ने बानी हुँदोरहेछ । अब चाहीँ बुबाका इच्छालाई सोचेर सम्झेर पूरा गर्ने बाटोमा लागेको छु । बुवाको भावनाहरू कस्तो हुन्छ मैले बुझ्न थालिसकेको छु ।’

आफ्नो चलचित्रले छोराहरूमा यही भावना जागृत गराउन उनीको विश्वास छ । ‘बाबुहरू आफ्नो पूरानो सम्झनामा पुग्नुहुनेछ भने छोराहरूले भने एकचोटी बाबुसँग कुरा गर्नुपर्छ भनेर सोच्नुहुनेछ । बाबु बितिसकेकाहरूका लागि यो चलचित्र हेरेपछि दुःख पनि लाग्नेछ’, उनले भने, ‘बाबुहरूलाई पाँच मिनेट भने पनि समय दिनुपर्नेछ भन्ने लाग्नेछ । बुवासँग सम्बन्ध खुलेर जान्छ । हामीले थाहा पाएर पनि रोकेको भावनालाई प्रस्फुटन गराउनेछ ।’

चलचित्रलाई सरोज पौडेलले निर्देशन गरेका हुन् । यो चलचित्र कात्तिक १५ गते लक्ष्मीपूजाको दिनदेखि सार्वजनिक प्रदर्शनमा आएको छ । यो चलचित्रप्रति विजय एउटा कलाकारका रुपमा निक्कै आशावादी छन् । ‘पूर्ण बहादुरको सारङ्गी’बाट गम्भीर अभिनेताको नयाँ परिचय स्थापित हुने उनीको आशा छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  २ : ४६ बजे

मकवानपुर ट्राफिकले गर्‍यो एक करोड ३२ लाख राजस्व संकलन 

बागमती–  जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारी जाँचमा कडाइ गरेपछि

दाँत कोट्याउने सिन्कामा ६ महिनामा नेपालीले खर्च गरे सवा दुई करोड

काठमाडौं– चालु आर्थिक वर्ष (आव) को ६ महिना अवधिमा नेपालमा

विश्वकप महिला क्रिकेट : अष्ट्रेलियाले पहिला ब्याटिङ गर्ने

काठमाडौं– आईसीसी महिला यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज अष्ट्रेलियाविरुद्धको खेलमा

सुप्रिम सहकारी ठगी प्रकरण : रविको मुद्दामा सुनुवाइ सुरु

काठमाडौं- सुप्रिम सहकारी संस्थाको बचत रकम ठगी प्रहरणमा मुछिएका राष्ट्रिय

सशस्त्र प्रहरीको शान्ति सुरक्षामा महत्त्वपूर्ण योगदान छ : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  सशस्त्र प्रहरीले सीमा सुरक्षा,