काठमाडौं – पहिलोपटक स्थानीय तह उपनिर्वाचनमा भाग लिएको रास्वपाले काठमाडौं वडा नम्बर-१६ मा जित हासिल गरेको छ । ४४ मध्ये २६ ठाउँमा उम्मेदवारी दिएको रास्वपाले काठमाडौंको शहरी इलाकामा जीत निकालेको हो ।
काठमाडौं १६ को वडाध्यक्षमा विजयी रोजिना श्रेष्ठले १५८४ मत ल्याइन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका देवेन्द्र पाठकले १३०४ मत पाए । एमालेकी लक्ष्मीरत्न तुलाधरले १२१८ मतका साथ तेस्रो भए ।
काठमाडौं १६ मा माओवादीको साथ पाएका नेकपा एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले ६५१ मत पाए । राप्रपाका श्यामकृष्ण श्रेष्ठले ६२२ मत पाए । स्वतन्त्र उम्मेदवार देवेन्द्रकुमार श्रेष्ठले ३१४ मत पाउँदा अर्का स्वतन्त्र सम शाक्यले ११८ मत ल्याए ।
काठमाडौं १६ यसअगाडि चर्चित कांग्रेस नेता मुकुन्द्र रिजालले जितेका थिए । उनको निधन भएपछि यो वडा रास्वपाले खोसेको छ । यति मात्र होइन, रोजिना अब काठमाडौंका ३२ वटा वडाध्यक्षमध्ये पहिलो महिला वडाअध्यक्ष बन्न पुगेकी छन् ।
को हुन् रोजिना ?
रोजिना स्थानीय समाजसेवी तथा औद्योगिक क्षेत्रमा काम गर्दै आएकी व्यक्ति हुन् । काठमाडौं– १६ मै जन्मेकी उनी चमती चोक निबासी हुन् । उनको हार्डवेयर पसल भने बालाजु चोकमा छ र उनी उतै बस्छिन् ।
उमेरले ४६ वर्ष पुगेकी रोजिनाले काठमाडौं– १६ मै रहेको तरुण माविबाट एसएलसी उत्तीर्ण गरिन् । उनले व्यवस्थापन संकायमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेकी छन् । तथ्याङ्कशास्त्रमा स्नातकोत्तर प्रथम श्रेणीमा उत्तीर्ण गरेकी उनले कानुनमा पनि स्नातकसम्मको अध्ययन गरेकी छन् ।
कानुन पढेर वकिल बन्नुपर्ने मान्छे कसरी राजनीतिमा आउनुभयो नि भन्ने खबरहबको प्रश्नमा उनी भन्छिन्, ‘खासमा मैले कानुन आफ्नो वौद्धिक विकासका लागि र जनताको हक अधिकारबारे बोल्नका लागि पढेकी हुँ । यो पेसा गर्नु भन्ने त थिएन तर महिलाले अनिवार्य कानुन पढ्नुपर्ने रहेछ ।’
आमाबाट समाजसेवा गर्नुपर्छ भन्ने ज्ञान पाएकी उनले नर्सिंङ होममा काम गर्दागर्दै बालाजु बाईसधारा लगायत क्षेत्रको टोलमा हेल्थ क्याम्प सञ्चालन गरिन् । गुठी, जात्रा, पर्वहरुमा अग्रस्थानमा खटेर उनले महिला समूहमार्फत स्वयंसेवा गर्दै आएकी छिन् ।
रोजिना आफूलाई जनताको सेवक भएको बताउँदै अब काठमाडौं–१६ लाई विकास र आय आर्जनमा जोड्नतर्फ लाग्ने दाबी गर्छिन् । काठमाडौं–१६ मा बाहिरबाट बसोबास गर्न आउने व्यक्तिहरू पनि भएकाले उनीहरूको समस्या पनि हल गर्न आफू तयार भएको बताउँछिन् ।
श्रीमानबाट राजनीतिमा पूरा साथ पाएकी रोजिना महिलाहरु सफल हुनुमा जीवनसाथीको साथ महत्त्वपूर्ण हुने बताउँछिन् । उनी चुनावी अभियानबाट थाक्न खोज्दा पनि आफ्नो साथीले साथ दिएको सम्झन्छिन् । रोजिनाका एक छोरा छन् ।
‘श्रीमानको साथले नै अगाडि बढेकी छु । उहाँ दह्रो गरी मेरो साथमा नभएको भए मलाई गाह्रो हुने थियो’ उनी भन्छिन्, मेरा वडावासी भगवान् हुन् । म यी भगवानको सेवक भएर काम गर्ने छु ।’
श्रेष्ठ यो दुई वर्षको अवधिमा आफूलाई परीक्षण गरेर जनतालाई वडाको काममा देखिनेगरी नतिजा दिने तयारीमा छन् ।
राजनीतिक यात्रा
रोजिना राजनीतिमा खासै चासो नराख्ने व्यक्ति भए पनि राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनापछि पार्टीसँगको सम्पर्कमा थिइन् । ०७९ को संघीय चुनावका बेला उनी रास्वपामा जोडिएकी हुन् । उनी रास्वपा क्षेत्र–७ की क्षेत्रीय सभापतिसमेत हुन् ।
ज्येष्ठ नागरिकहरूले पाउने निःशुल्क स्वास्थ्य बिमाका बारेमा वडाले जानकारी नगरेको भन्दै उनले पटक–पटक आवाज उठाउँदै आएकी थिइन् ।
उनले यस अभियानअन्तर्गत ज्येष्ठ नागरिकहरूको घर घरमा पुगेर नागरिकताको फोटो खिचेर वडामा गएर फारम भरिन् र बिमाको कार्ड बनाएर घर घरमै पुर्याइन् । ज्येष्ठ नागरिकमाथि गरेको यो सेवाले पनि उनलाई अहिले चुनाव जित्न सजिलो बनायो ।
रोजिना आफूलाई कानुनको विषयमा केही जानकारी रहेको बताउँदै स्थानीय सरकार सञ्चालन ऐन अनुसार वडा अध्यक्षको जिम्मेवारी सम्हाल्न आफू कटिबद्ध रहेको बताउँछिन् ।
पार्टीभन्दा माथि उठेर जनताको सेवा गर्नुपर्ने कुरालाई विश्वास गर्ने उनी जनप्रतिनिधिले फरक राजनीतिक दलको जस्तो व्यवहार गर्न नहुने र आफू पनि नगर्ने तर्क गर्छिन् ।
प्रस्तुत छ वडाध्यक्ष रोजिनासँग खबरहबले गरेको संक्षिप्त कुराकानी–
बधाई छ नयाँ यात्राका लागि । राजनीतिमा यसरी लागिएला भन्ने थियो ?
धन्यवाद । खास त राजनीति गर्छु होला, गर्नुपर्छ होला भन्ने त थिएन । मैले कानुन पनि आफ्नै रुचीमा पढेँ । खास म व्यवसायी मान्छे हो । तर, जनताको सेवक हुन र समाजसेवा गर्न मन थियो । म समाजमा सेवा गरेर रमाइरहेकै थिएँ । तर ०७९ को निर्वाचनमा रास्वपाका जोडिएँ । यो मेरा लागि अवसर भयो । त्यसपछि मैले वैकल्पिक राजनीति सुरु गर्नुपर्छ भन्ने सोचेँ ।
अहिले वडाबासीको साथले म यहाँ छु । पार्टी त माध्यम हो । वडावासीको साथ नभएको भए म यहाँ हुने थिइनँ । म उहाँहरूको सेवक बनेर १६ नम्बर वडालाई केही योगदान गर्न चाहन्छु । अवसर र चुनौतीलाई सामना गर्छु भन्ने आँट छ ।
काठमाडौं महानगरमा एकमात्र महिला वडाअध्यक्ष बन्नुभएको छ । महानगरमा कसरी प्रस्तुत हुने योजना बनाउनुभएको छ ?
यो अवसरका लागि मेरो पार्टी र जनतालाई म हार्दिक धन्यवाद दिन्छु । महिलालाई विश्वास गर्नुभएको छ । म निस्वार्थ भएर काम गर्छु । खासमा म काम गर्न आएका कारण जनताको बीचमा गएर उहाँहरूका समस्या सुन्ने र समाधानका लागि वडाले कस्तो कदम चाल्न उचित हुन्छ, त्यसको विषयमा काम गर्ने योजना छ । म निर्वाचित मात्र भएकी छु । आज बल्ल प्रमाणपत्र पाएँ । भोलि शपथ ग्रहण होला । त्यसपछि त्यहाँको परिस्थित हेरेर बाँकी रहेका काम पूरा गर्ने छु । पहिलाको हाम्रो मुकुन्द दाइले के–के काम गर्न छाडेर जानुभएको छ, योजनाअनुसार अगाडि बढ्छु ।
युवामाथि जनताले धेरै आश गरेका छन्, मैले यो कामचाहिँ गर्नै पर्छ भन्ने त्यस्तो कुनै योजना छ ?
छ नि । थुप्रै काम छ । सेवाग्राहीहरु वडामा काम गर्न आउने बित्तिकै अलमलिने गरेका छन् । त्यसका लागि एउटा हेल्प डेक्स स्थापना गर्ने छु । त्यसबाट सेवाग्राहीलाई काम गर्न सजिलो हुन्छ । त्यसपछि त्यहाँ भएको समस्या हटाउन मैले के सुधार गर्नुपर्ने हो, त्यो हेरेर गर्नेछु । युवालाई आत्मनिर्भर र सक्षम बनाउने मैले गर्नुपर्ने सहयोग पर्याप्त गर्नेछु । सबैलाई सेवाको पहुँचमा पुर्याउने छु ।
हिजोसम्म म एउटा सामान्य व्यक्ति थिएँ । चुनिएर आएपछि म सार्वजनिक व्यक्ति छु । मैले पनि धेरै ठाउँमा काम गर्दा जनताका गुनासाहरु सुनेको छु । त्यस कारण म यसलाई मेरो कार्यकालमा पस्न दिन्नँ । यो व्यक्ति, त्यो व्यक्ति नभनेर सेवाग्राहीहरुलाई समानरूपले सेवा प्रवाह गर्छु ।
स्थानीय सरकारले आफ्नो कार्यक्षेत्र अनुसार सेवा प्रवाह गर्न सकेन, वडाअध्यक्षहरु जनताको सेवक भएनन्, टोलमा पुगेनन्, कर्मचारी जस्तै भए भन्ने पनि गुनासा छन् नि ?
हो । यो कुरोमा मेरो पहिलो प्राथमिकता छ । काठमाडौं १६ सहरी इलाका भएकाले टोल–टोलमा के समस्या छ, त्यो पहिला बुझ्छु । अनि जनप्रतिनिधि र टोलवासीलाई बोलाएर समस्या समाधानका लागि छलफल गरिने छ । टोलका समस्या कति पूरा गर्न सक्छु, तर म जनताको सेवक भएकाले सबैको समस्या सुनेर प्राथमिकता निर्धारण गरेर समाधान गर्नेछु । उहाँहरूलाई नै अगाडि राखेर समाधानका लागि छलफल हुने छ । कति ठाउँमा यहाँले गरेको प्रश्नजस्तै समस्या भएको सुनेकी छु । म त्यो गर्दिनँ भनेर दाबी नै गर्छु ।
यहाँको वडामा मुख्य समस्या के–के देख्नुभएको छ ?
टोलअनुसार फरक–फरक समस्या छन् । बाटोको अवस्था पनि सुधार गर्नुपर्ने छ । खाल्डाखुल्डी, धुलो, धुँवाले पनि समस्या दिएको छ । कतै सिसी क्यामेरा नभएको गुनासो छ । कसैको पोलमा बत्ती छैन । कसैको वडाको सुविधा भएन भन्ने छ । सानादेखि ठूलासम्म थरिथरिका समस्या छन् त्यही भएर कुनचाहिँ टोलमा कसरी काम गर्ने भन्ने कुरा निर्धारण गर्छु ।
महानगरमा रास्वपाबाट एकजना मात्र निर्वाचित हुनुहुन्छ, अन्य सदस्यहरू अरू दलका हुनुहुन्छ । काम गर्न गाह्रो हुँदैन ?
हामी काम गर्दै जाने प्रतिनिधि हो । हिजो एउटा दलबाट निर्वाचित भए पनि हामीले खोजेको पनि सुशासन र जनताको सेवा हो । उहाँहरूले खोजेको पनि त्यही हो । जनप्रतिनिधिको सेवा गर्ने र टोलको विकास गर्ने नै हो । यो कुरा गाह्रो हुन्छ जस्तो लाग्दैन । उहाँहरूले अनुभव लिइसक्नु भएको कारण कति कुरा उहाँहरूलाई सोध्छु । कति कुरा मलाई थाहा भएको हुन सक्छ । समन्वय गरेर अगाडि बढ्छु । उहाँहरू पनि मेरा मार्गनिर्देशक बन्नुहुने छ । किनकि मेरो भन्दा धेरै अनुभव छ ।
प्रतिक्रिया