किबी उत्पादन दोब्बर, बिक्री नहुँदा किसान मारमा | Khabarhub Khabarhub

किबी उत्पादन दोब्बर, बिक्री नहुँदा किसान मारमा


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


537
Shares
  • change font
  • change font
  • change font

खोटाङ – केपिलासगढी गाउँपालिका–१ फेदीका धनकुमार राईको फार्ममा लटरम्मै किबी पाकिसकेका छन् । १२ वर्ष अघिदेखि किबीको व्यावसायिक खेती सुरु गरेका राई जिल्लाकै पहिलो किबी किसान हुन् ।

सुरुका वर्षमा प्रति केजी चार सय सम्मले बिक्री गरेका उनले यसवर्ष बोटमै किबी पाकिसक्दा पनि टिपेका छन् । उनको फार्ममा करिब चार हजार किलो किबी उत्पादन भएको अनुमान गरिएको छ ।

किबीका बेर्नासमेत उत्पादन गर्दै आएका राईले गत वर्ष मात्र १४ लाख बढीको बेर्ना बिक्री गरेका थिए । करिब २५ रोपनी जमिनमा किबी खेती गरेका राईले यस वर्ष बिक्री हुने सम्भावना नभएपछि ‘वाइन’, ‘हुस्की’, ‘जुस’ लगायतका पेयपदार्थ बनाउने तयारी गरेका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडेका दोर्जी शेर्पाले करिब ६० रोपनीमा किबी खेती गेरेका छन् । एघार वर्षअघिदेखि किबी खेती सुरु गरेका शेर्पाको फार्ममा यसवर्ष ११ हजार केजीभन्दा बढी किबी फलेको छ । शेर्पाले उत्पादन गरेको किबी दिक्तेलबजार, हलेसी, धरान, विराटनगर, काठमाडौँलगायतका ठाउँमा बिक्रीका लागि पुर्‍याउने गरिएको छ । जिल्लाका स्थानीय हाटबजार तथा पसलहरुमा प्रतिकेजी रु एक सयदेखि रु एक सय ५० सम्ममा किबी बिक्री भइरहेको छ ।

विगतमा फार्मबाटै बिक्री भएको किबी यसवर्ष आफैँले ढुवानी खर्च व्यहोरेर बिक्रीका लागि बजार पठाउने गरेको शेर्पाले बताए।

‘मेरो फार्ममा तीन सय ७५ वटा वयस्क बोट छन् । एउटै बोटमा एक सय ५० केजीसम्म फलेको छ । दुईवटा बोटको मात्रै टिपेर बिक्री गरिरहेको छु’, उनले भने, ‘यो वर्ष सबै बोटको किबी बिक्री हुने सम्भावना कम छ । गत वर्षमा बिक्री गरिएको ठाउँ (धरान, विराटनगर, काठमाडौँलगायत) मा सम्पर्क गरिरहेको छु । त्यहाँ पनि बजार छैन भन्दै आएका छन् । यदि, दाना बिक्री नभएको खण्डमा वाइन, जुस र माडा बनाएर बिक्री गर्ने सोचमा छु ।’ किबी बिक्री नहुने सम्भावना बढेपछि शेर्पा चिन्तित छन्।

किबी उत्पादनमा वृद्धि भए पनि प्रशोधन केन्द्र नहुँदा किसानले चाहेजस्तो आम्दानी गर्न नसकेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित शुभ कृषि फार्मका सञ्चालक शुभचन्द्र राई बताउँछन्।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मात्रै गत वर्ष १५ मेट्रिकटन उत्पादन भएकामा यो वर्ष बढेर ४० मेट्रिक टन भन्दा बढी उत्पादन भएको नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले जानकारी दिए। गत वर्ष १५ मेट्रिकटन मात्र उत्पादन भए पनि यो वर्ष भने बोट वयस्क हुँदै गएपछि उत्पादनमा वृद्धि भएको हो ।

नगरपालिकाको सात हेक्टर खेतीयोग्य जमिनमा व्यावसायिक किबी खेती रहेको कृषि शाखा प्रमुख जैसीले जानकारी दिए।

‘किबी उत्पादन बर्सेनि बढ्दै जाने फल हो । जति वयस्क हुन्छ उतिनै उत्पादन पनि बढ्दै जान्छ । त्यही भएर यो वर्ष उत्पादनमा वृद्धि भएको हो’, उनले भने, ‘गत वर्ष दश मेट्रिकटन किबी किसानले बिक्री गरेका थिए । प्रति केजी रु एक सय ६० का दरले हिसाब गर्दा १६ लाख हुन आउँछ । यो वर्ष पनि रु एक सय ५० कै दरले अनुमान गर्दा ४० मेट्रिकटनको ६० लाख बराबरको हुन्छ ।’

नगरपालिकामा थप ३५ हेक्टरमा १५ हजार किबीको बिरुवा रोपिएको जनाइएको छ । यसमध्ये नगरपालिकाले सात हजार र जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन परियोजनाले आठ हजार बिरुवा किसानलाई निःशुल्क वितरण गरेको छ । फलफूल खेतीबाटै नगरवासीको समृद्धि हासिल गर्ने लक्ष्य लिइएकाले उत्पादन, प्रशोधन र बजारीकरणलाई जोड दिइएको नगर उपप्रमुख विशन राईले बताए ।

किबी लगायतका फलफूल प्रशोधन गर्न नगरपालिका–६ नेर्पाको तालखर्कमा एक करोडभन्दा बढीको प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा रहेको उनले जानकारी दिए। जिल्लाका अधिकांश लेकाली भेगमा बसोबास गर्ने किसानले पछिल्लो समय व्यावसायिक किबी खेती सुरु गरेका छन् ।

एउटै बोटबाट निरन्तर ५० वर्षसम्म उत्पादन दिने किबीको व्यावसायिक खेती सुरु गरेका किसान आफूले उत्पादन गरेका किबी बिक्री हुने छाडेपछि चिन्तित बनेका छन् ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ६ : ०१ बजे

बुधबार नेपालभर सार्वजनिक बिदा

काठमाडौं – गृह मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप

कर तिर्ने समय एक महिना थप

काठमाडौं – सरकारले कर तिर्ने समय एक महिना थप गरेको

घटस्थापनादेखि असोज २२ सम्म सार्वजनिक यातायातलाई रुट परमिट खुला

काठमाडौं – घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई नेपालभर लागू

आजका समाचार : अन्तरिम सरकारमा ११ जनामात्रै मन्त्री, दलहरू पार्टी भवन बनाउने योजनामा र गाजामा इजरायली सेनाको व्यापक आक्रमण

कार्की सरकारमा ११ जनामात्रै मन्त्री हुनेअन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीले

लुटिएका सामग्री फिर्ता नगरे कानुनी कारबाही गरिने

गण्डकी – ‘जेन-जी’ आन्दोलनका क्रममा पोखरा महानगरपालिका र मातहतका कार्यालयबाट