‘उपद्रो’मा रमाएका भीआईपी | Khabarhub Khabarhub

‘उपद्रो’मा रमाएका भीआईपी



काठमाडौं – विधिमा चल्नुपर्ने मान्छे नै ‘स्क्याण्डल’ मच्चाउने प्रमुख पात्र बने भने अरुलाई अर्ती दिने नैतिक जमिन उनीहरुसंग कति बाँकी रहला ? सार्वजनिक पद धारण गरेका भीआईपीहरुको उपद्रोका विषयले अहिले सामाजिक सञ्जालदेखि आम समुदायमा बहसको विषय बनेको छ ।

सस्तो लोकप्रियताका लागि जे पनि बोल्ने आलोचना हुन थालेपछि बचाउका लागि थप अमर्यादित तर्क उठाएर प्रतिरक्षा गर्ने प्रवृत्ति राजनीतिमा बढेको छ ।

मुलुकी अपराध संहिताले सार्वजनिकरूपमा गरिने उपद्रयाइँलाई अपराध मानेको छ । त्यस्तो उपद्रो गर्ने व्यक्तिलाई २५ हजारसम्म जरिवाना हुने कानूनी व्यवस्था छ ।

तर, देशको प्रशासनिक निकायमा आगो लगाउने धम्की दिने बालेनदेखि राष्ट्रपति र प्रधानमन्त्री मान्दिनँ भन्ने हर्क साम्पाङसम्मले कानुनको यो प्रावधानलाई हेक्का राखेको देखिँदैन ।

सार्वजनिक जीवनमा रहेर विधिको बर्खिलापका उपद्रयाइँ गर्ने र जथाभावी बोल्ने केही पात्रको गतिविधि पर्गेलौं –

सडकमा मन्त्रीको तमासा !

सोमबार राष्ट्रिय धोती दिवस मनाउन बबरमहलबाट माइतीघर मण्डलातिर जान खोज्दा जनमत पार्टीका अध्यक्ष तथा सांसद सिके राउत पक्राउ परे । रोचक त के छ भने पक्राउ पर्नेमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी पनि थिइन् ।

सांसद समेत रहेका पूर्व खानेपानीमन्त्री एवं संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानलाई पनि प्रहरीले पक्राउ गर्यो । सरकारले घोषणा गरेको निषेधित क्षेत्र तोड्न खोज्दा सरकारकै मन्त्रीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

अनितादेवी सदस्य रहेको मन्त्रिपरिषद् बैठकले माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गरेको थियो । यो सिलसिला यतिमै रोकिँदैन । सरकारका उप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ झण्डावाल गाडी लिएर जनमत पार्टीका नेता कार्यकर्ता छुटाउन भृकुटीमण्डपस्थित प्रहरी क्लव पुगे ।

उपप्रधानमन्त्री भएकै बखत लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतो नेपाललाई ‘बहुराष्ट्रिय राज्य’ बनाउनुपर्ने माग गर्दा विवादमा परेका थिए ।

धरानका मेयर हर्क साम्पाङको हर्कत

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ ‘उपद्रोका राजा’का नामले चिनिएका छन् । उनी सामाजिक सञ्जालमार्फत मनलाग्दी गाली गलौजमा उत्रिँदै आएका छन् । उनलाई मेयरको गरिमासँग कुनै पनि परवाह नभएको कुरा लुकाइरहनुपर्दैन ।

हर्कले पछिल्लो समय आफ्नो कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएका छन् । त्यो ठाउँमा उनले किराती राजा यलम्बरको तस्बिर राखेका छन् । राष्ट्रपति र प्रधानमन्त्री नमान्ने भन्दै उनले यलम्बरको तस्बिर राखेको जनाएका छन् । केन्द्रले धरानलाई महत्व नदिएको उनको तर्क छ ।

हर्क साम्पाङ कहिले सामाजिक सञ्जालमा ‘गुइँठे, ए…. गुइँठे’ जस्ता गीतहरुका गाएका भिडियो पोष्ट गर्छन् । सामाजिक सञ्जालमा जथाभावी लेखे पनि थप गाली खाइने डरका कारण कसैले उनको विरोध गर्न सक्दैन ।

सामाजिक सञ्जालमा अरुको चरित्र हत्या हुने किसिमले जथाभावी लेख्ने सर्वसाधारण व्यक्तिमाथि कानून लाग्छ, तर साम्पाङलाई अहिलेसम्म कानुनले छुन सकेको छैन ।

काठमाडौंका मेयर बालेन्द्र शाह

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) चर्चामा आइरहने मेयर हुन् । उनले अघिल्लो महिना महानगरपालिकाको कुनै पनि गाडी सरकारले रोके सिंहदरबारमा आगो लगाइदिने फेसबुकबाट चेतावनी दिए । अरुलाई भए यस्तो लेख्दा कानून लाग्थ्यो, बालेनलाई लागेन ।

बालेनले लेखेका थिए, ‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’

बालेनको यो अभिव्यक्ति सारा देशको कानुनी व्यवस्थामाथिकै प्रहार थियो । यो विषयलाई लिएर व्यापक विरोध भएपछि उनले सुटुक्क फेसबुकको स्टाटस हटाए । तर, उनीमाथि कारवाही भएन ।

यी त केही प्रतिनिधि घटना मात्र हुन् । पछिल्लो समय आफ्नो पदीय गरिमा बिर्सेर सार्वजनिक खपतका लागि गरिने गतिविधि बढ्दै गएका छन् ।

यसलाई रोक्न न सरकारले कुनै कदम चालेको छ, न त यस्ता गतिविधि निरुत्साहित गर्ने गरी कुनै कार्य नै भएका छन् । नियम गर्ने ठाउँमा रहेका व्यक्ति नै यस्ता क्रियाकलापमा लाग्दा व्यवस्थामाथि भने नागरिकको वितृष्णा बढ्दो छ ।

मन्त्रीदेखि मुख्यमन्त्रीसम्मको उपद्रो

सार्वजनिक रुपमा गरिएको उपद्रोबाट आम नागरिकको ध्यान आफूमा केन्द्रित गर्ने शैलीले ओहोदाको गरिमालाई धुलिसात् बनाइएका धेरै उदाहरण छन् । कतिपय पात्रले त चर्चामै आउन विभिन्न उपद्रो गर्दै आएको पाइन्छ ।

केही साता अघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले एक कार्यक्रममा आफ्नो हैसियत बिर्सेर टिप्पणी गरे । क्रिश्चियन समुदायको कार्यक्रममा सहभागी मन्त्री किरातीले सहभागीको ताली पड्किँदै जाँदा आफ्नो बोलीमा लगाम लगाउन बिर्सिए ।

संविधानले बर्जित गरेको धर्मका विषयमा धारा प्रवाह बोल्दै गए, जुन विषयले देशभर सडक प्रदर्शन भए । अझ आश्चर्य त एक पटक भएको गल्तीको प्रतिरक्षामा उनी एकपछि अर्को कुतर्कमा उत्रिँदा समस्या झाँगिदै गयो ।

त्यस्तै, पुस १५ गते तमु ल्होसारको शुभकामना दिने क्रममा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले लेटरप्याडमा प्रदेशको नाम नै गायब बनाइदिए ।

नामलाई लिएर विरोध भइरहेको कोशीमा आफ्नो बचाउका लागि कार्कीले त्यसो गरेको सहज अनुमान लगाउन सकिन्छ । तर आफैंले मतदान गरेर दुई तिहाई बढीको मतबाट अनुमोदित प्रदेशको नाम आफ्नो लेटर हेडमा नअटाउने बद्नियतको उत्तर दिनुपर्ने दरकार राखेनन् ।

मन्त्री र स्थानीय जनप्रतिनिधिको मात्र कुरा के गर्नु ? स्वयं प्रधानमन्त्री पुष्पकमल दाहालले अघिल्लो साता गोरखा गएका बेला सरकारी हेलिकोप्टर अगाडि कुटुम्बहरुसँगको पारिवारिक तस्बिर खिचेर सार्वजनिक आलोचनाको शिकार बन्नुपर्‍यो ।

किन भइरहेको छ यस्तो उपद्रो ?
आफूलाई केन्द्रमा राख्दा धेरै सार्वजनिक तथा उच्च ओहोदामा भएका व्यक्ति गरिमा कायम गर्न चुकेका छन् । पछिल्लो समय सुशासन र सदाचारको नाममा राजनीतिमा होमिएका धेरै जनाले व्यभिचारलाई राजनीतिमा भित्र्याउनुमा उपलब्धि ठान्दा समस्या निराकरण हुनुको सट्टा बल्झिँदै गएको छ । राजनीतिक विश्लेषक डा. गोविन्दमानसिंह कार्की यस्ता गतिविधिलाई राजनीतिको विकृतिका रुपमा विश्लेषण गर्छन ।

कार्की भन्छन, ‘देश अहिले सबैभन्दा खराब स्थितिबाट गुज्रिएको छ । देशमा स्थिरता नहुँदा उच्छृङखल गतिविधि अझै बढ्ने देखिएको छ ।’
‘आफूलाई कानुनभन्दा माथि देखाउन सार्वजनिक ओहोदाका मानिसहरु गरिमा विपरीतका काम गरिरहेका छन् ।’ कार्की थप्छन, नेतृत्व तहमा रहेका व्यक्तिको यस्ता गतिविधिबाट पछिल्लो सयम व्यवस्थामाथि नै प्रश्न उब्जिएको छ ।

अझ नयाँ भनिएका राजनीतिक व्यक्तिहरु तमासा देखाउन एक कदम अगाडि हुँदा यसले आम नागरिकमा वितृष्णा बढ्दै गएको उनको तर्क छ । यस्ता गतिविधिले संविधान र कानुको रक्षा गर्न नसक्ने भन्दै काकी भन्छन्, ‘अनुशासनहीनताले अन्ततः द्वन्द्व निम्त्याउँछ ।’

सार्वजनिक पदमा रहेका व्यक्तिका विवादास्पद अभिव्यक्तिले उच्छृङखलता बढ्ने कुरामा किन पनि विश्वस्त हुन सकिन्छ भने हालसम्म कोही पनि उपद्रो गर्नेहरु आफ्नो कार्यप्रति आत्मआलोचित छैनन् । उनीहरुका गतिविधि राणा प्रधानमन्त्री जुद्धशमशेरको जस्तो देखिएको छ ।

अन्त्यमा, जुद्धशमशेरकालीन एउटा प्रसंग–

अंग्रेजसँग कुनै सन्दर्भमा वार्तालाप हुँदा जुद्ध शमशेरले सही थाप्दै अंग्रेजीमा भने– ‘दिस ईज की’ उनका अंग्रेजी सल्लाहकारले सच्याउन सल्लाह दिँदै कानमा फुस्फुसाए- ‘हैन सरकार, दिस ईज राइट’ भन्नुपर्छ । सल्लाह नपचाएका जुद्धशमशेरले झ्वाँक्किँदै भनेछन्– ‘चुप लाग् जुद्धेले बोलेपछि बोल्यो, बोल्यो ।’

यही जुद्ध शैलीलाई एक्काइसौं शताब्दीको नेतृत्व लिने शासकमा पनि जस्ताको त्यस्तै देखिनु शोभनीय विषय होइन ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ३ : ५९ बजे

पहिलो पटक दक्षिण अफ्रिकाको सामना गर्दै नेपाल, सुपर आठमा पुग्न जित्नै पर्ने दबाब

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले

विमानस्थलको अध्यागमन कार्यालयमा सुधार आएको छ : गृहमन्त्री लामिछाने

काठमाडौं – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको

सिटिइभिटीको ल्याबभित्रै क्रिप्टोसम्बन्धी कारोबार, दुई जना पक्राउ

काठमाडौं – सिटिइभिटीको ल्याबमा क्रिप्टोसम्बन्धीको कारोबार भएको पाइएको छ ।

धितोपत्र बोर्डको अध्यक्षको नियुक्ति टुंगाउने तयारी

काठमाडौं – नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदको नियुक्ति प्रक्रिया अघि

गण्डकीमा बाँदर प्रकोप नियन्त्रण गर्न कृषि हेरालो

गण्डकी – गण्डकी प्रदेश सरकारले बाँदर प्रकोप नियन्त्रणका लागि कृषि