बच्चा चोरी प्रकरणको प्रश्न– रित्तो कोखमा चुक कि सामाजिक न्यायको खोजी ?  | Khabarhub Khabarhub

बच्चा चोरी प्रकरणको प्रश्न– रित्तो कोखमा चुक कि सामाजिक न्यायको खोजी ? 



केही दिन अगाडि दैलेख घर भएकी मनकुमारी सिंह थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट एक बच्चा लिएर फरार भइन् । काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका– ३ घर भई काठमाडौंको कपन बस्ने वर्ष २२ की सविना श्रेष्ठको बच्चा लिएर उनी अलप भइन ।

तर प्रहरीले १२ घण्टामै मनकुमारीलाई नियन्त्रणमा लियो । उनले प्रहरीसँगको प्रारम्भिक बयानमा विवाह गरेको लामो समयसम्म पनि आफ्नो बच्चा नभएपछि बच्चा चोरी गरेको बताएकी थिइन् । बच्चा नभएपछि आफूले डाक्टरलाई देखाउँदा सन्तान नहुन सक्छ भनेपछि शिशु चोर्ने योजना बनाएको बताइन् ।

यस घटनाकी पीडक मनकुमारी र पीडित सविना हुन् । २६ दिनको बच्चा १२ घण्टासम्म हरायो । कुन उद्देश्यको लागि बच्चा चोरिएको थियो ।  भेटिन्छ वा भेटिँदैन, त्यो अन्यौलमा एक आमाको मनोविज्ञान कति कमजोर होला ? हामी अनुमानसम्म गर्न सक्दैनौ ।

तर पीडक मनकुमारीको बयान सुनेपछि जोकोहीको मथिङगल हल्लिन्छ । अब उनलाई अपराधी मान्ने कि नमान्ने ? महिला अधिकारकर्मी तथा समाजशास्त्रीहरुले बच्चाकी आमा वास्तविक पीडित हुन् भनेका छन् । केहीले मनकुमारीलाई ‘चोर’ बनाउन समाज दोषी रहेको तर्क गरिरहेका छन् ।

नियतिले गलत काम गर्न बाध्य बनाए पनि मातृवात्सल्य सुन्दर हुन्छ भन्ने नजिर घटनाले देखाएको केही महिला अधिकारकर्मीको दाबी छ । त्यस कारण उनी पनि यस घटनाको कहीँ कतै पीडित हुन् भन्ने छ । थुनामा रहँदा पनि उनको पाठेघरबाट रगत बगेर प्रहरीले उपचारको लागि लगेको थियो ।

उनको अवस्था हेरेर कानुन भन्दा माथि मानवीय व्यवहार देखाउनु पर्ने राय धेरैको छ । सबै विषयमा कानुनी पाटा हेरिनु हुँदैन ।  कहिलेकाहीँ व्यावहारिक विषयमा पनि ध्यान दिनुपर्छ । व्यावहारिक रूपमा हेर्दा यो हाम्रो समाजको सोचका कारण भएको घटना हो । यसमा उनी मात्र नभएर सिंगो समाज दोषी छ भएको उनीहरूको तर्क छ ।

तर केही अधिकारकर्मीले यस्तो प्रकारको घटनामा भावुकता राम्रो नभएको भन्दै सविना वास्तविक पीडित भएको बताएका छन् । आमा बन्ने चाहनाले बच्चा चोर्ने विषयलाई संरक्षण गर्ने हो भने भविष्यमा न्यायिक फैसलाको लागि गलत अभ्यास हुने उनीहरू बताउँछन् । भावनामा डुबेर सजाय तोक्दा त्यसबाट बस्ने नजिरले भयावह रूप लिने दाबी उनीहरूको छ ।

अधिकांशले दम्पती आफ्नो बच्चा नभएपछि उनीहरू अस्पतालमा गएर आइभीएफ मार्फत पनि बच्चा जन्माउनु पर्छ । यदि यो उपाय पनि सफल भएन भने अनाथ, संरक्षक नभएका बच्चाहरू कानुनी प्रक्रिया पुर्‍याएर लिनुपर्ने तर कुनै पनि बहानामा अर्काको बच्चा चोर्न नहुने तर्क उनीहरूको छ ।

ओम अस्पतालका सूचना अधिकारी विनोद अधिकारीले अस्पतालमा वार्षिक १४ हजार जोडी टेष्टट्युब बेबीका लागि आउने गरेको बताए । उनी भन्छन्, ‘उनीहरूको नाम ठेगाना दिन मिल्दैन, तर वार्षिक १४ हजारको संख्यामा आउँछन् ।’

पछिल्लो समय विभिन्न कारणले दम्पतीहरूमा सन्तान उत्पादनको समस्या बढ्दै गएको छ । तर विज्ञानले अभिभावक बन्न चाहनेका लागि टेष्टट्युब वेवी वरदान साबित गरिदिएको उनको भनाइ छ ।

ओम अस्पतालले सेवा सुरु गरेको २२ वर्ष भयो । हालसम्म यस अस्पतालबाट जन्मिएका टेष्ट ट्युब बेबी एक हजार जनाले प्लटु पढ्दै गरेको रमाइलो किस्सा अधिकारीले सुनाए ।

आइभीएफबाट बच्चा जन्माउन आमाको अधिकतम उमेर ५० र बुवाको ५५ वर्ष तोकिएको छ । यसको लागि २ देखि करिब ४ लाखसम्म खर्च लाग्ने उनी बताउँछन् ।

दम्पतीले बच्चा चाहनु स्वाभाविक हो । तर कतिपय अवस्थामा सहज वा प्राकृतिक रूपमा बच्चा हुँदैन । नेपाली समाजमा अझै बच्चा विनाको दम्पतीलाई अधुरो वा अपुरो नै मान्ने सांस्कृतिक, सामाजिक मान्यता छ । जसको कारण बच्चा कुनै पनि हालतमा हुनुपर्छ र आफ्नै हुनुपर्छ भन्ने छ । त्यसको समाधान टेष्टट्युब बेवी भएको उनले बताए ।

जरिवाना पनि सजाय हो : अधिवक्ता

थापाथली अस्पतालमा भएको घटनामा मनकुमारीलाई जरिवाना तिराएर छोड्दिनुपर्ने अधिवक्ता राधिका खतिवडा बताउँछिन् । उनलाई सजाय गर्नुपर्छ । उनी भन्छिन्, ‘जरिवाना पनि सजाय हो । खान नपाएर चोर्नु र चोरीलाई पेशा बनाउने चोरमा धेरै फरक छ । यो नै सच्चा न्याय हुने उनी बताउँछिन्  ।

‘ती महिलालाई बच्चा अपहरणको मुद्दा लगाएर सजाय गर्नु भन्दा जरिवाना तिराएर छोडिदिनु उपयुक्त हुन्छ, उनले भनिन्, ‘त्यो जरिवाना बच्चाको अभिभावकलाई क्षतिपूर्ति स्वरूप दिइनुपर्ने उनको भनाइ छ ।

कसैको पनि बच्चा चोर्नु सामान्य होइन । तर घटनाको प्रकृति हेर्दा उनी बच्चाको अभावमा निकै दुःखी देखिन्छिन् । आफू निसन्तान हुनुको पीडाले त्यस्तो जघन्य अपराधको बाटो उनी हिँड्न बाध्य भएकी छन् । सामाजिक न्याय अन्तर्गत उनलाई जरिवाना तिराएर, परामर्श गरेर छोड्न सकिने उनी बताउँछिन् ।

‘प्रहरीसँगको बयानमा पनि उनी सुरुमा बोल्नै सकिनन् । अरूको बच्चा चोर्नुमा उनलाई ग्लानि छ, ‘निकै लामो समयपछि उनले सन्तानको चाहनाले चोरेको बयान दिइन् ।’ बच्चा अन्य कुनै प्रयोजनको लागि चोरेकी छैनन् । आफ्नो सन्तान नहुने भएपछिको मनोसामाजिकले उनलाई अपराधमा धकेलेको देखिन्छ ।

आपराधिक उद्देश्य नदेखिएकाले उनलाई मुद्दा नै लगाउनुपर्छ भन्ने पक्षमा आफू नभएको खतिवडा बताउँछिन् । साथै, उनले आफ्नो सन्तान नभएपछि धर्मपुत्र वा धर्मपुत्री ग्रहण गर्ने प्रक्रियामा जान सुझाव दिन्छिन् ।

धर्मपुत्र वा धर्मपुत्री ग्रहण गर्न कानुनी व्यवस्था

मुलुकी (देवानी)  संहिता ऐन २०७४ को परिच्छेद ८ मा कुनै व्यक्तिले अन्य व्यक्तिको छोरा वा छोरीलाई आफ्नो छोरा वा छोरीको रूपमा स्वीकार गरेको व्यक्ति धर्मपुत्र वा धर्मपुत्री मानिने व्यवस्था छ ।

देहायका कुनै व्यक्तिले बालबालिकालाई धर्मपुत्र वा धर्मपुत्री राख्न सक्नेछन्
– विवाह भएको दश वर्षसम्म पनि छोरा वा छोरी नहुने दम्पती ।
– पैंतालीस वर्ष उमेर पूरा भएकी अविवाहिता, विधवा, सम्बन्ध विच्छेद वा न्यायिक पृथकीकरण गरी बसेकी छोरा वा छोरी नहुने महिला ।
– पैंतालीस वर्ष उमेर पूरा भएको अविवाहित, विदुर, सम्बन्ध विच्छेद वा न्यायिक पृथकीकरण गरी बसेको छोरा वा छोरी नहुने पुरुष ।

यस्ता व्यक्तिले धर्मपुत्र वा धर्मपुत्री राख्न सक्ने छैनन्
– होस ठेगानमा नभएको ।
– नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएको ।
– नाबालकलाई पालनपोषण, स्वास्थ्य, शिक्षा, खेलकुद, मनोरञ्जन तथा हेरचाहको व्यवस्था गर्न सक्ने आर्थिक हैसियत नभएको ।

कुनै दम्पतीले धर्मपुत्र वा पुत्री लिन चाहन्छन् भने त्यो दम्पतीको प्राकृतिक रूपमा बच्चा हुन नसक्ने कुरा प्रमाणित हुनुपर्ने नेपाल बाल संगठनकी अध्यक्ष विद्या उपाध्याय न्यौपाने बताउँछिन् ।
संगठनबाट बच्चा ग्रहण गर्न पुर्‍याउनुपर्ने विधि
– दम्पतीले विवाह गरेको १० वर्ष पूरा हुनुपर्ने ।
– दम्पती दुवैको नागरिकताको प्रमाणपत्र ।
– विवाह दर्ताको प्रमाणपत्र
– वीर अस्पतालबाट सन्तान हुन नसक्ने व्यहोराको प्रमाणित कागज ।
– मान्यताप्राप्त चिकित्सकद्वारा प्रमाणित (एचआईएभी, हेपाटाइटिस तथा गम्भीर प्रकृतिको मानसिक रोग) नभएको प्रमाण ।
– स्थानीय तहबाट बच्चा नभएको सिफारिस पत्र ।
– दम्पतीको पेसाको प्रमाण भए, पेश गर्ने ।
– वार्षिक आय र आम्दानीको स्रोत खुल्ने कागज ।
– नगद मौज्दात खुल्ने कागज ।
– आफ्नो नाममा भएको सेयर तथा अन्य सम्पत्ति लगायत घरजग्गा धनीको प्रमाण पुर्जाको प्रतिलिपि ।
– संगठनमा धर्मपुत्र वा पुत्री लिने सम्बन्धमा परिवारका अन्य सदस्यहरूको विचार  लेखाई सहीछाप गराई कागज पेश गर्ने ।
– बाबुआमाको उमेर ३५ वर्षदेखि ४५ वर्ष भएका परिवारलाई प्राथमिकता दिइने ।
– दुवै जनाको फोटो चार (चार प्रति र घरभित्र तथा बाहिरको प्रस्ट देखिने फोटो ।
– चारित्रिक प्रमाणपत्र (कुनै फौजदारी अभियोग नपरेको) ।
– बालबालिका ग्रहणको लागि छान्न नपाइने ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  १२ : ०६ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार