लुट्नकै लागि पर्वतमा दम्पतीको हत्या, एक महिनामा प्रहरीको मिसन ‘लालीगुराँस’ सफल | Khabarhub Khabarhub

लुट्नकै लागि पर्वतमा दम्पतीको हत्या, एक महिनामा प्रहरीको मिसन ‘लालीगुराँस’ सफल


२१ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

पर्वत- पर्वतको जलजला गाउँपालिका-२ मल्लाज दहस्थित वृद्ध दम्पतीको हत्या लुट्नैका लागि भएको खुलेको छ ।

एक महिना लामो अनुसन्धानपछि उक्त हत्यामा संलग्न भएको अभियोगमा पक्राउ परेका दुईजनालाई प्रहरीले बिहीबार सदरमुकाम कुश्मामा सार्वजनिक गरेको छ ।

एक महिनाको लामो अनुसन्धानपछि हत्यामा संलग्न दुईजना युवक मंगलबार समातिएका हुन् । गत चैत १९ गते राति ६९ वर्षीय सूर्यबहादुर जीसी र उनकी ६७ वर्षीया श्रीमती गमला जीसीको घरभित्रै वीभत्स हत्या गरिएको थियो ।

उक्त हत्या प्रकरण एक महिनासम्म नसुल्झिँदा प्रहरीमाथि दबाब बढेको थियो । तर केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश प्रहरी कार्यालय पोखरा, म्याग्दी र पर्वत प्रहरीले एक महिनासम्म चलाएको मिसन ‘लालीगुराँस’बाट उक्त घटनामा संलग्न दुवै युवक एकसाथ समातिएका हुन् ।

यस हत्या प्रहरणमा प्रहरीले पर्वतकै जलजला गाउँपालिका-२ मल्लाजका ३२ वर्षीय कृष्ण विक र दीपक परियारलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक खुमलाल भुसालले बताए । उनका अनुसार दुवै आरोपीले घटना स्वीकारिसकेका छन् । विक जलजलाको नेपानेका स्थानीय हुन् ।

उता कुश्मा नगरपालिका-२ खुर्कोट भएका दर्जी जलजला गाउँपालिका-२ बौरामा बस्थे । उनी पछिल्लो समय पोखरा महानगरपालिकास्थित नयाँ बजारमा पनि बस्थे।

घटनास्थलमा ठोस सवुत नभेटिँदा दबाबमा परेको प्रहरीले सुक्ष्म अनुसन्धान गरेको थियो । तीनवटै निकायका प्रहरीको संयुक्त अपरेसनले अन्तत: सफलता पाएको छ ।

यस प्रकरणमा दम्पतीको ज्यान लिएपछि यी दुई युवाले घरबाट सुनसहितका सामान लुटपाट गरेका थिए । उनीहरूले ती सामान पोखरा लगेर बेचेको खुलेको छ ।

लुटपाट गरेको सुन किनेर गाल्ने काममा संलग्न भएको अभियोगमा प्रहरीले पर्वत र बागलुङका एक-एकजनालाई समातेको हो ।

जलजला गाउँपालिका-१ घर भइ पोखरा महानगरपालिका-२५ हेम्जामा बस्दै आएका ६० वर्षीय कर्णबहादुर विकलाई लुटपाटको सुन गालेको आरोपमा प्रहरीले समातेको हो । उनले उक्त सुन गालेपछि यी दुई युवकले बागलुङ लगेर बेचेका थिए ।

बागलुङ नगरपालिका-७ घर भइ त्यहीँको वडा नं. २ लोकतान्त्रिक चोकस्थित पूर्णिमा सुनचाँदी पसलका सञ्चालक परशुराम विकलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनैले लुटपाटको सुन किनेका थिए ।

जिपमा काम गर्दा चिनजान

दम्पतीको हत्यामा हत्यामा संग्लन्न विक र दर्जीको परिचय करिब ६ महिनाअघि भएको खुलेको छ । यात्रु जीपमा काम गर्ने क्रममा उनीहरू चिनजान भएपछि साथी बनेका थिए ।

प्रहरीका अनुसार घटनाको अघिल्लो दिन चैत १८ गते उनीहरू जलजला गाउँपालिका-२ बौर बजारमा भेट भएका थिए । त्यहाँबाट बेनी बसपार्क पुगेर मदिरा, चाउचाउ र चटपटे किनेका उनीहरूले कालीगण्डकी किनारमा बसेर खाएका खुलेको छ ।

कसरी भयो दम्पतीको हत्या?

कालीगण्डकी किनारमा मदिरा पिएर बिताएका उनीहरू त्यही दिन अपरान्ह ४ बजेतिर राममन्दिर हुँदै सूर्यबहादुर र गमला घर्तीको पसल भएको घरमा पुगे । त्यहाँ उनीहरूले करिब आधा घण्टा घर्ती दम्पतीसँग भलाकुसारी गरे ।

त्यहीबेलै घर्ती दम्पतीको घरमा लुटापट गर्ने योजना बनाएको अनुसन्धानबाट खुलेको डीएसपी भुसालले बताए ।

त्यही आधी घण्टाको गफका क्रममा उनीहरूले गमलाले लगाएका गहना घरकोको पनि रेक्की गरे । त्यसपछि उनीहरू साँझ साढे ५ बजे आसपास आरोपीमध्ये एक कृष्णबहादुरको घरमा सुते ।

चैत १९ गते दिनभर उनीहरू कृष्णबहादुरको घरमा खाना खाएर हँसिया, माछा मार्ने बल्छी र कपडासमेत लिएर कालीगण्डकी किनार पुगे ।

उनीहरू कालीगण्डकी किनारमा माछा मार्न बसे । तर माछा मार्न नसकेपछि करिब ४ बजेतिर तिल्किनीस्थित बजारबाट मदिरा, चुरोट र चाउचाउ किनेर नदी किनारको घुमाउने तालको पुल हुँदै दहतर्फ उनीहरू उक्लिए । दह तर्फबाट उक्लिएका उनीहरू राति ८ बजेसम्म जंगलमा गाँजा, मदिरा र चाउचाउ खाएर बसे ।

योजनाअनुसार राति साढे ८ बजे नै जीसी दम्पतीकहाँ लुटपाटका लागि उनीहरू तयारी अवस्थामा थिए । तर उक्त घरमा आउँदै गर्दा जंगलमा डढेलो निभाउन जुटेका सूर्यबहादुर जिसी लगायतलाई देखेपछि जंगलमै लुके ।

जंगलमा लागेको आगो निभाउने मानिस गएपछि राति करिब १० बजे उनीहरू जिसी दम्पतीको घरमा गएको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको छ ।

जिसी दम्पतीको घरमा पसल पनि छ । त्यहाँ आरोपीमध्ये एक कृष्णबहादुरले चुरोट किन्ने बहानामा सूर्यबहादुरलाई हजुरबा भन्दै बोलाए ।

त्यसपछि दीपक दर्जीले चुरोटको ७० रुपैयाँ पनि दिए । चुरोट दिइसकेपछि सूर्यबहादुर घरबाहिरको बत्ती नबलेको देखेर ढोकाबाट निस्किन खोजे । त्यहीबेला कृष्णबहादुरले सूर्यबहादुरको टाउकोमा लाठीले हाने । पूर्वयोजनाअनुसार दीपक र कृष्णले नै जिसीको घरबाहिरको बत्तीको ब्लब झिकिसकेका थिए ।

सूर्यबहादुर लाठीले लागेर रन्थनिँदै गुहार लगाउन थालेपछि श्रीमती गमला घरबाट निस्किन खोजिन् । त्यहीबेला उनलाई दीपक दर्जीले ढोकाबाहिरैबाट लात्तीले हाने । त्यसपछि भित्र ढलेकी उनलाई लात्तीसँगै लाठीले टाउकोमा हाने । अन्तिममा उनैले गमलाको घाँटी रेटेर ज्यान लिए ।

गमलाको ज्यान लिएपछि यसअघि नै लाठो लागेर ढलेका सूर्यबहादुरको टाउको र घाँटीमा प्रहार गरी उनीहरूले ज्यान लिए ।

दुवैको ज्यान लिएपछि उनीहरूले घरमा रहेका सुन र नगद लुटपाट गरे । लुटपाटपछि घरमाथिको मोटरबाटो हुँदै भाग्न निस्केका उनीहरूले जंगलमा डढेलो निभाउने मान्छे देखे । अनि बाटो फेरेर सूर्यबहादुरको घरतिरै झरेर उनीहरू राममन्दिरबाट पर्वततर्फको बाटोबाट मालढुंगा पुगे । मालढुंगामा बस चढेका उनीहरूले पोखरा पुगेर लुटेको सुन र नगद बाँडे ।

हत्याको भोलिपल्टै प्रहरीको अनुसन्धान टोली कुश्माबाट आइपुग्यो । अनुसन्धानमा प्रदेश प्रहरी कार्यालय पोखराबाट तालिम प्राप्त कुकर पनि लगियो । तर हत्यामा संलग्नको सुराक मिलेन ।

अन्तत: १ महिनाको लामो अनुसन्धानपछि आरोपीहरू समातिए । उनीहरूले लुटेको सुन पोखरास्थित कर्णबहादुर विकलाई गाल्न दिए । गालेको सुन बागलुङ बजारस्थित पूर्णिमा सुनचाँदी पसलमा परशुराम विकलाई बेचे ।

हत्यापछि यी दुई आरोपीबाट करिब आधा तोलमात्रै सुन लुटपाट गरेको खुलेको छ । आधा तोला मात्रै सुन लुटपाट गरी बेचेको अनुसन्धानबाट देखिएको पर्वत प्रहरी प्रमुख भुसालले पत्रकार सम्मेलनमा बताएका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  १ : ५३ बजे

संसदीय छानबिन समितिको कार्यादेश तय गर्न कार्यदलको बैठक बस्दै

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) तयार

जलवायु परिवर्तनको क्षेत्रमा बेलायतले नेपाललाई सघाउने

काठमाडौं– संयुक्त अधिराज्यका प्रधानमन्त्री ऋषि सुनकले जलवायु परिवर्तनका क्षेत्रमा नेपाललाई

वीरगञ्ज महानगरद्वारा ४० करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा ३९ करोड

आईपिएलः पहिलो क्वालिफायरमा आज कोलकाता र हैदरावादको भिडन्त

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार पहिलो क्वालिफायरमा

प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूचीमा ?

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।