धराप बने काठमाडौंका सडक, बाह्रै महिना भत्काउने र पुर्ने होड | Khabarhub Khabarhub

धराप बने काठमाडौंका सडक, बाह्रै महिना भत्काउने र पुर्ने होड



काठमाडौं– पछिल्लो पटक काठमाडौं उपत्यकाभित्र बनेका भित्री सडकहरू जीर्ण बन्दै गएका छन् । अन्तर सरकारी निकायबीच नै समन्वयन नभई बारम्बार सडक खन्ने र बनाउने क्रम नरोकिँदा उपत्यकाभित्रका अधिकांश सडकहरू दुरावस्थामा पुगेका हुन् ।

कहिले विद्युत प्राधिकरणले तार भूमिगत गर्न होस् त कहिले मेलम्चीका खानेपानीका पाइप गाड्न होस्, कुनै न कुनै बहानामा सडक भत्काउने र बनाउने क्रम नरोकिँदा सडकको यात्रा असुरक्षित बन्दै गएको हो ।

विगतमा मेलम्ची खानेपानीका पाइप बिच्छ्याउने काठमाडौं धेरै ठाउँमा सडक भत्काएर ‘पाइपलाइनिङ’ गरियो । मेलम्चीको पाइप बिच्छ्याउन खनिएका सडक मर्मत हुन नपाउँदै विद्युत् प्राधिकरणले भूमिगत तार गर्ने नाममा पुनः सडक भत्काएको छ । अहिले काठमाडौं उपत्यकाभर नै प्राधिकरणले तार भूमिगत व्यवस्थापनको काम गरिरहेको छ ।

केही ठाउँमा अहिलेसम्म पनि खानेपानीका पाइप बिच्छ्याउन खनिएका सडक मर्मत हुन सकेका छैनन् । खानेपानीको पाइप पुरेर कालोपत्रे हुनासाथ काठमाडौं महानगरले सडक चक्ल्याउन र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले खानेपानी र ढल निकासका लागि उही सडक पुनः खन्न थाल्छ ।

अहिले काठमाडौं महानगरले पनि न्यूरोड, बागबजार, असनलगायतका विभिन्न ठाउँमा सडकहरूमा फुटपाथ विस्तार गर्दै छ । पुरानो र साँघुरो सडक पेटी भत्काएर फुटपाथ बढाउन महानगरले काम गरिरहेको छ ।

बारम्बार एउटै सडक बार्है महिना भत्काउने र बनाउने नियतिले उल्टै महानगरबासीले सास्ती पाइरहेका छन् । यसले दिनानुदिन सडक दुर्घटनाको जोखिम समेत बढाएको स्थानीयको गुनासो छ । एउटै सडक खानेपानीका पाइप बिच्छ्याउन र बिजुलीको तार भूमिगत गर्न खनिरहँदा दैनिक पैदलयात्रा गर्न समेत गाह्रो परिरहेको घट्टेकुलोकी गीता आचार्यको गुनासो छ ।

विगत ३ महिनादेखि घट्टेकुलोचोक र त्यसआसपासका विभिन्न ठाउँका सडक भत्काएर बिजोक बनाइएको उनको भनाइ छ । ‘कहिले सडक फराकिलो बनाउने भन्यो, कहिले खानेपानीका पाइप र बिजुली तार बिच्छ्याउन होस्, एउटै सडक बाह्रैमास भत्काएर धराप थाप्ने काम मात्रै भएको छ,’ उनले भनिन, ‘धुवाँ र धुलोको सास्ती त छँदै थियो, वर्षाका बेला बेला हिँड्न पनि सकिँदैन ।’

अहिले बुढानीलकण्ठ देखि महाराजगन्ज अन्तर्गतको सडकमा प्राधिकरणले तार भूमिगतको काम गरिरहेको लामो समय भयो । तर, भूमिगत तार बिच्छ्याउने काम सकिएको छैन । सडकको अवस्था भने बिजोक रहेको त्यहाँका स्थानीयको गुनासो छ । भूमिगत तार व्यवस्थापनको काम समयमै नसकिने र मर्मतका काम अधुरै छाड्ने गरिएको स्थानीयको गुनासो छ ।

विभिन्न बहानामा सडक भत्काउने र लामो समय मर्मत नगर्दा दैनिक रुपमा यात्रुलाई आवतजावतमा अप्ठ्यारो परिरहेको छ । सडकमा काम गर्ने निकाय आधा दर्जन बढी छन् । सडक विभाग, खानेपानी मन्त्रालय, विद्युत् प्राधिकरण, दूरसञ्चार प्राधिकरण, सहरी विकास मन्त्रालय र सम्बन्धित पालिका तहले आफ्नै ढंगले सडक संरचना बनाइरहेका छन् । तर, ती निकायबीच विगतदेखि नै समन्वयको अभाव हुँदा सडक भत्काउने, बनाउने र पुनः भत्काउने चक्र चलिरहेको देखिन्छ ।

एक सरकारी निकायले अर्को निकायको स्वामित्व ग्रहण नगर्ने र उत्तरदायित्व बहन नगर्दा विकास निर्माण कार्य गिजोलिएको सडक सुरक्षा विज्ञ आशिष गजुरेल बताउँछन् । विगतदेखि नै अन्तरनिकाय बीच समन्वयकै अभावले सडकको अवस्था जीर्ण बनेको उनी बताउँछन् । यसका कारण सरकारको माथिल्लो निकाय वा प्रधानमन्त्री तहबाटै हस्तक्षेप हुनुपर्ने उनको भनाइ छ ।

‘राज्यकै खर्चले आज सडक पिच गर्ने र भोलि आएर अर्को निकायले भत्काउने क्रम बढेको छ,’ उनले भने, ‘विगतदेखि नै समन्वय छैन, मनलाग्दी सडक भत्काउने र नबनाइदिने नियति छ । यसमा प्रधानमन्त्री कार्यालयबाट नै हस्तक्षेप हुन जरुरी छ ।’

युटिलिटी करिडोर अवधारणा कागजमै सीमित

विगतमा सरकारले मुख्य सहरमा सडक तथा विकास निर्माणलाई एकीकृत ढंगले अघि बढाउन युटिलिटी करिडोर अवधारणा ल्याएको थियो । सडक बन्ने र खन्ने प्रवृत्ति अन्त्य गर्दै समन्वयात्मक ढंगले सहरी विकास निर्माण अघि बढाउन महत्त्वपूर्ण मानिएको उक्त अवधारणा अहिलेसम्म लागू हुन सकिरहेको छैन । तर, सो अवधारणा कार्यान्वयनमा ल्याउन सरकारले नीतिगत व्यवस्था अहिलेसम्म गर्न नसकेको सरोकारवाला निकाय बताउँछन् ।

एकीकृत रूपमा सहरी विकास निर्माण अघि बढाउन युटिलिटी करिडोर अवधारणा महत्त्वपूर्ण भए पनि ठोस काम हुन नसकेको गजुरेल बताउँछन् । ‘युटिलिटी करिडोर निकै उपयोगी अवधारणा हो । तर, त्यसमा ठोस काम हुन सकेको छैन,’ उनले भने, ‘एउटा सरकारी निकायले अर्को निकायबीच अपनत्व र उत्तरदायी नबन्दा विकासमा निर्माणमा बाधा परिरहेको छ ।’

यसअघि ‘युटिलिटी करिडोर’ सम्बन्धी कानुन बनाउने निकाय सहरी विकास मन्त्रालयले चासो नदेखाएको सरोकारवाला बताउँछन् ।  गत २०७६ फागुन ३ मा तत्कालीन सहरी विकासमन्त्री गोकुल बाँस्कोटाले युटिलिटी करिडोर विधेयक बनाउन निर्देशन दिएका थिए ।

त्यसपछि संसद पूर्वाधार विकास समितिले पनि विधेयक समितिमा पेश गर्न निर्देशन दिए पनि हालसम्म विधेयक निर्माणतर्फ सम्बन्धित मन्त्रालय र सरोकारवाला निकायको ध्यान जान सकेको छैन ।

बल्ल कार्यविधि बनाउँदै महानगर 

काठमाडौं उपत्यकाभर ३ हजार किलोमिटर सडक रहेको सडक विभाग बताउँछन् । त्यसमध्ये झन्डै ७०० किलोमिटर सडकखण्ड विभाग मातहत पर्छ । अर्थात्, विभागले आफ्नो क्षेत्राधिकार पर्ने सडकको निर्माण र मर्मत तथा सुधार गरिरहेको जनाएको छ । उपत्यकाभित्र पनि विभागअन्तर्गत पर्ने सडकको अवस्था निकै नाजुक छ ।

सडक विभागले जस्तै स्थानीय सरकारले पनि फुटपाथ विस्तार, ढल, खानेपानी व्यवस्थापनलगायतका काम सडकमै गरिरहेका छन् । काठमाडौं महानगरले पनि आफ्नो क्षेत्राधिकारभित्र सडकमा निर्माण कार्य अघि बढाइरहेको छ ।

सडकमा बन्ने संरचना निर्माण समन्वय संयन्त्र बनाउन विभिन्न निकायबाट एक÷एक प्रतिनिधि पठाइदिन माग गरिएको काठमाडौं महानगरपालिकाका प्रवक्ता नविनमान महर्जन बताउँछन् । सडक, टेलिकम, विद्युत्, खानेपानी, ढल निकासलगायतका निकायलाई समेटेर एकीकृत विकास मोडलमा छुट्टै कार्यविधि बनाउन लागिएको बताए ।

के भन्छ सडक विभाग ?

सडक विभागले भने आफ्नो मातहत र क्षेत्राधिकारमा पर्ने सडक मर्मत र सम्भारमा मात्र केन्द्रित हुने गरेको छ । सडक खन्ने तथा उपयोग गरेर संरचना विस्तार गर्न विभागबाट अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था छ ।

अनुमति लिनुपर्ने व्यवस्थालाई कडाइ गर्र्दै लगिएको सडक विभागले जनाएको छ । सडक उपयोग गर्ने निकायले भने अनुमति स्वीकार गरे पनि कार्यान्वयनमा चुकेको विभागका महानिर्देशक सुशीलबाबु ढकाल बताउँछन् ।

‘सडक उपयोग गर्ने कुरा सर्भिससँग जोडिएको छ । त्यसका लागि अनुमति लिनुपर्ने प्रावधान बनाएका पनि छौँ । ती निकायले अनुमति लिने प्रावधान स्वीकार गर्नुहुन्छ । तर, कार्यान्वयन गर्नुहुन्न ।’ उनले भने, ‘कार्यान्वयन गर्ने निकाय पनि उत्तिकै जिम्मेवार हुनुपर्छ ।’

यसलाई अहिले विकासमा भएको चुनौतीका रूपमा ढकाल स्वीकार गर्छन् ।

विभागमा अनुमति पाएका निकायले खन्ने देखि निर्माण सम्पन्न गर्ने बेलासम्म के कसरी गर्ने भन्ने मापदण्ड स्वीकार गरिएको हुन्छ । तर, ती निकायले अर्को संस्था वा निर्माण कम्पनीबाट काम गराउने गर्छ ।

निर्माण कम्पनीले सडक विभागको मापदण्डअनुसार नगराउने र समयमै सम्पन्न नगर्दा अहिलेको अवस्था सिर्जना भएको ढकाल बताउँछन् ।

प्रकाशित मिति : २१ जेठ २०८१, सोमबार  ५ : ५८ बजे

अमेरिकाविरुद्ध अर्धशतक बनाउन कप्तान पौडेल एक रनले चुके

काठमाडौं – नेपालका कप्तान रोहितकुमार पौडेलले अमेरिकाविरुद्ध अर्धशतक प्रहार गर्न

दसैँ अवधिभर कोशीमा दुई सय ६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु

इनरुवा– दसैँमा कोशी प्रदेशमा दुई सय ६९ वटा सवारी दुर्घटना

नेपालले अमेरिकालाई दियो १६५ रनको चुनौती

काठमाडौं- नेपालले अमेरिकालाई १६५ रनको चुनौती दिएको छ । टि-२०

म्याग्दीका छ वडामा स्वास्थ्यचौकी भवन निर्माण

गलेश्वर– पश्चिम म्याग्दीको मालिका गाउँपालिकाका छवटा वडामा स्वास्थ्यचौकी भवन निर्माण

बुद्धसिंह मार्ग बीस दिनदेखि अवरुद्ध, स्थानीय मारमा

दमौली– बुद्धसिंह मार्गअन्तर्गत नाल्दीघाट खण्ड २० दिनदेखि अवरुद्ध हुँदा सर्वसाधारण