माधव र झलनाथ नमिल्दा पर्ला घनश्यामलाई चिठ्ठा ! | Khabarhub Khabarhub

माधव र झलनाथ नमिल्दा पर्ला घनश्यामलाई चिठ्ठा !



काठमाडौं– नेकपा एकीकृत समाजवादीको १० औँ महाधिवेशन नजिकिएको छ ।

असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुने महाधिवेशनमा अध्यक्ष माधव नेपाल रसम्मानित नेता झलनाथ खनालबीच नेतृत्वका लागि प्रतिस्पर्धा हुने सम्भावना छ ।

दुवै नेताहरूले आफूलाई अध्यक्षको दाबेदारका रुपमा प्रस्तुत गरिसकेका छन् । उनीहरुले नेतृत्व लिने योजनासहित पार्टी विधानबाट ७० वर्षे उमेर हदको व्यवस्था पनि हटाइसकेका छन् ।

यी शीर्ष दुई नेताबीचको तानातानले पार्टीमा तनाव बढिरहेका बेला दोस्रो तहका नेताहरु भने विकल्पको खोजीमा लागेका छन् । दुई शीर्ष नेताबीच टकराव बढ्दै जाँदा दोस्रो पुस्ताका नेताहरुले महासचिव घनश्याम भुसाललाई अघि सार्न थालेका छन् । यदि दुई जना सहमतिमा नआएमा दोस्रो पुस्ताले भुसाललाई अध्यक्षका रुपमा अघि सार्न अहिलेदेखि नै तयारी थालेका छन् ।

घनश्याम भुसाललाई पार्टी नेतृत्वमा पुर्या‍उने योजनासहित जनसंगठनहरुमा छलफल पनि सुरु भइसकेको छ । आइतबार आयोजित महाधिवेशनलक्षित पत्रकार सम्मेलनमा पनि अधिकांश नेता–कार्यकर्ताले वैचारिक र संगठनिक रूपमा सशक्त बनाएर पार्टी हाँक्न भुसाललाई अगाडि सार्दा राम्रो हुने धारणा राखेका छन् ।

तर घनश्यामलाई पार्टी जिम्मा लगाउन माधव नेपाल तयार हुने सम्भावना न्यून छ । यता खनाल भने नेपाललाई छाड्नुभन्दा भुसाललाई अगाडि सार्ने रणनीतिमा देखिएका छन् ।

यसबारे खनालले खबरहबलाई भने, ‘महाधिवेशनमा के हुन्छ । कसरी अगाडि गइन्छ । त्यो पछिको कुरा भयो, अहिले हामी छलफलमा छौँ ।’

यता अध्यक्ष नेपाल पनि महाधिवेशनमा सर्वसम्मत हुने या निर्वाचनबाट चुनिने कुरा त्यस बेलाको परिस्थिति र आवश्यकताले देखाउने बताउँछन् ।

उनले खबरहबलाई भने, ‘देशले त हाम्रो विकल्प खोजेको छैन । साथीहरूले मलाई नै अगाडि सर्नुपर्छ भनिरहनु भएको छ, हामी मिलाएर, सहमतिमै महाधिवेशनमा जान्छौँ ।’

घनश्याम पनि दुई नेताको लडाइँबीचब अध्यक्ष पद सम्हाल्ने वातावरण निर्माणका लागि दोस्रो तहका नेताबीच छलफलमा छन् ।

घनश्यामलाई आउला अवसर ?

माधव र झलनाथको विकल्पमा पार्टीलाई अझ मजबुत बनाएर जाने भन्दै युवा नेताहरूले महासचिव भुसालसँग परामर्श गरिरहेको एक नेताले खबरहबलाई बताए ।

उनले भने, ‘दुई ठूला नेताहरूलाई संरक्षक बनाएर महासचिवज्यूलाई पार्टीको नेतृत्वमा ल्याउन पहल गरिरहेका छौँ । यदि सम्मानित नेताले अध्यक्षलाई सहयोग नगर्ने परिस्थिति आए महासचिवज्यूलाई चिठा पनि पर्न सक्छ ।’

यस्तै, एकीकृत समाजवादीका एकजना सचिवालय सदस्यले पनि खबरहबसँगको कुराकानीमा पार्टी सचिवालय र अरु महत्वपूर्ण बैठकहरूमा भुसालाई अगाडि सार्नेबारे छलफल भएको बताए ।

उनले भने, ‘हामीले त पटक–पटक यसबारे पार्टी बैठकहरूमा कुरा उठाएका छौँ । पार्टी चलायमान बनाउन दोस्रो तहका नेतालाई अगाडि सार्ने भनेर लबिइङ गरिरहेका छौँ ।’

तर यसबारे आफूहरूलाई कुनै जनकारी नभएको नेता प्रकाश ज्वाला र उपाध्यक्ष राजेन्द्र पाण्डे बताउँछन् । उनीहरु अध्यक्षमा नेपाललाई नै दोहो¥याउनुपर्ने पक्षमा छन् ।

पाण्डेले खबरहबलाई भने, ‘वर्तमान सत्ता गठबन्धन र देशको राजनीतिको केन्द्रबिन्दु अध्यक्ष नेपाल हो । उहाँले नै फेरि नेतृत्व गर्ने सोचेका छौँ । सहमति प्रयास हुन्छ । सम्मानित नेताले सार्वजनिक रूपमा अध्यक्षको दाबी गरेको मैले सुनेको छैन ।’

उपमहासचिव ज्वाला पनि सहमतिमै महाधिवेशनबाट नेतृत्व आउने बताइरहेका छन् । उनले भने, ‘सहमतिमा हुने सम्भावना पनि छ । नेताहरूले मिलाएर जानुहुन्छ ।’
तेस्रो व्यक्तिको पनि चर्चा छ नि भन्ने प्रश्नमा उनले भने, ‘त्यसबारे छलफल भएको मैले सुनेको छैन । चर्चा त विभिन्न खालका हुन्छन् नि !’

यता भुसाल पनि यसबारे जानकारी नपाएको बताउँछन् । तपाईं पनि अध्यक्षमा आउने चर्चा रहेछ नि भन्ने प्रश्नमा भने, ‘मलाई साथीहरूले माया गर्नुभएको होला । तर मैले उठ्छु उठ्दिनँ केही भनेको छैन । माया गर्न त पाइयो नि । परिस्थितिले के भन्छ ? तर मैले त्यातातिर छलफल भएको सुनेको छैन ।’

उनले अगाडि भने, ‘अध्यक्षज्यू स्वतः हुनुहुन्छ कि सम्मानित नेताले पनि इच्छा जाहेर गर्नुहुन्छ । औपचारिक घोषणा गर्नुभएको छैन ।’

सचिवालयमा को कता ?

वैचारिक वाम नेता भुसाल ०७९ सालमा भएको निर्वाचनपछि पुस २९ गते नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

भुसाल एमाले परित्याग गरी रुपन्देही १ बाट स्वतन्त्र निर्वाचन लडेका थिए । त्यस बेलादेखि नै एकीकृत समाजवादीले सहयोग गरेको थियो ।

उनलाई माधव नेपालले नै पार्टीमा ल्याउन पहल गरेको नेताहरू बताउँछन् । नेपालले महासचिव बनाउने सर्तमा भुसाललाई ल्याएका थिए । त्यही वर्ष चैत ५ गते भुसाललाई महासचिव बनाइएको थियो ।

त्यसपछि तत्कालीन महासचिव बेदुराम भुसाललाई उपाध्यक्ष मनोनयन गरियो । महासचिवबाट उपाध्यक्षमा सरुवा गरिएपछि बेदुरामलाई कृषि मन्त्रालयको जिम्मेवारी दिइयो ।

एमालेबाट विभाजन भएपछि एकीकृत समाजवादी दल २०७८ भदौ २ गते निर्वाचन आयोग दर्ता भएको थियो। त्यसबेलासम्म भुसाल एमालेमै थिए । भुसालले पार्टी विद्रोहका बेला माधव नेपालको साथ छाडेर एमालेमा बसेका थिए। त्यहीकारण उनलाई एकीकृत समाजवादीका अन्य नेताहरूले नेतृत्वमा छेक्न खोजेका छन् ।

उपाध्यक्षहरू राजेन्द्रप्रसाद पाण्डे, प्रमेशकुमार हमाल, घनेन्द्र बस्नेत, केशवलाल श्रेष्ठ, धर्मनाथप्रसाद साह र जयन्ती राई भुसालभन्दा सिनियर उनलाई नेतृत्व दिन नहुने पक्षमा छन् ।

जसमा राई र बस्नेत खनाल पक्षका नेताहरू हुन् । अन्य नेताहरू नेपाल पक्षका छन् ।

उपमहासचिव प्रकाश ज्वाला पनि घनश्यामलाई रोक्ने पक्षमा रहेको नेताहरू बताउँछन् । उनी पनि नेपाल पक्षका नेता हुन् । जगन्नाथ खतिवडा पनि अहिले नेपाल पक्षमा उभिएका छन् । तर अध्यक्ष नेपालसँग उनको सम्बन्ध राम्रो नरहेको स्रोतले जनाएको छ ।

उपमहासचिव विजय पौडेल पनि घनश्याम भुसाल नेतृत्वमा आउनुपर्ने पक्षमा रहेको स्रोतको दाबी छ ।

यस्तै, सचिव रामकुमारी झाँक्री खनाल समूहमा छिन् । उनी खनाल नभए भुसाल अध्यक्षको लाइनमा आउनपर्ने बताउँछिन् । जीवनराम श्रेष्ठ र सचिव हरि पराजुली घनश्याम भुसाललाई नेतृत्वमा ल्याउने पक्षमा रहेको अर्का नेताको दाबी छ ।

अर्का सचिव राजेन्द्रकुमार राई माधव नेपाल पक्षका नेता हुन् । उनी अहिले पार्टीमा माधव नेपालबाहेक अरूको विकल्प नभएको बताउँछन् । उनले खबरहबलाई भने, ‘अब एक कार्यकाल माधव नेपालले नै नेतृत्व गरेर जानुहुन्छ । त्यसपछि अरू विकल्पमा जान सकिएला ।’

उनले सम्मानित नेता खनालले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएर नेपाललाई छाडिदिने तर्क गरे । महाधिवेशनबाट अध्यक्षमा नेपाल र महासचिवमा भुसाल नै दोहोरिने सम्भावना देखिएको उनले बताए ।

उनले अगाडि भने, ‘कुनै पनि हालतमा महासिचवकहाँ अहिले नै नेतृत्व आउँदैन । एक पटक माधव नेपालले नेतृत्व लिनुपर्छ ।’

एकीकृत समाजवादीका केन्द्रीय सदस्य सुदेश पराजुलीले अहिले नै माधव नेपालले नेतृत्व नत्याग्ने बताए ।

‘सानो पार्टी भएकाले नेताले मात्रै होइन तलका सदस्यले पार्टी छोड्नु हुँदैन । अहिले माधव नेपालले नेतृत्वबाट पन्छिने मैका पाउनु हुन्न’, उनले भने ।

पराजुलीले दुई नेताको उम्मेदवारी परेमा छलफलबाट टुङ्गिएर जाने विश्वास व्यक्त गरे । यसो हुँदा अहिले भुसालका हातमा नेतृत्व आउने सम्भावना कम छ ।

नेपालपछि भुसाल

अरु नेताहरू माधव नेपालले ०८४ पछि पार्टीको जिम्मेवारी छाड्ने कुरामा विश्वस्त छन् । त्यसपछि भुसालले जिम्मेवारी पाउने नेताहरूको भनाइ छ ।
नेपाल र भुसालबीच यही कुरामा सम्झौता भएको उनीहरुनिकट नेताहरु बताउँछन् ।

एकीकृत समाजवादीमा अध्यक्ष नेपालनिकट नेताहरु अर्को तर्क पनि गर्छन् । माधव नेपाललाई रामचन्द्र पौडेलपछि राष्ट्रपति बनाउन एमाले र कांग्रेस पनि तयार रहने उनीहरुको तर्क छ । त्यसपछि भुसालले पार्टी चलाउने उनीहरु बताउँछन् ।

ती नेताले भने, ‘माधव नेपाल ०८४ अगाडि एक पटक प्रधानमन्त्री बन्नुहुन्छ । केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले उहाँलाई एक वर्ष प्रधानमन्त्री बनाउने बताउनु भएको छ । तर खनाल रोक्न खेलिरहनु भएको छ । यो सम्भव छैन ।’

उनले पछिल्लो समय ओली र नेपाललाई मिल्न नदिन खानलले खेलिरहेको पनि जिकिर गरे ।

एकीकृत समाजवादीको सचिवालयका एक नेताले भने, ‘बर्खा याममा महाधिवेशनमा जानु हुँदैन भनेका थियौँ । तर अध्यक्ष नेपाल सहमतिमा आउनुहुन्छ भनेपछि असारमै गर्ने भनिएको हो । महाधिवेन औपचारिकतका लागि मात्रै हो ।’

यता उपाध्यक्ष वेदुराम भुसाल पनि माधव नेपालपछि घनश्यामले पार्टीको बागडोर सम्हाल्न सक्ने बताउँछन् ।

रावललाई रोक्न भुसाल चनाखो

नेपालपछि अध्यक्ष बन्ने शर्तमा एमालेबाट भीम रावल आउन लागेका थिए । तर उनलाई दुई भुसालले खेलेको एकीकृत समाजवादीका एक पदाधिकारी बताउँछन् ।

रावलले नेपालपपछि अध्यक्ष पाए पार्टीमा आउने बताएका थिए । तर त्यसका लागि भुसाल दाजुभाइले असहयोग गरेको ती नेताको दाबी छ ।

यसबारे सचिवालयका अर्का नेताले भने, ‘माधव नेपालसँग भीम रावल सम्पर्कमा हुनुहुन्छ । तर महासचिव भुसाल र उपाध्यक्ष कमरेडले रोकेको बुझेको छु ।’

तर महासचिव भुसालले आइतबार खबरहबसँगको कुराकानीमा ती कुरा हल्ला मात्रै भएको बताए । उनले एमालेका पूर्वउपाध्यक्ष रावल आफूहरूसँग सम्पर्कमै रहेको दाबी गरे । ‘उहाँ हाम्रो पार्टीको शुभचिन्तक हो । छलफल भइरहेको छ ।’

प्रकाशित मिति : २१ जेठ २०८१, सोमबार  ७ : ३२ बजे

रारा तालमा डुबेर एक युवकको मृत्यु

मुगु – रारा तालमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको

प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न : रेखा शर्मा

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने भएका छन्

एमाले–कांग्रेस सरकारमा नागरिक उन्मुक्ति पनि सहभागी हुने

काठमाडौं – नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनमा नागरिक उन्मुक्ति

७३ जिल्लामा फैलियो डेङ्गु सङ्क्रमण

काठमाडौं – डेङ्गु रोगको सङ्क्रमण ७३ जिल्लामा फैलिएको छ ।

सरकारले तोक्यो धानको समर्थन मूल्य

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि धानको समर्थन