वर्षासँगै बिजुली उत्पादन बढ्दै, खेर जाने चिन्तामा प्रवर्द्धक | Khabarhub Khabarhub

वर्षासँगै बिजुली उत्पादन बढ्दै, खेर जाने चिन्तामा प्रवर्द्धक

प्रसारणलाइन र भरपर्दो वितरण प्रणाली अभाव मुख्य समस्या



काठमाडौं– पछिल्ला सातादेखि देशभर वर्षा हुन थालेपछि जलविद्युत उत्पादन गृहहरूबाट विद्युत उत्पादन पनि बढ्न थालेको छ । वर्षाका कारण खोलानालामा पानीको बहाव बढेसँगै त्यस्ता खोला-नदीमा सञ्चालित जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन बढेको हो ।

यसअघि पानी नपर्दा खोलानाला सुकेर विद्युत् उत्पादन ह्वात्तै घटेकोमा पछिल्ला दिनमा विद्युत् उत्पादन बढ्न थालेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार मंगलबारसम्म पिक आवरमा विद्युत् उत्पादन २ हजार ५०० मेगावाट पुगेको छ ।

तीन हप्ताअघि अर्थात जेठ मसान्तमा विद्युत् उत्पादन घटेर एक हजार ७०० मेगावाटमा झरेको थियो । देशभर बढेको गर्मीका कारण प्राधिकरणलाई त्यतिबेला लोड धान्न निकै सकस परिरहेको थियो । तर, अहिले भने लोड व्यवस्थापन सहज हुँदै आएको प्राधिकरणका अधिकारीहरू बताउँछन्‌ ।

गर्मी केही कम हुँदै गएको र दैनिक वर्षा भइरहेकाले विद्युत् खपतमा समेत कमी आएको प्राधिकरणले जनाएको छ । जेठ मसान्ततिर पिक आवरमा २ हजार ३०० मेगावाट बिजुली  खपत हुने गरेको थियो । अहिले भने विद्युत् खपत एक हजार ४५० मेगावाटसम्म झरेको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले खबरहबलाई जानकारी दिए ।

‘देशभर फैलिएको वर्षाले खोला-नालामा पानीको बहाव बढ्दा विद्युत् उत्पादन पनि केही बढ्न थालेको छ । गत मंगलबारसम्म हेर्दा पिक आवरमा विद्युत् लोड २५०० मेगावाट पुगेको देखिन्छ,’ उनले भने, ‘खपत लोड केही घटेको छ ।’

वर्षाका कारण विद्युत् उत्पादन अझै बढ्नेछ । हाल प्राधिकरणको कुल जडित क्षमता तीन हजार २५० मेगावाट हाराहारी छ । कतिपय जलविद्युत् आयोजनामा बाढी र पहिरो बस्दा विद्युत् उत्पादन समेत हुन नसकिरहेको प्राधिकरणले जनाएको छ ।

झन्डै तीन महिनादेखि बाढीका कारण बिग्रेका ७३ मेगावाटको मध्य तमोर र ४२ मेगावाटको मिस्त्रीखोला जलविद्युत् आयोजना अहिलेसम्म मर्मत हुन सकेको छैन । जसकारण ती आयोजनाको बिजुली प्रसारण प्रणाली बाहिर छ ।

विद्युत उत्पादन बढ्न थालेसँगै भारतबाट आयात हुने बिजुली कटौती गरिएको प्राधिकरणले जनाएको छ । हाल १५० देखि २०० मेगावाटसम्म मात्र बिजुली आयात भइरहेको छ ।

खपत घट्न थालेको र क्रमशः विद्युत उत्पादन बढेकाले आगामी साउनदेखि विद्युत निर्यात गर्ने लक्ष्य समेत रहेको घोषले बताए । स्वदेशमा खपत भएर बाँकी रहने बिजुली भारत निर्यात गरिने उनले बताए । यसअघि प्राधिकरणले ४०० मेगावाट बिजुली भारत निर्यातका लागि स्वीकृति पाइसकेको छ ।

नेपालका अधिकांश जलविद्युत आयोजना नदी प्रवाहमा आधारित (रन अफ दि रिभर-आरओआर) प्रकृतिका छन् । बर्खा लागेसँगै ती आयोजनाबाट विद्युत् उत्पादन बढ्छ भने हिउँद लागेपछि उत्पादन दुई तिहाइले घट्ने गरेको छ ।

बिजुली खेर जाने चिन्तामा प्रवर्द्धक
बर्खा यामका कारण अधिकांश जलविद्युत् आयोजना पूर्ण क्षमतामा चल्दा कुल जडित क्षमता अनुसारकै बिजुली उत्पादन हुन्छ ।

खासगरी नेपालमा बर्खायामकै बेला बिजुली उत्पादन बढ्छ । तर, प्राधिकरणले बनाएको प्रसारण लाइन र वितरण प्रणालीले नधान्दा ऊर्जा प्रवर्द्धकमा बिजुली खेर जाने चिन्ता बढेको हो । विगतमा पनि बर्खा यामका बेला २५० देखि ३०० मेगावाटसम्म बिजुली खेर गएको थियो ।

बिजुली खेर जाँदा प्रवर्द्धकलाई प्रत्यक्ष नोक्सान हुने हुँदा उनीहरूले पटक-पटक प्राधिकरणलाई निर्माणधीन प्रसारण लाइन छिटोभन्दा छिटो सम्पन्न गरिदिन ताकेता गर्दै आएका छन् ।

कतिपय जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगे पनि प्रसारण लाइन नहुँदा बिजुली खेर जाने अवस्था रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था(इप्पान) नेपालका उपाध्यक्ष मोहन डाँगी बताउँछन् ।

यस पालीको बर्खायाममा प्राधिकरणले प्रसारण लाइन नबनाएको र वितरण प्रणाली सुदृढ नभएकाले गत वर्षभन्दा कम्तीमा ५०० मेगावाटसम्म बढी बिजुली खेर जान सक्ने सम्भावना रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  २ : ५३ बजे

विवाहको न्यूनतम उमेर १८ वर्षमा झारौँ : मन्त्री सुडी

महेन्द्रनगर– बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले बिहे गर्ने उमेर

पीएसजीले जितेको रात फ्रान्सका सहरहरूमा बबाल : एक युवकको छुरा हानेर हत्या, ४२६ पक्राउ, २०५ जना घाइते

पेरिस-पेरिस सेन्ट-जर्मेन (पीएसजीले) ले पहिलो पटक च्याम्पियन्स लिग फुटबलको उपाधि

आँखै कालो हुनेगरी कसले हान्यो मस्कलाई मुक्का ?

काठमाडौं– विश्वका धनाढ्य अर्बपति उद्यमी इलोन मस्कको आँखामा कालो दाग

राहुघाट जलविद्युत् आयोजना निर्माणलाई तीव्रता दिन निर्देशन

म्याग्दी– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको उच्चस्तरीय टोलीले नेपाल विद्युत्

एक सातासम्म मनसुन निष्क्रिय बन्दै

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सरदर