काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको आन्तरिक शक्ति सङ्घर्षले मुलुकको राजनीतिक स्थिरतामाथि प्रश्न उठाएको टिप्पणी गरेका छन् ।
दैलेखमा आयोजित पार्टीको राष्ट्रिय जागरण तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै पुनले एउटै दलको बहुमतको सरकार हुँदासमेत राजनीतिक स्थायित्व कायम हुन नसकेको बताएका हुन् ।
उनले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र रास्वपा सभापति रवि लामिछानेबीचको शक्ति सङ्घर्ष पार्टी विभाजनदेखि नेतृत्व परिवर्तनसम्म पुग्न सक्ने दाबी गरे । प्रधानमन्त्रीले सभापति लामिछानेलाई पक्राउ गर्नेदेखि लामिछानेले प्रधानमन्त्रीलाई विस्थापित गरेर आफैँ सरकारको नेतृत्व लिनेसम्मका सम्भावना देखिएको उनको टिप्पणी थियो ।
‘अहिले उनीहरूको सङ्घर्ष एकपछि अर्को बढिराखेको छ । कुनै पनि बेला पार्टी फुट्यो भने आश्चर्य मान्नुपर्दैन,’ पुनले भने, ‘प्रधानमन्त्रीले सभापति रविलाई थुने वा सभापतिले प्रधानमन्त्रीलाई टेकओभर गरेर आफू प्रधानमन्त्री भए पनि आश्चर्य मान्नुपर्ने अवस्था छैन ।’
रास्वपाले निर्वाचनमा पाँच वर्षे स्थिरताको प्रतिबद्धता जनाएर जनमत प्राप्त गरे पनि व्यवहारमा अस्थिरता बढाएको पुनको आरोप छ । उनले विगतमा विभिन्न दल मिलेर बनेको सरकारले १८ महिनासम्म निरन्तरता पाएको स्मरण गर्दै एउटै दलको बहुमत हुँदासमेत स्थायित्वको प्रत्याभूति हुन नसकेको बताए ।














प्रतिक्रिया