अर्थसंक्षेप : वर्षासँगै बिजुली उत्पादन बढ्दै, सहकारी संस्थाका सञ्चालकलाई निर्देशन | Khabarhub Khabarhub

अर्थसंक्षेप : वर्षासँगै बिजुली उत्पादन बढ्दै, सहकारी संस्थाका सञ्चालकलाई निर्देशन


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


555
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो सातादेखि देशभर वर्षा हुन थालेपछि जलविद्युत उत्पादन गृहहरूबाट विद्युत् उत्पादन पनि बढ्न थालेको छ । यता बैंक तथा वित्तीय संस्थामा निक्षेप वृद्धिको अनुपातमा ऋण प्रवाहमा वृद्धि हुन नसकेको देखिएको छ ।

यस्तै, आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ भने मंगलबार धेरै उतारचढाव भएको शेयर बजार बुधबार भने सामान्य रहेको छ । यसरी नै सहकारी विभागले एउटै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारी संस्थाको सञ्चालक हुन नपाउने व्यवस्था गरेको छ ।

यस्ता छन् आजका प्रमुख आर्थिक समाचारहरु : 

वर्षासँगै बिजुली उत्पादन बढ्दै, खेर जाने चिन्तामा प्रवर्द्धक

पछिल्ला सातादेखि देशभर वर्षा हुन थालेपछि जलविद्युत उत्पादन गृहहरूबाट विद्युत् उत्पादन पनि बढ्न थालेको छ । वर्षाका कारण खोलानालामा पानीको बहाव बढेसँगै त्यस्ता खोला–नदीमा सञ्चालित जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन बढेको हो ।

यसअघि पानी नपर्दा खोलानाला सुकेर विद्युत् उत्पादन ह्वात्तै घटेकोमा पछिल्ला दिनमा विद्युत् उत्पादन बढ्न थालेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार मंगलबारसम्म पिक आवरमा विद्युत् उत्पादन २ हजार ५०० मेगावाट पुगेको छ ।

तीन हप्ताअघि अर्थात् जेठ मसान्तमा विद्युत् उत्पादन घटेर एक हजार ७०० मेगावाटमा झरेको थियो । देशभर बढेको गर्मीका कारण प्राधिकरणलाई त्यतिबेला लोड धान्न निकै सकस परिरहेको थियो । तर, अहिले भने लोड व्यवस्थापन सहज हुँदै आएको प्राधिकरणका अधिकारीहरू बताउँछन् । गर्मी केही कम हुँदै गएको र दैनिक वर्षा भइरहेकाले विद्युत् खपतमा समेत कमी आएको प्राधिकरणले जनाएको छ ।

जेठ मसान्ततिर पिक आवरमा २ हजार ३०० मेगावाट बिजुली  खपत हुने गरेको थियो । अहिले भने विद्युत् खपत एक हजार ४५० मेगावाटसम्म झरेको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले खबरहबलाई जानकारी दिए ।

‘देशभर फैलिएको वर्षाले खोला–नालामा पानीको बहाव बढ्दा विद्युत् उत्पादन पनि केही बढ्न थालेको छ । गत मंगलबारसम्म हेर्दा पिक आवरमा विद्युत् लोड २५०० मेगावाट पुगेको देखिन्छ,’ उनले भने, ‘खपत लोड केही घटेको छ ।’

वर्षाका कारण विद्युत् उत्पादन अझै बढ्नेछ । हाल प्राधिकरणको कुल जडित क्षमता तीन हजार २५० मेगावाट हाराहारी छ । कतिपय जलविद्युत् आयोजनामा बाढी र पहिरो बस्दा विद्युत् उत्पादन समेत हुन नसकिरहेको प्राधिकरणले जनाएको छ ।

बैंकिङ क्षेत्रमा निक्षेप ६३ खर्ब नाघ्यो, ऋण प्रवाह साढे ५१ खर्बमा सीमित

बैंक तथा वित्तीय संस्थामा निक्षेप वृद्धिको अनुपातमा ऋण प्रवाहमा वृद्धि हुन नसकेको देखिएको छ । पछिल्लो तथ्यांकअनुसार वाणिज्य बैंकदेखि फाइनान्स कम्पनीसम्म ६३ खर्ब बढी निक्षेप पुगेको छ तर, ऋण प्रवाह भने साढे ५१ खर्बमा सीमित रहेको छ ।

नेपाल राष्ट बैंकका अनुसार असार १६ गतेसम्म वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीहरूमा ६३ खर्ब ३५ अर्ब निक्षेप पुगेको छ । तर, ती संस्थाहरुबाट सो अवधिसम्म ऋण प्रवाह भने ५१ खर्ब ४९ अर्बमात्रै भएको छ ।

तथ्यांकअनुसार सो अवधिसम्म वाणिज्य बैंकहरुमा ५६ खर्ब १३ अर्ब निक्षेप संकलन भएको छ । त्यस्तै, अन्य विकास बैंक तथा फाइनान्स कम्पनीहरूमा भने ७ खर्ब २२ अर्ब निक्षे संकलन भएको देखिन्छ । असार १५ गतेदेखि १६ गतेसम्म वाणिज्य बैंकहरुमा ८ अर्ब निक्षेप थपिएको थियो भने लगानी ३ अर्बले मात्रै वृद्धि भएको थियो ।

त्यस्तै सोही एक दिनको अवधिमा अन्य विकास बैंक तथा फाइनान्स कम्पनीहरूमा १ अर्ब निक्षेप थपिएको तर ऋण प्रवाह भने हुन नसकेको देखिएको छ ।

सर्केगामा बिलबिना ७३ लाख बढी भुक्तानी

जिल्लाको सर्केगाड गाउँपालिकाले आर्थिक वर्ष २०७९–८० मा रु ७३ लाखभन्दा बढी आवश्यक कागजातबिनै भुक्तानी दिएको पाइएको छ । महालेखापरीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमा बिजबिजक बिना नै भुक्तानी दिइएको औँल्याइएको छ ।

उक्त पालिकाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७, को नियम ३९ ९५० मा विपरीत उक्त आर्थिक वर्षमा  ७३ लाख १३ हजार तीन सय भुक्तानी दिएको प्रतिवेदनमा उल्लेख छ ।  उक्त रकम घरभाडाबापत  एक लाख ९६ हजार ५६०,  बैठक भत्ता ४० हजार, राहत वितरण  एक लाख ३५ हजार, इन्धनमा  ३५ हजार, कार्यालय सामान खरिदमा एक लाख, अनुगमन भत्ता  दुई लाख, विद्युतीय सामग्री खरिदमा तीन लाख ९० हजार  खर्च भएको छ ।

यसैबीच, सिमकोट गाउँपालिका– १ र २ को ठेहे गाउँस्थित पञ्चमुखी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई व्यक्तिगत सरसफाइबारे प्रशिक्षण दिइएको छ ।

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । बुधबार सुनको मूल्य तोलामा ४ सयले बढेर तोलाको १ लाख ४२ हजार ४ सयमा कारोबार भएको छ । यस अघि मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ३ सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४२ हजारमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । चाँदी आज प्रतितोला २० रुपैयाँले बढेर १८२५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

झिनो अंकले बढ्यो नेप्से, ५ अर्बमाथिको कारोबार 

मंगलबार धेरै उतारचढाव भएको शेयर बजार बुधबार भने सामान्य रहेको छ । आज नेप्से परिसूचक ३ दशमलव ७९ अंकको सामान्य अंकले बढेको हो । हिजो भने ४७ अंकले बढेको थियो ।

आज नेप्से परिसूचक शुन्य दशमलव १८ प्रतिशतले बढेर २१०४ को विन्दुमा रोकिएको छ । आज १ सय १ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १३६ कम्पनीको शेयर मूल्य घटेको  छ । शेयर बजारमा आज ३१४ कम्पनीका ६१ हजार १ सय ९९ कारोबारबाट १ करोड ७१ लाख ३४ हजार कित्ता शेयर किनबेच भएको छ ।

जसबाट आजको सम्पूर्ण कारोबार रकम ५ अर्ब ८ करोड ३५ लाख २८ हजार ९ सय ३५ पुगेको छ । आज सबैभन्दा धेरै मञ्जुश्री फाइनान्सको शेयर कारोबार भएको छ । यस कम्पनीको २३ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइसीएफसी फाइनान्सको १७ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स फाइनान्सको १६ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

वैतेश्वरमा ९९.४१ प्रतिशत योजना सम्पन्न

बैतेश्वर गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । बुधबार गाउँपालिकाले चालु आर्थिक  २०८०÷८१ मा सम्पादन भएका वार्षिक विकास कार्यक्रमहरूको समीक्षा तथा वित्तीय प्रगतिको सार्वजनिक सुनुवाइ गरिएको थियो । गाउँपालिकाको आयोजना तथा नेपाल पत्रकार महासंघ दोलखा र रेडियो वैतेश्वरको सहजीकरण, वडा नम्बर–१ को व्यवस्थापनमा  सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख जबाफदेही वक्ता गाउँपालिका अध्यक्ष अध्यक्ष छवि लामाको अध्यक्षयतामा सम्पन्न भएको थियो । सार्वजनिक सुनुवाइ कार्यक्रममा वैतेश्वर गाउँपालिकाको चालु वर्षको आयव्यय र वार्षिक प्रगति प्रतिवेदन गाउँपालिकाका प्रशासन प्रमुख रवीन्द्र चौलागाईंले प्रस्तुत गरेका थिए ।

पालिकाले चालु वर्ष वडा नम्बर–१ देखि ८ सम्म एक सय ७२ वटा योजना वितरण गरेकोमा ९९.४१ प्रतिशत योजना सम्पन्न भएको जनाएको छ । बजेट अभावले वडा नम्बर–७ एउटा योजना बाहेक अन्य वडाको सत् प्रतिशत योजना सम्पन्न भएको वार्षिक प्रतिवेदन उल्लेख गरिएको छ ।
गाउँपालिकाले चालु आवमा सडक ३४ वटा,गोरेटो बाटो ८० वटा एक मिटर चौडाइ भएको सिडी सहितको गोरेटो निर्माण सम्पन्न गरेको छ । वैतेश्वर हालसम्म २५ किलोमिटर पक्की गोरेटो बाटो निर्माण सम्पन्न भएको छ ।

तीस दिनभित्र दोहोरो पद छोड्न सहकारी संस्थाका सञ्चालकलाई निर्देशन

सहकारी विभागले एउटै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारी संस्थाको सञ्चालक हुन नपाउने व्यवस्था गरेको छ ।  विभागले कोही दोहोरो पदमा रहेको भए त्यसलाई त्यागेर एकल पद कायम गर्न सबै सहकारी संस्थालाई आज निर्देशन दिएको हो ।

सहकारी ऐन २०७४ को दफा ४१ ९५० मा कुनै व्यक्ति एकै समयमा एकमात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने व्यवस्था रहेकोले ऐनको उक्त प्रावधान कार्यान्वयन गर्न निर्देशन जारी गरिएको सहकारी विभागका रजिष्ट्रार पीताम्बर घिमिरेले जानकारी दिए। सहकारी बैंकको हकमा पनि पनि यस्तै निर्देशन दिइएको छ ।

यो निर्देशन कार्यान्वयन भए–नभएको अनुगमन गरिने र यदि कार्यान्वयन नभएको पाइएमा कानुनबमोजिम कारबाही गरिने पनि विभागले जनाएको छ । विभागले आजै सहकारी संस्थाका ऋणीहरूको कर्जा तीन महिनाका लागि पुनर्तालिकीकरण गर्न परिपत्र पनि गरेको छ ।

‘परिस्थितिजन्य कारणले समस्यामा परी कर्जालाई नियमित गर्न नसकेका ऋणीलाई कर्जा चुक्ता गर्न परेको कठिनाइलाई दृष्टिगत गरी ऋणी सदस्यलाई परेको प्रभाव मूल्यांकन गरी सदस्यको माग, आवश्यकता र औचित्यका आधारमा गत वर्ष खराब ऋणीको सूचीमा नपरेका र यसअघि यस्तो सुविधा नलिएका ऋणीहरूको हकमा मात्र कर्जा पाकेको ५० प्रतिशत ब्याज भुक्तानी गरेमा बाँकी साँवालाई तीन महिनाको अवधिका लागि पुनर्तालिकीकरण गर्न सकिनेछ’, विभागको परिपत्रमा भनिएको छ ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ६ : ४८ बजे

आज २०८१ साल असार २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल असार २२ गते शनिबार तदनुसार

जर्मनीलाई हराउँदै स्पेन युरोकपको सेमिफाइनलमा

काठमाडौं – स्पेन १७ औँ संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश

कल्भर्ट भत्किँदा च्यापिएर एकजनाको मृत्यु

जुम्ला – यहाँको पातारासी गाउँपालिका–१ स्थित डलिगाड ठूलो खोलामा पुरानो

स्पेनविरुद्ध जर्मनी : गोलरहित बराबरीमा सकियो पहिलो हाफ

काठमाडौं – जर्मनीमा जारी १७औँ संस्करणको युरोकप अन्तर्गतको पहिलो क्वाटरफाइनल

अब बन्ने सरकारलाई असफल हुने छुट छैन : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले