प्रधानमन्त्रीज्यू ! भीममायालाई नागरिकता खै ? | Khabarhub Khabarhub

प्रधानमन्त्रीज्यू ! भीममायालाई नागरिकता खै ?

नागरिकता नहुँदा बिजुलीबत्ती बाल्न पाइनन्‌, सुरक्षा भत्ताबाटै वञ्‍चित



मोरङ– १० वर्षको उमेरमा बाबुआमाबाट छुटेर हिमाली जिल्ला गोरखाको दुर्गम छेकम्पारमा गोठालो बन्न पुगेका भोजपुरका प्रकाश तामाङ झण्डै ३३ वर्षपछि भेटिए । वर्षौंपछि भेटिएका प्रकाशलाई नागरिकता दिलाउन आफूले पहल गरेको जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीले फेसबुकबाटै सार्वजनिक गरे ।

गृहसचिव (नवनियुक्त मुख्यसचिव) एकनारायण अर्याल हुँदै ओलीले यसबारे जिल्ला प्रशासन कार्यालय भोजपुरसम्म निर्देशन दिए । हाल नागरिकता पाइसकेका प्रकाशले भोजपुरबाट काठमाडौं आएर प्रधानमन्त्री ओलीलाई भेटिसकेका छन्‌ । प्रकाशका बाबु, कान्छी आमा लगायत एकाघरका परिवार सदस्य भेटिएका छन्‌ ।

पारिवारिक र विविध कारणले नागरिकताविहीन बनेका प्रकाशजस्ता हजारौँ नागरिकले नागरिकता पाउन ‘भाइरल हुनुपर्ने’ र ‘त्यसपछि प्रधानमन्त्रीले निर्देशन दिनुपर्ने हो ?’ भनी प्रश्न उठेको छ ।

जे होस्‌; प्रकाशले नागरिकता पाउँदा आम नेपाली खुशी छन्‌ । प्रधानमन्त्री ओलीलाई उनका कार्यकर्ता र समर्थकले ‘नागरिकता दिलाइदिने पहल गरेको’ भन्दै धन्यवाद दिइरहेका छन्‌ ।

यो सामग्री प्रधानमन्त्री ओलीकै गृहजिल्ला झापाको छिमेकी जिल्ला मोरङ पथरी शनिश्चरे नगरपालिका-९ मा नागरिकता नपाउँदा थप सकस भोगिरहेकी विधवा भीममाया श्रेष्ठमा केन्द्रित छ ।

नागरिकता नहुँदा बिजुली बाल्नै पाइनन्‌

जीवनको उत्तरार्ध ! आफ्नै एकीन उमेर थाहा छैन । सहाराविहीन जीवन जिउन विवश !

मोरङ पथरी शनिश्चरे नगरपालिका–९ रिगुवामा बस्दै आएकी भीममाया श्रेष्ठले खेपिरहेका दुःखका घेरा यत्तिमै टुङ्गिँदैन । यही देशकी नागरिक हुनुको कुनै प्रमाण समेत छैन उनीसँग ।

करिब ६५ वर्षीया भीममायालाई आफनो जन्म मिति नै हेक्का छैन । पति कुलबहादुरको मृत्यु भइसकेकाले हाल उनी बेसहारा जीवन बिताउन बाध्य छिन् । छिमेकी लोकबहादुर कटुवालले बस्नका लागि दिएको पाँचधुर क्षेत्रफलमा सानो छाप्रो बनाएर बसेकी छिन् ।

उनलाई जीवनकालमै आफू नेपाली भएको नागरिकता हेर्न मन छ । श्रीमानले नागरिकता बनाउन पहल नगरिदिँदा अहिलेसम्म उनी नेपाली नागरिक हुन पाएकी छैनन् । नागरिकता नहुँदा यो उमेरमा आएर उनले खाएको हण्डर भनीसाध्य छैन । श्रीमानको नागरिकता प्रतिलिपि भने भीममायासँग सुरक्षित छ ।

‘नागरिकता नहुँदा धेरै दुःख पाइनेरहेछ,’ भीममाया भन्छिन्, ‘बिजुली बाल्न पनि नागरिकता खोज्छन् । टुकी बालेर रात उज्यालो पार्छु । गर्मीमा निसासिँदा हावा खान पनि पाइँदैन । हामीजस्ता गरीबको जीवन समस्या नै समस्यामा बित्दोरहेछ ।’

सहाराविहीन भएकी भीममायालाई अहिले आफू बसेकै ठेगाना राखेर नागरिकता लिने इच्छा छ । नागरिकता प्राप्त गर्नकै लागि उनी वडा कार्यालयदेखि गाउँपालिकासम्म पुगिन् । तर, नियम–कानूनअनुसार नमिल्ने भन्दै वडाबाटै सिफारिस भएको छैन ।

भीममाया भन्छिन्, ‘मेरो पनि ठाउँमा बोलिदिने मान्छे भएको भए नागरिकता पाउथेँ होला ? त्यसपछि त अलिकति भएपनि राहतको सास फर्न सकिन्थ्यो कि !’

सुरक्षा भत्ताबाटै वञ्चित

नागरिकता नभएकै कारण भीममाया सामाजिक सुरक्षा भत्ताबाट समेत वञ्चित छिन् । उनले अहिलेसम्म भोट हाल्न पनि पाएकी छैनन् ।

रिगुवामा बसोबास गर्ने गरेका श्रेष्ठ दम्पती गाउँघरमै रोजीमा काम गर्दै आएका थिए । पाँच वर्षअघि श्रीमान बितेपछि उनी छिमेकीले दिएको घडेरीमा बस्न थालेकी हुन् ।

भीममायाका तीन छोरी छन्, तर विवाह गरेर उनीहरू आ–आफ्नै कर्मघर गइसकेका छन् । पाको उमेरका कारण शारीरिक रूपमा अशक्त हँुदै गएकी भीममाया अहिले चर्खा काटेर घरखर्च जोहो गर्दैछिन् । उनी बस्दै आएको सानो झुपो घरपनि केही समयअघि छिमेकी र सहयोगीले बनाइदिएका हुन् ।

स्थानीयबासी एवम् जग्गादाता लोकबहादुर कटुवालकी बुहारी अञ्जु कटुवालका अनुसार घरमा एक्लै भएका कारण उनको दिनचर्या निकै कष्टकर हुने गरेको छ । पाको शरीर रहेकाले रातबिरात एकान्त स्थानमा एक्लै बस्दा असुरक्षित हुने डर पनि उत्तिकै रहेको उनले बताइन् ।

‘वरिपरि बस्ती छैन, खेतको बीच भागमा एक्लो घर छ,’ अञ्जु भन्छिन्, ‘बुढी आइमाई मान्छेमात्र घरमा एक्लै हुनुहुन्छ । रातबिरात केही भइहाले छरछिमेकमा थाहै हुन्न ।’

जनताले चुनेर पठाएका गाँउपालिकाका जनप्रतिधिहरू पनि यस्ता पीडितप्रति बेखबर जस्तै बनिदिँदा भीममायाको बसोबास र नागरिकता समस्या थप जटिल बनेको उनले बताइन् । भीममायाको नागरिकता बनाउन पहल गरे पनि वडाबाटै महत्व नदिएको आफूले पाएको उनको भनाइ छ ।

‘यहाँ व्यक्तिअनुसार व्यवहार गरिन्छ,’ अञ्जुले भनिन्, ‘कोही व्यक्तिको नाागरिकताको लागि प्रधानमन्त्रीले पहल गर्छन् । कोही नागरिकका लागि पहल गर्दा पनि त्यही विषय कम प्राथमिकतामा पर्छ ।’

आफूले भीममायालाई नागरिकता दिलाउन वडामा पुगेर दुईपटक वडाध्यक्षलाई भनेको, तर स्थानीय सरकारले नै यसबारे सार्थक प्रयास नगरेको उनले बताइन् ।

पथरी शनिश्चरे नगरपालिका–९ का वडाध्यक्ष वीरबहादुर राई भीममायाको नागरिकता बनाउन वडाले पहल गरे पनि नागरिकता प्राप्तिका लागि प्रचलित कानूनअनुसार सनाखत गर्ने मान्छे नभेटिएको बताए ।

‘उहाँ (भीममाया)को श्रीमान बितिसक्नु भएको छ, छोरीहरू भए पनि सम्पर्कमा छैनन्,’ वडाध्यक्ष राई भन्छन्, ‘सनाखत गर्ने परिवारका सदस्य नभेटिँदा नागरिकता सिफारिस गर्न कठिन भयो । तर पनि हामी प्रयासरत छौँ ।’

वडाध्यक्ष राईले वडाबासीले पाउने सेवा सुविधाबाट भने भीममायालाई वञ्चित नगरेको दाबी गरे । भीममायाको नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ताअन्तर्गत एकल महिला भत्ता दिन भने समस्या भएको वडाध्यक्ष राईले बताए ।

सीडीओ भन्छन्– वडाले कागजात पठाए नागरिकता बन्छ

जनप्रतिनिधिले पहल गरिरहेको भने पनि भीममायालाई नागरिकता दिलाउनेबारे वडा कार्यालय पन्छिन खोजेको देखिन्छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले वडाबाट श्रीमानको नागरिकतासहितको डकुमेन्ट (कागजात) आए आफूले प्रक्रिया पुर्‍याएर इलाका प्रशासन कार्यालय उर्लाबारीमा सिफारिस पठाइदिने बताए ।

‘नेपाली नागरिक भएको एकिन हो भने छिमेकीले सनाखत गरिदिए पनि हुन्छ,’ सीडीओ भट्टराईले भने, ‘भुटानी, या सिक्किमे चाहिँ हुनुभएन । नेपाली नागरिक नागरिकता पाउनबाट बञ्चित हुनुपर्दैन ।’

उनले परिवारका सदस्यकै सनाखत आवश्यक नपर्ने र नेपालीको हकमा छिमेकीले सनाखत गर्न कानूनले नरोकेको जानकारी दिए ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  ६ : १० बजे

मरिचका बिरुवा बेचेर मनग्य आम्दानी

गण्डकी- पोखरा महानगरपालिका–२८ स्याङखुदी टारीका किसान सूर्यमोहन बाँस्तोलाले यस वर्ष

गिद्धको सङ्ख्या बढेपछि संरक्षणकर्मी उत्साहित

कञ्चनपुर- सुदूरपश्चिम प्रदेशमा गिद्धको सङ्ख्या विगतको तुलनामा क्रमशः बढ्दै गएको

एसिया कप : आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तानले प्रतिस्पर्धा

राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ बराबरको

जितिया पर्वको निराहार व्रत आज

महोत्तरी– सन्तानको सौर्यवृद्धि र कल्याणको कामना गर्दै मधेसको प्राचीन मिथिला