वैतेश्वरका अध्यक्षले सुनाए उपलब्धि - बाटो निर्माणदेखि अस्पतालका शय्यासम्म ! | Khabarhub Khabarhub

विकासमा वैतेश्वर 

वैतेश्वरका अध्यक्षले सुनाए उपलब्धि – बाटो निर्माणदेखि अस्पतालका शय्यासम्म !


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

दोलखा – पछिल्लो आठ वर्ष अवधिमा दोलखाको वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामा हुन्‌ । उनी स्थानीय तह निर्वाचनमा दुवैपटक अध्यक्ष निर्वाचित हुन् ।

हालसम्मको आफ्नो कार्यकालका जनताका गुनासा सम्बोधन र आवश्यकता पूरा गरेको उनको दाबी छ । उनी भन्छन्‌, ‘जब म अध्यक्षमा निर्वाचित भएँ, मेरो कार्यकालमा वैतेश्वरलाई यस्तो बनाउनेछु भनेर मनमनै नक्सा खिचेँ । पहिलो पटक अध्यक्ष हुँदै गर्दा कसरी यो पालिकाको मुहार फेर्न सकिन्छ भनेर सपना बुन्थेँ ।’

स्थानीयको माग अनुरूपका योजना छनोट गरी शिक्षा, स्वास्थ्य, पर्यटन, खानेपानी, कृषि, बाटोघाटो र पूर्वाधारका कार्यक्रम पनि साथै अगाडि बढेको उनले बताए ।

आफ्नो कार्यकालका उपलब्धिबारे उनले यस्तो दाबी गरे-

ग्रामीण सडक र गोरेटो बाटो पहिलो प्राथमिकतामा

हामीले चुनावका क्रममा गरेका प्रतिबद्धता पूरा गर्दै लगेका छौँ । हामी बोलेर हैन, गरेर देखाउन अघि बढेका छौँ । ग्रामीण सडकलाई पहिलो प्राथमिकतामा राखेर पहिलो चरणमा साँघुरा सडकहरूलाई फराकिलो बनाउँदै वर्षभर नै सवारीसाधन चल्न सक्ने बनायौँ ।

आठ वर्षमा ३४५ किलोमिटर सडक विस्तार गर्दै सडकको गुणस्तर वृद्धिमा जोड दियौँ । भौतिक पूर्वाधारतर्फ आठवटै वडामा पक्की सडक पहुँच पुर्‍याई छोटो समयमै स्वास्थ्य चौकी पुगी सेवा लिने वातावरण सिर्जना गरेका छौँ ।

अहिलेसम्म गाउँपालिकाभित्र करिब २५ किलोमिटर सडक कालोपत्रे तथा ढलान सम्पन्न गरिसकेका छौँ । २७ किलोमिटर पक्की गोरेटो बाटो निर्माण भैसकेको छ । पहिलो कार्यकालमै पालिकाको केन्द्र तोकेर मुख्य प्रशासनिक भवनबाट सेवा प्रवाह गर्‍यौँ । हाल सबै वडाको भवन निर्माण गरेर आफ्नै भवनबाट सेवा प्रवाह भइरहेको छ।

‘एक वडा, एक पक्की सडक’ अभियान अन्तर्गत पालिका केन्द्रलाई जोड्ने उद्देश्यले काम भइरहेको छ । जनताको सुरक्षित पद यात्राको लागी २१४ स्तरीय गोरेटो बाटाहरू निर्माण गरिएको छ । गोरेटो निर्माण हुन नसकेका बाँकी गाउँटोलमा पनि आफ्नो कार्यकालभित्र बाटो पुर्‍याउने लक्ष्य लिएको छु ।

वैतेश्वरका ८५ प्रतिशत बस्तीमा स्वच्छ खानेपानी

गाउँपालिकाले स्वच्छ खानेपानी उपलब्ध गराउन एक घर एक धारा कार्यक्रम अन्तर्गत ८५ प्रतिशत बस्तीमा स्वच्छ खानेपानीको पहुँच पुर्‍याएको छ ।

खानेपानी एक घर एक धारा कार्यक्रम अन्तिम चरणमा पुग्दा यहाँका ८५ प्रतिशत बस्तीमा स्वच्छ खानेपानी तथा सिँचाइ पुगेको छ । बाँकी बस्तीमा आगामी वर्षहरूमा एक घर एक धारा कार्यक्रम पुर्‍याउने योजना बनाएको छौँ।

शिक्षामा छुट्टै पहिचान बनाउन सफल

वि.सं. २०७३ पछि स्थानीय तहबाट सेवा प्रवाहको थालनी गरेको यस गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा व्यवस्था भएबमोजिम आधारभूत तथा माध्यमिक तहको शिक्षाको व्यवस्थापन स्थानीय तहले गर्ने गरेको छ ।

क्षेत्रफलको आधारमा दोलखा जिल्लाकै सबैभन्दा सानो वैतेश्वरले वार्षिक परीक्षाको नतिजा अनुसार आफ्नो छुट्टै पहिचान स्थापित गर्ने सफल भएको छ ।

एसएलसी र एसईई परीक्षामा २०६० देखि हालसम्म यहाँका आठवटा सामुदायिक विद्यालयले जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् । हामीले शिक्षा क्षेत्रको विकासलाई पनि प्राथमिकता साथ अगाडी बढाएका छौँ । विद्यालय सङ्ख्या भन्दा गुणस्तरलाई महत्त्व दिएर विद्यालय समायोजन र दरबन्दी मिलानलाई जोड दिएका छौँ ।

विद्यार्थी खाजा, शिक्षकको वृत्ति विकास, विद्यालयको भौतिक पूर्वाधार विकास, विद्यार्थी छात्रवृत्ति कार्यक्रम सुरु गरेका छौँ । यस पालिकाभित्रका विद्यार्थीहरूलाई प्रोत्साहित गरी डाक्टर उत्पादन गर्न लगानी गरिरहेका छौँ ।

शिक्षा क्षेत्रलाई थप व्यवस्थित बनाउन गाउँपालिकाभित्र कार्यरत कर्मचारी र जनप्रतिनिधिले आफ्नो छोराछोरी अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेका छौँ ।

सोही अनुरूप करिब ८० प्रतिशत कर्मचारी र जनप्रतिनिधिले छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गरिसक्नुभएको छ । हामीले यो निर्णयलाई शतप्रतिशत कार्यान्वयन गराउन खोजिरहेका छौँ । पालिकालाई नागरिकमैत्री बनाउन हरसम्भव प्रयास जारी छ ।

जनप्रतिनिधि र कर्मचारीलाई अझै बढी जिम्मेवार बनाउने काम भइरहेको छ । खेल क्षेत्रमा गाउँपालिकाले लगानी वृद्धि गर्दै वडा, विद्यालय तथा गाउँपालिकामा खेलमैदान निर्माणलाई प्राथमिकता दिएका छौँ । गाउँपालिकाले खेलाडी उत्पादन गर्दै राष्ट्रियस्तरमा चिनाउन विभिन्न खेल कार्यक्रम विद्यालय तथा गाउँपालिका,वडा पालिकामा आयोजना गर्दै आएको छ।

नागरिकको स्वास्थ्यमा पालिकाको चासो 
पालिकाभित्रका आमसमुदायका नागरिकको स्वास्थ्यप्रति पालिकाले चासो दिएको छ । गाउँपालिकाले १५ बेडको वैतेश्वर अस्पतालसँगै सातवटा बर्थिङ सेन्टर निर्माण गरी सेवा गरिरहेको छ । केही वडामा पक्की स्वास्थ्य चौकी भवन निर्माण भइरहेका छन् ।

पालिकाले सामुदायिक स्वास्थ्य इकाई थप गरी कुपोषण मुक्त गाउँपालिका निर्माण गर्ने लक्ष्य राखेको छ । १५ बेडको अस्पतालसहित सबै वडामा सुविधा सम्पन्न स्वास्थ्य चौकी निर्माण सम्पन्न गर्दै स्वास्थ्य सेवालाई थप प्रभावकारी रूपमा अगाडी बढाउने गरी योजना ल्याएका छौँ ।

सुशासनमा कटिबद्ध पालिका

हरेक योजनाका विषयमा सार्वजनिक परीक्षण र हरेक चौमासिकमा गाउँपालिकाको सार्वजनिक सुनुवाइ गर्दै आएका छौँ । गुनासाहरू सुन्ने, नागरिक वडापत्रको प्रभावकारी कार्यान्वयन गर्ने अभ्यास थालेका छौ । ठाउँ–ठाउँमा गुनासो पेटिका राखेका छौँ । गाउँपालिकाबाट वितरण गरिने कार्यक्रम, योजना तथा बजेटको जनप्रतिनिधि तहबाटै अनुगमन गर्ने गरिएको छ।

किसानका उत्पादन बारीदेखि बजारसम्म

वैतेश्वर गाउँपालिकाले तीव्र विस्तार गरेको सडकबाट प्रत्यक्ष लाभ किसानलाई भएको छ । यहाँका किसानले उत्पादन गरेको तरकारी, फलफूल, आलु, लसुन, प्याज तथा अलैँची, किबी, आलु, सुन्तला सागसब्जी र अन्य उत्पादनहरू बिक्री हुन थालेको छ।

जताततैबाट मोटर ल्याउन सजिलो भएपछि व्यापारीहरू किसानको घरमै पुगेर लसुन, किबी, सुन्तला, कुचो, अलैँची, आलु खरिद गर्छन् । पालिकाले किसानलाई उत्पादनमुखी कार्यक्रम ल्याएपछि उत्पादन केही वृद्धि भएको छ ।

वैतेश्वरको यवोमा उत्पादन भएको दूध र आलु सदरमुकाम तथा राजधानी काठमाडौं जान थालेको छ । हामीले कृषि तथा पशुपक्षी प्रवर्द्धन कार्यक्रम अगाडी बढाउने भएका छौँ । कृषि क्षेत्रका विभिन्न योजना बजेटमा समावेश गरेका छौँ ।

किसानलाई दूधमा अनुदान, गाईभैँसी पालक किसानलाई प्रोत्साहन अनुदान प्रदान, बङ्गुर पालक, मौरी पालक, बाख्रा पालक किसान तथा फलफूल खेतीका किसान र तरकारी, आलु, मकै, ड्रागन, किबि खेतीका व्यवसायिक किसानलाई अनुदान दिँदै आएका छौँ । पालिकाको सहयोगले कृषि जनता जगाउँदै लगिएको छ।

सम्पदा नै सम्पत्ति !

सांस्कृतिक तथा पर्यटकीय क्षेत्रमा समुदाय अनुसारका धार्मिक स्थलहरू निर्माण गरिरहेका छौँ ।

नेपालीको पहिचान प्राचीन सम्पदाहरू हुन् । धर्म, संस्कृति र रीतिरिवाज हुन् । मन्दिर तथा गुम्बाहरू धार्मिक आस्थाका केन्द्रहरू हुन् ।

सम्पदाहरूको जगेर्ना गर्न, सम्वर्द्धन गर्न र उत्थान गर्न हामीले पालिकाभित्र १३ वटा बुद्ध मूर्तिहरू निर्माण गरेका छौँ । आठ वडाका भिन्न स्थानमा नौ वटा मठमन्दिरहरू, ६ वटा गुम्बा  र पाँच स्थानमा घाट निर्माण गरिएको छ ।

गाउँपालिकाको पुल कार्यक्रम

गाउँपालिकाले पछिल्लो आठ वर्षमा स्थानीय नागरिकको सहजताको लागि झोलुङ्गे पुल चारवटा र ट्रस पुल तीनवटा निर्माण गरेर वर्षादको बेला खोला तर्दा हुने जोखिमको अन्त्य गरेको छ । बाँकी खोला– खोल्सामा पनि पुल निर्माण गर्ने योजना छ ।

सूचना प्रविधिमा अब्बल बनाउने प्रयास

यस गाउँपालिकाले पछिल्लो आठ वर्षमा सूचना प्रविधिमा ठूलो फड्को मारेको छ ।

पालिका भित्रका सबै सरकारी तथा सार्वजनिक कार्यालयमा डिजिटल ई–हाजिरी, सीसीटीभी जडान, डिजिटल बोर्ड, गाउँका विद्यालयमा इन्टरनेटदेखि नागरिकलाई पालिकाको गतिविधि र विकाससँग जोड्न तथा सूचना प्रवाह गर्न स्थानीय रेडियो स्थापनासमेत गरेका छौँ ।

(वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामासँग सुबास बस्नेतले गरेको कुराकानीमा आधारित ।)

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ९ : ०३ बजे

पठन संस्कृतिले बौद्धिक चेतना, ज्ञान र सूचना प्राप्त हुन्छ : सभामुख घिमिरे

काठमाडौं – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पठन संस्कृतिले व्यक्तिको चेतना,

सुदूरपश्चिमका बिरामीलाई निःशुल्क रगतको सुविधा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले सबै सरकारी अस्पतालमा उपचार गर्ने

लिङदेन नेतृत्व असफल भएको राप्रपा शीर्ष नेताको निष्कर्ष, पूर्वराजा पनि असन्तुष्ट

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्व

२०२४ मा टाटा पन्च भारतमा सर्वाधिक बिक्री हुने कार बन्यो

काठमाडौं – २०२४ मा भारतमा सबैभन्दा धेरै बिक्री हुने कार

क्याम्पस प्रमुखको दौडमा रहेका प्राध्यापकलाई ‘बौद्धिक चोरी’ आरोप

काठमाडौं- सानोठिमी क्याम्पसक प्रमुखको दौडमा रहेका एकजना प्राध्यापकलाई बौद्धिक चोरीको