नयाँ दिल्ली- प्रधानमन्त्री वालेन्द्र शाहको दुईदिने औपचारिक भारत भ्रमणका क्रममा नेपाल र भारतले सोमबार संयुक्त प्रेस वक्तव्य जारी गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नोभेम्बर २२ देखि २३ सम्म उच्चस्तरीय प्रतिनिधिमण्डलसहित भारत भ्रमणमा रहेका प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच द्विपक्षीय सहयोग, क्षेत्रीय तथा वैश्विक मामिलाका विविध विषयमा विस्तृत छलफल भई महत्त्वपूर्ण सहमतिहरू भएका छन् ।
पदभार ग्रहण गरेपछिको आफ्नो पहिलो विदेश भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका प्रधानमन्त्री शाहलाई राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ सहित राजकीय सम्मान प्रदान गरिएको थियो । भ्रमणका क्रममा उनले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गर्नुका साथै भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गरे । यस्तै, भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले पनि प्रधानमन्त्री शाहसँग भेट गरेका थिए ।
वार्ताका क्रममा प्रधानमन्त्री शाहले रसुवा–भोटेकोशीमा आएको विनाशकारी बाढीपछिको उद्धार, पुनर्निर्माण तथा मानवीय र प्राविधिक सहयोगका लागि भारत सरकारप्रति आभार व्यक्त गरे । प्रत्युत्तरमा भारतीय प्रधानमन्त्री मोदीले नेपालको विकास यात्रामा भारतको अटुट साथ रहने प्रतिबद्धता जनाउँदै नेपालका लागि २४० अर्ब नेपाली रुपैयाँ (१५ हजार करोड भारतीय रुपैयाँ) बराबरको विकास सहायता प्याकेज घोषणा गरेका छन् ।
यस प्याकेजअन्तर्गत विपद्पछिको पुनर्निर्माण र नयाँ पूर्वाधार परियोजनाका लागि ५६ अर्ब नेपाली रुपैयाँ (३ हजार ५०० करोड भारु) अनुदान र ऊर्जा क्षेत्रका परियोजनाका लागि १८४ अर्ब नेपाली रुपैयाँ (११ हजार ५०० करोड भारु) सहुलियतपूर्ण ऋण (लाइन अफ क्रेडिट) उपलब्ध गराइनेछ । साथै, भारतको अनुदान सहयोगमा चितवनमा ‘कृषि–औद्योगिक पार्क’ (एग्रो–इन्डस्ट्रियल पार्क) निर्माण गर्ने घोषणासमेत गरिएको छ ।
दुवै देशका प्रधानमन्त्रीले भविष्यमुखी साझेदारीको मार्गचित्र कोर्दै ‘विकसित भारत र समुन्नत नेपाल’ को संयुक्त दृष्टिकोण (ज्वाइन्ट भिजन) पारित गरेका छन् । यसअन्तर्गत परम्परागत विकास साझेदारी, कनेक्टिभिटी, ऊर्जा र जलस्रोतका साथै जलवायु उत्थानशीलता, विपद् व्यवस्थापन, खेलकुद, स्टार्टअप, डिजिटल सेवा, अन्तरिक्ष र नवप्रवर्तनका क्षेत्रमा सहकार्य विस्तार गरिनेछ । शैक्षिक तथा प्राविधिक विकासका लागि भारतले नेपालमा ‘आईआईटी’ (इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी) को अन्तर्राष्ट्रिय क्याम्पस स्थापना गर्ने सहमति भएको छ ।
भ्रमणका क्रममा सीमापार कनेक्टिभिटी र व्यापार सहजीकरणमा महत्त्वपूर्ण निर्णयहरू भएका छन् । नेपालको पारवहन व्यापारका लागि भारतको गुजरातस्थित दीनदयाल बन्दरगाह (काण्डला) को सुविधा उपलब्ध गराउने घोषणा भएको छ भने आवश्यक पूर्वाधार तयार भएपछि ओडिशाको पारादीप बन्दरगाहको पहुँचसमेत दिइनेछ । हवाई सम्पर्क विस्तारका लागि हाल एकतर्फी रहेको काठमाडौं–भैरहवा–लखनऊ (बी–३४५) हवाई रुटलाई दुईतर्फी बनाउन दुवै पक्ष सहमत भएका छन् ।
रेल तथा सडक सञ्जाल विस्तारअन्तर्गत दुवै प्रधानमन्त्रीले अयोध्या र जनकपुरधामबीच चल्ने ‘सरयू–कमला एक्सप्रेस’ रेल सेवाको संयुक्त रूपमा शुभारम्भ गरे । यसले रामायण सर्किटको धार्मिक पर्यटन प्रवर्द्धन गर्ने विश्वास लिइएको छ । साथै, बौद्ध र शिव–शक्ति सर्किट जोड्न यस्तै रेल सेवाको सम्भावना खोजिने सहमति भएको छ ।
प्रस्तावित रक्सौल–काठमाडौं विद्युतीय ब्रोडगेज रेलमार्गको ‘फिल्ड लोकेसन सर्भे’ सम्पन्न भएको घोषणा गर्दै नेपालको पूर्व–पश्चिम रेलमार्ग विकासमा समेत सहकार्य गर्ने सहमति जुटेको छ । यस्तै, नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने नयाँ मोटरेबल पुलको उद्घाटन गरिएको छ भने वनबासामा नयाँ एकीकृत जाँच चौकी (आईसीपी) को भर्चुअल शिलान्यास गरिएको छ ।
ऊर्जा तथा जलस्रोतका क्षेत्रमा पनि महत्त्वपूर्ण प्रगति भएको छ । मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको परियोजना नेपाललाई हस्तान्तरण गरिएको छ भने झापामा पेट्रोलियम टर्मिनलको भर्चुअल शिलान्यास गर्दै सिलिगुडी–झापा पाइपलाइनको काम छिट्टै सुरु गर्ने सहमति भएको छ । दुवै देशबीच ग्यास पाइपलाइन निर्माणको सम्भावना अध्ययन गरिने भएको छ । जलविद्युत्तर्फ ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको भर्चुअल शिलान्यास गरिएको छ ।
पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) छिट्टै टुंग्याएर कार्यान्वयनमा लैजान तथा सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय आयोजनाको डीपीआर कार्यलाई तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिइएको छ । इनरुवा–न्यु पूर्णिया र दोदोधारा–बरेली उच्च क्षमताका प्रसारण लाइन निर्माणका लागि संयुक्त उपक्रम (जेभी) गठन प्रक्रियाप्रति दुवै पक्षले सन्तुष्टि व्यक्त गरेका छन् ।
सीमा स्तम्भहरूको मर्मतसम्भारमा भएको प्रगतिको प्रशंसा गर्दै दुवै प्रधानमन्त्रीले बाँकी रहेका सीमासम्बन्धी विषयहरू समाधान गर्न दुवै देशका परराष्ट्र सचिवहरूलाई निर्देशन दिएका छन् । यस्तै, एक अर्काको देशमा बसोबास गर्ने नागरिकहरूका लागि बैंकिङ र दूरसञ्चार सेवामा सहज पहुँच दिलाउन सहजीकरण गर्ने सहमति भएको छ ।
भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्र (एमओयू) आदानप्रदान भएका छन् । जसमा नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग र भारतको नेसनल फरेन्सिक साइन्सेस युनिभर्सिटीबीच शैक्षिक तथा अनुसन्धान सहकार्य, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र भारतको राष्ट्रिय रक्षा विश्वविद्यालयबीच सहकार्य, नेपाली निजामती कर्मचारीको क्षमता अभिवृद्धि तालिम, आयुर्वेद तथा परम्परागत चिकित्सा पद्धतिमा सहकार्य, दक्षिण एसियाली भूउपग्रहको उपयोगका लागि ‘स्याटकम’ नेटवर्क स्थापना, दिगो सहरी विकासमा प्राविधिक सहकार्य, स्वास्थ्य तथा औषधि क्षेत्र र पशुपन्छी तथा मत्स्य विकासमा सहकार्यसम्बन्धी सम्झौताहरू सामेल छन् ।
प्रधानमन्त्री शाहले न्यानो आतिथ्यका लागि समकक्षी मोदीप्रति आभार व्यक्त गर्दै नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिएका छन् । भारतीय प्रधानमन्त्री मोदीले निमन्त्रणा स्वीकार गरेका छन् र कूटनीतिक माध्यमबाट भ्रमणको मिति तय गरिने संयुक्त वक्तव्यमा उल्लेख छ ।




















प्रतिक्रिया