महेन्द्रमाला घोकेका गणतन्त्रवादीहरु | Khabarhub Khabarhub

महेन्द्रमाला घोकेका गणतन्त्रवादीहरु



अंकहरूको घर सल्लाह चल्दै थियो। कुनै कुरामा चित्त नबुझेर ९ ले बायाँ तर्फको ८ अंकलाई एक थप्पड हान्यो। ८ ले सोध्यो – मलाई अनाहकमा किन कुटेको ?
९ ले भन्यो – म तिम्रो दाजु हुँ, तिमीभन्दा ठूलो छु, मैले कुट्न पाउँछु।

यस्तो तर्क सुनेर ८ ले ७, ७ ले ६ गर्दै गएर अन्तमा २ ले १ लाई थप्पड हान्यो। उनीहरू सबैले एकै ढङ्गले आफू सिनियर र ठूलो भएको दाबी गरे।

अब १ को पालो आयो। तर उसले ० लाई थप्पड हानेन, बरु उसको बायाँतर्फ गएर उभियो। ० त्यसपछि ० रहेन। दुवै मिलेर १० भए जो सबैभन्दा ठूला थिए।

० ले अचम्म मान्दै १ लाई सोध्यो – सबै ठूला भन्नेले आफ्ना जुनियरलाई कुट्दै आए तर तिमीले मलाई कुटेनौ, बरु मेरो मान बढाइदियौ, किन ?

ठूलो र महान उ होइन, जसले ठूलो हुँ भन्दै आफै दशतिर घोषणा गर्दै हिँड्छ, घमण्ड गर्छ। वास्तविक ठूलो र महान त त्यो हो, जसले आफू एक्लै ठूलो हुन खोज्दैन, अरूलाई पनि आफूसँगै ठूलो र महान बनाउँछ।

१ ले बडा मूल्यवान जवाफ दिँदै भन्यो – भाइ, ठूलो र महान उ होइन, जसले ठूलो हुँ भन्दै आफै दशतिर घोषणा गर्दै हिँड्छ, घमण्ड गर्छ। वास्तविक ठूलो र महान त त्यो हो, जसले आफू एक्लै ठूलो हुन खोज्दैन, अरूलाई पनि आफूसँगै ठूलो र महान बनाउँछ।

यो हिसाब किताबको बिम्ब नेपालको शक्तिकेन्द्रमा भलीभाँती देखिन्छ। राजा महेन्द्रका अंगरक्षक गोपालबहादुर खत्रीले आफ्ना छोरालाई सेनाको मुखिया बनाउने सपना देखेरै हुनुपर्छ, नामै राखिदिए- रमिन्द्र, राजेन्द्र, रतिन्द्र। जुन नाम राजामहाराजा वीरेन्द्र, ज्ञानेन्द्र र धिरेन्द्रको शब्द अलंकारसँग निकट थियो। दरबारिया राजनीति नजिकबाट बुझेका गोपालबहादुर खत्रीले सन्तानको नाम युवराजहरुको प्रकृतिकै राख्नु संयोग मात्र थिएन। गोपालबहादुरका पिता बलेन्द्रबहादुर खत्री सेनाकै मेजर थिए। सैनिक पृष्ठभूमिको यो परिवारको आकांक्षा तीन सन्तान सेनापति हुनुपर्छ भन्ने थियो। त्यो तिर्खा आंशिक रुपमा राजेन्द्रबहादुरले मात्र पूरा गरे।

राजा महेन्द्रले छोरालाई मात्र हैन, आफ्नै करेसाबारी अघिल्तिर घरबासको व्यवस्था गरिदिएर छोरीलाई अंश दिने चलन विधिवत बीजारोपण गरे। राजाका हरेक कर्म लालमोहरसरह हुने गर्थ्यो। यही विरासत संस्कृति बन्दै जाँदा बक्सिस र तदर्थवादको माखेसाङ्लोबाट राजनीति, निजामती, सेना, पुलिस र न्यायसेवा अहिलेसम्म मुक्त हुन सकेको छैन। चिनेको र किनेको बीच अनौठो रसायन मिलेपछि पेशागत मर्यादा र स्वधर्मका विषय दन्त्यकथा बन्दै गएका छन्।

खरिदार कृष्णप्रसाद कोइरालाका तीन छोरा मातृका, बीपी र गिरिजाप्रसाद संयोगले प्रधानमन्त्री भएपछि कोइराला परिवारका शुभचिन्तक दाहाल परिवारमा अर्को सपना रोपियो। फलस्वरुप दुई भाइ विश्वनाथ उपाध्याय, केदारनाथ उपाध्याय प्रधानन्याधीश भए। अर्का भाइ बैजनाथ उपाध्यायको सपना सर्वोच्च अदालतको न्यायाधीशमै पूर्णविराम लाग्यो।

सन्काहा युवराज राजेन्द्रको कमजोरीमा खेल्न सुरु गरेका महत्वाकांक्षी जंगबहादुरले अवसरको सिंढी यसरी उपयोग गरे कि आफ्ना छोरी राजामहाराजाको बुहारी बनाए। राजाकै सम्धी भएपछि के थियो, नाम अगाडि श्री ३ लेखिदिए। उनको जीवन पूर्वाद्धको इतिहास यति सकसपूर्ण थियो कि बाह्रमासे जुवाडे जंगबहादुर सुत्केरी पत्नीलाई खानाको बन्दोबस्त मिलाउन नसक्दा प्राणान्त भएको थियो। पत्नी बितेपछि साली माग्न गएका उनलाई ससुराले नामर्द भनेर खेदेका थिए। अरु त अरु नेपालको सबैभन्दा पुरानो पार्टी प्रजापरिषद्का नेताहरु राजा त्रिभुवनले पार्टी चलाउन दिएको खर्च घरायसी मामलामा खर्च गरेपछि पार्टीभित्र फाटेको धाँजाका आफ्नै कथाव्यथा छन्।

हुँदाहुँदा नेपाल मात्र त्यस्तो देश हो, जहाँ राजश्व तिर्न पनि विचौलियाको भरथेग चाहिन्छ। राज्यको संयन्त्र कागज चिन्छ, काम चिन्दैन। कर्मचारी सेवाग्राही चिन्दैनन, विचौलिया चिन्छन्।

एउटा समय थियो- हरेक मानिसले आफ्नो सुरक्षाको लागि धनुकाँडा बोक्थ्यो। कोही गुलेली बोक्थे। कोही तीर उध्याउँथे। निशस्त्र महिलाहरु केही नहुँदा पनि दुवै औंलामा नङ पाल्थे। खुर्सानीको धुलो बोक्थे। समय परिवर्तनसँगै ओहोदा र सामर्थ्य हेरेर मानिसहरु भरुवा बन्दुक राख्न थाले। राज्यले आत्मसुरक्षाका यी उपाय आफूले मिलाउने ढाड्स दिँदै हातहतियार नियन्त्रणमा लियो।

राज्यले जनताको शरीरमा घात हुन नदिने वचन दिएपछि जनता आश्वस्त भए। तर संगठित हुन नसक्ने जनताको प्रकृतिमाथि राज्यको नाममा यस्तो कपटपूर्ण खेल खेलियो कि कानुनमा नलेखिएका खेलबाट जनता आहत हुन थाले। जनताले पाउने सुरक्षा चाकरीको माध्यम बन्यो।

दर्ता चलानीको काम समेत शुभलाभ विना नहुने दिन आए। हुँदाहुँदा नेपाल मात्र त्यस्तो देश हो, जहाँ राजश्व तिर्न पनि विचौलियाको भरथेग चाहिन्छ। राज्यको संयन्त्र कागज चिन्छ, काम चिन्दैन। कर्मचारी सेवाग्राही चिन्दैनन, विचौलिया चिन्छन्। राज्यले दिने पारिश्रमिक हाजिरीको, काम लागि अतिरिक्त असुली अघोषित नियम हो।

राजा त्रिभुवनलाई त्रास देखाइ दिल्ली भगाएर चार वर्षे बच्चोलाई राजा बनाउनेदेखि लिएर प्रचण्डलाई तिलस्मी देवदूतका रुपमा अवतरण गराई डेढ दशक बीचमा नाङ्गेझार बनाउन प्रकारान्तरमा एउटै प्रवृत्तिले भूमिका खेलेको छ। महेन्द्रमाला कण्ठ गरेका महेन्द्र विरोधीहरुले संघीयतालाई आफ्ना हलीहरु व्यवस्थापन गर्ने सुरक्षित अखडा बनाएका छन्। जब उनीहरुको यस प्रवृत्तिको विरोध हुन्छ, तत्काल लोकतन्त्रमा कालो बादल लाग्न सुरु भइहाल्छ।

महेन्द्रमाला कण्ठ गरेका महेन्द्र विरोधीहरुले संघीयतालाई आफ्ना हलीहरु व्यवस्थापन गर्ने सुरक्षित अखडा बनाएका छन्। जब उनीहरुको यस प्रवृत्तिको विरोध हुन्छ, तत्काल लोकतन्त्रमा कालो बादल लाग्न सुरु भइहाल्छ।

पछिल्लो समय हेर्ने हो भने ज्ञानेन्द्रलाई देवत्वमा आरुढ गराएर अन्ततः सन्यासी बनाउने लोकमान र गिरिजाप्रसाद कोइरालालाई सन्काएर सम्पूर्ण निजामती प्रशासनमा राजनीतिको विषवृक्ष रोप्ने निजामती सेवाका हेडसर भोजराज घिमिरे चरित्रका कारण सामाजिक मनोविज्ञान नै आँधीमा परेको डुंगाजस्तो भइरह्यो। त्यसैको परिणाम नेपालको निजामती प्रशासनभित्रका २५ प्रतिशत ट्रेड युनियन, २५ प्रतिशत तर्दथवाद, २५ प्रतिशत अख्तियार, कानुनको त्रास देखाइ हाजिर गरेर जागिर पचाइरहेका छन्। बाँकी २५ प्रतिशतले धानेको सरकारी सेवा कस्तो होला, आफैं अनुमान लगाउन सकिन्छ।

भ्रष्टाचार, अनाचार, व्यभिचार किन मौलाउँदैछ भनेर त्यसको ओखती खोज्नु साटो सरकारी निकाय नै को बढी ‘तोरी लाउरे’ देखिने भनेर प्रतिस्पर्धा चल्न थालेको छ। संसदका समितिहरु हिन्दी सिनेमाका जुँगे तसिल्दारजस्ता भएका छन्। यतिका राजनीति उहापोह हुँदा पनि मोटाउनु र सुन्निनु एउटै होइन भन्ने चेत राजनीतिकर्मीमा आएन। फूलपाती लिएर पूजा गर्न जाने कार्यकर्ताको हात शीर्ष आएन। कथित माओवादी युद्ध सफल पार्न हजारौंले बलिदान दिएको स्थायी रेकर्ड राखेका माओवादी नेताहरुलाई थाहा छ छैन, ती ठाउँका जिल्ला अदालतले गरेको आधा फैसला सम्बन्ध विच्छेदका छन्।

एकातिर आइफोन पुस्ताको प्रवेश, अर्कातिर सिमसिमे राजाको सोच भएका नेताको सामञ्जस्य नमिल्दा राजनीतिक व्याकरण वर्षौंदेखि गोलचक्करमा फसेको छ। विकासमा कालिकोटको कुरा गर्दा थानकोट र पेटीको कुरा गर्दा केटी भनेर बुझ्ने देशका सारथिहरुले आफूलाई परिवर्तनसँग कहिल्यै रुपान्तरण गरेनन्।

विकासमा कालिकोटको कुरा गर्दा थानकोट र पेटीको कुरा गर्दा केटी भनेर बुझ्ने देशका सारथिहरुले आफूलाई परिवर्तनसँग कहिल्यै रुपान्तरण गरेनन्।

एकचोटी दश वर्षीय बालकले महात्मा गान्धीसँग गएर सोध्यो- तपाईं सर्ट किन लगाउनु हुन्न ? यदि सर्ट छैन भने म मेरी आमासँग मागेर ल्याइदिउँ ?

गान्धीले हाँस्दै जवाफ दिए- ‘तिमीले मलाई एउटा सर्ट दियौ भने मेरा भाइहरु त्यो सर्टका लागि मसँग झगडा गर्नेछन्।’ बालकले फेरि थप्यो- ‘त्यसो भए तपाईंका भाइहरुलाई पनि एक एकवटा सर्ट दिउँला नि। कति भाइ छन् ?’

गान्धीले बालकलाई चुम्दै भने- ‘चार करोड।’

देश के हो ? यसको उत्तर शरणार्थीहरुलाई थाहा छ। एक गिलास पानीको मूल्य कति हुन्छ ? मरुभूमिमा धापिएको व्यक्तिले भन्न सक्छ। मानिस आउनु जानु प्रक्रिया हो। मृत्युका अगाडि एक्लो सत्य भएर उभिन्छु भन्नु भ्रम शिवाय केही होइन। गल्ती गर्नु जति निरपराध हो, गल्ती दोहोर्याउनु चाहिँ अक्षम्य अपराध हो। अब त गल्तीका पनि धेरै चाङ लागिसके। खालखालका प्रयोगले देश छिद्र भइसक्यो। भो अब दाउपेच बन्द गरौं। धेरै हदसम्म देश चलाउने मियो बनेको राजनीति सङ्लिनु पर्छ। त्यसपछि चिन्ता हैन, चिन्तनको सुन्दर बिउँ तमाम देशबासीमा छर्नुपर्छ।

देश के हो ? यसको उत्तर शरणार्थीहरुलाई थाहा छ। एक गिलास पानीको मूल्य कति हुन्छ ? मरुभूमिमा धापिएको व्यक्तिले भन्न सक्छ। मानिस आउनु जानु प्रक्रिया हो। मृत्युका अगाडि एक्लो सत्य भएर उभिन्छु भन्नु भ्रम शिवाय केही होइन।

एकरातमा एउटा बसले छिचोल्ने सानो मुलुक बन्न कतिबेर लाग्छ र ? कसैले बनाउन सक्दैन भने उसलाई भत्काउने अधिकार पनि त हुँदैन। यसका लागि आफूबाहेक सबै बेठिकको मानसिकता भने जरैदेखि उखालेर मिल्काउन जरुरी छ। नविर्सौ देश बनाउनु भनेको उच्च मनबोलको वृद्धि हो। उत्साह विना संसारमा कहाँ पो विकास भएको छ र ? तर यहाँ सर्वत्र आँसु बेच्ने होड छ। यदि आँसुको स्वाद गुलियो हुन्थ्यो भने हरेकका सिरानी कमिलाको गुँड बन्थ्यो होला।

युधिष्ठिर र यक्षको संवादमा यक्षले सोधेका थिए- पृथ्वीभन्दा ठूलो, आकाशभन्दा उँचो, वायुभन्दा चाँडो हिँड्ने र घाँसभन्दा धेरै के हुन्छ ?

युधिष्ठिर- पृथ्वीभन्दा ठूलो माता हुन्। आकाशभन्दा उँचो बाबु हुन्। वायुभन्दा चाँडो हिँड्ने मन हो। घाँसभन्दा बढ्ता हुने चिन्ता हो। लोभ शरीरको सबैभन्दा ठूलो अन्तर रोग हो।

मुखबाट बोली निकाल्नुअघि एकपटक सोच्नुस। लेख्नुअघि दुईपल्ट सोच्नुस। केही काम गर्नुअघि तीनपल्ट सोच्नुस्। सधैं हेक्का राख्नुस- घमण्डले मान्छे फुल्न सक्ला तर फैलिन सक्दैन।

अन्यायले आर्जेको धन दश वर्ष मात्र रहन्छ। एघारौं वर्ष लागेपछि मूलै नासिएर जान्छ। मुखबाट बोली निकाल्नुअघि एकपटक सोच्नुस। लेख्नुअघि दुईपल्ट सोच्नुस। केही काम गर्नुअघि तीनपल्ट सोच्नुस्। सधैं हेक्का राख्नुस- घमण्डले मान्छे फुल्न सक्ला तर फैलिन सक्दैन। जो मान्छेसँग धनबाहेक अरु केही छैन नि, त्यो भन्दा महादरिद्र संसारमा अरु कोही हुँदैन।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ९ : ०० बजे

उत्तरगङ्गाले बगाएका रामबहादुर मृत भेटिए

बागलुङ – उत्तरगङ्गा नदी तर्ने क्रममा बेपत्ता भएका रामबहादुर विक

देशभरका नौ सडकखण्ड अवरुद्ध, एक सय ५९ एकतर्फी सञ्चालनमा

काठमाडौं – बाढीपहिरो तथा अन्य कारणबाट मुलुकभरका नौवटा सडकखण्ड पूर्ण

रसियन टोलीसँगको दोस्रो खेलमा पनि नेपाल पराजित

काठमाडौं – नेपाली महिला राष्ट्रिय भलिबल टोलीले दोस्रो मैत्रीपूर्ण खेलमा

सर्वोच्चमा महिला प्रहरीमाथि अभद्र व्यवहार गर्ने पक्राउ

काठमाडौं – सर्वोच्च अदालतमा महिला प्रहरीलाई अभद्र व्यवहार गर्ने एक

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानको पार्टी मुख्यालयमा छापा

इस्लामाबाद – सैन्य समर्थित सरकारले राजनीतिक आन्दोलनमा प्रतिबन्ध लगाउने वाचा