प्रचण्डको चक्रब्यूहमा एमाले सफल, कांग्रेसलाई धोका | Khabarhub Khabarhub

प्रचण्डको चक्रब्यूहमा एमाले सफल, कांग्रेसलाई धोका



काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री भएको १ वर्ष १ महिना ११ दिनमा पुनः तेस्रोपटक गठबन्धन परिवर्तन गरेका छन् । नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीसमेत चार दलको समर्थनमा नयाँ सरकार बनेको छ । विना विभागका तीन मन्त्रीले सोमबार नै शपथ लिएका छन् ।

नयाँ गठबन्धनमा हालसम्म प्रचण्डको समर्थनमा चार दलका १४२ सांसद छन् । नेकपा एमाले ७७, माओवादी ३२, रास्वपा २१ र जसपा १२ गरेर १४२ मत प्रचण्डको पक्षमा छ । यो भनेको स्पष्ट बहुमत हो । साथै एकीकृत समाजवादीको १० मत पनि प्रचण्डको पक्षमा रहने धेरैले आँकलन गरेका छन् । यसो हुँदा उनको पक्षमा १५२ मत पुग्छ ।

विपक्षतर्फ हेर्दा कांग्रेस र राप्रपासहित १ सय १७ मत देखिन्छ । पाँच स्वतन्त्रलाई कुनै पक्षमा गनिएको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो पटक विश्वासको मत प्राप्त गर्दा ०७९ चैत ६ गते पक्षमा १७२ र विपक्षमा ८९ मत खसेको थियो । यस्तै दिन्नँ भन्नेमा एक मत खसेको थियो ।

प्रचण्डले ०७९ पुस २६ मा भने कांग्रेस र एमालेसहित २६८ मत पाएका थिए । त्यो बेला दुईजनाले मात्र विपक्षमा मत हालेका थिए ।

गठबन्धन फुटाउन एमाले सफल

नेकपाको बहुमत भएकै बेला ०७४ सालमा नेकपाको एकल बहुमतमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका थिए । तर ०७७ पुस ५ मा उनले काम गर्न नदिएको भन्दै संसद् विघटन गरेका थिए । त्यसपछि ओली र दाहालबीच द्वन्द्व नै चल्यो । त्यसयता ओली नेतृत्वमा एमाले २ वर्ष सरकार बाहिरै बस्यो ।

२०७९ को निर्वाचनमा पनि ओली प्रतिपक्षी भएर निर्वाचन लडे । तर, २०७९ पुस १० गतेपछि भने एमाले फेरि माओवादीसहितको गठबन्धन सरकारमा सामेल भयो । तर, त्यो गठबन्धन ०७९ फागुन १३ गते राष्ट्रपति निर्वाचनमा पुगेर टुट्यो । कारण थियो– राष्ट्रपतिमा एमाले उम्मेदवार सुवास नेम्वाङलाई नसघाएर माओवादीले कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई मत दिनु ।

राष्ट्रपतिको निर्वाचनपछि एमालेले फागुन १३ गते नै सरकार छाडेको थियो । त्यसपछि राप्रपा र रास्वपाले पनि सरकार छाडे भने सरकारमा कांग्रेसको प्रवेश भयो ।

एमाले प्रतिपक्षमा बसेको १ वर्ष ८ दिनपछि पुनः सरकारमा सामेल भएको छ । उसले ३२ सिटको माओवादीलाई प्रधानमन्त्री स्वीकार गरेर सत्तामा सामेल भएको छ । जसका लागि एमालेले पहिलो चरणमा पर्वतका सांसद पदम गिरीलाई सरकारमा पठाएको छ । अन्ततः एमाले गठबन्धन भत्काएर सरकारमा जान सफल भएको छ ।

एमाले अध्यक्ष ओलीले पटक–पटक आफ्नो भाषणमा ०८४ सम्म सरकारमा एमाले नजाने भनेका थिए । तर, एमालेमा सत्ता लिप्सा हाबी भएको कांग्रेस नेता बद्री पाण्डेको आरोप छ ।

एमाले नेताहरु भने यो स्वीकार गर्न तयार छैनन् । एमाले उपाध्यक्ष ईश्वर पोखरेलले एमाले सरकारमा जानु देशको आवश्यकता भएको बताएका छन् । उनले खबरहबँग भने, ‘सातदलीय गठबन्धनले जनताको आवश्यकता अनुसार काम गर्न नसकेपछि एमाले सरकारमा जानैपर्ने भयो ।’

एमाले उपमहासचिव प्रदीप ज्ञवाली एमालेले देशको आवश्यकता अनुसार काम गर्ने बताउँछन् । उनले खबरहबसँग भने, ‘हामीलाई जनता र देशले डो¥याएर सरकारमा लग्यो ।’

प्रदेशमा तरंग

यसैवीच केन्द्रमा गठबन्धन परिवर्तन भएसँगै प्रदेश सरकारमा पनि राजनीतिक अस्थिरता देखिने भएको छ । प्रदेशमा आलोपालो मुख्मन्त्री चलाउने एमाले र माओवादीका नेताहरुवीच सहमति भएको माओवादी नेता देवेन्द्र पौडेलले सञ्चारमाध्यममा प्रतिक्रिया दिएका छन् ।

एमालेले कोशी, लुम्बिनी र बागमती गरी तीन प्रदेशको मुख्यमन्त्री आफूले पाउनुपर्ने माग गरेको छ । कोशी प्रदेशमा एमालेको ४० सिट छ भने माओवादीको १३ सिट छ । बागमतीमा एमालेको २७ र माओवादीको २१ सीट छ । यस्तै गण्डकीमा एमालेको २२ र माओवादीको ७ छ ।

लुम्बिनीमा २९ र माओवादीको ९ छ । कर्णाली माओवादीको १३ र एमालेको १० सिट छ । सबैभन्दा धेरै एमालेको कोशी प्रदेश सभामा सिट छ । यस्तै दोस्रोमा लुम्बिनी र तेस्रोमा बागमतीमा छ ।

माओवादीलाई सधैँ फलिफाप

नेकपा माओवादी केन्द्र २०६४ सालबाट जहिल्यै सरकारमा छ । २०६४ मा भएको संविधानसभाको निर्वाचनपछि पहिलो दल बनेर सत्ताको बागडोर सम्हाल्न थालेको माओवादी त्यसपछि निरन्तरजसो प्रचण्डको चलाखीकै कारण सरकारमा छ ।

माओवादी फुटेर टुक्रा–टुक्रा भए पनि पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरिरहेको माओवादी केन्द्रलाई सरकारमा बस्न भाग्यले साथ दिइरहेको छ । बहुमत ल्याएका बेला एकल रूपमा र नभएका बेला गठबन्धन गरेर पनि माओवादीले सरकार छाडेको छैन ।

प्रचण्ड बेलाबखत भाषणमा भन्छन्– हरेक संकटमा माओवादीले नै देशको नेतृत्व गरिरहेको छ । त्यो जिम्मा मलाई नै जुरेको हुन्छ । मान्छेहरू मलाई अस्थिर देख्छन्, तर म आफूलाई गतिशील मान्छु ।

हालसम्म माओवादीका नेताहरू ११८ पटक मन्त्री बनेका छन् । एकै व्यक्ति धेरै पटक दोहोरिएकाले मन्त्रीको अवसर पाउने नेताको संख्या भने योभन्दा थोरै अर्थात् ८२ जना छ । सोमबार माओवादीका हितबहादुर तामाङ मन्त्री भएपछि यस अवधिमा माओवादीबाट मन्त्री हुनेको संख्या ८३ पुगेको छ ।
पार्टीगत हिसाबले माओवादीले चारपटक प्रधानमन्त्री बन्न पाएको छ। प्रचण्ड मात्रै २०६५, २०७३ र २०७९ गरी तीन पटक प्रधानमन्त्री बनिसकेका छन् भने ०६८ सालमा डा. बाबुराम भट्टराई प्रधानमन्त्री बनेका थिए । भट्टराई २०७२ असोज ९ गते पार्टी परित्याग गरी माओवादीबाट बाहिरिए ।

माओवादीको सत्तारोहणबारे महासचिव देव गुरुङ भन्छन्, ‘यो देशको आवश्यकतामा निर्भर पर्छ । हामीलाई जनता र दलहरूले नै आवश्यक ठान्नुहुन्छ । अहिलेको आवश्यकता भनेको सङ्क्रमणकालीन न्यायसम्बधी विधेयक र अन्य राजनीतिक मुद्दाहरु टुंग्याउने हो । यसलाई अल्झाइराखेपछि पीडितले न्याय पाएनन् ।’

गुरुङका अनुसार राजनीतिक मुद्दा टुंग्याएर जान खोज्दा कांग्रेसले घात गरेपछि गठबन्धन फेरिएको हो ।

कांग्रेसभित्रैको गुटबन्दीले गुम्यो सत्ता

यसैवीच सरकारबाट बाहिरिनुपरेपछि नेपाली कांग्रेसभित्र यसको समीक्षा हुन थालेको छ । कांग्रेस नेताहरुले भन्दै आएका थिए– यो प्राकृतिक गठबन्धन हो, ०८४ सम्म जान्छ ।

यसलाई कुनै तागतले ढलाउन सक्दैन । तर, कांग्रेसको दाबी सोमबारदेखि खण्डित भएको छ । नेपाली कांग्रेसमा रहेको दुई गुटको अन्तरविरोधकै कारण उसले सत्ता गुमाउनुपरेको विश्लेषण हुन थालेको छ ।

शेरबहादुर देउवाको संस्थापन पक्ष र शेखर कोइरालाको संस्थापन इत्तर गुटले गर्दा कांग्रेसले सत्ताबाट बाहिरिनुपरेको तर्क कांग्रेसभित्रैबाट गर्न थालिएको छ ।

माघ ११ गतेको राष्ट्रियसभा निर्वाचनमा कोशीबाट माओवादी उम्मेदवार चम्पा कार्की हारेकी थिइन् । उनी हार्नुको कारण कांग्रेस नै भएको माओवादीको दाबी छ । त्यहाँबाट सुरु भएको झगडा फागुन ७ देखि १० गतेसम्म भएको महासमिति बैठकमा थप चर्किएको थियो । कारण त्यहाँ उपस्थित महासमिति सदस्य र शेखर समूहका नेताले माओवादीसँगको गठबन्धन विपरीत धारणा राखेका थिए ।

त्यसपछि गठबन्धनमा थप खटपट आएको थियो ।त्यसयता कानुनमन्त्री धनराज गुरुङले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंग्याउन असहयोग गरेको भन्दै माओवादी रुष्ट थियो ।

कांग्रेस देशको पहिलो दल हो । उसको प्रतिनिधि सभामा ८८ सिट छ । यस्तै प्रदेशहरूमा पनि बागमती प्रदेशमा ३७ सिट सहित अगाडि ऊ छ । यस्तै कोशी प्रदेशमा पनि कांग्रेसको सरकार छ ।

सुदुरपश्चिममा कांग्रेसका र गण्डकीमा पनि कांग्रेसका मुख्यमन्त्री छन् । लुम्बिनीमा पनि कांग्रेसका मुख्यमन्त्री छन् । ५ वटा प्रदेशको मुख्यमन्त्री खाएको कांग्रेसले आफ्नो विवेक प्रयोग गर्न नसक्दा सबै गुमाउने स्थिति आएको छ ।

कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले यो सबै हुनुमा माओवादी अध्यक्ष प्रचण्डको अस्थिरता नै कारक भएको बताएका छन् । कांग्रेस प्रवत्ता मीन विश्वकर्माले पनि माओवादीको चलाखीका कारण कांग्रेस भुमरीमा परेको बताए । केन्द्रीय सदस्य प्रदीप पौडेलेले प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा अस्थिरताको अर्को श्रृङ्खला थपिएको बताए ।

 

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  १० : १६ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई