मधेशमा ९ महिनामै आगलागीका १२ सय घटना, ५६१ घर जले, २० जनाको मृत्यु | Khabarhub Khabarhub

मधेशमा ९ महिनामै आगलागीका १२ सय घटना, ५६१ घर जले, २० जनाको मृत्यु

४४ करोडभन्दा बढीको धनमाल क्षति


२२ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


948
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- मधेश प्रदेशमा चालु आर्थिक वर्ष २०८०/८१ मा १२ सय आगलागीका घटना भएका छन् । गत साउनदेखि वैशाख १५ गतेसम्म प्रदेशका ८ वटै जिल्लामा १ हजार १सय ९९ वटा आगलागीका घटना भएका हुन् ।

प्रदेशका ८ जिल्लामा भएका आगलागीका कारण २० जना मानिसले ज्यान गुमाएका छन्। १२० जना घाइते भएका मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ । आगलागीबाट प्रदेशमा ४४ करोड ५४ लाख ६४ हजार ४३२ रुपैयाँ बराबरको क्षति भएको छ।

आगलागीबाट ८१ पक्की घर, ४८० कच्ची घर र २२७ वटा गोठहरु जलेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक श्याम महतोले जानकारी दिए । विभिन्न स्थानमा आगलागीका कारण २०३ चौपाया मरेका छन् ।

कुन जिल्लामा कति ?

प्रहरीका अनुसार सबैभन्दा बढी आगलागीका घटना सिरहामा भए । सबैभन्दा कम सर्लाहीमा भए । सिरहामा २१६ वटा आगलागीका घटना हुँदा सर्लाहीमा १०४ आगलागी भएको प्रहरीको अभिलेख छ ।

सिरहामा आगलागीबाट ४ जना पुरुष र १ महिलसहित ५ जनाले ज्यान गुमाएका छन् । १८ महिला, ६ पुरुष र ४ बालबालिकासहित गरी २८ जना घाइते भएका छन्। ८२ घर र ३८ गोठ जल्दा ८ करोड २० लाख ४० हजार रुपैँया बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

सर्लाहीमा आगलागीबाट १ जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । सर्लाहीमा १०० घर जल्दा ३ करोड ४१ लाख ७५ हजार ४०० रुपैँया बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

सप्तरीमा १७२ वटा आगलागीका घटनामा १ जनाको मृत्यु भएको छ । ५६ घर र २५ गोठ जलेका छन् । त्यहाँ ५ करोड ४१ लाख २३ हजार मूल्य बराबरको क्षति भएको छ ।

प्रदेश राजधानी धनुषामा १४५ वटा आगलागीका घटनामा हुँदा ६ जनाको मृत्यु र २३ जना घाइते भए । यस्तै ३ चौपाया जलेर मरे । २२ घर र ३ गोठ जलेर नष्ट हुँदा ८ करोड ४९ लाख १८ हजार ७०० बराबरको क्षति भएको छ।

महोत्तरीमा १३० वटा आगलागी हुँदा १ जनाको जलेर निधन भएको छ । आगोले ३२ चौपाया मरेका छन् भने ८ चौपाया घाइते भए । त्यस्तै १२० घर र ७१ गोठ जल्दा ४ करोड १४ लाख १६ हजार ३०० बराबरको क्षति भयो ।

त्यस्तै रौतहटमा १८३ आगालागीका घटनाबाट ३ जनाको मृत्यु भएको छ भने ३ जना बालबालिकासहित १८ जना घाइते भएका छन् । रौतहटमा ४४ चौपायाको जलेर मर्दा २० वटा घाइते भएका छन् ।

यस्तै ४६ घर र ३८ गोठ जलेका छन् । जिल्लामा ४ करोड ९८ लाख १९ हजार ७३२ रुपैँयाको क्षति पुगेको छ ।

बारामा १२१ वटा आगलागीका घटनाबाट २ जनाको मृत्यु हुँदा १९ जना घाइते भएका प्रहरीको तथ्याङ्क छ । त्यहाँ ५४ वठा पशुको जलेर मृत्यु भएको र १६ घाइते भएका छन् । ८४ घर र ३८ गोठमा क्षति पुग्दा ४ करोड १७ लाख ८ हजार ५०० मूल्य बराबरको नोक्सानी भएको छ।

पर्सामा १२८ आगलागीका घटनाबाट १ जनाको मृत्यु भएको छ । यस्तै आगोमा ६ जना बालबालिकासहित १३ जना जलेर घाइते भएका छन् ।

आगलागीबाट ५७ पशुको जलेर मरे । ५१ घर र १४ गोठ आगोको चपेटामा परेर जलेका छन् । जिल्लामा ५ करोड ७२ लाख ६२ हजार ८०० रुपैँया बराबरको क्षति भएको तथ्यांक प्रहरीसँग छ।

यसो भन्छन् मन्त्री

मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले बजेट अभावले आगलागीको पूर्वतयारीमा प्रदेश सरकार चुकेको बताएका छन् ।

‘जिल्ला प्रशासन कार्यालयहरु हामी मातहतमा छैनन्, जसकारण सूचना पनि ढिला आउँछ, चाहिएको समयमा राहत प्याकेज घोषणा गर्न सकिरहेका छैनौँ’, उनले भने, ‘त्यसका बाबजुत जानकारी पाएलगत्तै सुरक्षा निकायसहितलाई राहत वितरणमा जुट्न निर्देशन दिँदै आएका छौं ।’

किन बढे आगलागीका घटना ?

प्रदेशका अधिकांश जिल्लामा आगलागीका घटना भएका छन् । दिनहुँजसो कहीँ न कहीँ आगलागी भइरहेका छन् ।

एक्कासि गर्मी बढेसँगै आगलागीका घटना बढ्न थालेको प्रहरीको भनाइ छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक महतोेका अनुसार मधेशमा ह्वात्तै गर्मी बढ्दै गएको छ । तातो हावा पनि चलिरहेको छ । यसकारण पछिल्लो समय आगलागीका घटना बढ्न थालेको उनी बताउँछन् ।

मुख्यतः २ कारणले आगलागीका घटना भइरहेका छन् । प्राविधिक गडबडी र मानवीय लापरबाहीका कारण आगलागीका घटना भइरहेको उनले बताए ।

‘प्राविधिक गडबडीमा इलेक्ट्रिक सर्टलाई लिन सकिन्छ । जसलाई टेक्निकल इरर भनिन्छ । अर्को हो मान्छेका गल्ती’, उनले भने, ‘मान्छेले जथाभावी चुरोट खाएर फ्याँकिदिने, आगो बालेर लापरबाही गर्ने जस्ता गतिविधि पर्छन् ।’

पछिल्लो समय प्रदेश प्रहरीले जनचेतनामूलक काम गर्न मातहतका निकायलाई निर्देशन दिएको उनी बताउँछन् । उनका अनुसार सामुदायिक प्रहरी कार्यक्रममार्फत प्रहरीले सूचनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।

के गर्दैछ प्रदेश सरकार ?
आगलागीका घटनाले प्रदेश आक्रान्त बनिरहँदा प्रदेश सरकारले नियन्त्रण तथा न्यूनीकरणमा तदारुकता देखाउन सकेको छैन ।

आगलागी पीडितलाई प्रदेश सरकारले राहत उपलब्ध गराउन सकिरहेको छैन । मुख्यमन्त्रीदेखि मन्त्रीहरू आगलागी भएको क्षेत्र निरीक्षणमा पुगे पनि राहत उपलब्ध गराउन उदाशीन छन् ।

मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री लेखी आगलागी न्यूनीकरणका लागि पूर्वतयारीमा सरकार चुकेको स्वीकार गर्दछन् ।

उनका अनुसार मन्त्रालयमा बजेट अभाव भएकाले यस्ता कार्यक्रम गर्न नसकिएको हो । ‘यससँगै हामीलाई घटनाबारे सूचना अभाव छ । जिल्ला प्रशासन कार्यालयहरू हामी मातहतमा नहुँदा सूचना आउँदैन । त्यही कारण राहत प्याकेज घोषणा गर्न सकिरहेका छैनौँ’, उनले भने।

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  ३ : ४६ बजे

हेटौँडा उपमहानगरद्वारा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन

बाग्मती– मकवानपुरको हेटौँडा उपमहानगपालिकाले चालु आर्थिक वर्ष २०८०–८१ को १०

कोरियाबाट फर्केर माछापालन

बागलुङ– बागलुङ नगरपालिका–४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण पुनको एग्रो

कैलालीमा गहुँ उत्पादन वृद्धि

कैलाली– कैलालीमा हिउँदेबाली उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान

सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु

झापा– नेपाल पत्रकार महासङ्घ झापा शाखाको आयोजनामा कनकाई नगरपालिकाको सुरुङ्गामा

कट्टेलचोक–आमाडाँडा सडक कालोपत्र

गोरखा– गोरखा नगरपालिकास्थित कट्टेलचोक–कट्टेलडाँडा हुँदै आमाडाँडा जोड्ने सडकखण्ड कालोपत्र गर्ने