राजदरबार संग्रहालय हेर्ने अधिकांशको प्रश्न- राजारानीको हत्या गरेको ठाउँ खै? | Khabarhub Khabarhub

राजदरबार संग्रहालय हेर्ने अधिकांशको प्रश्न- राजारानीको हत्या गरेको ठाउँ खै?


२२ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दाङका ८५ वर्षीय मानबहादुर बुढाथोकी अत्यन्त हर्षित देखिए । त्यो खुसीको कारण थियो– नारायणहिटी संग्रहालयको अवलोकन । अखबारको पाना र रेडियोमा सुनेको ठाउँ प्रत्यक्ष आफ्नै आँखाले देख्न पाएको क्षणलाई मानबहादुरले जीवनकै अहोभाग्य क्षणको रुपमा लिएका छन् । छोरा बुहारीको सहयोगमा पत्नी हिरादेवीलाई सँगसँगै लिएर लौरो टेक्दै आएका उनी अत्यन्तै उत्साही थिए । त्यसो त देशको राजधानी काठमाडौं नै मानबहादुरले पहिलोपल्ट टेकेका हुन् । 

राजामहाराजाको थातथलो हेर्न पाउँदा खुसी हुँदै उनले भने– ‘बुढेसकालमा भएपनि राजा रानी बसेको ठाउँ हेर्न पाइयो । राजाले के के न खालान् ? उनीहरु बस्ने सुत्ने ठाउँ हिरामोतीको होला भन्ने थियो, त्यसो होइन रहेछ । राजारानी त साद्गी जीवन बाँच्दा रहेछन् । यो सबै दृश्य हेर्दा त राजामहाराजको नाममा भएको बद्नामी झूटो लाग्यो ।’ 

उनलाई राजपरिवारको हत्या भएको ठाउँ हेर्ने कौतुहल ज्यादै थियो । अस्पष्टै दृश्य हेर्न पाएकोमा उनी जति सन्तुष्ट थिए, त्यति नै भावुक पनि । 

त्यस्तै गुल्मीका ७० वर्षीय दिनानाथ भण्डारीका लागि पनि राजदरबार संग्रहालय प्रवेशको यो संयोग जीवनकै अविस्मरणीय क्षणका रुपमा परिभाषित हुने भएको छ । राजसंस्थाप्रति अगाध स्नेह राख्ने भण्डारी राजाको शासन सकिएपछि देशमा बेथिति बढेको निधोमा पुगेका छन् । गुल्मीबाट काठमाडौं आएर राजदरबार डुल्ने उनको जीवनकै धोको रहेछ । 

उनले भने– ‘राजदरबारकै माटोको दर्शन गर्न यहाँसम्म आएको हुँ । अब भने मर्ने बेलामा पुन्य पाउने विश्वास पलाएको छ । राजा भनेका विष्णुका अवतार हुन् । अब एकपटक अझै राजा सक्रिय रहेको शासन व्यवस्था हेर्ने रहर छ । ’ 

गुल्मीकै ६८ वर्षीया मल्लपा भण्डारी पनि नारायणहिटी दरबार हेर्न पाएर हर्षित थिइन् । उनले भ्रमण गरेर आएपछि प्रतिक्रिया दिइन– ‘जस्तो सुनेका थियौँ, त्यस्तै रहेछ भित्र पनि सबै दर्शन गर्न पाएँ । झन् राजाले लगाउने श्रीपेच हेर्न पाउँदा अझ बढी खुसी लाग्यो ।’  

विशेषगरी वृद्धवृद्धाहरुले नारायणहिटी संग्रहालयलाई तीर्थस्थलको रुपमा पनि हेर्ने गरेको पाइयो । यो ठाउँको दर्शन गरेमा पुण्य प्राप्ति हुने र मरेपछि पनि गति पाइने विश्वास रहेको छ । त्यहाँ खटिएका सुरक्षाकर्मीका अनुसार धेरैजसो अवलोकनकर्ताको ध्यान राजमुकुट र दरबार हत्याकाण्डमा रहन्छ । गेटभित्र पस्नुअघि नै धेरैजसो अवलोकनकर्ता  यस विषयमा जिज्ञासा राख्छन् । उनीहरु सोध्छन्– राजारानीको हत्या गरेको ठाउँ कहाँ छ ?

विद्यार्थीहरूले शैक्षिक भ्रमणको हबको रुपमा पनि नारायणहिटी संग्रहालयलाई लिने गरेका छन् । राजधानी र राजधानी बाहिरका स्कुल, क्याम्पसले शैक्षिक भ्रमणमा यो ठाउँलाई रोज्दा रहेछन् ।

 भक्तपुरको सूर्यविनायकमा रहेको युनिक एकेडेमीले कक्षा ४ देखि ७ का विद्यार्थीहरूलाई शैक्षिक भ्रमणमा ल्याएको थियो । भ्रमण भन्ने बित्तिकै घुमघाम भन्ने बुझिन्छ । शैक्षिक भ्रमण केवल घुमघाममा मात्रै सीमित हुँदैन । नयाँ नयाँ अनुभव सँगाल्न, नयाँ विषय सिक्न भ्रमण अति महत्वपूर्ण हुन्छ । पढेर मात्रै भन्दा प्रत्यक्ष हेरेर, अवलोकन गरेर विद्यार्थीहरूको अतिरिक्त क्रियाकलापमा मद्दत  पुर्‍याउने ठम्याई शिक्षकहरूको छ । 

विद्यार्थीहरूलाई सामाजिक अध्ययनमा सहज होस र नेपालको इतिहास अझ दरबार हत्याकाण्डको विषयमा स्थलगत अवलोकन गरुन भन्ने उद्देश्यले शैक्षिक भ्रमणको लागि यो ठाउँ छनौट गरिएको शिक्षिका शान्ति गोराजुले बताइन् । 

उनले भनिन्, ‘नारायणहिटी संग्रहालय भित्रको काष्ठकलाले नेपालको संस्कृति झल्काएको छ । त्यस्तै विदेशबाट आएको उपहारलाई पनि सुरक्षित तरिकाले सजाएर राखिएको देख्न पाउँदा अझ खुसी लाग्यो ।’

आम नागरिकलाई केही सिक्न नारायणहिटी संग्रहालय महत्वपूर्ण रहेको शान्तिको अनुभव छ । नारायणहिटी अवलोकनमा आफूले राजाको मुकुट, राजा रानी सुत्ने बेड, बैठक कक्ष, डाइनिङ टेबल हेरेको युनिक एकेडेमीमा अध्ययनरत सोमिया लामा र अन्जु श्रेष्ठ बताउँछन् । राजामहाराजाले के खान्छन, के लगाउँछन, उनीहरुको घर कस्तो  छ भन्ने जिज्ञासा मेटाउन शैक्षिक भ्रमणले मद्दत गरेको ती विद्यार्थीहरुले बताए । 

यता संग्रहालयको अवलोकन गरेर बाहिर निस्कँदै गरेकी सुनिता प्रजापतिले संग्रहालयभित्रका केही कोठाहरू मात्रै खुला भएको र अरु बन्द भएकाले सबै अवलोकन गर्न नपाएको गुनासो गरिन् । अवलोकन गरिसकेपछि आफ्नो पुर्खाको सम्झना आएको बताउँदै भनिन– ‘संग्रहालयभित्र हाम्रा पुर्खाले प्रयोग गरेका सामग्री देख्न पाइयो, खुसी लाग्यो । इतिहास बोकेका प्रमाण नजिकबाट हेर्न पाउनु ठूलो सौभाग्य हो ।’ 

दीपक कठायत ट्याक्सी चालक हुन् । उनी पर्यटकहरूलाई गन्तव्यसम्म  पुर्‍याउने काम गर्छन् । उनका अनुसार देशविदेशका धेरैजसो पर्यटकहरु नारायणहिटी आउने गरेको उनले बताए । नारायणहिटी आफैँमा ऐतिहासिक महत्व बोकेको ठाउँ भएको उनको विश्लेषण छ ।  

बुधबार बाहेक अन्य दिन संग्रहालय खुल्ला रहन्छ । राजाको दरबार त्यसमाथि दरबार हत्याकाण्डले धेरैलाई तान्ने गरेको छ । संग्रहालयमा ५२ कक्ष छन् । दरबारभित्र ऐतिहासिक महत्व बोकेका विभिन्न सामाग्री राखिएका छन् । जुन विद्यार्थीहरूका लागि जीवित सामान्य ज्ञान बन्ने गरेको छ । 

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  १ : ०० बजे

सरकारबाटै लोकतन्त्रमाथि खतरा बढ्यो : नेता विष्ट

काठमाडौं– नेपाली कांग्रेसका नेता आनन्द विष्टले कम्युनिस्ट सरकारबाट लोकतन्त्रमाथि खतरा

चितवनमा अब पङ्खा चल्छ : रेणु दाहाल

चितवन – भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले विद्युत पूर्वाधार संरचना

जसपा राई पक्षको मधेस प्रदेश संयोजकमा अशोक यादव  

काठमाडौं– जसपा अशोक राई पक्षको मधेस प्रदेश संयोजकमा अशोक यादव

देवनगर सबस्टेशन आजदेखि सञ्चालन

काठमाडौं– चितवनको देवनगर सबस्टेशन आजदेखि सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरणले

मकवानपुरमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाइते 

मकवानपुर– जिल्लाको बकैया गाउँपालिका–१२ चौतारास्थित कान्तिलोकपथमा आज बिहान सवारी दुर्घटना