माओवादीले एक वर्ष पुगेका मन्त्रीलाई फिर्ता बोलाउँदै | Khabarhub Khabarhub

माओवादीले एक वर्ष पुगेका मन्त्रीलाई फिर्ता बोलाउँदै

एमालेले पनि नाउपा र जसपा समेट्न मन्त्रालय छोड्ने



काठमाडौं–नेकपा माओवादी केन्द्रले केही मन्त्रीहरू फेरबदल तयारी गरेको छ ।

माओवादीले १ वर्ष कार्यकाल पूरा गरेका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँलाई पठाउन लागेको एकजना पदाधिकारीले खबरहबलाई बताए ।

ती पदाधिकारीका अनुसार माओवादीबाट परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई फिर्ता बोलाउन लागेको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार जेठ अन्तिम साता सम्ममा मन्त्रिपरिषद् हेरफेर गरिसक्ने प्रधानमन्त्रीको तयारी छ ।

यसका लागि उनी निरन्तर अनौपचारिक रूपमा नेताहरूसँग भेटघाटमा व्यस्त छन् ।

यता अर्थमन्त्री वर्षमान पुन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङलाई भने निरन्तरता दिने माओवादीको तयारी छ ।

तर, सरकारको सन्तुलन मिलाउन संस्कृति, पर्यटन मन्त्री तामाङलाई भने मन्त्रालय फेरेर निरन्तरता दिने चर्चा छ ।

केही समय विनाविभागीय राखेर भए पनि नाउपाकी रञ्जितालाई यो सातासम्म सरकारमा लैजान लागिउको एमाले नेताहरु बताउँछन् ।

तर यसबारे कुनै औपचारिक निर्णय नभएको माओवादी महासचिव देव गुरुङले खबरहबलाई बताए ।

भाग मिलाउन माओवादी र एमालेले एक–एक मन्त्रालय छाड्ने

सरकारको सन्तुलन मिलाउनका लागि माओवादी र एमालेले १–१ मन्त्रालय छाड्ने सहमति भएको ओली निकट नेताहरूको भनाइ छ ।

एमालेले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय छाडेर भगवती चौधरीलाई अन्यमा पठाउने तयारी गरेको छ । यद्यपि उनलाई बिदा गर्ने या अन्य मन्त्रालयमा सार्न कि यथावत् दिनेबारे निर्णय भइनसकेको एमालेको भनाइ छ ।

एमालेले छोडेको मन्त्रालयमा जसपा अशोक राई पक्षलाई भाग लाग्ने छ । यसबारे राईले खबरहबलाई भने, ‘मन्त्रीपरिषद् हेरफेर हुँदा एउटा मन्त्रालय हामीलाई दिने सहमति भएको छ । तर कुन हुन्छ त्यो फाइनल भएको छैन ।’

अर्का नेताका अनुसार जसपालाई तीन मन्त्रालय र १ राज्यमन्त्री दिने शर्तअनुसार नै उपेन्द्र यादवलाई सरकारबाट निकालिएको हो । तर यसबारे राईले प्रतिक्रिया दिन चाहेनन् ।

जसपाबाट रञ्जु झाको नाम मन्त्री हुने लाइनमा रहेको पार्टी नेताहरू बत्ताउँछन् । सुशीला श्रेष्ठलाई पठाउनुपर्ने आवाज पनि पार्टीमा उठिरहेको ती नेताले बताए ।

तर अध्यक्ष राईले केही दिनअगाडि खबरहबसँगको कुराकानीमा श्रेष्ठ तत्काल मन्त्री हुने लाइनमा नरहेको बताए ।

जसपा नेपाल फुटाएपछि तीन मन्त्रालय पाउने सहमतिमा सरकारमा गएका कारण थप एउटा पनि दिनैपर्ने बाध्यता एमाले र माओवादीलाई रहेको एक नेताले बताए । वैशाख २३ गते बनेको जसपाका हाल सातजना सांसद छन् ।

तर डा. सीके राउत नेतृत्वको जनमत पार्टीले केन्द्र सरकारमा पनि दाबी गरे जसपालाई फकाएर्र मिलाउने पक्षमा नेताहरू देखिन्छन् ।

पर्यटनमा रञ्जिता, मधेसमा जनमत

सोमबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भएको वार्तामा नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जितालाई पर्यटन मन्त्रालय दिएर सरकारमा ल्याउने सहमति भएको छ ।

स्रोतका अनुसार तीन नेता बसेर नाउपालाई यो साताभित्रै सरकारमा ल्याउने सहमति भएको छ । अध्यक्ष श्रेष्ठले पनि आफू मन्त्री हुन लागेको खबरहबलाई बताइन् । उनले भनिन्, ‘कुरा फाइनल भएको छ । अब प्रधानमन्त्रीले बोलाउनु हुन्छ होला ।’

यस्तै, मधेस प्रदेश सरकारमा जनमत पार्टीलाई नेतृत्व दिने पनि सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका एक सदस्यले भने, ‘जनमतले केन्द्रमा पनि दाबी गरेको छ । तर उहाँहरुलदाई मधेसको नेतृत्व दिने हो ।’

जनमत अध्यक्ष राउतले पनि मधेस सरकारको नेतृत्व पाए केन्द्रमा समर्थन गरेर जान सक्ने सम्भावना रहेको खबरहबसँग बताएका थिए ।

यता प्रधानमन्त्रीनिकट स्रोतले पनि जनमतलाई मधेस सरकारको नेतृत्वमा पठाउन शीर्ष नेताहरू सहमति भइसकेको दाबी गरेको छ ।

ती नेताले भने, ‘बुधबारसम्म एकीकृत समाजवादीले पनि मधेस सरकार छाड्छ । जनमतबाट मुख्यमन्त्री हुनुहुन्छ । हामीले सहयोग गर्छाैं ।’

यता एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि गठबन्धनको सर्तअनुसार नै मधेसमा सरकार बन्ने बताइसकेका छन् । त्यहीअनुसार मंगलबार समाजवादीले मधेस सरकारबाट आफ्ना दुई मन्त्री फिर्ता बोलाएको छ ।

जनमत प्रवक्ता शरदसिंह यादवका अनुसार जेठ २८ अघि नै मधेसमा जनमतको सरकार बनाउने तयारी छ ।

माओवादीबाट को–कसको दाबी ?

माओवादीले अहिलेका मन्त्री फिर्ता गरेपछि आकांक्षीहरुमा सांसद माधव सापकोटा पहिलो नम्बरमा छन् । उनलाई सूचना तथा सञ्चार या परराष्ट्र मन्त्रालय दिने सम्भावना छ । यस्तै अन्य नेताहरूमा राजन दाहाल र महेन्द्रबहादुर शाही छन् । तीमध्ये एकजना मन्त्री हुने छन् ।

तामाङलाई शक्ति बस्नेतले छाडेको ऊर्जा मन्त्रालयमा पठाएर दाहाल या शाहीमध्ये एकले माओवादीले छोडेको मन्त्रालय सम्हाल्ने छन् ।

यता एकजना महिला सांसदलाई राज्यमन्त्रीमा पठाउनेबारे माओवादी पदाधिकारी बैठकमा कुरा भएको छ । राज्यमन्त्रीमा सुशीला श्रीपालीको नाम चर्चामा छ । यस्तै, छिरिङ लामाको पनि दाबी छ ।

तर छिरिङलाई अहिले राज्यमन्त्रीको जिम्मेवारी दिन प्रधानमन्त्री दाहाल तयार नभएको स्रोतको दाबी छ ।

माओवादीका एक पदाधिकारीले भने, ‘अघिल्लो पटक पदाधिकारी बैठकमा कुरा चलेको हो । तर नाममा ठ्याक्कै फाइनल भएको छैन । धेरैको दाबी भएकाले नाम टुंगिन बाँकी छ ।’

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  ८ : ११ बजे

घुम्टोमा वीरगञ्जको घण्टाघर : छिटो मर्मतसम्भार गर्न माग

वीरगञ्ज– पर्सास्थित वीरगञ्जको प्रतिष्ठाको प्रतीक यहाँको घण्टाघरको केही भाग भत्किएको

पर्यटकीय विकासको पर्खाइमा ऐतिहासिक लोमान्थाङ

मुस्ताङ– म्याग्दी सदरमुकाम बेनीबाट कालीगण्डकी नदीको किनार हुँदै उत्तरतर्फ जाँदा

तामाखानी उत्खननका लागि खोजतालस सुरु

बागलुङ– बागलुङको तमानखोला गाउँपालिका–६ नर्जाखानीमा तामाखानी उत्खननका लागि खोजतलास सुरु

बेलायतमा नेपाली भजन महोत्सव

बेलायत– बेलायतमा बसोबास गर्दै आएका नेपालीहरुको संस्था ‘साझा नेपाली समाज

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं– नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर