लिम्बू नामकोशः नाममा के छ ? | Khabarhub Khabarhub

पुस्तक समीक्षा

लिम्बू नामकोशः नाममा के छ ?



धरान– परिवारमा जन्मेको आफ्नो नवजात सन्तानलाई याक्थुङ लिम्बूले सुहाउँदिलो नाम दिने चलन छ । यो अनुष्ठानलाई मुन्धुममा ‘याङ्दाङ फोःङ्मा’ अर्थात कोक्रो उठाउनी अनुष्ठान–संस्कार भनेर व्याख्या गरिएको छ । आफ्नो सन्तानलाई नाम दिएपछि त्यही नामले पुकारिन्छ ।

मुन्धुमले बच्चालाई नाम दिने कामलाई अनिवार्य संस्कार भित्र राखेको छ । याक्थुङ मुन्धुमले हरेक चिजमा पूर्णताको खोजी गर्छ । अर्थपूर्ण नामविनाको चिजको कल्पना गर्दैन ।

याङ्दाङ फोःङ्मा मुन्धुमअनुसार मौलिक, सुन्दर, सार्थक र सकारात्मक अर्थ दिने नाम राखेमा बच्चाको मानसिक, शारीरिक र बौद्धिक वृद्धिमा मनोवैज्ञानिक प्रभाव पार्छ भन्ने मान्यता र विश्वास याक्थुङ लिम्बू समुदायमा छ ।

‘याङ्दाङ फोःङ्मा’ संस्कारअनुसार छोरी जन्मिए ३ दिनमा र छोरा जन्मिए ४ दिनमा नाम दिने गरिन्छ । शायद यो चलन मुन्धुम निर्माणकालसँगै सुरु भएको हुनुपर्छ ।

मुन्धुमको सोही याङ्दाङ फोःङ्मा संस्कारलाई केन्द्रमा राखेर मुन्धुमी अध्येता डी.बी. आङ्बुङ र विष्णुदत्त आङ्बुहाङले निकै मिहिनेत गरेर खोज अनुसन्धानपछि ‘लिम्बू नामकोश’ पुस्तक निकालेर सह्रानीय काम गरेका छन् ।

नामकोशमा भएका शब्दलाई सबैभन्दा पहिले सिरिजङ्गा लिपि, त्यसपछि नेपाली भाषामा र अन्तराष्ट्रिय ध्वनितात्विक वर्णमाला (आइपीए)सहित अंग्रेजी भाषा प्रयोग गरेका छन् ।

बजारमा मुन्धुम सम्बन्धी अनेक पुस्तक प्रकाशित भएपनि याक्थुङ लिम्बू संस्कृतिमा आधारित नामकोश भने कसैले तयार गर्न नसकिरहेको बेला लिम्बू नामकोश प्रकाशित हुनु याक्थुङ लिम्बू समाजका लागि मात्र नभएर अन्य अध्येताका लागि पनि सहज भएको छ ।

हुन त, १६ औं शताब्दीका प्रशिद्ध अङ्ग्रेजी नाटककार विलियम शेक्सपियरले नाममा केही छैन भन्ने भाष्य बनाएका थिए । जुनबेला युरोपमा मात्र नभएर करिब विश्वभर नै दास प्रथाको जगजगी थियो । आफ्नो नाटक ‘रोमियो जुलियट’का पात्रमार्फत भन्न लगाएका थिए, ‘नाममा के छ ? यदि गुलाबलाई कुनै अरू नाम दिएपनि त्यसले गुलाबकै सुगन्ध दिन्छ ।’

त्यसबेलाको समाजमा धनीले गरीबलाई, ठूलाले सानालाई, शक्तिशालीले कमजोरलाई दास बनाएपछि दासको नाम वा परिचय किन चाहियो भन्ने अर्थमा शेक्सपियरले ‘नाममा केही छैन’ भनेका थिए ।

शेक्सपियरको यो उद्गार बेलायतबाट युरोप हुँदै एसियामा आइपुग्दा धेरैलाई लाग्न थालिसकेको थियो- साच्चै नाममा केही छैन । धन र मान नहुनेको नाम धनमान, निर्बलको नाम बलवीर, कुनै स्कुल कलेज नगएकाको नाम विद्यानाथ राख्दैमा केही हुँदैन भन्ने भाष्य बनेकाले ‘नाममा केही छैन’ भन्ने भ्रम जीवितै रहेको हो ।

आखिर नाम त नामै रहेछ । मान्छेका लागि मात्र नभएर नामको महत्व चराचर जगतका जीवजन्तु, पशुपक्षीदेखि निर्जीव वस्तुका लागि पनि अनिवार्य हुन्छ । याक्थुङ मुन्धुम भित्रको याङ्दाङ फोःङ्मा अनुष्ठानले नामको बारेमा यसैगरी व्याख्या गरेको छ

कुन जाति वा समुदायबाट आएको व्यक्ति हो भनेर चिन्नका लागि उसको नाकनक्सा र पहिरनले मात्र छुट्याउन सकिन्न । त्यो व्यक्तिले आफ्नो जरा अर्थात धरातल अनुसार मौलिकतामा आधारित नाम राखेको छ भने सहजै चिन्न सकिन्छ । जस्तो उदाहरणका लागि कसैको नामको अघि ‘मोहम्मद’ शब्द आएको छ भने मुस्लिम समुदायको व्यक्ति भनी सहजै लख काट्न सकिन्छ ।

‘कौर’ शब्द आएमा पञ्‍जाबी समुदायको मानिस भन्न सकिन्छ । प्रसाद, नाथ, राम, कृष्ण, जस्ता शब्द आए नेपालको सन्दर्भमा बाहुन समुदायको भनेर चिन्न सकिन्छ । अर्थात्‌; कुन समुदायबाट प्रतिनिधित्व गरेको हो भनी चिन्न नाममा प्रयोग भएको शब्दले धेरै मद्दत गर्छ । तर मौलिकताको आधारमा कुनै समुदायले नाम नराखी अरू नै बाहिरिया नाम राखेमा उसलाई चिन्न उसको वंशावली र नागरिकतामा भएको तीनपुस्ते विवरण नै पल्टाउनुपर्ने हुन्छ ।

याक्थुङ लिम्बू समुदायको नाम राख्ने आफ्नै मौलिक संस्कार हुँँदाहुँदै पनि राजा पृथ्वीनारायण शाहसँग लिम्बूवानले नुनपानीको सम्झौता गरेर भैयाद बनाएपछि राणाकाल र पञ्‍चायतकाल हुँदै बहुदलीय प्रजातन्त्रकालमा ६० को दशकसम्म याङ्दाङ् फोःङ्मा अनुष्ठानलाई बेवास्ता गरिएको प्रसङ्‍ग पनि लिम्बू नामकोश पुस्तकमा छ । पुस्तक भित्र ‘लिम्बू’ र ‘याक्थुङ’ शब्दनामको उद्भव र व्युत्पतीबारे पनि केलाउदै पहिचानको राजनीतिक इतिहाससँग जोड्ने प्रयास गरिएको छ ।

यसबारे पूर्वकुलपति वैरागी काइँला (तिलविक्रम नेम्बाङ)ले याक्थुङ लिम्बू नामकोश पुस्तक प्रकाशित भएपछि भनेका छन्, ‘लिम्बूवानमा लिम्बूका बीच पनि हिन्दु पञ्चाङ्ग अनुसार जन्मँदाका बेलाको दिशा, समय घडी तथा पला हिसाब गरेर राशी अनुसार नाम राखेर चिना लेखाउने चलन चल्न थालेदेखि नै पण्डित/पुरोहितका भनाइमा हिन्दुकृत नाम राख्ने चलन शुरु भएकामा भने दुइमत देखिँदैन । फलस्वरुप, आज हामी लिम्बू जातिमा हिन्दु नामको व्यापकता पाउँछौं ।’

उनले आफ्नै उदाहरण पनि दिएका छन् । वैरागी काइँलाको परिवारले याङ्दाङ फोःङ्मा गरेर राखिदिएको नाम ओझाहाङ थियो, स्कुलमा भर्ना हुदा तिलविक्रम सुब्बा भयो, नागरिकतामा तिलविक्रम नेम्बाङ भयो ।

उनले पछिल्लो समयमा लिम्बू समुदयमा मौलिक परम्पराअनुसार याङ्दाङ फोःङ्मा अनुष्ठान गरेर सन्तानलाई याक्थुङ मातृभाषामा र संस्कृति चिनाउने नाम पहिचान दिने आन्दोलन चलिरहेको सन्दर्भमा लिम्बू नामकोश पुस्तक प्रकाशित गर्नुलाई साहसिक कार्य बताएका छन् ।

मुन्धुम अध्येयता तथा लिम्बू नामकोशका संकलक सम्पादक डी.बी. आङबुङकाअनुसार लिम्बूवानको मुन्धुम, इतिहास र वंशावलीका पुराना पुस्तामा मौलिक परम्परा अनुसारकै मातृभाषामा मानिस र प्रकृतिमा पाइने जीवजन्तु, स्थानका नामहरू पाइन्छन् । तर सेन, शाह, राणा र खस-आर्यको सम्पर्कमा आएपछि भने याक्थुङ लिम्बू नामहरू विकृत हुँदै गए वा पारिए । उनले भने, ‘यो पुस्तक तयार गर्नुको मूल उद्देश्य विकृत भएको नामहरू सच्याउँदै जानुपर्छ भन्ने हो ।’

इमानसिंह चेम्जोङद्वारा संकलित सम्पादित भई नेपाल एकेडेमीबाट प्रकाशित ‘लिम्बू–नेपाली–अङ्ग्रजी शब्दकोश (वि.सं. २०१८), प्राज्ञ बैरागी काइँलाद्वारा अद्यावधिक संकलित सम्पादित ‘लिम्बू–नेपाली–अङ्ग्रजी शब्दकोश (२०६७), तेजमान आङदेम्बेको ‘अ क्लासिकल लिम्बू ल्याङ्ग्वेज ग्रामर एण्ड डिक्सनरी अफ मुन्धुम (२०६८)’, वैरागी काइलाद्वारा संकलित र सम्पादित मुन्धुमका विभिन्न पुस्तक, अर्जुनबाबु माबुहाङद्वारा संकलित सम्पादित मुन्धुम र इतिहासका पुस्तकलगायतलाई नामकोश पुस्तकको मुख्य स्रोत बनाइएको छ ।

याक्थुङ मुन्धुमी परम्परामा नामवाचक शब्दहरू दुई पदीय हुन्छन् । अधिकांस मुन्धुमी नाममा सँगै आएका दुई पदीय नाम शब्दमा एक पदको भावानुवाद भएपनि अर्को पदको अर्थ वा भावानुवाद गर्न नसकिएको अवस्था पनि छ । दुई पदीय नाम शब्दको बारेमा डी.बी. आङ्बुहाङले भने, ‘याक्थुङ जीवन दर्शनलाई नियाल्ने मार्गनिर्देशक मुन्धुममा दुई पदीय नाम शब्द नै कायम भएको देखिएको छ । यो परम्परा मुन्धुम निर्माणकाल अर्थात्‌ सावा येत्हाङ, येहाङदेखि पछिल्लो मानिएको थिबोङ याक्थुङ (दश लिम्बू) वा आठ राजाको शासनकालसम्म कायम नै रहेको पाइएको छ । धेरै पछि मात्र अरू जाति सम्प्रदायसंग सम्पर्कमा आएपछि दुइ पदीय नाम राख्ने चलनमा विकृति आएको पाइएको छ ।’

दुई पदीय नाम हुनु याक्थुङ लिम्बू मुन्धुमी भाषाको अलगै विषेशता हो । जस्तो, पृथ्वीलाई जनाउने शब्द ‘इक्सा खाम्बेक’ हो । ‘इक्सा’ मात्र भनेर हुँदैन, नत ‘खाम्बेक’ मात्र भन्दा पूर्णता पाउँछ । ‘तरङ्दिङ ताङसाङ’ भनेको आकाश हो । तन्नेरी भनेर बुझाउन ‘नालिगेन थाङ्बेन’ भन्नुपर्ने हुन्छ । ‘नालिगेन’ मात्र भनेमा अधुरो हुन्छ । तरुनी भनेर बुझाउँदा ‘सिसागेन मेन्छ्या’ भन्नुपर्ने हुन्छ । ‘मेन्छ्या’ मात्र भनेमा त्यो पनि अधुरो हुन्छ । नामले पूर्णता पाउन याक्थुङ मुन्धुमअनुसार दुई पदीय शब्द अनिवार्य हुन्छ ।

मुन्धुमभित्रका सबै पात्र र तिनका नाम पनि दुई पदीय रहेका छन् । ‘पोरोक्मी यम्फामी’ ‘मुजिङ्ना मयङ्ना’ तेत्लारा लाभियङ्मा’ ‘सावान् युक्पुङगेम्बा’ ‘सुच्छुरु सुहाम्फेवा’ ‘तेत्लारा लाहादङ्ना’ ‘सुसुवेङ लालावेङ’ ‘योसुलुङ्मा मुकुम्लुङ्मा’ ‘थोसुलुङ्मा फियम्लुङ्मा’ आदि । यस्तै मुन्धुमको उद्गमस्थल ताप्लेजुङको तमोर नदी आसपास निर्माण भएको याक्थुङ सभ्यतामा मानिन्छ । मुन्धुमले तमोर नदीको नाम ‘इम्बिरी याङ्धाङ्वा’ भनेर मात्र चिन्छ । यहाँ पनि दुई पदीय नै छ । खोला–नदी, पाखा पखेरा, हिमाल पहाड, वन जंगलका नामहरू समेत मुन्धुममा दुई पदीय रहेका पाइन्छन् ।

लिम्बूवानका ऐतिहासिक दस्तावेज संग्रहका इतिहासकार भगिराज इङ्नाम र आङ्बुङको मतानुसार याक्थुङ मुन्धुमी पात्रहरूको दुई पदीय नामलाई सुक्ष्म रूपमा अध्ययन गर्ने हो भने ती नाम र शब्दले उसको कार्यक्षेत्र र कामको महत्वलाई इङ्गित गरेको हुन्छ । यसको अर्थ मानिस होस वा प्रकृतिका निर्जिव पहाड पर्वत, नामै काफी छ भने जस्तै दुई पदीय नामले पहिचान राख्नुपर्छ भन्ने मान्यता स्थापित हुन्छ ।

दुई पदीय नाम भावना र कल्पनाभन्दा पनि ठोस प्राकृतिक वा आस्तित्ववान वस्तु वा भावसँग जोडेर राखिएको हुन्छ । यसले पनि याक्थुङ लिम्बूको नाम र नाम राख्ने सूरुआती अधारभूत विधि र प्रक्रिया कस्तो थियो भन्ने प्रष्ट संकेत गर्दछ ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  ३ : १५ बजे

गन्तव्य पहिल्याउन बागलुङ बजारमा ‘स्टेट नम्बर’

बागलुङ – बागलुङ बजारलाई पर्यटनमैत्री बनाउन बागलुङ नगरपालिकाले पहिलोपटक ‘स्टेट

‘कोरा भक्तपुर साइकलिङ च्यालेञ्ज’ सम्पन्न

भक्तपुर – भक्तपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइक्लिङ गन्तव्य बनाउने उदेश्यले

आगामी निर्वाचनसम्म कांग्रेस–एमालेको गठबन्धन कायम रहन्छ : प्रदीप ज्ञवाली

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक

क्रोएसियाको नर्सिङ होममा गोली चल्दा पाँच जनाको मृत्यु

क्रोएसिया – क्रोएसियाको एक नर्सिङ होममा सोमबार एक बन्दुकधारीले गोली

अख्तियारमा उजुरी परेपछि नगर प्रमुखले फिर्ता गरे पैसा

सिरहा – सप्तरीको डाक्नेश्वरी नगरपालिकाका प्रमुख रामलखन मलाहले नगरपालिकाको बजेट