अन्तर्राष्ट्रिय

बाढीपछि उद्दारमा लापरबाही गरेको भन्दै उत्तर कोरियाका ३० अधिकारीलाई मृत्युदण्ड

By खबरहब

September 04, 2024

काठमाडौं-उत्तर कोरियामा हालैको विनाशकारी बाढीले ठूलो क्षति गरेको छ ।

समाचारअनुसार यो बाढीपछिको राहत तथा उद्धार कार्यमा असफल भएको भन्दै सर्वोच्च नेता किम जोङ उनले ३० भन्दा बढी अधिकारीलाई मृत्युदण्ड दिएका छन् ।

दक्षिण कोरियाका मिडियाका अनुसार ती व्यक्तिहरूविरुद्ध भ्रष्टाचार मुद्दा पनि दर्ता भएको छ ।

बाढीका कारण चार हजारभन्दा बढीले ज्यान गुमाएको उल्लेख छ । मिडिया रिपोर्टहरूका अनुसार विनाशकारी बाढीले चाङ्गाङ प्रान्तका केही भागलाई ध्वस्त पारेको छ। जसमा ४ हजारभन्दा बढी उत्तर कोरियालीको मृत्यु भएको थियो ।

किमले बाढी प्रभावित क्षेत्रको भ्रमण गरेका थिए । यसै क्रममा बाढीको चरमता देखेर उनी रिसाएका थिए । उनले स्थितिलाई बेवास्ता गरेको भन्दै ३० अधिकारीलाई तुरुन्तै मृत्युदण्ड दिए ।

रिपोर्टका अनुसार सबैलाई एकै समयमा झुण्ड्याइएको थियो । दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार गत महिनाको अन्त्यमा बाढी प्रभावित क्षेत्रमा २०-३० जना प्रमुख पार्टीका व्यक्तिलाई एकै समयमा झुण्ड्याइएको थियो ।

यसबाहेक चाङ्गाङ प्रान्तका बर्खास्त पार्टी सेक्रेटरी काङ बोङ–हुनलाई पनि यही अवस्थाका लागि पक्राउ गरिएको थियो । साथै, किम जोङ उनले प्रकोप रोक्नको लागि आफ्नो जिम्मेवारी पूरा गर्न नसकेकालाई कडा कारबाही गर्न अधिकारीहरूलाई आग्रह गरेका थिए ।

उत्तर कोरियाको सेन्ट्रल न्यूज एजेन्सीले यसअघि जुलाईमा चागाङ प्रान्तमा आएको विनाशकारी बाढीपछि किम जोङ उनले अधिकारीहरूलाई कडा सजाय दिने आदेश दिएको जानकारी दिएको थियो ।

उत्तर कोरियामा फाँसी दिइएका अफिसरहरूको पहिचान भने खुलाइएको छैन । यद्यपि, रिपोर्टमा बाढी प्रकोपको समयमा आपतकालीन बैठकमा बर्खास्त गरिएका नेताहरूमा २०१९ देखि चाङ्गाङ प्रान्तको प्रान्तीय पार्टी कमिटीका सचिव काङ बोङ-हुन पनि रहेका खुलेको छ।