अन्तर्राष्ट्रिय

इजरायलविरुद्ध इरानी सर्वोच्च नेताले खेले धर्मको कार्ड, मुस्लिमहरूलाई एकजुट हुन अपिल

By खबरहब

October 04, 2024

तेहरान- हिजबुल्लाह प्रमुख हसन नसरल्लाहलाई इजरायलले हत्या गरेपछि मध्यपूर्वको तनाव चुलिँदो छ ।

इजरायलले हमास र हिजबुल्लाह दुवैविरुद्ध युद्ध छडेपछि इरानका सर्वोच्च नेता अली खामेनेईले तेहरानमा जुमेको नमाजका क्रममा सम्बोधन गरेका छन् ।

५ वर्षपछि पहिलो पटक सार्वजनिक रुपमा सम्बोधनका क्रममा उनले पूरा विश्वका मुसलमानहरू अब एकजुट हुने समया आएको बताए ।

उनले सम्बोधनका क्रममा मुसलमानहरूले दुश्मनसँग सावधान रहनुपर्ने बताए । उनको यो भनाइ इजरायल र उसलाई सघाइरहेको अमेरिकालक्षित थियो ।

उनले मुस्लिम विरोधीहरू विनाशको शासनमा रमाइरहेको बताउँदै मुस्लिमहरू एक ठाउँमा उभिन सकेमा अल्लाह पनि प्रसन्न हुने उल्लेख गरे ।

इरानका सर्वोच्च नेताले आफ्नो सम्बोधनका क्रममा इजरायल र अमेरिकाविरुद्ध धार्मिक कार्ड खेलेका हुन् ।

तेहरानस्थित जुमेको नमाजका क्रममा सम्बोधन गर्दै उनले दुश्मनहरू मुस्लिम देशको पछाडि लागेको पनि बताए । उनले आफ्नो जमिनको रक्षमा डटेर लाग्नुपर्ने पनि बताए । खामेनेईले अफगानिस्तानदेखि लिएर लेबनानसम्म सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

उनले धार्मिक कार्ड खेल्दै मुसलमानहरू अल्लाहले देखाएको बाटोमा अघि बढ्नु जरुरी रहेको पनि बताए । कुरानले पनि मुस्लिमहरू एकसाथ रहनुपर्ने भनेको उनले स्मरण गराए ।

इजराइलसँग युद्धबीच खामेनेईले पूरा संसारका मुस्लिम एक हुन सके कसैले छुन नसक्ने पनि जिकिर गरे।

यसैबीच शुक्रबार नै हिजबुल्लाह प्रमुख हसन नसरल्लाहलाई अन्त्येष्टि गरिँदैछ । त्यसअघि तेहरान (ग्रान्ड मस्जिद) मा नसरल्लाहका लागि जुमेको नमाज वाचन गरिँदैछ । यसमा खामेनेई पनि सहभागी भएका हुन् । त्यसपछि उनले सम्बोधन गरेका छन् ।

इजरायली सेनाले नागरिकलाई दक्षिण लेबनानका ३७ गाउँ खाली गर्न उर्दी जारी गरेको छ । उत्तरतर्फ इजरायलको आक्रमण जारी छ । इरानले मिसाइल हानेपछि इजरायल लगातार लेबनानमा आक्रमण बढाइरहेको छ । इजरायलले हिजबुल्लाहका सदस्यलाई समाप्त पार्ने बताएको छ ।