अर्थसंक्षेप : क्षतिग्रस्त पुल र सडक बनाउन २५ अर्ब लाग्ने, धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्ता फेरि स्थगित | Khabarhub Khabarhub

अर्थसंक्षेप : क्षतिग्रस्त पुल र सडक बनाउन २५ अर्ब लाग्ने, धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्ता फेरि स्थगित


१८ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अविरल वर्षाका कारण सडक पूर्वाधारमा झण्डै २५ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ । जिल्ला सदरमुकाम चौतारामा २०७६ सालमा निर्माण प्रारम्भ भएको ‘मिनी’ रङ्गशाला अलपत्र परेको छ । शुक्रबार सुनचाँदीको मूल्यमा नयाँ किर्तिमान कायम भएको छ ।

त्यस्तै, धितोपत्र बोर्डको नयाँ अध्यक्षका लागि शुक्रबार निर्धारित अन्तर्वार्ता स्थगित भएको छ । सरकारले प्रशोधित भैँसीको मासु चीन निर्यात गर्ने विषयमा द्विपक्षीय सम्झौताको तयारी गरेको छ । सरकारले प्रशोधित भैँसीको मासु चीन निर्यात गर्ने विषयमा द्विपक्षीय सम्झौताको तयारी गरेको छ ।

यस्ता छन आजका प्रमुख आर्थिक समाचारहरुः

क्षतिग्रस्त पुल र सडक स्थायी रुपमा निर्माण गर्न २५ अर्ब लाग्ने

अविरल वर्षाका कारण सडक पूर्वाधारमा झण्डै २५ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ । क्षति भएका सम्पूर्ण संरचनाको स्थायी रूपमा पुनः स्थापना गर्न २० देखि २५ अर्ब रुपैयाँ बराबर लाग्ने अनुमान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले संसद्को पूर्वाधार समितिको आजको बैठकमा यही असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढीपहिरोका कारण भएको क्षतिका बारेमा जानकारी गराउँदै अस्थायी रूपमा भएपछि राजमार्ग नियमित सञ्चालनका लागि अधिकतम प्रयास गरिरहेको जानकारी दिए ।

गत हप्ताको भीषण वर्षा र बाढीकाकारण ३४ राजमार्गका आठ सय पाँच स्थानमा पहिरो गई सडक अवरुद्ध भएकामा सात सय ७४ स्थानको पहिरो हटाइएको छ । कूल २९ वटा राजमार्गमा विभागीय तथा भाडाकायन्त्र उपकरण र जनशक्ति प्रयोग गरी यातायात सञ्चालन गरिएको छ ।

हालसम्म पाँच वटा मुख्य राजमार्गका ३१ स्थानमा अवरुद्ध भएको यातायात सञ्चालनका गर्न अनवरत प्रयास जारी छ । कतिपय स्थानमा पहिरो हटाउनुका अतिरिक्त कटिङ फिलिङ टेवा पर्खालका साथै ह्युम पाइप र अस्थायी प्रकृतिको बेजिब्रिज समेत राखी यातायात सञ्चालन गर्नुपर्ने अवस्था रहेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ ।

४१ करोडको निर्माणाधीन चौतारा रङ्गशाला अलपत्र

जिल्ला सदरमुकाम चौतारामा २०७६ सालमा निर्माण प्रारम्भ भएको ‘मिनी’ रङ्गशाला अलपत्र परेको छ । निर्माण कम्पनीले ढिलासुस्तीले रु ४१ करोड ६२ लाखको परियोजना अलपत्र परको हो । तीन वर्षमा काम सम्पन्न गर्नेगरी गिरी कन्स्ट्रक्सनले निर्माणको ठेक्का पाएको थियो । विभिन्न बहानामा रङ्गशालाको काम रोकिएको छ ।

यसैबीच, उक्त कम्पनीले अर्को निर्माण कम्पनीसँगको साझेदारीमा रङ्गशालाको ७० प्रतिशत काम सम्पन्न गरेको दाबी गरेको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रामकृष्ण दङ्गालले पनि कछुवा गतिमा काम भइरहेको बताएका छन् । जिल्ला फुटबल सङ्घका अध्यक्ष अमृतमान श्रेष्ठले रङ्गशाला नहुँदा छ वर्षसम्म जिल्लामा खेलकुदका गतिविधि ठप्प भएका तथा मैदानमा निर्माण सामग्री थुपारिएको कारण त्यो उपयोगविहीन भएको दुखेसो गरे ।

सुनको मूल्यमा नयाँ किर्तिमान, कतिमा हुँदैछ कारोबार ?

शुक्रबार सुनचाँदीको मूल्यमा नयाँ किर्तिमान कायम भएको छ । आज सुनको मूल्य तोलामा ४ सयले बढेर तोलाको एक लाख ६१ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो ।

यसअघि असोज ११ गते सुनको मूल्य एक लाख ६१ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै बिहीबार भने सुनको मूल्य एक लाख ६० हजार ९ सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । चाँदीको मूल्य ३ रुपैयाँले बढेर १९८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्ता फेरि स्थगित

धितोपत्र बोर्डको नयाँ अध्यक्षका लागि शुक्रबार निर्धारित अन्तर्वार्ता स्थगित भएको छ । यसअघि बोलाइएका तीनैजना अनुपस्थित हुँदा रोकिएको अन्तर्वार्ता उनीहरूसहित राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारी पनि अनुपस्थित हुँदा फेरि स्थगित भएको हो ।

छनौट समितिका अध्यक्षसमेत रहेका अधिकारी अर्थमन्त्रालयमा तोकिएको अन्वार्तास्थलमा अनुपस्थित भए । त्यसैगरी, अन्तर्वार्ताका लागि सर्टलिस्टमा रहेका तीनैजना उम्मेदवार पनि शुक्रबार अर्थमन्त्रालय पुगेनन् । त्यसपछि दोस्रो पटकको अन्तर्वार्ता तालिकामा पनि स्थगित भएको हो ।

अन्तर्वार्ताका लागि बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं र नेप्सेका सीईओ कृष्णबहादुर कार्की सर्टलिस्टमा थिए । उनीहरू तीनैजनाले शुक्रबार अर्थमन्त्रालयमा अन्तर्वार्ता र कार्ययोजना प्रस्तुति गर्ने तालिका थियो । तर छनौट समितिका अध्यक्ष अधिकारी नै अनुपस्थित रहेपछि उम्मेदवारहरू पनि सहभागी नहुँदा दोस्रो पटक अन्तर्वार्ता रोकिएको हो ।

सरकारले प्रशोधित भैँसीको मासु चीन निर्यात गर्ने

सरकारले प्रशोधित भैँसीको मासु चीन निर्यात गर्ने विषयमा द्विपक्षीय सम्झौताको तयारी गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले दुई मुलुकबीच सम्झौताका लागि आवश्यक पत्र तयार गरी चिनियाँ सरकारलाई पत्राचार गरेको मन्त्रालयका सहप्रवक्ता डा तपेन्द्र बोहराले जानकारी दिए ।

मन्त्रालयले गृहकार्य पूरा गरी तयार गरिएको ‘सम्झौतापत्र’ मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरिसकेको सो पत्र चीनलाई पठाइसकेको जनाएको छ । चीन सरकारले मिति तय गरेपछि दुई देशबीच निर्यातसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । स्वीकृत सम्झौतापत्र प्रस्तावका रुपमा परराष्ट्र मन्त्रालयले कूटनीतिक माध्यमबाट चीनलाई पठाइसकेकाले चीनको जवाफ प्राप्त हुनासाथ औपचारिक रूपमा द्विपक्षीय सम्झौता हुने सहप्रवक्ता बोहराले बताए ।

बढी भाडा लिने ६ वटा गाडीका चालक र सह–चालक पक्राउ

प्रहरीले विभिन्न रुटका बढी भाडा लिने सवारी साधनका चालक र सह–चालकलाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौंबाट तनहुँ, लमजुङ र पोखरा जाने ६ वटा हायसका तीनजना चालक र तीन सहचालकलाई पक्राउ गरेको हो । उनीहरूले तोकिएकोभन्दा दोब्बर भाडा लिएको यात्रूहरूले उजुरी गरेपछि प्रहरीले पक्राउ गरेको हो । हायस सञ्चालकले काठमाडौंबाट पोखराको भाडा ७५० तोकिएकोमा १५ सय रुपैयाँ लिएको पाइएको छ ।

धरानमा चारगुणासम्म मूल्य बढ्दा नियामक मौन !

धरान उपमहानगरपालिका वार्ड नम्बर ३ स्थित कृषि उपज बजारमा थोक मूल्यमा तरकारी सागसब्जी किन्न आएका उपभोक्ताहरू मूल्य सुनेर तर्सिन थालेका छन् । यहाँका बजारमा अधिकांश फलफूल र तरकारीको मूल्य न्यूनतम ५० प्रतिशतसम्म बढेको अवस्था छ ।

चाडपर्व सुरु भएका बेला केही सस्तोमा हरिया सागसब्जी फलफूल तरकारी किन्न उपभोक्ताहरू बजारमा आइरहेका छन् । तर, टमाटरको मूल्य सुन्दा त्यो भन्दा पनि बढी रातोपिरो हुँदै तर्सिने गरेका छन् । धरान–१५ फूलबारीमार्गबाट प्रभातयात्रा (मर्निङवाक) गर्दै कृषि उपज बजारमा पसेको टीका लिम्बूले भनिन्, ‘यो चाडपर्वकै बेला फलफूल तरकारीको मूल्य किन महँगो हुन्छ ?

अरू बेला ४० रुपैयाँमा पाइने टमाटार थोक मूल्यमै किलोको १६० रुपैयाँ भन्छ व्यापारीले । कसरी किनेर खाने हो ?’ टीकासँगै आएकी फूलबारी मार्गकै देविका दाहालले यसपालिको दशैँ निकै महँगो हुने बताइन् । उनले ठट्टेउली शैलीमा भनिन्, ‘अब यो पालीको दशैँमा मासु चाहिँ पकाउने, तर त्यसमा नुनमात्र हालेर टमाटर, लसुन र प्याज नहाली पकाएर खानुपर्ने भयो ।’

काभ्रेका बाढीपीडितलाई कामपाले २० लाख पठाउने

काभ्रेपलाञ्चोकका बाढी प्रभावित तीन स्थानीय तहलाई काठमाडौं महानगरपालिकाले २०÷२० लाख रुपैयाँ अनुदान पठाउने भएको छ । महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा आज बसेको महानगर विपद् व्यवस्थापन समितिको बैठकले पालिकाहरूको कोषमा सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको हो ।यसरी सहयोग प्रदान गरिने पालिकाहरूमा पनौती नगरपालिका, रोशी गाउँपालिका र वेथानचोक गाउँपालिका छन् ।

पालिकाहरूबाट सहयोगको माग भएपछि विपद् व्यवस्थापन समितिमा छलफल गरेर सहयोगका सिफारिस गरेर महानगर विपद् व्यवस्थापन समितिमा पठाइएको समितिका संयोजक प्रेम थापाले जानकारी दिए । बाढी पहिरोको विपत्तिमा परेर पनौती नगर क्षेत्रमा २० जना व्यक्तिको मृत्यु भएको छ । ५ सय वटा घर पूर्ण र ७१३ वटा घर आंशिक रूपमा क्षति भएका छन् । २ हजारभन्दा धेरै पशु धनको क्षति भएको छ ।

रोशी गाउँपालिका क्षेत्रभित्र १२ जना व्यक्तिको निधन भएको छ । आवासीय करिब ५ सय घरमा पूर्ण क्षति भएको छ । करिब १ हजार ५ सय घरमा आंशिक क्षति भएको छ । खसी बोका, गाई, भैँसी गरेर करिब ५ सय र कुखुरा चल्ला करिब २ हजार संख्यामा क्षति भएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ६ : ३४ बजे

झाझ खोलामा डुबेर बालकको मृत्यु

सर्लाही – जिल्लाको बसवरिया गाउँपालिकास्थित झाझ खोलामा डुबेर एक बालकको

राष्ट्रसङ्घ र अन्य अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालको उपस्थिति महत्वपूर्ण रह्योः परराष्ट्रमन्त्री

काठमाडौं – परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले संयुक्त राष्ट्रसङ्घको ७९

कालढुंगामा फसेका यातायात मजदुरको बिचल्ली, उद्धारमा सरकार निरीह

काठमाडौं- गत शुक्रबार (असोज ११ गते) झापाबाट बा५ख ७३७ नम्बरको

उपभोक्ताको अधिकारप्रति संवेदनशील बन्न मानवअधिकार आयोगको आग्रह

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले आम उपभोक्ताको अधिकारप्रति संवेदनशील बन्न

बाढीपीडितलाई दलमार्फत बाँडिएको चिनियाँ राहतबारे कांग्रेस नेता पोखरेलको प्रश्न

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. गोविन्दराज पोखरेलले चिनियाँ कम्युनिस्ट पार्टीले