नेपाल-चीन सम्बन्धको वियोगान्त | Khabarhub Khabarhub

इतिहास

नेपाल-चीन सम्बन्धको वियोगान्त

नेपालको महाविपत्ति : बेत्रावती सन्धिदेखि सुघौली सन्धिसम्म


१९ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : 14 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालभन्दा चीन ६५ गुणा ठूलो छ । दुई देशबीच करिब १४१४ किलोमिटर सीमा जोडिएको छ । नेपालले सन् १९५५ अगस्ट १ देखि चीनसँग औपचारिक दौत्यसम्बन्ध कायम गरेको हो । तर, त्यसअघि नै अरनिको, भृकुटी, हुयान साङ र बुद्धभद्रहरु चीन–तिब्बत–नेपाल सम्बन्धको सेतु बनिसकेका थिए ।

नेपाल एकीकरणअघि नै स–साना राज्यसमेत उत्तरसँग सम्पर्क–सम्बन्धमै थिए । यति हुँदाहुँदै पनि इतिहासका विभिन्न कालखण्डमा चीन–नेपाल सम्बन्धका केही वियोगान्त दृष्टान्तहरु पनि छन् ।

चीन र नेपाल दुबै देशमा सामन्ती राजतन्त्रात्मक व्यवस्था रहेका बेला घटित त्यस्ता ‘वियोगान्त’ घटनालाई आधुनिक चीन र आधुनिक नेपालले बिर्सनु नै उपयुक्त हुनेछ । तथापि, ‘अन्तरराष्ट्रिय कूटनीति’ का विद्यार्थीहरुका लागि भने दुई मुलुकको ‘विगत’ बिर्सन नहुने ‘फ्याक्टर’ हो ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेपछि मात्रै उत्तरी छिमेकीसँग नेपालको जनस्तरको सम्बन्ध गाँसिएको होइन । एकीकरणपूर्व नै काठमाडौं उपत्यका, हुम्ला राज्य, पूर्वको लिम्बुवान–किरात, खस राज्य र मुस्ताङका राजा रजौटाहरुले उत्तरसँग आर्थिक, राजनीतिक र सामाजिक सम्बन्ध गाँसिसकेको पाइन्छ ।

खस राज्य र काठमाडौं उपत्यकाकै दृष्टान्त हेर्दा एकीकरणपूर्व नेपालका कतिपय साना राज्यहरु तिब्बतको संरक्षण र सहयोगमा चल्थे । नेपाल भित्रिने नुन र सुन उत्तरी नाकाबाटै आउँथ्यो । नाकाहरुलाई त्यसबेला ‘गोला’ भन्ने गरिन्थ्यो, जस्तै– ओलाङचुङगोला, तोप्केगोला आदि ।

नेपालीहरु व्यापार र रोजगारीका लागि ल्हासातिर जान्थे । उपत्यकाका नेवारहरुले ल्हासामा व्यापार गर्थे । एकीकरणपूर्व नेपाल र तिब्बतबीचको व्यापारसम्बन्ध निकै नै चलायमान थियो । नेपालबाटै सिक्का छापेर तिब्बतमा पठाइन्थ्यो । पछि विस्तारै नेपाल–तिब्बतबीचको व्यापार सुक्दै गयो । उत्तरका व्यापारिक नाकाहरु बन्द हुँदै गए । यसका पछाडि दुईबीचको वियोगान्त सम्बन्धले काम गरेको देखिन्छ ।

वर्तमान समयमा विश्वशक्तिका रुपमा उदाइरहेको आधुनिक चीनसँग आधुनिक नेपालका केही अपेक्षाहरु छन् । जस्तो– चीनको आर्थिक समृद्धिबाट नेपालले पनि फाइदा लिन सकोस्, सानो देश भएकाले नेपालको सार्मभौमिकता र स्वाधीनताको रक्षामा चीनको सहयोग रहोस् र भूराजनीतिक शक्तिसन्तुलनमा नेपालले चीनबाट आफूलाई सुरक्षित महसुस गर्न पाइराखोस् । यही मनोविज्ञानको प्रतिविम्वन विगतमा भारतबाट भएको नाकाबन्दीका बेला काठमाडौंमा उत्कटरुपमा प्रकट भएको थियो । बेलाबखत यसलाई ‘चिनियाँ कार्ड’ का रुपमा लिने गरिएको छ । तर, के नेपालले चीनबाट ‘कामरेड्ली’ मद्दत पाइरहेको छ त ? यो प्रश्नमाथि काठमाडौंमा बेलाबखत विभिन्नखाले टिप्पणी हुने गरेका छन् ।

नेपालले चुच्चे नक्शा जारी गर्नुअघि लिपुलेकको सम्बन्धमा चीन र भारतले गरेको सम्झौतालाई हेर्दा एउटा धमिलो चित्र सतहमा आउँछ । भारतीय नाकाबन्दीपछि पनि नेपाल–चीनवीच जमीन र आकाश दुबै ठाउँबाट पर्याप्त ‘कनेक्टिभिटी’ हुन सकिरहेको छैन । तातोपानी र केरुङ नाका भएर चीनले भारतसम्म व्यापार विस्तार गर्न किन हिच्किचाइरहेको छ ? यस्ता प्रश्नहरु नेपालीमाझ बेलाबखत उब्जने गरेकै छन् ।

खासगरी नेपालका कम्युनिष्ट नेताहरु चीनको नाम लिँदा नतमस्तक हुन्छन्, तर चीनको भूमिका हेर्दा यो नेपाली नेताहरुको ‘एकतर्फी प्रेम’ पो हो कि भन्नुपर्ने स्थिति पनि छ ।

शायद चीनसँग पनि नेपालका सन्दर्भमा केही गुनासाहरु हुन सक्छन् । जस्तो– नेपाली नेताहरुको बोली र व्यवहारमा एकरुपता नभेटिएको, चिनियाँ लगानीकर्ताले नेपालमा ढुक्क हुन नसकेको, तिब्बतको मामिलामा चिनियाँ सुरक्षा चासोको उचित सम्वोधन हुन नसकेको अनि नेपाल विस्तारै दक्षिण–पश्चिमतिर ढल्केको जस्ता गुनासा चिनियाँसँग हुन सक्छन् भनेर सहजै अनुमान लगाउन सकिन्छ ।

वर्तमान अवस्थामा नेपाल–चीन सम्बन्धका सकारात्मक–नकारात्मक पक्षहरु के–के हुन् ? यसबारे यो आलेखमा विश्लेषण गर्न खोजिएको छैन । बरु यहाँ विगतका केही पीडादायी घटनाहरुको मात्रै स्मरण गर्न खोजिएको छ      

वर्तमान अवस्थामा नेपाल–चीन सम्बन्धका सकारात्मक–नकारात्मक पक्षहरु के–के हुन् ? यसबारे यो आलेखमा विश्लेषण गर्न खोजिएको छैन । बरु यहाँ विगतका केही पीडादायी घटनाहरुको मात्रै स्मरण गर्न खोजिएको छ ।

इतिहासको एउटा दुःख पक्ष के देखिन्छ भने जतिखेर नेपाल बलियो थियो, त्यसबेला काठमाडौंले तिब्बतमाथि बारम्बार आक्रमण गर्‍यो । अनि जतिखेर अंग्रेजसँगको युद्धमा नेपाल कमजोर भयो, चीनसँग सहयोगको जति याचना गर्दा पनि सहयोग पाएन ।

काठमाडौं उपत्यकामा मल्ल राजाको शासन शक्तिशाली बनेसँगै प्रताप मल्लका पालामा तिब्बतमाथि नेपालले आक्रमण गरी केरुङ र कुती कब्जा गरेको इतिहासमा पढ्न पाइन्छ । (डा. गोपाल शिवाकोटी, नेपाल–भारत र चीन सन्धि, पृष्ठ ४५८) पछि, बहादुर शाह र जंगबहादुर राणाका पालामा पनि नेपालले तिब्बतमाथि बारम्बार आक्रमण गरेको पीडादायी इतिहास छ ।

तर, जब सन् १८१५ मा अंग्रेजले नेपालमाथि आक्रमण गर्‍यो, नेपालले नौसय नमस्ते गर्दा पनि चीनले नेपाललाई मद्दत गरेन । नेपालले चीनका बादशाहलाई ढोग्न मात्रै सकेन तर उत्तरको छिमेकी टसको मस गरेन । अन्ततः नेपालले एक्लै लडेर आफ्नो देश जोगायो, सुघौली सन्धि भयो ।

तिब्बतमाथि नेपालको थिचोमिचो ?

एकीकरणपूर्व र धेरैपछिसम्म नेपालले तिब्बतमाथि बारम्बार आक्रमण गरेको पाइन्छ । तिब्बतमाथि गरिएको त्यस्तो लडाइँ र भूमि कब्जा ठीक थियो कि थिएन ? आधुनिक नेपाली नागरिकले यसको नयाँ ढंगले समीक्षा गर्न आवश्यक देखिन्छ ।
किनभने, त्यसबेला नेपालमा सामन्ती शासन थियो । सामन्ती सत्ताले चालेका सबै कदमहरु सही थिए भनेर आँखा चिम्लन सकिँदैन । नेपालले आफ्नो मित्रराष्ट्र तिब्बतमाथि ‘सामन्ती राष्ट्रवाद’ वा साम्राज्यवादी व्यवहार पो गरेको थियो कि ? यसको उचित विश्लेषण र समीक्षा हुन सकेको छैन ।

कतै गोर्खा साम्राज्य विस्तारको भोककै कारण हामीले तिब्बतमाथि त्यसबेला हेपाईपूर्ण व्यवहार त गरेका थिएनौं ? यसमा इतिहासको नयाँ ढंगबाट समीक्षा हुन आवश्यक देखिन्छ ।

नेपाल एकीकरणअघि नै सन् १६४९ मा कान्तिपुरका मल्ल राजाले तिब्बतमाथि आक्रमण गरी कुती, केरुङ र खासाका केही भाग कब्जामा लिए । सन् १६४९ मार्च १० मा दलाई लामाका प्रतिनिधि र कान्तिपुरका प्रतिनिधिबीच ‘कान्तिपुर–तिब्बत सम्झौता’ सम्झौता भयो । उता गोरखाका राजाले पनि केरुङ र कुतीमाथि आँखा लगाइराखेकै थिए ।

सन् १६४९ को सम्झौतामा खासामा नेपालका व्यापारीलाई सहजरुपमा काम गर्न दिने र कान्तिपुरे साहुमहाजनहरुलाई ल्हासामा ३२ वटा कोठी (पसल) सञ्चालन गर्न दिने उल्लेख थियो । त्यस्तै, कान्तिपुरले तिब्बतलाई कुती र केरुङको आधा–आधा भाग छाडिदिने र यो सहमति उल्लंघन गर्ने देशले ५० धार्नी सुन हर्जना तिर्नुपर्ने पनि सम्झौतामा उल्लेख थियो ।

यसपछि पनि नेपाल र तिब्बतबीचको सम्बन्धमा खटपट आइरह्यो । नेपालले तिब्बतलाई दिएको सिक्का खोटो भएको उताबाट आरोप लाग्यो भने ल्हासामा रहेका नेपाली व्यापारीलाई तिब्बतीहरुले दुःख दिएको र सन्धिका शर्तहरु उल्लंघन गरेको नेपाल पक्षको आरोप रह्यो ।

यही अवधिमा नेपालमा गोर्खा राज्य विस्तार अभियान चल्यो । सन् १७६८ मा पृथ्वीनारायण शाहले काठमाडौं कब्जा गरे । त्यसको ६ वर्षपछि सन् १७७४ मा पृथ्वीनारायण शाहको मृत्यु भयो । त्यसबेलासम्म तिब्बत र नेपालबीच खचपच निकै बढिसकेको थियो ।

पृथ्वीनारायणको मृत्युको अर्को वर्ष सन् १७७५ मा नेपालले तिब्बतमाथि सैन्य आक्रमण गर्‍यो । त्यसबेला नेपालका राजा प्रतापसिंह शाह थिए । यो युद्धपछि खासामा सन्धि भयो । खोटा सिक्काहरुबारे छानविन गर्नेदेखि लिएर सुन तथा अन्य व्यापारसँग सम्बन्धित सम्झौता भए । त्यसबेला तिब्बतीहरुले नेपालको बाटो भएर भारतसँग व्यापार गर्न पाउनुपर्ने माग राखेका थिए ।

तिब्बतले १७७५ को सम्झौता पालना नगरेको, तिब्बतमा रहेका नेपाली व्यापारीलाई दुःख दिएको लगायतका आरोपहरु लगाउँदै नेपाली सेनाले सन् १७८८ मा फेरि तिब्बतमाथि हमला गर्‍यो । त्यसबेला बहादुर शाहको नायबीमा शासन चलिरहेको थियो ।

त्यो युद्धमा तिब्बतले चीनसँग सैनिक सहायता मागेको थियो । तर, चिनियाँ सेना ल्हासा आइपुग्न ढीलो भएकाले तिब्बतीहरु सम्झौतामा आउन हतारिए । सन् १७८९ मा तिब्बत र नेपालबीच ‘केरुङ सन्धि’ भयो ।

यो सन्धिमा नेपालले तिब्बतबाट वार्षिक ५० हजार रुपैयाँ पाउने, ल्हासामा नेपाली बाणिज्य दूताबास रहने, तिब्बती भिक्षुहरु काठमाडौं आउन पाउने लगायतका सहमतिहरु भए ।

तर, तिब्बतले सहमतिको पालना नगरेको भन्दै नेपालले सन् १७९२ मा पुनः तिब्बतमाथि हमला गर्‍यो । अभिमानसिंह बस्न्यातको नेतृत्वमा रहेको नेपाली सेनाले सिगात्सेस्थित टासी लामाको दिगर्चा गुम्बा कब्जा गरेर धनसम्पत्ति लुटपाट गर्‍यो । तिब्बतीहरु ल्हासातिर भागे । मस्र्याङ्दीबाट उत्तरतिर पसेको दोमोद पाण्डे र बम शाह नेतृत्वको टुकडीले कुती कब्जा गर्‍यो । नेपालको सिमाना सिगात्सेसम्म विस्तार गरी नेपाली सेनाहरु त्यहीँ बस्न थाले । उता केरुङ साइडमा नेपाली सेना झुँगासम्म पुग्यो ।

तिब्बतले नेपालसँग वार्ताको प्रस्ताव गर्‍यो । र, उसले वार्षिक ३ लाख रुपैयाँ दिने बतायो । तर, यससँगै उसले चीनसँग सैनिक सहयोग पनि मागेको थियो, यहीबीचमा चिनियाँ सेनाहरु ल्हासा आइपुगे । चीनले नेपालमा शरण लिएका श्यामार्पा लामा सुपुर्दर्गी गर्न माग गर्‍यो, नेपालले मानेन । त्यसपछि चिनियाँहरुले नेपाली फौजमाथि आक्रमण सुरु गर्‍यो । चिनियाँ सेनाले रसुवाबाट नेपाली सेनालाई पेल्दै काठमाडौंभन्दा ३० किलोमिटर टाढा, त्रिशुलीको बेत्रावती नदीसम्म लघार्‍यो । रसुवागढीको युद्ध पनि नेपालले हार्‍यो ।

अन्ततः सन् १७९२ मा चीन–नेपालबीच सन्धि भयो, जसलाई ‘बेत्रावती सन्धि’ भनिन्छ । यही सन्धिले नेपालको सीमाना रसुवागढी र तातोपानी कायम गरेको हो ।

जसरी सन् १८१६ को सुघौली सन्धिले नेपाललाई दक्षिणतिरको शक्तिसँग परनिर्भर गरायो र खुम्च्यायो, त्यसैगरी १७९२ को बेत्रावती सन्धिले नेपाललाई उत्तरी छिमेकीको अधीनस्थ बनाएर खुम्च्याएको हो । नेपाली शासकहरुको गोर्खा राज्यविस्तारको मृगतृष्णामा यिनै दुई सन्धिले ताल्चा लगाएइदिएका हुन् ।

अन्ततः लामो समयदेखि तिब्बतलाई हेप्दै आएको नेपालले बेत्रावती सन्धिपछि भने तिब्बतको हेपाई खान थाल्यो । अर्थात्, शक्तिको पासा पल्टियो ।

जब जंगबहादुर ‘हिटलर’ बन्न खोजे….

बेत्रावती सन्धि भएको ६४ वर्षसम्म त्रिशुली नदीमा धेरै पानी बगिसकेको थियो । यसवीचमा तिब्बतमा रहेका नेपाली व्यापारीमाथि दुव्र्यवहार हुने गरेको, उनीहरुको सम्पत्ति लुटिने गरेको, ल्हासामा रहेका चिनियाँ अम्बानहरुले पनि नेपालीमाथि न्याय नगरी तिब्बतीहरुकै पक्ष लिने गरेको, नेपाली सीमानामा तिब्बतीहरुले वस्ती बसाल्ने र मिच्ने गरेको जस्ता गुनासा काठमाडौंमा आइरहे, शासकहरुले सुनिरहे ।

यसवीचमा नेपालमा राजा–महाराजावीच चलेको शक्ति–संघर्ष र राजनीति अस्थिरतालाई बलवपूर्वक दबाउँदै जंगबहादुर राणाले शासन आफ्नो हातमा लिए । देशमा राजनीतिक स्थितिरता देखिएसँगै जंगबहादुर शक्तिशाली बने । भारतीय स्वतन्त्रता आन्दोलनलाई दबाउन लखनऊसम्म नेपाली सेना पठाएर ‘लखनऊ लुट’ मच्चाउन सक्ने क्षमता आर्जन गरेका जंगबहादुरले तिब्बतीहरुलाई चेतावनी दिने भन्दै सन् १८५६ मा उन्मादपूर्ण ढंगबाट तिब्बतविरुद्ध युद्धको घोषणा गरे ।
जंगबहादुरले तिब्बतविरुद्ध गरेको त्यो युद्ध जायज थियो या नाजायज ? यसको पनि नेपाली राजनीतिमा विश्लेषण हुन जरुरी छ । हिटलरले गुमेको प्रतिष्ठा उठाउँछु भन्दै दोस्रो विश्वयुद्ध छेडेजस्तै जंगबहादुरले बेत्रावती सन्धिमा ‘गुमेको प्रतिष्ठा’ फर्काउने सुर कसेका थिए ।

जंगबहादुरको शासनमा नेपाली सेनाले फेरि केरुङ, डिग्री, झुँगा आदि भूभाग कब्जामा लियो । सिन्धुपाल्चोकबाट पसेको सेनाले खासा कब्जा गर्‍यो । कुती पनि नेपाली सेनाले कब्जा गर्‍यो । झुँगा र सुनगम्पामा नेपाली सेनाको क्याम्प खडा भयो । झँुगागढीमा नेपालीले १५ सय तिब्बती फौज मारेको इतिहासका दस्तावेजहरुमा पढ्न पाइन्छ । पश्चिमतर्फ पनि मुस्ताङ, जुम्ला, हुम्ला, डोल्पा आदि ठाउँमा सीमा सुरक्षाका लागि सैनिकहरु तैनाथ गरिए ।

यसैवीच, अन्ततः काठमाडौंको थापाथलीमा सन् १८५६ मार्च २४ मा नेपाल–चीनवीच सन्धि भयो, जसलाई ‘थापाथली सन्धि’ का नामले चिनिन्छ ।

जंगबहादुरले तिब्बतसँग गरेको युद्धले नेपाललाई के फाइदा भयो ? इतिहासकारहरुका अनुसार यो लडाइँपछि तिब्बतमा रहेका नेपाली व्यापारीले झनै असुरक्षित महसुस गर्न गर्न थाले । तिब्बतीहरुले सिक्किमको बाटो भएर भारतसँग व्यापार गर्न थाले 

थापाथली सन्धिअनुसार तिब्बतले नेपाल सरकारलाई प्रतिवर्ष १० हजार रुपैयाँ दिने, युद्धकालमा नेपालले कब्जा गरेका तिब्बती भूमि फिर्ता गर्ने, दुबै देशले चीनका बादशाहलाई मान्ने र तिब्बतमाथि कसैले आक्रमण गरेमा त्यसविरुद्ध नेपालले तिब्बतलाई सहयोग गर्ने, ल्हासामा नेपाली व्यापारीहरुका लागि सहज वातावरण बनाउने, दुबै देशका अपराधीहरु सुपुर्दर्गी गर्ने, नेपाली व्यापारीबाट तिब्बतीहरुले लुटेको सम्पत्ति फिर्ता गर्ने, आदि–इत्यादि सहमतिहरु सन्धिमा भए ।

जंगबहादुरले गरेको युद्धले नेपाललाई के फाइदा भयो ? हुन त बेत्रावती सन्धिभन्दा थापाथली सन्धि नेपालको स्वाभिमानको पक्षमा सकारात्मक रहेको विश्लेषण गर्ने गरिएको छ । तर, इतिहासकारहरुका अनुसार यो लडाइँपछि तिब्बतमा रहेका नेपाली व्यापारीले झनै असुरक्षित महसुस गर्न गर्न थाले । उनीहरुमाथि तिब्बतीले गर्ने व्यवहारमा खासै सुधार भएन । युद्धका कारण सम्बन्धमा झनै चिसोपन आयो ।

अन्ततः तिब्बतीहरुले नेपालको बाटो भन्दा सिक्किमको बाटो भएर भारतसँग व्यापार गर्ने चाहना देखाउन थाले । त्यसपछि क्रमशः तिब्बतसँगको नेपालको व्यापार खुम्चँदै र सुक्दै गयो । सिक्किमको बाटो भएर चीन र तिब्बतले भारतसँग व्यापार बढायोे ।

राणा प्रधानमन्त्री चन्द्रसमशेरका पालामा अंग्रेजहरुले तिब्बतमाथि हमला गरे । त्यसबेला नेपालले उल्टै अंग्रेजहरुलाई चौंरी दिएर सघाएको आरोप चिनियाँहरुले लगाए । भलै यो आरोप नेपालले स्वीकार गरेको छैन ।

दक्षिणबाट आक्रमण, उत्तरबाट धम्की !

सन् १८१४ देखि १८१६ सम्म करिब १५ महिना नेपाल–अंग्रेजबीच युद्ध भएको थियो, जसलाई सुघौली सन्धिले टुंग्याएको थियो । यो १५ महिनाको अवधि भनेको नेपालको राष्ट्रिय स्वाभिमानको रक्षाका लागि हाम्रा पूर्खाहरुले भोग्नुपरेको असाध्यै दुःखका दिनहरु थिए । र, यसबेला नेपालले चीनसँग तारन्तार सहयोग माग्दा पनि पाएको थिएन र सानो देशले विश्व साम्राज्यवादसँग एक्लै लडाइँ लड्नपरेको थियो ।

भारत कब्जा गरेर बसेको इष्ट इण्डिया कम्पनीले नेपालमाथि हमला गर्न लागेका बेला नेपाल सरकारले चीन सरकारसँग सैन्य सहायता मागेको माग्यो । तर, चीनले यसमा वास्ता गरेन । नेपाललाई उल्टै हप्कायो । ‘दक्षिणसँग मिलेर बस्नू, उत्तरको सीमा तिमीहरुले नै रक्षा गर्नू’ भन्यो ।

यसका ऐतिहासिक दृष्टान्तहरु नेपाली इतिहासमा संग्रहित छन्, जसको चर्चा गरौं–

आर्थिक सहयोग र खरखजाना पाऊँ : नेपाल

सन् १८१४ मा राजा गिर्वाणयुद्ध वीरविक्रम शाहको नामको पत्र बोकेर नेपाली प्रतिनिधिमण्डल चिनियाँ अम्बानहरुलाई भेट्न तिब्बत पुग्यो । त्यसबेला राजाले चिनियाँ बादशाहसमक्ष गुहार माग्दै पठाएको पत्रको भावार्थ व्यहोरा यस्तो थियो–

तिब्बतमा आक्रमण गर्ने उद्देश्य लिई अंग्रेजहरुले त्यतातर्फको बाटो विचार गर्न भनी आफ्ना गुप्तचर हाम्रो अधिराज्यका पहाडी भेगहरुतर्फ पठाएका रहेछन् । जोगी एवं सन्यासीहरुका भेषहरु पहिरिई फकीरको भेष धारण गरेर आएका त्यस्ता गुप्तचरहरुलाई हाम्रा चौकीदारहरुले बीच बाटा–बाटामा नै पक्रिएका थिए ।

चीनका बादशाहबाट हुकुम प्राप्त नभई तिब्बत जान पाइँदैन भनी हाम्रा चौकीदारहरुले उनीहरुलाई दण्ड शासनाहरु दिई आफ्नो देशबाट निकाला गरिदिएकाले, आफूहरुलाई तिब्बततर्फ जान दिएन भन्ने यसै रीसले उनीहरुले अहिले हाम्रो देशमा जोडदार आक्रमण गर्ने तयारी गरिरहेका छन् ।

हाम्रो देशलाई खाइसकेपछि उनीहरुले तिब्बतलाई पनि छाड्ने छैनन् भन्ने निश्चय गरी आफ्ना जे–जति भएका सैनिकहरु जम्मा गरी पूर्वमा कन्काई एवं टिष्टा नदी र पश्चिममा सतलज नदीसम्मका सम्पूर्ण भूभागहरुमा रसद–पानी र खर–खजानाहरु जम्मा गरी हामीले आफ्नो तर्फबाट आवश्यक सैनिक तयारीहरु पूरा पनि गराइसकेका छौं । बर्खाको याम शुरु भैसकेकाले अहिले तुरुन्त नै नआए पनि बर्खा सकिनेबित्तिकै उनीहरु यहाँ अवश्य पनि आउने छन् ।

तिब्बतमा जानको निमित्त हामीले उनीहरुलाई बाटो छोडिदिएमा उनीहरुले हाम्रो कुनै हानी–नोक्सानी पनि गर्ने छैनन् । तर, तिब्बतको सुरक्षा गर्नु हाम्रो पनि कर्तव्य भएकाले लडाइँको निमित्त हामी पूरापूर तैयार भएर बसिरहेका छौं ।
यसैले उनीहरुलाई रोक्नको निमित्त चीन बादशाहका तर्फबाट हामीलाई केही आर्थिक सहयोग र सम्भव भएसम्मका खर–खजाना पनि यथासम्भव चाँडो उपलब्ध गराइयोस् भनी यहाँहरु समक्ष हार्दिक अनुरोध गर्दछौं ।

(आचार्य बाबुराम, चीन तिब्बत र नेपाल, पृष्ठ–२०३)

आइन्दा यस्तो माग हामीकहाँ नल्याउनू : चीन

नेपालले मागेको सहायताको जवाफमा चिनियाँहरुबाट यस्तो व्यहोराको पत्र आयो–

अंग्रेज र तिब्बत सरकारका बीचमा अहिलेसम्म कुनै पनि किसिमका बैरभावहरु भएका छैनन् र उनीहरु अहिलेसम्म यहाँ आएका पनि छैनन् । यसैले तिब्बतमा आक्रमण गर्नको निमित्त बाटा–घाटाहरुको चियो–चर्चो गर्न उनीहरु यहाँ आए होलान् भन्ने कुरालाई विश्वास गर्न सकिँदैन । तैपनि उनीहरु कथंकदाचित यहाँ आएका नै हुन् भने पनि उनीहरुलाई छेक्ने काम त्यहाँ तपाईहरुको नै हो । बादशाहको दक्षिणतर्फको ढोकाको सुरक्षा गर्ने अभिभारा त्यहाँ तपाईहरुमाथि नै रही आएको छ ।

जहाँसम्म हामीसँग नगद र खरखजानाको माग गर्नुभएको र यो व्यहोरा चीन बादशाहका हजूरमा जाहेर गरी पठाउने भन्ने कुरा छ, यो भने विचारणीय भएर रहेको छ । बादशाहका खरखजाना र नगद रकमहरु अरु देशहरुलाई दिन चलन आजसम्म प्रचलित रहेको छैन ।

अंग्रेजको विरुद्धमा त्यहाँ तपाईहरुलाई सहयोग गर्न आउनुको अर्थ हुन्छ, हामीले आफ्ना देशका सीमा क्षेत्रहरुबाट बाहिर निस्कनु । यसो गर्ने पनि हाम्रो प्रचलन रहिआएको छैन ।

तिब्बतका सीमाक्षेत्रमा हाम्रा सैनिकहरु अहिले पनि रही नै रहेका छन् । हामी अम्बानहरु तपाईका यस्ता अनुपयुक्त कुराहरु बादशाहको हजूरमा बिन्ती जाहेर गरी पठाउन सर्वथा असमर्थ रहेका छौं । निर्धारित समय नभई बादशाहका हजूरमा बिन्ती जाहेर गरी पठाउनु सम्भव रहेको छैन ।

यसैले अहिलेलाई तपाईहरुले अंग्रेजहरुसँग मिलिजुली गरी आफ्नो मुलुकको स्याहार र सम्भार गरी बसेमा नै बेस होला । यसो गरेमा नै तपाईहरुमाथि बादशाहको युगयुगान्तरसम्म मेहरबानी रहिरहन सक्नेछ । अब आइन्दा यस किसिमका मागहरु त्यहाँबाट हामीकहाँ कहिल्यै पनि नआउन् । (उही, पृ. २०४)

फेरि नेपालको याचना, चीनको रुखो जवाफ

चिनियाँ अम्बानको धम्कीमिश्रित जवाफपछि फेरि नेपालले राजा गिर्वाणयुद्ध वीरविक्रम शाहका नामबाट सहायताको याचना गर्दै अर्को पत्र पठायो । तर, त्यसको जवाफ पनि चिनियाँहरुबाट उस्तै रुखो किसिमको आयो । चिनियाँहरुको दोस्रो जवाफमा यस्तो भाव प्रकट भएको थियो–

त्यहाँबाट तपाईले पठाउनुभएको पत्र यहाँ हामीकहाँ यथा समयमा नै आइपुगी अर्थ मालुम भयो । बादशाहका हजूरमा अर्जीपत्र जाहेर गरी बादशाहबाट अंग्रेजहरुका नाममा ‘तपाईहरुले नेपाल सरकारलाई दपेटा नदिनू, दुबै देशले आ–आफ्ना साँध र सीमानाहरुभित्रै रहिरहनू’ भनी पत्र लेखी पठाउने व्यवस्था मिलाउन पाए हुने थियो भनी हामीलाई आग्रह गर्नुभएको रहेछ ।

यस सम्बन्धमा हामीले विचार गर्दा चीन बादशाहका हजूरमा अर्जीपत्र एवं उपहारहरु पठाउने तपाईका जस्ता देशहरु यस संसारमा हजारौंको संख्यामा रहेका छन् । अर्जीपत्र एवं उपहारहरु पठाउने निर्धारित समय आएपछि बादशाहका हजूरमा विन्ती जाहेर गरी पठाउने पम्परा चलिआएको यहाँहरुलाई पनि अवगत नै रहेको छ । साविकदेखि चलिआएको यस शिष्टाचारलाई उल्लंघन गरी नियत समय नभई अहिले नै बादशाहका हजूरमा अर्जीपत्र जाहेर गरी पठाउनु सम्भव रहेको छैन । यसरी असमयमा नै ‘खलितापत्र’ पठाइएमा बादशाहबाट रिसानी हुन्छ ।

यो कुरा पहिले पनि यहाँलाई जानकारी गराइएको नै हो । अंग्रेजहरुसँग मिलिजुली आफ्नो मुलुकको स्याहार तथा सम्भार गरी बसिहनू । यहाँ पटक–पटक धेरै कुराहरु लेखिनरहनू र दूतहरु पनि पटक–पटक पठाइनरहनू ।’

(उही, पृ. २०४-२०५)

नेपालको अर्को पत्र

चीनसँगको पत्राचार हुँदाहुँदै अंग्रेजहरुले दक्षिणतर्फबाट नेपालमाथि आक्रमण गरिसकेका थिए । नेपालले चीनलाई चिठी लेख्न छाडेन । नेपालले अर्को चिठी पठायो–

हाम्रो देशमा सबै तराई क्षेत्रहरु कब्जा गरी पहाडी क्षेत्रहरुमा पनि उक्लिएर अंग्रेजहरुले हाम्रो कुमाऊ प्रदेशलाई घेरा दिइसकेसम्मको व्यहोरा यहाँहरुलाई पहिले पनि जानकारी गराइएको हो । अहिलेसम्म कुमाऊ प्रदेश त प्रायः सबै नै उनीहरुको कब्जामा पुगि नै सकेको छ । कुमाऊ भन्दा पूर्वका पहाडी भूभागहरु मात्र हाम्रो देशमा बाँकी बचेर रहेका छन् ।

हामीले आजसम्म पनि चीन बादशाहलाई मानि नै आएका छौं । हामीलाई आइपरेको अहिलेको यस विपत्तिको घडीमा बादशाहका हजूरमा बिन्ती जाहेर गर्न पाएमा बादशाहबाट हामीमाथि मेहरबानी होला, हामीहरुको दुःख र कष्टहरु छुट्ला र सुख पाउँला भन्ने हामीले ठूलो आशा राखिरहेका छौं ।

निर्धारित समय नआई बीच अवधिमा अर्जीपत्र एवं मानिसहरु कोही पनि बादशाहका हजूरमा पठाउन मिल्दैन भनी त्यहाँबाट लेखी आउँदा हामीहरुको निमित्त आशाको तन्तु पूरापूर मेटियो ।

हामीले बादशाहका हजूरमा अर्जीपत्र चढाई पठाउने वर्ष आइपुगुञ्जेलसम्ममा उनीहरुले यस मुलुकलाई बाँकी राखिदिए भने त्यसपछि त्यहाँबाट केही मद्दत आयो र हामीले संघर्षपूर्ण लडाइँहरु लडेर यतिञ्जेलसम्म आफ्नो देशलाई बचाइराख्न सक्यौं भने बेशै भयो, त्यसपछि बादशाहका हजूरमा अर्जीपत्र चढाई पठाउँला र बादशाहबाट आवश्यक सहायता पनि प्राप्त होला ।

होइन, त्यहाँबाट कुनै किसिमको सहायता प्राप्त हुने सकेन र हामीले भरिसक्य प्रयत्न गर्दा पनि आफ्नो देशलाई बचाउन सकेनौं भने त्यतिबेला बादशाहका हजूरमा आवश्यक बिन्ती जाहेर गरी बादशाहलाई चित्त बुझाउने जिम्मेवारी त्यहाँ तपाईहरुमाथि नै रहनेछ । हामीले यहाँलाई अनुरोध गर्नुपर्ने खास कुरा अहिले लाई यत्ति नै हो । धेरै कुराहरु नलेखौं ।

(उही, पृ. २०५)

चिनियाँ बादशाहलाई फेरि अर्को याचना

चीनले नेपाललाई फेरि पनि कुनै ‘रेस्पोन्स’ गरेन । नेपाली शासकहरु अंग्रेजको आक्रमणबाट आत्तिइसकेका थिए । त्यसर्थ नेपालले पुनः तिब्बतमा रहेका चिनियाँ अम्बानहरुलाई अर्को पत्र लेख्यो । पत्रको भाव यस्तो थियो–

बादशाहका हजूरमा अर्जीपत्र पुर्‍याउन पाएमा र बादशाहका तर्फबाट सम्भव आर्थिक सहायता उपलब्ध हुन सकेमा आफ्नै मुलुकमा थप सैनिकहरु भर्ना गरी लड्न पाउने थियौं र अंग्रेजहरुलाई हराई आफ्नो मुलुकलाई जस्ताको त्यस्तै थाम्न सक्ने थियौं । यसो गर्न पाएमा हाम्रो देशका प्रजा र प्राणीहरुले दुःख पाउने थिएनन् ।

हामीमाथि दुःख आइपरेको र हाम्रो मुलुकले दुःख पाइरहेको व्यहोरा बादशाहका हजूरमा जाहेर हुन पाएमा बादशाहको तर्फबाट अवश्य पनि केही न केही सहयोग प्राप्त हुनेछ भन्ने निश्चय गरी अर्जीपत्र जाहेर गरी पठाउन भनी ल्हासामा रहेका अम्बान समक्ष हामीले निकै पत्रहरु पठायौं । तर, यहाँबाट पठाइएका ती पत्रहरु त्यहाँ बादशाहका हजूरमा जाहेर भए वा भएनन् थाहा हुन सकिरहेको छैन ।

यसै व्यहोराको अर्जीपत्र त्यहाँ बादशाहका हजूरमा चढाई पठाउन आफ्ना दूतहरु पेकिङसम्म पठाउन पाउँ । उनीहरुले त्यहाँ गएर हामीलाई परेका दुःख र दर्दहरु सबै बादशाहलाई जानकारी गराउने नै छन् । यसको निम्ति अनुमति प्राप्त होस् भनी हामीले अम्बानहरुका समक्षमा पटक–पटक अनुरोध पनि गरेका हौं । तर, यस्ता अनुरोधहरुप्रति अम्बानहरुका तर्फबाट कत्ति पनि अभिरुची प्रकट भएका छैनन् ।

हामीले गरेका उपर्युक्त अनुरोधहरुप्रति समुचित ध्यान नदिई अम्बानहरुको तर्फबाट हामीलाई कुनै पनि किसिमका सहयोगहरु प्राप्त हुन नसक्दा अहिलेसम्ममा हाम्रो देशका कुमाऊदेखि सतलज नदीसम्मका सम्पूर्ण भूभागहरु अंग्रेजहरुका अधिकारमा पुगिसकेका छन् र बाँकी बचेका भूभागलाई पनि आफ्नो अधिकारमा पार्न उनीहरु निरन्तर लागि नै रहेका छन् ।

‘तिमीहरुले अब उप्रान्त हामीलाई मान्नुपर्छ, चीन बादशाहलाई नमाने पनि हुन्छ’ भनी उनीहरुले हामीलाई करेपिरहेका छन् । अब हामीले के–कसो गर्ने होला ?

‘तिमीहरुले आजसम्म हामीलाई मानिआएका हौ, अब उप्रान्त पनि हामीलाई मान्नुपर्छ, अंग्रेजलाई मान्नुपर्दैन भन्ने निर्देशन हुन्छ भने हामीलाई भरिसक्य चाँडो सम्भव भएसम्म आर्थिक तथा सैन्य सहायताहरु पठाइयुन् । त्यहाँबाट चाँडो सहायता प्राप्त भएन भने हाम्रो आफ्नै बल र बुर्गातले मात्र मुलुकलाई थामिराख्न सकिले लक्षण देखिँदैन ।

‘तिमीहरुले आजसम्म हामीलाई मानिआएका हौ, हामीबाट पनि तिमीहरुलाई पिछा लिइएको हो, अब उप्रान्त भने हामीले तिमीहरुलाई पिछा लिन सकेनौं, तिमीहरुलाई सहायता उपलब्ध गराउन नसक्ने भयौं’ भन्ने निर्देशन हुन्छ भने सोहीअनुसारको जानकारी गराइयोस् ।

हामीलाई आइपरेको अहिलेको यो दुःख जे–जसो गरेमा मेटिन्छ, यसको व्यवस्था चाँडो से चाँडो भएमा यहाँका प्रजा र प्राणी सबैले सुख पाउनेछन् र चीन बादशाहको दक्षिणतर्फको ढोका पनि बलियो रहि रहनेछ । यहाँहरुलाई निवेदन गर्नुपर्ने व्यहोरा अहिलेलाई यत्ति नै हो ।

(उही, पृ. २०६)

चीनको अझ कडा जवाफ

चीनले पुरानै शैली दोहोर्‍याउँदै तर अझ कडा शब्दमा नेपाललाई यस्तो जवाफ दियो–

चीन बादशाहका हजूरमा अर्जीपत्र जाहेर गरी मौसूफबाट ‘नेपाल भनेको हाम्रो हजूरमा पिछा परी हामीलाई मानिआएको देश हो, तिमीहरु नेपालसँग विवाद नगर, उसका भूभागहरु उसलाई नै फिर्ता छोडिदेउ’ भनी अंग्रेजहरुका नाममा आदेश पठाउने व्यवस्था गरियोस्, यदि त्यहाँबाट त्यस्तो आदेशपत्र जारी गर्न सम्भव छैन भने ‘तिमीहरुले अब उप्रान्त अंग्रेजहरुलाई माने पनि हुन्छ, चीन बादशाहलाई मानिरहनुपर्दैन’ भन्ने जानकारी हामीलाई पठाइयोस्, यदि यसो गर्नु सम्भव छैन भने पनि हामीले चीन बादशाहलाई युग युगान्तरदेखि मानी आएको गुनलाई सम्झी आफ्ना दूतहरुका साथ खलितापत्र एवं उपहारहरु बादशाहका हजूरमा चीनमा अहिले नै पठाइदिए पनि हुन्छ भन्ने सन्देश हामीकहाँ यथाशिघ्र पठाइयोस् भनी त्यहाँबाट लेखिई आएको रहेछ ।

वास्तवमा तपाईहरुले बादशाहलाई मानी आउनुभएकाले नै बादशाहको तर्फबाट आजसम्म तपाईहरुमाथि मेहरबानी रहँदै आएको हो । बादशाहबाट भएको यसै मेहरबानीलाई सम्झिई आ–आफ्ना देशका साँध सीमानाहरु राम्रोसँग सम्भार गर्दै रहनू र साँध सीमानामा रहेका अरु राजाहरुसँग पनि मिलीजुली रहनू । यसो गरेमा नै बादशाहको तर्फबाट तपार्यहरुमाथि पछिसम्म मेहरबानी रहिरहने छ ।

चीन बादशाहलाई मानेर बसेका देशहरु यस संसारमा हजारौंको संख्यामा रहेका छन्, सबैलाई बराबरी गरी हेरिँदै पनि आएको छ, बादशाहबाट कसैको पनि पक्ष लिने गरिएको छैन । कहीँ लडाइँ झगडाहरु भयो भने हाम्रोतर्फबाट न्याय र इन्साफ मात्र गरिन्छ, कसैको पक्ष लिएर काम कारवाही केही पनि गरिने गरेको छैन । यसैले बादशाहबाट अंग्रेजहरुका नाममा यहाँहरुले भनेजस्ता पत्रहरु पठाइरहनु सम्भव रहेको छैन ।

यस्ता व्यहोराहरु बादशाहका हजूरमा बिन्ती जाहेर गरी पठाइयो र बादशाहलाई यस्ता व्यहोराहरुको जानकारी हुन आयो भने बादशाहका दृष्टिमा तपाईहरु अवश्य पनि दण्डभागी ठहरिनु हुनेछ । ठूलो फौजका साथ आई तपाईहरुसँग यस सम्बन्धमा आवश्यक स्पष्टीकरण मागियो भने तपाईहरुले यसमा कुनै पनि जवाफ दिन सक्नु हुनेछैन । तपाईहरुले व्यर्थमा पछि पछुताउनुपर्ला ।

(उही, पृ. २०७)

ल्हासाबाट फेरि अर्को चिठी

ल्हासामा रहेका चिनियाँ अम्बानहरुले अंग्रेजसँगको युद्ध सकिनेबेलामा नेपाललाई अर्को एउटा पत्र पठाए, जसको भाव यस्तो थियो–

अंग्रेजहरुले हामीलाई यसरी दुःख दिए, अब के गर्ने होला ? भनी भारदारीसभा गरी सरसल्लाह गर्दा चीनका बादशाहका हजूरमा खलितापत्र जाहेर गरेर पठाउने, यसो गरेमा बादशाहका तर्फबाट अंग्रेजहरुका नाममा ‘तपाईहरुले नेपाललाई उसको आफ्नो देश जस्ताको त्यस्तै छोडिदिनू र आफ्नै साँध सीमानाहरुमा फर्केर जानू’ भन्ने हुकुम हुन्छ कि भन्ने निर्णय भएकाले यसैअनुसार पत्र लेखिएको हो भन्ने व्यहोरा त्यहाँबाट तपाईले पठाउनुभएको पत्रमा उल्लेख भएको रहेछ ।

तपाईहरुको यो भनाइ सर्वथा योग्य रहेको छैन । बादशाहको हजूरमा पिछा परेर बसिरहेका देशहरु यस संसारमा हजारौंको संख्यामा रहेका छन् । उपहार मात्र पठाउने देशहरुको त गन्ती गरेर नै साध्य रहेको छैन । पहिलेका त्यहीँका नेवार(मल्ल) राजाहरु पनि बादशाहका हजूरमा नै पिछा परेर बसिरहेका थिए । तपाईहरुले पनि उनीहरुलाई बलैसँग हटाइदिनुभएको हो । तैपनि तपाईहरुलाई पनि बादशाहको तर्फबाट मान्यता मिलि नै रहेको छ ।

तपाईहरु अंग्रेजहरुसँग लडाइँ लड्नोस् या नलड्नोस्, हामीलाई त्यसको कुनै पनि सरोकार रहेको छैन । तर, हाम्रो तर्फबाट आर्थिक मद्दत र खरखजानाहरु केही पनि तपाईहरुको निमित्त पठाउन सम्भव रहेको छैन ।

बादशाहको हुकुमअनुसार हामीले अहिले यहाँ ल्हासासम्म आफ्ना फौजहरु लिई आएको यहाँहरुलाई मद्दत गर्नको निमित्त होइन । ‘तिब्बतमा जानको निमित्त हामीलाई बाटो छोडिदेऊ’ भनी र ‘चीन बादशाहलाई अब उप्रान्त तिमीहरुको उपहार तथा सौगातहरु केही पनि चढाई पठाउनुपर्दैन’ भनी यहाँहरुलाई ज–जसले भनेका हुन्, तिनै–तिनैसँग लडाइँ गरी तिनै–तिनैलाई भस्म खरानी पार्नको निमित्त मात्र तिनीहरु(चिनियाँ सेना) लाई यहाँ ल्याइएको हो ।

‘तिब्बतमा जानको निमित्त हामीलाई बाटो छोडिदेऊ’ र ‘चीन बादशाहलाई तिमीहरुले उपहारहरु चढाई पठाउनुपर्दैन’ तपाईहरुलाई अंग्रेजले भनेका हुन् वा तपाईहरुले आफ्नैतर्फबाट भन्नुभएको हो ? यस सम्बन्धमा चाँडो गरी जानकारी पठाइयोस् । हामीले समुचित विचार गरी यसमा जसको दोष हो, उसैलाई भस्म तुल्याइदिनेछौं, यसमा तपाईहरुले कुनै पनि द्विविधा नमाने पनि हुन्छ ।

तपाईहरु समुचित विचार पुर्‍याउन सक्नुहुन्छ भने अर्जीपत्र र उपहारहरु साविक अनुसार बादशाहका हजूरमा नियमित रुपमा पठाउँदै रहनुहोस्, पठाउनुभएन भने राम्रो हुने छैन ।

अंग्रेजसँग तपाईहरुले एक–दुई लडाइँहरु लड्दैमा तपाईहरुको सम्पूर्ण देश नै सकिहाल्ने पनि होइन । तर, बादशाहको ठूलो फौजसँग मुकाविला गर्न तपाईहरु कसरी पो सक्नुहोला ?
तपाईहरु पहिलेदेखि नै बादशाहका हजूरमा पिछा गर्दै आइरहनुभएको हो । अब पनि बादशाहको पिछा गर्दै रहेमा नै तपाईहरुका निमित्त युगयुगान्तरसम्मका लागि कल्याण हुनेछ । हाम्रो फौज यहाँबाट दायाँ–वायाँ कतै नलाग्दै यस पत्रको प्रत्युत्तर तुरुन्तै पठाउनुहोला ।

सुख र दुःख गरी जीवनका दुईथरी बाटोहरु रहेका छन् । यी दुईथरी बाटोहरुमध्ये तपाईहरुले कुनचाहिँ बाटो रोज्ने हो ? आफ्नैतर्फबाट राम्रोसँग विचार गर्नुहोस् ।

(उही, पृ.२०८–२०९)

(नोट : यहाँ चीन र नेपालबीच आदान-प्रदान भएका भनिएका पत्रहरु इतिहासकार बाबुराम आचार्यको पुस्तक ‘चीन तिब्बत र नेपाल’ बाट लिइएका हुन् । आचार्यले पुस्तकमा ती पत्रहरुको स्रोत भने उल्लेख गरेको पाइँदैन । उनले यी पत्रहरुलाई ‘निम्नाङ्कित भावको पत्र’ भनेर ‘इटालिक’ मा प्रस्तुत गरेका छन् । नेपाल सरकारले आचार्यलाई ‘इतिहास शिरोमणि’ मानेको छ र उनको पुस्तकमा रहेका यी पत्रहरुलाई कसैले पनि अहिलेसम्म चुनौती दिएको अवस्था छैन ।)

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  ६ : ३६ बजे

नेपाल र थाइल्याण्डबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानमन्त्री 

बैङ्कक– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो औपचारिक भ्रमणबाट नेपाल र

दीपक बोहराको शव बालुवाटारस्थित निवासमा (तस्बिरहरू)

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक बोहराको शव

सुर्खेतमा दुई मेगावाटको सौर्य विद्युत् आयोजना निर्माण हुने

सुर्खेत– सुर्खेतको लेकवेशी नगरपालिका–१० स्थित साटाखानीमा नेपाल विद्युत् प्राधिकरणले दुई

लोडसेडिङ हटेपछि निर्यात उद्योग खुसी

काठमाडौं– उद्योगमा लोडसेडिङ हटेपछि निर्यात उद्योगीहरू खुसी भएका छन् ।

आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास महत्त्वपूर्ण : एनपी साउद

काठमाडौं– पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले क्षेत्रीय शान्ति तथा स्थिरता कायम राख्न