मैले राजनीतिमा बिजनेश गरिदिएँ : विनोद चौधरी | Khabarhub Khabarhub

मैले राजनीतिमा बिजनेश गरिदिएँ : विनोद चौधरी

अनि धीरेन्द्रको सेयर आफ्नो नाममा सारेँ.....


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


855
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका अर्बपति एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरीले पञ्चायतकालमा कसरी राजदरबारको आडमा आफ्नो बिजनेशलाई अघि बढाएका थिए ? तत्कालीन अधिराजकुमार धीरेन्द्र शाहका नाममा रहेको एपोलो स्टिलको ४९ प्रतिशत सेयर विनोदले कसरी आफ्नो नाममा नामसारी गरे ?

राजदरबारबाट धीरेन्द्र शाहको श्री ५ को पदवी खोसिएपछि धीरेन्द्रकी पत्नी प्रेक्षाले चौधरी परिवारसँग राखेको माग के थियो ? धीरेन्द्रको सेयर प्रेक्षालाई फिर्ता गर्न चौधरीले किन मानेनन् ? ०४६ सालमा बहुदल आएपछि चौधरी कसरी ‘पत्तासाफ’ हुनबाट जोगिए ?

यी यावत् प्रश्नको जवाफ दिन यतिबेला धीरेन्द्र शाह र प्रेक्षा दुबै जीवित छैनन् । धीरेन्द्र दरबार हत्याकाण्डमा दाजु वीरेन्द्रसँगै मारिए । प्रेक्षा चढेको हेलिकोप्टर रारातालमा डुब्यो, अहिलेसम्म भेटिएको छैन । जीवितै रहेका उद्योगी विनोद चौधरीकै शब्दमा त्यसबेलाको राजपरिवारसँगको व्यवसायिक पार्टनरसिप र चमक–धमकबारे सुनौं–

अनि धीरेन्द्रको सेयर आफ्नो नाममा सारें…

यी सबै २०४० सालतिरका घटनाक्रम हुन् । म २८ वर्षको थिएँ । त्यतिखेर धेरैले मलाई दरबारसँग वैरभाव राखेर हुँदैन, सम्झौता गर्नुपर्छ भनेर सम्झाएँ । …. म धीरेन्द्र सरकारलाई भेट्न गएँ ।

उहाँलाई मेरो नालीबेली सबै थाहा रहेछ । ‘मैले तिम्रो सबै कुरा बुझेको छु ।’ उहाँले मेरो पीठ थप्थपाउँदै भन्नुभयो, ‘यिनीहरु (चौधरीका विपक्षी) ले तिमीलाई टिक्न दिँदैनन् ।’

‘अब के गर्ने त सरकार ?’ मैले हात जोडेर बिन्ति गरेँ ।

‘तिमी मसँग मिलेर एउटा काम गर । तिम्रा सारा समस्या आफैं हराएर जान्छन् । तिमीलाई छुने ताकत कसैको हुँदैन ।’

मलाई त नारायणी सेना माग्न जाँदा स्वयं नारायणै पाएजस्तो भयो । चुपचाप हात जोडेर कुरा सुनिरहेँ ।

‘एउटा बिजनेश मसँग गर्‍यौ भने दुनियाँको नजरमा म तिम्रो पार्टनर हुन्छु,’ उहाँ भन्दै हुनुहुन्थ्यो, ‘पछि तिमीले एक्लै काम गर्दा पनि पछि दुनियाँलाई मेरो पार्टनरसिप छ भन्ने लाग्नेछ ।’

हामीले तुरुन्त एपोलो स्टिल इन्डिष्ट्रिजमा काम सुरु गर्‍यौँ । त्यतिखेर स्टिल उद्योगमा गोल्छाको एकाधिकार थियो । त्यो एकाधिकार तोड्दै हामीले एपोलो स्टिलको लाइसेन्स लियौँ । धीरेन्द्र सरकारको नाउँ जोडिएपछि लाइसेन्स पाउन अलिकति पनि माथापच्ची गर्नुपरेन । त्यतिखेर दरबारका मान्छेहरुसँग साझेदारी गर्दा ५१ प्रतिशत शेयर आफूसँग राख्थे, ४९ प्रतिशत लगानी गर्नेको भागमा जान्थ्यो । धीरेन्द्रले पहिलोचोटि मसँग यसको ठीक विपरीत अनुपातमा साझेदारी गर्नुभयो । ५१ प्रतिशत सेयर मेरो नाउँमा रह्यो, ४९ प्रतिशत उहाँले लिनुभयो ।

उहाँले भन्नुभएको थियो, ‘म तिमीलाई सहयोग गर्नमात्र सामेल भएको हुँ । तिमी आफैँ गरेर खाऊ । म ४९ प्रतिशतमा बस्छु ।’

एपोलो स्टिल भनेको मेरा लागि एउटा उद्योगमात्र थिएन, मलाई राजनीतिको भेलबाट किनारा लगाउने अचुक माध्यम थियो । …त्यसैमा टेकेर म आफ्नो भावी व्यवसायिक यात्राको मार्गचित्र कोर्न गइरहेको थिएँ ।

हामी यस्तो देशका नागरिक हौँ, जहाँ ठूलो मान्छे बन्नलाई ठूलो सोच राख्नैपर्दैन, ठूलो मान्छेसँग संगत गरे पुग्छ । मैले पनि ठूलो मान्छेसँग संगत गरेँ । पञ्चायती व्यवस्थाको जगजगीमा अधिराजकुमारसँग साझेदारी गरेर बिजनेस थालेँ । यो खबर जंगलको डढेलोजसरी फैलियो । म रातारात देशको प्रतिष्ठित उद्योगपतिमा गनिएँ । सारा मान्छेहरुको मप्रतिको हेराइ बदलियो । मेरो बोली बिक्न थाल्यो । मेरा कुरा सुनिन थाले । मेरो उछितो काडढ्न खोज्नेहरु ‘ओ विनोद बाबु क्या हाल हे’ भन्दै घुस्रिन आइपुगे । मेरा सबै बिजनेश सही बाटोमा आउन थाले । मैले थुप्रै नयाँ नयाँ क्षेत्रमा हात हालें । र, म सफल भएँ ।

सबै सफलतामा धीरेन्द्र सरकारको प्रत्यक्ष हात थिएन । तत्कालीन राजनीतिक खिचातानीले मेरो व्यवसायविरुद्ध सिर्जना गरिएका कृत्रिम तगाराहरु उहाँसँगको साझेदारीपछि हट्नु नै मुख्य कारण थियो ।

बिजनेसम्यानका लागि सबथोक बिजनेसै हो । मैले त्यही गरेँ, जो त्यतिखेरको सत्ता राजनीतिले मलाई गर्न बाध्य बनायो । सोझो बनेर बसेको थिएँ, साराले पेले । उनीहरुले मेरो बिजनेसमाथि राजनीति गर्न खोजे, मैले उनीहरुको राजनीतिमा बिजनेस गरिदिएँ । राजनीतिजस्तो कठोर र निर्मम दाउपेचभित्र टिकेर बस्न हामी उद्योगी व्यवसायी सबैले गर्ने र गर्नुपर्ने यही हो ।

०००

२०४० सालमा धीरेन्द्रमार्फत दरबारसँग गाँसिएको सम्बन्ध २०४५ को अन्तसम्म आइपुग्दा नराम्ररी चिस्सियो ।

यसबीच म राजा वीरेन्द्र र रानी ऐश्वर्यसँग पनि निकट भएँ । वीरेन्द्र सरकारले मलाई १३ चोटि दर्शनभेट दिनुभयो । हाम्रो घरको बिहेबारीमा सरिक हनुभयो । वाईवाई कारखाना भ्रमण गर्न आउनुभयो । एकचोटि त नागार्जुन दरबारमा बोलाएर अन्तरंग कुराकानी गर्नुभयो ।

धीरेन्द्र सरकार दरबारमा टिक्न सक्नुभएन । उहाँ राजकीय सम्मान र पदवी त्यागेर नेपालबाट बाहिरिनुभयो । दरबारले उहाँको नाममा रहेका सबैजसो उद्योगधन्दा प्रेक्षालाई दियो । मसँग साझेदारी गरेर चलाएको उद्योग पनि उहाँकै भागमा पर्‍यो । …प्रेक्षाले तथ्य बुझ्दै नबुझी आफ्नो हिस्सा माग्न थाल्नुभयो । अवास्तविक खालका मागको फेहरिस्थ बनाएर दिनहुँजस्तो आफ्ना सहयोगीहरुलाई मकहाँ पठाउन थाल्नुभयो । २०३६ सालदेखि २०४० सालसम्म दरबारको जुन गुटले मेरो उठिबास लगाउन खोजेको थियो, धीरेन्द्रको अनुपस्थितिमा फेरि त्यही गुट जुर्मुरायो ।

२०४५ चैत महिनातिरको घटना हो । दरबारको एकजना मान्छे खबर लिएर आयो, ‘सरकारबाट जीवनकुञ्जमा तपाईँलाई हाजिर हुन हुकुम भएको छ ।’

प्रेक्षा जीवनकुञ्जमा बस्नुहुन्थ्यो ।

बुबा त खबर सुनेरै आत्तिनुभयो– अब फेरि के अनिष्ट हुने हो भनेर । मैले उहाँलाई ढाडस दिएँ, ‘नआत्तिनुस्, यिनले केही गर्न सक्दैनन् ।’

म र बुबा जीवनकुञ्ज गयौँ ।…

प्रक्षाले पुलुक्क मतिर हेरेर बढो रवाफसँग भन्नुभयो, ‘विनोद, मैले एपोलो स्टिलको सेयर गोल्छालाई दिने निर्णय गरेंँ ।’

…मलाई त कुरा सुनेरै झनन्न भयो । पहिलो त एपोलो स्टिलमा हकदाबी गर्न प्रेक्षासँग कानुनी आधार नै थिएन । अर्को, उहाँ आफ्नो सेयर त्यस्तो व्यक्तिलाई दिँदै हुनुहुन्थ्यो, जससँग हाम्रो व्यवसायिक र व्यक्तिगत प्रतिस्पर्धा थियो ।

म एकछिन केही बोलिनँ ।

उत्तेजना शान्त भएपछि मसिनो स्वरमा भनेँ, ‘सरकार यस्तो हजुर कसरी गर्न सकिबक्सिन्छ ?’

मेरो जवाफले प्रेक्षा र उहाँका सहयोगीहरु मलाई सुलुत्तै निलुँलाजस्तो गरी आँखा ठूलो पारेर हेर्न थाले ।

‘किन गर्न सक्दिनँ ? ’ उहाँले हकार्ने लवजमा भन्नुभयो ।

‘सरकार यो उद्योगमा मेरो ५१ प्रतिशत सेयर छ । बाँकी पनि मैले ऋण लिएर बनाएको हुँ । …बैंकले मेरै नाममा ऋण दिएको छ । … कान्छा सरकारलाई दिएको ४९ प्रतिशत सेयर मौसूफले मप्रति देखाइबक्सेको सदाशयताका कारण दिएको हुँ । त्यसबापत मौसूफले मलाई यो कागज दिनुभएको छ ।’

मैले खल्तीबाट एउटा कागज झिकेर देखाएँ । त्यो एपोलो स्टिलमा लगानी गर्दा धीरेन्द्रले दस्तखत गरेर दिनुभएको कागज थियो । उहाँले ‘४९ प्रतिशत सेयर लगानी गर्न विनोद चौधरीसँग ४९ लाख रुपैयाँ ऋण लिएको छु’ भन्ने भर्पाइ दिनुभएको थियो ।

०००

…मैले साधारणसभा डाकें । पुँजी बढाएँ । र, उनीहरुलाई थप अल्पमतमा पारेँ । कानुनी लडाइँ त जितियो । अब भौतिक आक्रमणको डर थियो । मैले यसको तोड सोचिसकेको थिएँ । सीधा किसुनजी (कांग्रेस नेता कृष्णप्रसाद भट्टराई) कहाँ गएँ । …उहाँको आडभर पाएर म फुलेल भएँ । छाती चौडा भएर आयो । …प्रजातान्त्रिक कित्तामा उभिएपछि प्रेक्षा र उहाँका सहयोगीहरुले प्रत्यक्षरुपमा मेरो केही बिगार्न सकेनन् । …धीरेन्द्रको सेयर आफ्नो नाममा सारेँ ।

२०४६ सालको जनआन्दोलन सफल नभइदिएको भए मेरो पत्तासाफ हुन्थ्यो । यो पक्का हो ।

दरबारबाट टाढिए पनि मैले आफ्नो कर्तव्य कहिल्यै भुलिनँ । आखिर जुन हैसियतमा म पुगेँ, त्यो कुनै समय राजपरिवारकै सदस्यसँगको सहकार्यबाट सम्भव भएको थियो ।

(‘विनोद चौधरी आत्मकथा’ पुस्तकबाट )

 

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ९ : १६ बजे

नेपालको राहदानीको विश्व वरियतामा सुधार

काठमाडौं– नेपालको राहदानीको विश्व वरियतामा सुधार आएको छ । विश्वका

निर्मला कुर्मीको मृत्यु प्रकरणका आरोपी बदशाहलाई मन्त्री पद ‘पुरस्कार’

काठमाडौं- नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा ठगी र कर्तव्य ज्यान मुद्दाको

विमान दुर्घटनाप्रति रास्वपाद्वारा शोक व्यक्त

काठमाडौं–  सौर्य एयरको विमान दुर्घटनामा १८ जनाको निधन भएकोप्रति राष्ट्रिय

नेपालले विश्व बैंकबाट थप १ अर्ब ७३ करोड रुपैयाँ अनुदान लिँदै

काठमाडौं– सरकारले समृद्धिका लागि वन परियोजनामा विश्व बैंकबाट थप १३

ओझेलमा १२ बण्ड १८ खण्डको रामारोशन ताल

मान्म– अछाम जिल्लाको रामारोशन गाउँपालिका–५ मा रहेको रामारोशन ताललाई १२