बाँसबारीमा ‘दाजु’ लाई पनि तान्ने सीआईबीको तयारी | Khabarhub Khabarhub

बाँसबारीमा ‘दाजु’ लाई पनि तान्ने सीआईबीको तयारी


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


843
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारी जग्गा हिनामिना प्रकरणमा अर्बपति उद्योगी एवं कांग्रेस सांसद विनोद चौधरीलाई बयानका लागि बोलाउने प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तयारी थालेको छ ।

पहिले बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जमिन सेयरका रुपमा हत्याएर पछि उक्त सेयर आफ्नै नाममा सार्ने खेलमा उद्योगपति विनोद चौधरीको निर्णायक भूमिका थियो । तर, प्रहरीले जेठा दाजु विनोदलाई नसमातेर उनका कान्छा भाइ अरुणकुमार चौधरीलाई समातेको छ ।

सरकारी जग्गा हिनामिना प्रकरणमा समातिएका अरुणकुमार चौधरी, अजितनारायण सिंह थापा र सीजी चाँदबाग रेसिडेन्सी प्रालिका सञ्जय ठाकुर अहिले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नियन्त्रणमा छन् । सोमबार काठमाडौं जिल्ला अदालतले तीनैजनालाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न सीआईबीलाई अनुमति दिएको छ ।

अरुणकुमार चौधरीलाई सोमबार नै थुनामुक्त गराउन चौधरी ग्रुपले सम्पूर्ण शक्ति परिचालन गरेको थियो । अदालत बन्द भइसकेपछि अबेरसम्म अदालतमा यसबारे बहस भएको थियो । तर, अदालतले चौधरीको प्रयासलाई मान्यता दिएन र थप दुई दिन थुनामै राख्न सीआईबीलाई अनुमति दियो ।

चौधरी ग्रुपले सत्तारुढ कांग्रेस नेताहरु परिचालन गरेर अरुणकुमारलाई छुटाउन दबाब बढाएको छ । तर, सीआईबीले भने सांसद विनोद चौधरीलगायत अन्यलाई पनि बयानका लागि बोलाउने तयारी थालेको छ ।

हाल चाँदबाग स्कुल सञ्चालनमा रहेको र सीजी कम्पनीले अपार्टमेन्ट बनाउने तयारी गरिरहेको १० रोपनी जमिन यतिबेला अरुणकुमार चौधरी र श्रीमती शीला चौधरीको स्वामित्वमा छ । दाजुभाइले अंश गर्दा विनोदले यो जमिन कान्छा भाइ अरुणका भागका पारेका हुन् । तर, सरकारी जमिन निजी बनाउने प्रक्रियामा अरुणभन्दा विनोदको निर्णायक भूमिका थियो । यो कुरा स्वयं अरुणकुमारले पनि बताएको प्रहरी स्रोतको भनाइ छ ।

सरकारी जग्गा हिनामिना हुँदा च्याम्पियन फुटवेयरका मुख्य सञ्चालक रहेका जेठा दाजु विनोद चौधरी अब पक्राउ पर्छन् कि कान्छा भाइ मात्रै थुनिन्छन् ? यो प्रश्न अहम् बनेको छ ।

यसै विषयमा हामीले गृहमन्त्रालयको उच्च स्रोतसँग बुझ्ने प्रयास गर्‍यौं । तर, गृहका अधिकारीले यसबारे अहिले सीआईबीले अनुसन्धान गरिरहेको हुँदा अनुसन्धानका क्रममा दोषी भेटिए कोही नछुट्ने र निर्दोषहरु नपर्ने बताए ।

उता सीआईबी स्रोतले भने यो प्रकरणमा दाजु विनोद चौधरीको भूमिका प्रमुख देखिएकाले उनलाई पनि बयानका लागि बोलाउने तयारी भइरहेको खबरहबलाई बतायो ।

उद्योगपति विनोद चौधरी अहिले सत्तारुढ नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य छन् । संसदको सदस्य रहेको व्यक्तिलाई अधिवेशन चलिरहेका बेला पक्राउ गर्नका लागि सभामुखलाई जानकारी दिने लगायतका केही प्रक्रियाहरु भने पुर्‍याउनुपर्ने स्रोतको भनाइ छ । त्यसअघि बयानमा बोलाउन भने कुनै समस्या नरहेको प्रहरी अधिकारीहरु बताउँछन् ।

सरकारी जग्गा हिनामिना प्रकरणमा विनोद चौधरीलाई समेत प्रतिवादी बनाएर अदालतमा मुद्दा लाने कि अरुण चौधरीलाई मात्र मुद्दा चलाउने भन्नेबारे अनुसन्धानपछि नै खुल्ने सीआईबी स्रोतको भनाइ छ ।

स्रोतले खबरहबसँग भन्यो, ‘अनुसन्धानका क्रममा सांसद विनोद चौधरी र त्यसबेलाको कार्यमा संलग्न रहेका अन्य व्यक्तिहरुलाई बयानका लागि सीआईबीमा उपस्थित गराइनु सामान्य कुरा हो ।’

त्यसो त सरकारले ३७ वर्षअघिको निर्णयमा सही गरेबापत बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई समेत पक्राउ गरिसकेको छ । तर, उक्त कार्यमा संलग्न रहेको कागजातबाटै स्पष्ट हुँदा पनि अहिलेसम्म विनोद चौधरीलाई भने सरकारले बयानका लागि समेत बोलाउन सकेको छैन ।

यो पनि…

चौरासी नजिकका अजित : चौधरीले फसाए कि आफैं ?

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ९ : ४९ बजे

मानव बेचबिखनमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन तथा ओसार पसारमा

सत्तापक्षको अडान : गृहमन्त्रीको राजीनामा नमाग्ने सर्तमा छानबिन समिति बन्छ

काठमाडौं– संसदीय छानबिन समिति बनाएपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको

सन्दीपले सफाइ पाउँदा स्वागतसँगै सुनियो विरोधको चर्को स्वर, कसले के भने ?

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा बुधबार

राष्ट्रियसभा बैठक सर्‍यो

काठमाडौं– राष्ट्रियसभाको बैठक आज अपराह्न ४ः३० बजे बस्ने भएको छ

कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान

कर्णाली– कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशन आह्वान गरिएको छ